मुख्य समाचार

अभिभावकको आपसी रिस जब बालबालिकामाथि पोखिन्छ

बुनु थारु

काठमाडौं- लमजुङकी तीन वर्षिया बालिका सिकिस्त अवस्थामा कान्ति बाल अस्पताल भर्ना भइन्।  सुरुमा उनलाई अन्यत्रै लगिएको थियो। तर, अवस्था चिन्ताजनक भएकाले कान्तिमा 'रेफर' गरिएको थियो।

गम्भीर अवस्थामा अस्पताल ल्याइएकी ती बालिकाको उपचारकै क्रममा मृत्यु भयो। उनको घाँटीमा रातो दाग मात्र फेला परेको थियो।

घाँटीमा देखिएको रातो दागका विषयमा शंका लागेपछि चिकित्सकहरूले प्रहरीलाई खबर गरे।

प्रहरी अनुसन्धानका क्रममा डरलाग्दो तथ्य फेला पर्यो- उनकै आमाले 'रिसको झोंकमा सलले घाँटीमा बेरेक'। पतिसँग दैनिक हुने झगडाको रिस उनले आफ्नै छोरीमाथि पोखेकी रहिछन्। 

अहिले उनी प्रहरी हिरासतमा छिन्। 

०००


उपचारका लागि एक स्कुले बालक कान्तिमा अस्पताल पुगे। उनको मुख पुरै सुन्निएको अवस्थामा थियो। त्यो दाग पिटाइका कारण भएको कुरा पत्ता लगाउन चिकित्सकलाई गाह्रो परेन। 

बालकको अनुहारमा रातो-रातो दागको धब्बा देखिन्थ्यो। उनको मुखभित्र पनि गहिरो घाउ देख्न सकिन्थ्यो। 


०००


बिरामी भएको भन्दै एक घरेलु कामदार बालकलाई अस्पताल पुर्याइयो। उनको अनुहारको दाहिने भाग पोलिएको अवस्थामा थियो। सुरुमा झुक्केर  आफैंले तातोपानी खन्याएको भनेर उनका मालिकले कुरा मोडे। पछि विस्तारै कुरा खुल्दै गयो। यथार्थमा मालिकले नै रिसको झोंकमा उनको अनुहारमा तातो पानी फालेका रहेछन्।

०००

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नेपाल पेडियाट्रिक सोसाइटीले कान्ति बाल अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएका घटनाहरू हुन् यी। 

उपचारका लागि अस्पताल ल्याउँदा बालबालिकामाथि भएको वास्तविक हिंसा तथा समस्याका विषयमा आफन्तले नै लुकाउने गरेको र बालबालिकाले सही समयमा उपचार तथा न्याय पाउन नसकेको भन्दै सो कार्यक्रमका वक्ताहरूले चिन्ता प्रकट गरेका थिए। 

शीर मेमोरियल अस्पताल बनेपाकी पेडियाट्रिक डा. सामना शर्माले धेरै जसो बालबालिकाहरू घरेलु हिंसा, यौन हिंसा, तातो पानी तथा आगोले पोलेको, कुटाइ खाएको घटना बढी लिएर उपचारमा आउने गरेको बताइन्।

‘कुनै पनि घटनालाई सामान्य रूपमा लिनुहुँदैन। जाँचका लागि अस्पतालमा आएका बालबालिका साथै उनीहरुमाथि भएका घटनाको इतिहास खोतल्नुपर्छ। बालरोग विशेषज्ञले इतिहास नखोतलिँदा कतिपय घटना गुपचुपमै हुन्छन् र बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको हुन्छ,’ उनले भनिन्। उनी थप्छिन् ‘धेरैले जानाजान गरेका घटना पनि सम्भावित दुर्घटनाको संज्ञा दिएर पन्छिने गरेको पाइन्छ। बालहिंसाको इतिहास बुझ्न एकदमै जरुरी छ।’ 

‘बालबालिकाको उपचार गर्दा घटनाको इतिहास खोतल्नु एकदमै महत्वपूर्ण र गम्भीर विषय हो। यसलाई कानूनी तवरले सोच्नुपर्छ। सम्बन्धित निकायले चासो देखाउनुपर्छ। बिरामीको जाँच गर्दा जुनसकै बिरामीलाई पनि शंकाको घेरामा राख्नुपर्छ। घटनाको इतिहास नखोतल्दा धेरै कुरा छुटिरहेका हुन्छन्। बालबालिका पीडित भइरहेका हुन्छन्।’

'सामान्य घटना जसरी हामी जाँच गरेर औषधी लेखेर पठाइदिन्छौं। तर, यस्तो घटनामा अरु पाटा पनि जोडिएका हुन्छन्। हामी त्यसको गहन अध्ययन गर्छौं। बच्चाहरूलाई छुट्टै राखेर पनि कुराकानी गर्छौं। यस्ता घटना पुलिस केस बनेर नहारोस्। राम्ररी अध्ययन होस् भन्ने हाम्रो चाहना हो,' उनले भनिन्।

कान्ति अस्पतालका पेडियाट्रिक अंकोलोजिस्ट डा. विष्णुरथ गिरि भन्छन्, 'कुनै पनि घटनालाई समान्य रुपमा लिनु हुँदैन। बाहिरतिर यसको समिति बनाई कार्यावन्यन भइराखेको छ। नेपालमा यसका लागि बाल अधिकार समिति बनाएको छ। नेपाल पेडियाट्रिक सोसाइटीको आशा छ, भविष्यमा यसलाई सरोकारवाला सबैले गम्भीर रुपमा लिनेछन्।'

‘यस्ता विषयलाई पहिल्याउन स्वास्थ्यकर्मी तथा चिकित्सकलाई उचित तालिमको व्यवस्था गरिनुपर्छ र समितिबाट यस्ता घटनाहरुको उचित छानबिन र अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘नेपालका हरेक अस्पतालमा बाल संरक्षण समिति बनाइएको हुन्छ। यसका लागि फोकल पर्सन पनि तोकिएको छ। तर के काम कसरी गर्ने भनेर समन्वय तथा निर्देशन छैन।’

सोसाइटीका कोषाध्यक्ष डा. रामहरि चापागाईं भन्छन् ‘यसको लागि स्पेशल कोर्स पनि हुन्छन्। पहिला यो विषय प्राथमिकतामा पर्दैनथ्यो, अन्य रोग मात्र पर्थे तर अहिले चासो बढ्न थालेको छ।’

बाल अधिकारसँग जोडिएकोले यसलाई व्यवस्थित रुपमा लैजानका लागि दबाब दिन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन पनि कार्यक्रम आयोजना गरेको डा.चापागाईंले बताए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live