प्रोफाइल

युरोलोजी सेवा सुरु गर्ने डा. मास्केको यस्तो छ डाक्टरी यात्रा

None

काठमाडौं-

नेपाल युरोलोजिकल सर्जन्स सोसाइटीले केही दिनअघि मात्रै नेपालमा युरो सर्जरीको सुरुवात गरेको भन्दै दुईजना वरिष्ठ चिकित्सकलाई सम्मानित गर्‍यो। तिनैमध्येका एक हुन् डा. सिपी मास्के। नेपालमा युरोलोजी सर्जरी, पिसाब सम्बन्धी उपचार सेवा सुरु गर्ने र फैलाउने मध्येमा पर्छन् उनी। शिक्षण अस्पताल महाराजगञ्जको निर्देशकहुँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति समेत भइसकेका छन् उनी।

नेपालमा मात्रै होइन, बंगलादेश र भुटानमा समेत पुगेर उनले सेवा दिएका छन्। पछिल्लो ६ वर्षदेखि भने सम्पूर्ण रुपमा चिकित्सा पेशाबाट बिदा लिएका छन् डा. मास्केले। जीवनका केही पल आफ्नो समयको मालिक आफैँ हुन यो क्षेत्रबाट पूर्ण रुपमा पर बसेको बताउँछन् उनी। ७६ वर्षको उमेरसम्म पनि पूर्ण सक्रिय जीवन बिताइरहेका डा. मास्के एउटा उमेरपछि डाक्टर रिटायर्ड हुनुपर्ने धारणाका पक्षपाति हुन्। त्यसैले उनी केही वर्षदेखि आफ्नै करेसामा फूलहरुको हेरचारमा बढीे समय बिताउँछन्।

परिवार विस्थापित, डा. मास्के स्थापित

तेह्रथुमको जलजला गाविसमा सन् १९९८ सालमा जन्मिएका डा. मास्केलाई यो अवस्थामा ल्याइपु¥याउन अनेक संयोगले भूमिका खेलेका छन्। त्यसमध्य महत्वपूर्ण मोड २००७ सालको क्रान्ति नै हो। त्यो क्रान्तिमा उनको परिवार विस्थापित हुनु नपरेको भए आफू डाक्टर बन्न नसक्ने रहेछु भन्ने महसुस गर्छन् उनी। उनी भन्छन्, ‘तेह्रथुममै भएको भए त्यहाँ पढाइ हुने स्तरसम्म पढ्थेँ, त्यसपछि छाडेर खेतबारीमा लाग्थेँ हुँला। जिन्दगी त्यतिमै थन्किन्थ्यो।’

तर, भइदियो के भने २००७ सालको क्रान्तिमा लिम्बूवान नामक संगठनले त्यहाँबाट तागाधारी लखेट्ने अभियानै चलायो। गाउँकै लिम्बूहरुले उनको परिवारलाई लुकाएर सुरक्षित त राखे तर लिम्बूवानका कारण उनको परिवार पुरानै अवस्थामा बस्ने स्थिति बनेन। कति दिन अरुको घरमा लुकेर बस्नु भनेर उनको परिवार त्यहाँबाट विस्थापित भएर तराई झर्‍यो। मोरङको बेलपुर, हरैँचामा पनि उनका बाउबाजेले केही जग्गाजमिन जोडेका रहेछन्, त्यतै बस्न सुरु गरे। उनकै बाउबाजेले २००३ सालमा स्थापना गरेको गाउँकै शंकर मिडिल स्कुलमा कक्षा ३ सम्म पढेका उनी त्यसपछि मोरङकै पब्लिक हाइ स्कुलमा भर्ना भए।

प्रजातन्त्रवादीहरुले राणा विरुद्ध जित हासिल गरेपछि क्रान्ति शान्त भयो। विस्थापितहरु आफ्नो थातथलोतिरै फर्किन थाले। यही क्रममा डा. मास्केका बुवा–काकाहरु पनि तेह्रथुम फर्के तर उनको पढाइ चलिरहेकाले त्यहीँ बसे। २०१२ सालमा उनले त्यहीँबाट पहिलो श्रेणीमा एसएलसी पास गरे। उक्त स्कुलबाट दुई जनाले पहिलो श्रेणीमा एसएलसी पास गरेका थिए। त्यसपछि उनी र उनका साथी आइएससी पढ्न काठमाडौँ आउने तयारीमा लागे।

