काठमाडौं – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लिएको प्रवेश परीक्षाका विषयमा प्रश्न उठेको छ। आइओएमले गत चैत १६ गते सञ्चालन गतेको परीक्षाको नतिजाको विश्वसनियतामाथि प्रश्न उठेको हो।
परीक्षाको नतिजामा चित्त नबुझेपछि रिटोटलिङ गर्दा बढी नम्बर आएपछि परीक्षा प्रणालीमाथि प्रश्न उठेको हो। गैरसरकारी चिकित्सक संघले त उक्त विषयमा छानबिन गरी दोषिमाथि कारबाहीको माग समेत गरेको छ। संघले विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन पनि माग गरेको छ।
नतिजाको विषयलाई लिएर केही विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका थिए। जसमध्ये सञ्जिव परियारको नतिजा फरक आएपछि विद्यार्थी तथा चिकित्सकहरुले परीक्षाका विषयमा प्रश्न उठाएका हुन्।
परियारको सुरुमा ५३ नम्बर आएको थियो। तर, रिटोटलिङ पछि उनको ६१ नम्बर आएको छ। कम्प्युटराइज प्रणालीबाट लिइने प्रवेश परीक्षामा रिटोटलिङ गर्दा बढी नम्बर आएपछि गैरसरकारी चिकित्सक संघले सोमबार आइओएमको डिन कार्यलयमा ज्ञापनपत्रसमेत बुझाएको छ।