काठमाडौं- औषधि व्यवस्था विभागले कोरोनाको गम्भीर खालका बिरामीको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधि आयात गर्न अनुमति दिएको छ।
आइसियुमा अक्सिजनको कमी भएका कोरोनाका संक्रमितको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधि आयातका लागि आयातकर्तालाई विभागले अनुमति दिएको हो।
नेपाल स्वास्थ्य अनुसन्धानको प्रोटोकल अनुसार क्लिनिकल ट्रायलका लागि रेमडिसिभिर आयात गर्न अनुमति दिएको विभागका महानिर्देशक नारायण ढकाले बताए। सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने उनले जानकारी दिए।
उनले भने, ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रोटोकल अनुसार रेमडिसिभिर आयात गर्न अनुमति दिएका हौं। यो क्लिनिकल ट्रायलका लागि हो र आयातकर्ताले यी तीन वटा ब्रान्डका औषधि मात्र आयात गर्न पाउँछन्।
नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेमडिसिभिर औषधि तीन दिनभित्रै आयात गरिने बताए। औषधि आयातका लागि आइतबारबाटै प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए। ढिलोमा बिहीबारसम्म जसरी पनि औषधि आयात गरिने उनको भनाइ छ।
‘विभागले देखाएको तदारुकताको प्रशंसा गर्नैपर्छ,’ उनले भने, ‘आगामी तीन दिनभित्र या बिहीबारसम्म जसरी पनि यो औषधि नेपाल भित्र्याउँछौं।’
आइसियुमा भर्ना भई अक्जिसनको कमी भएका बिरामीका लागि यो औषधि प्रयोग गरिने उनले जानकारी दिए। यो औषधिको मूल्य ब्रान्ड अनुसार फरक पर्ने उनले बताए। यद्यपि, बिरामीले नेपालमा यो औषधि ७ देखि ९ हजारसम्म खरिद गर्नसक्ने संघले जनाएको छ।
रेमडिसिभिरको प्रयोगले कोरोनाका बिरामीलाई हुनेसक्ने जोखिमबाट बचाउँछ। हाल यो औषधि अमेरिका, बंगलादेश, युरोप र भारतमा प्रयोग हँुदै आएका उनले बताए।