सोही विद्यालयबाट राम्रो नम्बर ल्याएर एसएलसी गरेका एकजना उनीभन्दा सिनियर दाइ गाउँ पुगेका रहेछन्। उनले सोधे, ‘कहाँ पढ्ने विचार गर्दैछौ?’ काठमाडौँ जान लागेको बताएपछि उनले आफ्नो हालतबारे भनेछन्, ‘काठमाडौँ गएपछि पढाइ बिग्रिन्छ। मेरो त्यस्तै भयो, तेस्रो श्रेणीमा आइएस्सी पास भएँ। त्यसपछि छात्रवृत्ति पाइएन। बिएससी पढ्न खोज्दैछु। बरु तिमीहरु बनारस जाऊ।’ त्यसपछि उनले काठमाडौँं आउने योजना रद्द गरेर लागे बनारस। त्यहाँको हिन्दू युनिभर्सिटीबाट पहिलो श्रेणीमै आइएससी पास गरे।

पत्रिकाको कटिङले डाक्टरी पढ्ने अवसर

आइएससीको परीक्षा दिएर उनी नेपाल फर्किएका थिए। नतिजा आउने टुंगो थिएन। यही बेला काठमाडौँमा एमबिबिएसका लागि कोलोम्बो प्लान अन्तर्गतको छात्रवृत्ति खुल्यो। उनले निवेदन त दिए तर आइएससी पास गरेको कुनै प्रमाण थिएन। अन्तर्वार्ता हुनुअघि नतिजा आएछ। जुन बनारसकै एउटा पत्रिकामा छापिएको थियो। बनारस बस्ने उनका एकजना साथीले नतिजा सार्वजनिक भएको सूचना दिन उनको ठेगानामा पत्रिकाको कटिङ पठाइदिएछन्।

उनले सम्झिए, ‘अन्तर्वार्ताको दिन आइसक्यो। बनारसबाट सर्टिफिकेट लिएर आउने समय थिएन। पत्रिकाकै कटिङ लिएर अन्तर्वार्ता दिन गएँ।’ अन्तर्वार्ता लिनेहरु धेरैले पत्रिकाको कटिङका आधारमा सहभागी गराउन नहुने धारणा राखे पनि नेपालस्थित भारतीय दूतावासका द्वितीय तहका एक सचिवले अर्काे दिन अन्तर्वार्ताका लाग भेट्नु भने।’ जब उनी फेरि अन्तर्वार्ता दिन गए, तब चकित परे। उनले त युनिभर्सिटीको रजिस्ट्रारलाई टेलिग्राम गरेर सर्टिफिकेट नै मगाइसकेछन्। त्यसपछि उनीसँगै अरु तीनजना एमबिबिएसका लागि छानिए। लखनउस्थित किङ जर्जेज मेडिकल युनिभर्सिटीबाट सन् १९६३ मा उनले एमबिबिएस पास गरेका हुन्।

एमबिबिएस सकेपछि कलेजले उनलाई एमएस गरेर जान अफर गरेको थियो। किनभने उनले एमबिबिएस पढ्दा नै सर्जरीप्रति आफ्नो लगाव देखाइसकेका थिए। सरकारी छात्रवृत्तिमा एमबिबिएस पढेको हुनाले थप अध्ययनका लागि तत्कालीन श्री ५ को सरकारको लिखित अनुमति अनिवार्य थियो। उनले आफूलाई कलेजले सर्जरी पढ्न अफर गरेको बताउँदै अनुमतिका लागि सरकार समक्ष निवेदन चढाए। तर, स्वास्थ्य सेवा विभागका कर्मचारीले उनको यो अवसरलाई गम्भीर रुपमा लिइदिएनन्। उल्टै लेखी पठाइदिए, ‘अहिले हामीलाई सर्जनभन्दा पनि एमबिबिएस डाक्टरकै आवश्यकता छ। नेपाल फर्किनू।’

