काठमाडौं– घुस दिन र चाकडी गर्न नसकेकाले वीर अस्पतालमा पोष्टिङ नगरिएको भन्दै सामाजिक सञ्जाल मार्फत् राजिनामा पत्र लेखेका वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीलाई कारबाही गर्ने तयारी गरिएको छ । सरकारले खटाएको ठाउँमा जानुपर्ने कर्मचारीले उल्टै सरकारलाई चुनौती दिएको भन्दै कारबाहीको तयारी गरिएको हो।
उनीमाथि कारबाहीको प्रक्रिया थालिएको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पुष्टि गरे । डा अधिकारीलाई स्पष्टिकरण सोध्ने तयारी थालिएको संकेत गर्दै मन्त्री यादवले भने, ‘उहाँले जुन आरोप लगाउनुभएको छ । त्यसलाई प्रमाणित गर्ने अवसर दिँदैछौं।’
सरकारी कर्मचारीले ऐन नियम र पदीय मूल्य मान्यता अंगिकार गरेर सेवा गर्नुपर्नेमा नियम विपरित सरकारलार्इ चुनौती दिन खोजेको मन्त्री यादवको बुझाइ छ।
डा अधिकारीले राजिनामा पत्र मन्त्री यादवलार्इ सम्बोधन गर्दै लेखेका थिए।
उनले लगाएका आरोप प्रमाणित गर्न स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जफाव नदिए कानून अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
आफू नवौं तहमा बढुवा भएपनि वीरमा पोष्टिङ नगरिएको भन्दै डा अधिकारीले यस्तो आरोप लगाएका थिए । ८ औं तहमा कार्यरत डा अधिकारी नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो।
स्वास्थ्य सेवा ऐन अनुसार बढुवा भएर पदस्थापना भएको कर्मचारी खटाएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ। डा अधिकारी बढुवा भएको समयमा वीर अस्पतालमा नवौँ तहको दरवन्दी खाली थिएन। दरवन्दी खाली नभएपछि स्वास्थ्य मन्त्रालयले उनलाई पोखराको क्षेत्रिय अस्पतालमा पठाएको थियो।
तर, डा अधिकारी वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा रहँदै आएका थिए। नियमानुसार हाजिर नगरेसम्म बढुवा नमानिने भएका कारण मन्त्रालयले उनलार्इ आठौं तहकै कर्मचारीका रुपमा हेरिरहेको छ।
डा अधिकारी सर्जन भएपनि उनले वीर अस्पतालमा सर्जरी नगरेको रिपोर्टिङ समेत मन्त्रालयमा भएको छ। यसैगरी राजधानीका ५ भन्दा बढी निजी अस्पतालमा उनको संलग्नता रहेको समेत मन्त्रालयलार्इ सूचना पुगेको छ।
यो पनि पढ्नुहोस्