काठमाडौं– देशकै पुरानो वीर अस्पतालले बिरामीको आवश्यकतालाई ध्यानमा राख्दै फार्मेसी सेवालाई २४ घण्टा नै संचालन गरेको छ। आइतबारदेखि वीर अस्पतालमा २४ घण्टा नै फार्मेसी सेवा संचालन गरिएको फार्मेसी इन्चार्ज स्याम मण्डलले बताए।
गत वर्ष नै २४ घण्टा नै फार्मेसी सेवा संचालन गर्ने योजना बनाएर फर्मासिस्ट नियुक्तीको प्रक्रिया अघि बढाइसकेको थियो। तर, कोरोना महामारीका कारण कर्मचारी भर्ना गर्न नसक्दा अस्पतालले २४ घण्टा नै फार्मेसी सेवा दिन सकेको थिएन। कोरोनाका कारण रोकिएको जनशक्ति व्यवस्थापनको काम हाल पुरा गरी फार्मेसी सेवामा २४ घण्टा नै खुला गरिएको मण्डलले भनाइ छ।
‘गतवर्षको चैतमा नै फर्मासिष्ट नियुक्तीका लागि विज्ञापन खुलाएर ९ जना माग गरेका थियौ, निवेदनहरु पनि परिसकेको थियो,’ उनले भने, ‘त्यतिबेला कोरोनाका कारण कर्मचारी राख्ने कार्य नै रोकियो, त्यही रोकिएको काम पुरा गरेर अहिले फार्मेसी २४ घण्टा संचालन गरेका छौं।’
उनका अनुसार २४ घण्टा नै फार्मेसी सेवा संचालन गर्न ९ जना फर्मासिष्ट थप गरिएको छ।
हाल वीर अस्पतालको फार्मेसीमा २० जना फर्मासिष्ट रहेका छन्। उनीहरुको ४ सिफ्टमा ड्युटी विभाजन गरी २४ घण्टा नै फार्मेसी सेवा दिइएको मण्डलले बताए। वीर अस्पतालमा यसअघि बिहान र बेलुकाको समयमा फार्मेसी सेवा बन्द हुँदा अस्पतालमा भर्ना भएका तथा आकस्मिक सेवा लिन आएका बिरामीहरुले बाहिरबाट औषधि खरिद गर्नुपर्ने बाध्यता थियो।
फार्मेसी सेवा २४ घण्टा नै खुला भएपछि विषेशगरी स्वास्थ्य बिमाका बिरामीहरुलाई बिमा रकमबाटै औषधि लिन सजिलो भएको उनले बताए।
‘पहिला पहिला स्वास्थ्य बिमा गराएका बिरामीले समेत फार्मेसी बन्द भएकै कारण बेलुका ७ बजेपछि औषधि चाहिदा निजी फार्मेसीबाट किन्नुपर्ने बाध्यता थियो, अहिले २४ घण्टा नै सेवा खुला भएपछि स्वास्थ्य बिमा गरेर निशुल्क औषधि उपचार गराउन पाउने बिरामीलाई केही सहज भएको छ’ उनले भने।
उनका अनुसार स्वास्थ्य बिमा अन्तर्गत रहेका विभिन्न प्रकारका औषधिहरुमध्ये करिब ८० प्रतिशत औषधिहरु वीर अस्पतालकै फार्मेसीमा उपलब्ध छ।
थप फर्मासिष्ट नियुक्त गरेपछि अस्पतालको फार्मेसी सेवामा थप प्रभावकारी भएको मण्डलको भनाइ छ।
हाल बिरामीले फार्मेसीबाट औषधि लिनका लागि बढिमा १० मिनेटभन्दा धेरै समय पालो कुर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ।
‘हामीले बिरामीको चाप अनुसार ४ वटा कम्प्युटर राखेर ४ ठाउँबाट औषधि वितरण गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसले गर्दा बिरामीहरुले औषधि लिन धेरै समय पालो कुर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।’