उनी सरकारले भने अनुसार नेपाल आए। ‘तर, केको एमबिबिएसको आवश्यकता हुनु ? झण्डै ७ महिना त बेरोजगार भएर बिताउनुप¥यो,’ उनले भने, ‘पछि लोकसेवा खुल्यो। पास गरेर वीर अस्पतालमा काम गर्न थालेँ।’

आफू सर्जन, श्रीमती एनेस्थेसिया

सर्जरीमा उनको रुची भएकाले लोक सेवा पास गरेपछि उनले डेढ वर्ष वीर अस्पतालको सर्जरी विभागमा काम गरे। त्यही क्रममा भेटिएकी हुन्, डा. ज्योत्सना मास्के। उनीसँगै विवाह भयो उनको। आफू पूर्वको मान्छे भएकाले त्यहाँका गाउँठाउँ पुगेर सेवा दिने डा. मास्केको रहर थियो। सोही अनुसार उनी सुरुमा इलाम जिल्ला अस्पताल पुगे। श्रीमान्–श्रीमतीले नै साढे दुई वर्ष त्यहाँ काम गरे। एमबिबिएस मात्रै भए पनि सर्जरीमा अनुभव भएकाले उनले त्यहाँ धेरै सर्जरी गरे।

स्थायी बन्ध्याकरणको सुरुवाती चरण थियो। उनले इलाममा स्थायी बन्ध्याकरणको सुविधा दिए। सुरुमा उनको हातबाट स्थायी बन्ध्याकरण गराउन सर्वसाधरण डराए पनि पछि अञ्चलाधीशदेखि प्रहरी प्रमुखसम्मले उनको हातबाट स्थायी बन्ध्याकरण गराए।
इलामबाट उनको सरुवा भयो बाराको कलैया।

परिवारका साथमा डा. मास्के


कलैया आएको केही समयमै शिक्षा मन्त्रालयले ‘एफआरसिएस’का लागि विज्ञापन खोल्यो। त्यसमा पनि सर्जरीको कोटा अर्थात् एमआरसिएच त तत्कालीन बाग्मती अञ्चलका अञ्चलाधीशको छोरालाई लक्षित गरी मिलाइएको भन्ने हल्ला थियो डाक्टरहरुमाझ। तर, तत्कालीन शिक्षा मन्त्री र सचिवले योग्यलाई नै छनोट गर्ने अड्डी कसेपछि डा. मास्केको नम्बर लाग्यो। उनी छानिएपछि भनियो, ‘तिमी पढ्न गएको समयको सेवा जोडिँदैन। तलब पनि पाउँदैनौँ।’ तर, प्रतिस्पर्धामा नपरेका ठूलाबडा मान्छेका छोराछोरीलाई शिक्षा मन्त्रालयले सिधै मनोनयन गरी त्यहीँ पढ्न पठायो। उनीहरुको सेवा अवधि पनि जोडिने भयो र पढाइ अवधिको तलब पनि पाउने भए। आफूले चाहेको विषयमा पढ्न पाएको छात्रवृत्तिका लागि उनी यस्ता कुरामा वास्ता नगरी बेलायततिर लागे।

सोही लटमा एनेस्थेसियामा उनकै जीवनसंगिनी डा. ज्योत्सना पनि छानिइन्। डा. मास्के आफ्नो करिअरका लागि श्रीमतीले ठूलो त्याग गरेको बताउँछन्। उनी भन्छन्, ‘म सर्जन हुने भएकाले उनलाई एनेस्थेसिया पढ्न कर गरेँ। यहाँनेर म स्वार्थी भएँ, उनले त्याग गरिन्।’ डा. मास्केका अनुसार डा. ज्योत्सना स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्न चाहन्थिन् तर श्रीमान्को सर्जन हुने चाहनामा इँटा थप्न उनले आफ्नो चाहनाको तिलाञ्लजी दिइन्।

