काठमाडौं– सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य सेवा विभागले २० जना स्टाफ नर्सको सरुवा गरेको छ।
विभागले सोमबार जारी गरेको स्टाफ नर्सको नयाँ सूचीमा यस प्रदेशबाट अन्य प्रदेशमा १६ र अन्य प्रदेशबाट यस प्रदेशमा ४ जनाको सरुवा गरिएको उल्लेख छ। सरुवा गरिएका २० जनामध्ये ४ जनालाई यस प्रदेशभित्रकै जिल्ला अन्तर्गत सरुवा गरिएको छ।
स्वास्थ्य सेवा विभागले बैतडी जिल्लामा रहेका दुई जना स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिएपछि सो जिल्ला स्टाफ नर्स विहिन बनेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
चिकित्सकसँगै अस्पतालमा स्टाफ नर्सको भूमिका पनि महत्वपूर्ण मानिन्छ। ‘डाक्टरहरुले बिरामीलाई दिनमा एक÷दुइ पटक हेरेपनि बाँकी समय औषधि खान दिने, बिरामीको बेला–बेला अवस्थाको परिक्षण गर्ने लगायतका काम स्टाफ नर्सले गर्छन्’, महाकाली अञ्चल अस्पतालका डाक्टर हरि श्रेष्ठले भने, ‘तर, विभागले आवश्यकताअनुसार स्टाफ नर्सको पूर्ति गर्नुको साटो घटाउँने काम गरेको छ। जसले गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ।’
यस्तै, प्रदेशको एकमात्र उपक्षेत्रीय अस्पताल डडेलधुरामा हाल कार्यरत स्टाफ नर्सको संख्या ६ जनामात्र रहेको छ। तर, उपक्षेत्रीय अस्पतालमा १८ जना स्टाफ नर्सको दरबन्दी छ। अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्स अध्ययन बिदामा रहेको र थप ६ जनाको सरुवा हुँदा सेवा प्रभावमा समस्यामा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।
‘देशभरी नै दरबन्दी अनुसारको सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीको उपस्थिति छैन’, निर्देशक अवस्थीले भने, ‘हचुवाको भरमा सरुवा गर्दा सेवा प्रवाहमा समस्या भएको छ।’
‘अहिले स्वास्थ्य सेवा विभागले स्टाफ नर्सको सरुवा गर्दा प्रदेशका विकट जिल्लामा समस्या भएको छ’, उनले भने, ‘केही जिल्ला स्टाफ नर्सविहिन बनेका छन् भने केही जिल्लामा स्टाफ नर्सको संख्या न्युन छ।’ उनले मन्त्रालयले केही समयअघि प्रदेशमा आवश्यकताअनुसार कर्मचारीको पुर्ति गर्ने सम्झौता गरेको बताए। ‘मन्त्रालयले यस प्रदेशका स्वास्थ्यका कर्मचारीहरु सरुवा नगर्ने र यस प्रदेशमा आउन चाहनेलाई यथासिघ्र पठाउने छौं भनि सम्झौता गरेको थियो। तर, सहमति उल्लंघन भयो।’, अवस्थीले भने।
उनले कर्मचारीको संख्या कटौती गर्दै जाने हो भने जनतालाई स्वास्थ्य सेवा दिने सरकारको लक्ष पुरा नहुने जिकिर गरे। ‘यस प्रदेशको स्वास्थ्य सेवामा सुधार ल्याउने प्रयास मन्त्रालयको रहेको छ। तर, यसरी स्वास्थ्य संस्थामा कर्मचारी संख्या घटाउँदै जाने हो भने कसरी सम्भव छ?’ अवस्थीले प्रतिप्रश्न गरे।
उनले प्रदेश र स्थानीय तहलाई करारमा कर्मचारी राख्ने अधिकार पनि नदिएकोमा गुनासोसमेत गरे।