काठमाडौं- कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार प्लाज्मा थेरापी विधिबाट गर्न सरकारले १२ अस्पताललाई स्वीकृति दिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्न ३ निजीसहित १२ अस्पताललाई स्वीकृति दिएको जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा परिषदका सदस्य-सचिव डा प्रदिप ज्ञवालीले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न स्वीकृति दिएको जानकारी दिएका हुन्।
प्लाज्मा थेरापी विधिबाट उपचार गर्न स्वीकृति पाएका अस्पतालमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल ,पाटन एकेडेमी अफ हेल्थ साइन्स, शुक्रराज ट्रपिकल अस्पताल छन्। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल ,नारायणी अस्पताल, भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालले पनि यो विधिबाट उपचार गर्ने स्वीकृती पाएका छन्। निजी तर्फ भने नेपाल मेडिसिटी, ग्रान्डी इन्टरनेसनल अस्पताल र ह्याम्स अस्पतालले स्वीकृति पाएको परिषद्ले जानकारी दिएको छ।
परिषद्का सदस्य-सचिव डा ज्ञवालीका अनुसार कोरोना संक्रमणमुक्त भएका २५ जनाले उपचारका लागि रगतको प्लाज्मा दिन इच्छुक भएको समेत जानकारी दिएका छन्। एक पटक संक्रमित भएर निको हुने सबैको प्लाज्मा भने उपचारमा आवश्यक नहुने उनको भनाइ छ। पिसिआर पोजेटिभ भएर प्लाज्मा विधिबाट उपचारका लागि रक्तदान गर्नुपूर्व कम्तीमा १४ दिन अगाडिसम्म कोभिड-१९ सम्बन्धी लक्षण देखा नपरेको हुनुपर्छ।
यस्तै, रक्तदाताले नेपाल रेडक्रसले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने पनि उनले बताए। उनका अनुसार सबै संक्रमितले पनि प्लाज्मा लिन सक्दैनन्। कन्भ्यालिसेन्ट प्लाज्मा प्राप्त गर्ने कोरोना संक्रमित १८ वर्ष पूरा भएको हुनुपर्छ।
संक्रमण भएर ज्यान नै जोखिममा रहेको अवस्थाका बिरामी रहेको पुष्टि भएपछि मात्र प्लाज्मा विधिबाट उचपार गर्न सकिने परिषद्ले जनाएको छ।
अस्पतालको सघन कक्षमा उपचार गराइएका व्यक्तिको अवधि, अस्पतालमा बस्दा देखा परेका प्रतिकूल घटना र बिरामीमा देखिएका सुधारहरू हेरेर चिकित्सकको सिफारिसमा मात्र यो विधिबाट उपचार गरिन्छ।