डा. मास्के बेलायत पुगेपछि पढाइमा यस्तरी घोटिएकी उक्त कोर्सको पहिलो भाग तीन महिनामै सकाइदिए। सामान्यतया ६ महिना लाग्थ्यो अरुलाई। यसरी उनले दुई वर्षे कोर्स डेढ वर्षमै पूरा गरे। त्यसपछि युरोलोजीमा त्यहीँ बसेर विशेषज्ञता हासिल गर्ने इच्छा पलायो उनलाई। मेडिकल अफिसरकै रुपमा उपत्यका बाहिर सेवा दिँदा धेरैको स्थायी बन्ध्याकरण गरेको र कतिको पिसाब सम्बन्धी समस्याको समाधान गरेकाले उनलाई यो कोर्स पढ्न जरुरी लागेको थियो। यतिबेला पनि सरकारले उनलाई फिर्ता बोलायो। उनलाई लेखेको पत्रमा भनिएको थियो, ‘हामीलाई जनरल सर्जनको बढी आवश्यकता छ, युरो सर्जनको होइन।’

डा. ज्योत्सनाले पनि एनेस्थेसियामा विशेषज्ञता हासिल गरेपछि जनरल सर्जन भएरै उनी फर्के नेपाल। उनलाई बुटवल पठाइयो। बुटवलमा दुई वर्ष बिताए। त्यो क्रममा उनले बेलायतमा सिकेको ज्ञानसीप प्रयोग गरे। गोर्खा सैनिकबाट रिटायर्ड भएर आएकाहरु ‘गोराले मात्रै गर्न जान्ने काम नेपालीले गरेको’ भन्दै चकित पर्थे। एकपल्टको घटना सम्झिन्छन् उनी, ‘एकजना रिटायर्ड लाहुरे बुढा एपेन्डिक्स भएर अस्पताल आइपुगेका थिए। मैले शल्यक्रिया गरेर ठीक पारेँ। भोलिपल्ट उनी अस्पतालमा आफ्नो शल्यक्रिया गर्ने डाक्टर खोजिरहेका रहेछन्। मै हुँ भनेपछि, ए नेपालीले पनि यस्तो गर्न सक्ने भए भनेर चकित भएका थिए।’

घाँटीमा बञ्चरोले काटेर गम्भीर घाइते भएका एकजनालाई उपचार गरेर ठीक पारेपछि हात्तीमा राखेर नगर परिक्रमा गराएको घटना पनि ताजै छ उनको मनमा। उनले गरेका यस्ता सम्झनायोग्य हरेक सर्जरीमा जीवनसंगिनी डा. ज्योत्सनाले नै एनेस्थेसियामा साथ दिएकी थिइन्।

बुटवलमा उनको सर्जरी सेवाको चर्चा भइरहेको थियो, स्वास्थ्य सेवा विभागले उनलाई पोखरा सारिदियो। यसको कारण रहेछ, पोखरामा राजाले स्वास्थ्य शिविर गरिरहने भएकाले त्यहाँ सर्जनका रुपमा उनले काम गरुन्। हाकिमहरुले राम्रो मान्छे खटाइदिएको भन्दै राजाको चाकडी गर्न उनलाई त्यहाँ सरुवा गरेका थिए। उनले तीन वर्ष पोखरामा बिताए।

पोखरामा उनले गाइनो, हड्डी, स्पाइनलदेखि बन्ध्याकरणसम्मको शल्यक्रिया सेवा दिए। अन्य सर्जरी सेवा त दिएकै थिए, मोतियाबिन्दुको समस्या अत्यधिक देखियो। उनी कार्यरत अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्ने उपकरण र त्यसपछि दिने चश्मा थिएन। उनी आफैँले कलकत्ता गएर उपकरण र  चश्मा ल्याएर सेवा सुरु गरेका थिए।

वयस्कका डाक्टरलाई बाल अस्पताल सरुवा

पोखरापछि डा. मास्केको सरुवा सप्तरीको राजविराजमा भयो। राजविराजमा अस्पतालको स्थिति यति नाजुक थियो कि उनी अहिले सम्झँदा पनि विरक्तिन्छन्, ‘कुनै उपकरण थिएन, कुनै औषधि थिएन। अस्पताल परिसरभित्रै गाईभैँसी चर्थे।’ सोही बेला उनीसँगै पढेका साथी पद्मसुन्दर लावती मन्त्री भएर घुम्न त्यहाँ पुगेका रहेछन्। जोसँग उनी कक्षा तीनसम्म सँगै पढेका थिए। उनले भनेछन्, ‘यस्तो ठाउँमा के बसेको, म अन्तै सरुवा गरिदिन्छु।’

