राजविराज– आर्थिक वर्ष २०७५÷७६ को बजेट मार्फत सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको छ।
देशका ६ हजार ७ सय ४३ वडाहरू मध्ये पहिलो चरणमा १ हजार २ सय वडामा यस्तो संस्था स्थापना गरिने र स्थानीय तहको समेत लगानी–सहकार्य रहने वजेट वक्तब्यमा उल्लेख छ। वडा तहमा स्वास्थ्य संस्था स्थापना गर्ने योजना अन्तर्गत सकारले स्थानीय तहका लागि ४ अर्ब अनुदान विनियोजन समेत गरेको थियो।
स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था खडा गर्ने र हरेक वडामा स्वास्थ्य संस्था पुर्याउने सरकारी योजना सराहनीय भएपनि हालसम्म कार्यान्वयनमा नआउँदा सप्तरीमा भने अवस्था ज्युँका त्यूँ छ।
कुल १ सय ६४ मध्ये ४५ वटा वडा अहिले पनि स्वास्थ्य संस्था विहिन छन् । ९ नगरपालिकासहित १८ स्थानीय तहमध्ये ६ वटा वडा भएको राजगढ र ५ वटा वडा भएको तिरहुत गाउँपालिकामा मात्र सवै वडामा स्वास्थ्य संस्था छन् । अन्य १६ वटा स्थानीय तहमा अहिले पनि वडास्तरमा स्वास्थ्य संस्था पुगेको छैन।
सदरमुकामसमेत रहेको राजविराज नगरपालिकाकाका १६ मध्ये ६ वटा वडामा स्वास्थ्य संस्था छैन । २, ३, ४, ५, ८ र १३ नं. वडा स्वास्थ्य संस्था विहिन छन् ।
यसैगरी, नगरपालिकातर्फ कञ्चनरुपको २ र ९, डाकनेश्वरीको ४, वोदेवरसाईनको ४, खडकको १, ६ र ७, शम्भुनाथको २, ६, ७ र ११, सुरुङ्गाको ५, हनुमाननगर कंकालिनीको १, २, ५, ८, ९ र १० तथा सप्तकोशीको २, ४, ५, ६, ७, ९ र ११ मा स्वास्थ्य संस्था छैनन्।
यस्तै गाउँपालिकातर्फ अग्निसाईर कृष्णासवरणको ६, छिन्नमस्ताको १, २ र ६, महदेवाको ३, छिलाठि–कोईलाडिको ६ र ७, रुपनीको २, विष्णुपुरको १, २, ३, ५ र ६ तथा वलान विहुलको २ नं. वडामा स्वास्थ्य संस्थाको संरचना शुन्य छ।
स्वास्थ्य संस्थाको पुनःर्संरचना तथा नभएका वडामा स्वास्थ्य पु¥याउने विषयमा माग भए बमोजिम प्रकृया अघि वढिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जन झाले बताए।
अधिकांश स्वास्थ्य संस्था भवन विहिन
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा सगरमाथा अञ्चल अस्पताल वाहेक १ सय १५ वटा स्वास्थ्य संस्था छन् । जसमध्ये भारदह अस्पताल र ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रसहित ३० वटा स्वास्थ्य संस्थाको मात्रै आफनो भवन छ । अन्य ८५ वटा स्वास्थ्य संस्थाको आफनो भवन छैन।
विद्यालय, गाउँपालिकाको भवन तथा अन्य विभिन्न कार्यालयमा एउटा कोठा लिएर स्वास्थ्य सेवा प्रवाह गर्नु परेको जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन झाले वताए । आफनो भौतिक संरचना नहुँदा एउटा कोठामा सिमित हुनपर्दा ग्रामिण क्षेत्रको स्वास्थ्य सेवा प्रभावित भईरहेको उनले वताए।
भौतिक संरचना नभएका स्वास्थ्य संस्थाका लागि भवन निर्माणको प्रकृयालाई पनि प्राथमिक्तामा राखी प्रदेश तथा केन्द्र सरकारसँग माग गरिएको प्रमुख झाले जानकारी दिए।