काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभाग टेकुकाे निरीक्षण गरेका छन्। स्वास्थ्य मन्त्रीका रूप उनले विभागको पहिलाे औचारिक भ्रमण गर्दै विभागस्थित महाशाखा र केन्द्रहरूकाे ब्रिफिङ लिए।
ब्रिफिङका क्रममा विभिन्न महाशाखा प्रमुखले कर्मचारी अभाव, दरबन्दी भएर पनि जनशक्ति अभाव, बजेट अभाव, समायोजनले पारेको असर र स्वास्थ्यले गरेको उपलब्धी बारे मन्त्रीलाई जानकारी गराएका थिए।
स्वास्थ्य सेवा नियमावली, जनस्वास्थ्य सेवा नियमावली स्वीकृत नहुँदाका समस्या, तीन तहकाे सहकार्य र समन्वयमा समस्या, औषधि खरीदमा समस्या, समयमा रिपोर्टिङ नहुँदाका समस्या लगायतबारे पनि मन्त्रीकाे ध्यानाकर्षण गराइएकाे थियाे।
स्वास्थ्य मन्त्री ढकालले सबै बुझेर सचिवलगायतकाे जिम्मेवारी हेरफेर गर्ने तर अहिले हतार नगर्ने बताए। उनले कामलाई बाधा नपर्ने गरि समयमै अघि बढाउने विश्वास दिलाए।
समायोजन न्यायसंगत हुनेगरि गर्नुपर्ने भन्दै उनले व्यवहारिक हुने गरि काम गर्ने उल्लेख गरे। उनले भने, 'अहिले म सुन्ने चरणमै छु। सांगठनिक रूपमा धेरै कर्मचारी भएकाे ठूलाे मन्त्रालय हाे। तर यो विधि अनुसार चलेकाे छ/छैन त्याे महत्त्वपूर्ण हाे।'
सरकारले लिएकाे म्यान्डेट अनुसार नै अघि बढ्ने भन्दै मन्त्री ढकालले भने, 'प्रत्येक व्यक्ति फाइल बाेकेर मन्त्रीकहाँ आउनु ठिक हाेइन, याे सुधार गर्नुपर्छ।' उनले फाइल सचिव, राज्यमन्त्री हुँदै सिस्टमबाट आउन निर्देशन दिए।
'मलाई स्वास्थ्य मन्त्रालयमा त माछा व्यापार हुन्छ रे भनेर साथिहरूले भन्छन्, केही बेथितिबारे सुनेको छु, बुझ्दै पनि छु' उनले भने।
उनले कार्यक्रममा विदेश जानुपर्ने कुरालाई सिस्टममा ल्याउने भन्दै देशकाे सिमाना नाघेर जाने कुरा सम्बन्धित व्यक्ति लाई थाहै नहुने गरी जाने लाेकतन्त्र आइनसकेकाे पनि बताए । स्वास्थ्यराज्य मन्त्री नवराज रावतले समयमै गुणस्तरीय औषधि तल्लाे तहसम्म पुर्याउनेतर्फ ध्यान दिनुपर्ने बताए।
सुत्केरी हुन नसकेर, झाडापखाल, सिटामाेल नपाएर, दुर्घटनामा परेर धेरै मर्ने ठाउँ कर्णाली प्रदेश भएकाे राज्यमन्त्री नवराज रावतकाे भनाइ छ।
उनले कर्णाली प्रदेशलाई पहिलाे प्राथमिकतामा राख्नुपर्नेमा जाेड दिए। समायोजनका विषयमा स्वास्थ्यले सामान्य मन्त्रालयलाई मात्र दाेष दिन नमिल्ने उनले बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राेशन पाेखरेलले तीनै तहमा समन्वय गर्न समस्या, क्षयराेग, एड्सजस्ता राेगका औषधि खरीदमा समस्या भएकाे बताए।उनले कतिपय महत्त्वपूर्ण फाइल लामाे समय मन्त्रालयमा अड्किदा कामहरू राेकिएकाे पनि बताए।