सर्जरी जानेको मान्छे औषधि–उपकरण भएको ठाउँमा भए राम्रै सेवा दिन्थेँ भन्ने थियो उनलाई तर पनि उनले आनकानी गरे। उनको पीर थियो, ‘मन्त्रीको पावरले सरुवा भए पनि मन्त्री हटेपछि हालत उही हो।’ लावतीले आफ्नै विवेकले उनलाई वीरगञ्ज पठाइदिए।

तर, वीरगञ्जमा एकजना सर्जन पाँच वर्षदेखि बसिरहेका रहेछन्। उनले डा. मास्केलाई भने, ‘केही समय घरबिदामा बस्नु, त्यसपछि म अन्तै सरुवा भएर जान्छु।’ तर, ती सर्जन जान मानेनन्। यस्तो लफडा मन्त्री लावतीले थाहा पाएपछि ती सर्जनलाई तुरुन्तै नारायणी अञ्चल अस्पताल छाड्नु भन्ने आदेश आयो। तर, स्वास्थ्य विभागले भने डा. मास्केलाई त्यहाँ गाह्रो भए काठमाडौँ नै आऊ भन्यो।

आदेश शिरोपर गरेर उनी काठमाडौँ आए। तर, वयस्कका सर्जन डा. मास्केलाई सरुवा गरियो, कान्ति बाल अस्पतालमा। उनलाई बडो ताजुब लाग्यो। किनभने उनले जानेको र गरेको त ‘एडल्ट सर्जरी’ थियो। त्यसैले आफ्नो क्षमताको अधिकतम प्रयोग वयस्कहरुकै सर्जरीमा गर्न चाहन्थे उनी। तर, सरुवा गरेर खटाएको ठाउँमा नगई सुखै थिएन। जहाँ पनि गर्ने त सर्जरी नै हो भनेर उनले कान्तिमा काम थाले। थप स्वअध्ययन र मिहिनेतको जरुरी भयो, तर पछि हटेनन् उनी। दुई वर्ष त्यहाँ बसेर बाल शल्यक्रिया गरेपछि फेरि उनलाई भनियो, ‘तिमी विराटनगर जाऊ।’

तत्कालीन राजा-रानी वीरेन्द्र र ऐश्वर्यका साथमा डा. मास्केसहितको समूह


युरोलोजी सेवाको सुरुवात

कहिले यताबाट उता, कहिले उताबाट यता सरुवा हुँदाहुँदा डा. मास्केको परिवार भने लथालिङ्ग हुन थालेको थियो। त्यो समय छोराहरुको पढाइका लागि महत्वपूर्ण थियो। काठमाडौँ सरुवा भएपछि उनले छोराहरुलाई सेन्ट जेभियर्स पढाउन थालेका थिए। कति सरुवा भइरहने भन्ने लागेर उनी सरकारी सेवाबाट राजीनामा दिने मोडमा पुगे।

त्यसबेला शिक्षण अस्पताल महाराजगञ्जले प्रोफेसरका लागि विज्ञापन गरेको थियो। उनले आवेदन दिए, छनोट पनि भए। त्यहाँ बस्दा उनले युरोलोजी सर्जरी सेवालाई व्यवस्थित रुपमा अघि बढाउने मौका पाए। विशेषगरी त्यो समय धेरै महिलालाई पिरोल्ने पिसाब चुहिने समस्याको समाधानमा उनले जोड दिए।

उनी सम्झिन्छन्, ‘कसैले त्यसको उपचार हुन्छ भन्ने थाहा पाएका थिएनन्। यस्तै हुन्छ यो बुढेशकालमा भनेर बस्थे।’ महिलाको पिसाव चुहिने रोग शल्यक्रिया गरेपछि ठीक हुन्छ भन्ने उनले प्रमाणित गरिदिए। त्यसपछि शिक्षण अस्पतालबाट धेरैले यो सेवा लिए। त्यहाँ उनी १२ वर्ष जति बसे। महिला र पुरुष दुवैमा युरोलोजी सम्बन्धी शल्यक्रिया सेवा दिनुका साथै निर्देशकका रुपमा प्रशासकीय जिम्मेवारी पनि उनले निभाए।

