रुपन्देही – रुपन्देहीमा रहेको बीपी ग्राम स्वास्थ्य उपचार केन्द्रको करोडौंको सम्पत्ति उपयोगविहीन भएको छ । तिलोत्तमा नगरपालिका १७ मा रहेको भवन भूत बंगलाजस्तै बनेको छ।
२०५९ माघ २८ गते नेपाल सरकारको जग्गामा जापान सरकारको सहयोगमा विपी ग्राम सेवा केन्द्रद्वारा उपचार केन्द्र निर्माण भएको थियो । पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेपालका लागि जापानी राजदूत जेन्जी कामीनागाको उपस्थितिमा उद्घाटन गरि सेवा सुरु भएको थियो । सेवा सुरु भएको ५ वर्षमै अस्पताल बन्द भएको हो।
पाँच शैयाको उक्त केन्द्रमा एक जना विशेषज्ञ डाक्टरसहितको टोलीले कार्य गर्दै आएको थियो । तर, सञ्चालन भएको करिब पाँच वर्षपछि बन्द भएको छ। केन्द्रमा कार्यरत कर्मचारीहरुले पाँच÷छ महिनासम्म तलब नपाएपछि उनीहरुले तलबको माया मारेर काम छाडेसँगै बन्द भएको स्थानियले बताएका छन्।
बन्द भएको उक्त केन्द्रलाई मेडिकल भैरहवाले सञ्चालन गर्ने प्रयास गरे पनि त्यो सफल भएन । अहिले उक्त केन्द्रमा रहेका उपकरणहरु बिग्रिएका छन् भने केही चोरी भइसकेको बताइएको छ । केन्द्रका संरक्षक रामकृष्ण ताम्राकार अहिले बिरामी छन्, उनीसँग भएका सबै कागजपत्रहरु अरुलाई दिएको बताइएको छ।
तिलोत्तमा नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष दानबहादुर चौधरीले नगरपालिकामा यसबारे जानकारी गराएको बताएका छन्। चौधरीले भने पर्याप्त कोष नभएकले वडाको बजेटबाट केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन कठिन हुने बताए।
नगरपालिकाले बजेट विनियोजन गर्दा केन्द्रको नाममा वा स्वास्थ्य क्षेत्रमा अलि बढी बजेट दिए सञ्चालन गर्न सकिने बताए।
स्थानीयका अनुसार उक्त भवन बनाउन दुई करोडभन्दा बढी लागेको छ भने पाँच विगाह जमिनको मूल्य पनि चार करोड भन्दा बढी पर्ने छ।