डा भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ (हार्ट सर्जन) हुन्। नेपालमा मुटुरोगको उपचारको क्षेत्रमा डा कोइरालाले उल्लेख्य योगदान गरेका छन्। चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन्।
सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्याउने उनको विशेष भूमिका छ। मुटुरोगको कुरा आउँदा डा कोइरालाको नाम पनि सँगै जोडिएर आउँछ। तर पछिल्लो समय डा कोइराला बाल अस्पताल खोल्ने अभियानमा जोडिएका छन्।
मुटुरोगका विशेषज्ञ डाक्टर भएर बालरोगको उपचार हुने अस्पताल किन?
डा कोइरालाका अनुसार पछिल्लो समय उनले सबैभन्दा बढी सुनेको प्रश्न नै यही हो।
भन्छन्, ‘बालबालिकाको उपचारका क्षेत्रमा काम गर्ने मेरो रहर अहिलेदेखिको होइन। डाक्टरका रुपमा सेवा सुरु गरेदेखि नै म बालबालिकाको स्वास्थ्यका क्षेत्रमा काम गर्न चाहन्थें।’
बालबालिकाको स्वास्थ्यमा काम गर्ने भनेर नै आफू २१ वर्षअघि अमेरिकामा विशेष कोर्ष अध्ययनका लागि गएको समेत उनले सुनाए।