बन्ध्याकरणमा ‘बेस्ट’

मेडिकल अधिकृत हुँदाताका नै बन्ध्याकरण सेवा दिएका डा. मास्के सर्जन भएपछि झन् धेरैले सेवा पाए। महिलाको बन्ध्याकरण गर्ने डाक्टरमा उनकै नाउँ चलेको थियो। युरोलोजी सर्जनका रुपमा उनको तारिफ भइरहेको थियो। बन्ध्याकरणको विषयलाई लिएर उनले नेपाल मेडिकल एसोसिएनको सम्मेलनमा एउटा प्रस्तुति दिएका थिए। सो सम्मेलनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) प्रतिनिधि पनि थिए। डा. मास्केको प्रस्तुतिबाट प्रभावित भएका डब्लुएचओका प्रतिनिधिमार्फत उनलाई दक्षिण पूर्वी एसियाको हेडक्वार्टर दिल्ली बोलाइयो।

डब्लुएचओले विभिन्न देशमा परिवारनियोजनका लागि सहयोग गरिरहेको थियो। उनलाई भुटानका डाक्टरलाई परिवार नियोजन गर्ने सीप सिकाउन पठाउने प्रस्ताव गर्यो डब्लुएचओले। उनी पनि राजीखुसी गए। उनले भुटानका डाक्टरलाई सिकाउने क्रममा एक हजार तीन सय जनाको बन्ध्याकरण गरेको थिए।

भुटानबाट फर्केको दोस्रो वर्ष उनी फेरि अनुगमनका लागि भुटान गए। तर, खासै प्रगति देखेनन्। त्यसको कारणबारे उनले खुलाए, ‘त्यहाँका डाक्टरलाई विश्वास नगरेर स्थानीयले काठमाडौँबाट आएको डाक्टरबाट मात्रै गराउने भन्दा रहेछन्।’ डा. मास्केबाटै बन्ध्याकरण गराउने अड्डी भुटानीले लिएको सुनेपछि उनी फेरि भुटानतिर फर्किएर गएनन्। त्यसबारे उनी भन्छन्, ‘सधैं हामी गएर गराउन सकिँदैन। त्यहाँका डाक्टरलाई विश्वास गरुन् भनेर म गइनँ।’ डब्लुचएओले त्यसपछि उनलाई बंगलादेश खटायो। सात वर्ष त्यहाँ सेवा र सर्जरीको तालिम दिएपछि उनी सेवानिवृत्त भएर स्वदेश फर्किए।

नेपाल फर्केपछि पनि उनी चुपचाप बसेनन्। उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) को उपकुलपतिको जिम्मेवारी पाए। उनले उपकुलपति भएर दुई वर्ष काम गरे। तर, प्रतिष्ठानमा हुने राजनीतिक खेलले उनलाई लामो समय त्यहाँ बसिरहन जाँगर चेलन। उनले भने, ‘जे को टेन्डर खोल्दा पनि तत्कालीन मन्त्रीले पैसाको कुरा गर्न थाले। मन्त्रीज्यूले खुलेआम नभन्ने तर पार्टीले पौसा मागिरहेको छ मसँग भनेर घुमाउरो तरिकाले पैसाको माग गर्थे।’ डा. मास्केले थपे, ‘आफूले भ्रष्टाचार नगर्ने भएपछि मन्त्रीलाई दिने पैसा कहाँबाट ल्याउन सक्नु र? स्वच्छ छवि बनाएर चिकित्सकीय जीवन बिताएको मैले पद र मन्त्रीका लागि बेइमानी गर्नु उचित ठानिनँ। दुई वर्षमै निस्किएँ।’

उपकुलपतिको जिम्मेवारीबाट पन्छिएपछि पनि उनले पाटन अस्पतालमा झन्डै पाँच वर्ष युरोलोजी सर्जरी सेवा दिए। त्यहाँबाट अवकास लिएपछि भने डा. मास्केले चिकित्सकीय अभ्यास गरेका छैनन्। उनी भन्छन्, ‘मैले सकेजति गरिसकेँ, अब बुढेशकालमा तनाव लिनुभन्दा शान्तिसँग बस्न चाहन्छु।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने