नुहाएर बाथरूमबाट निस्किँदा काकाको चार 'मिस्ड कल' देखेँ। यस्तो महामारीका बेला केही आकस्मिक समस्या पो पर्यो कि भनेर कल ब्याक गरेँ।
मैले 'नमस्ते काका' भन्न नपाउँदै आत्तिएको स्वरमा भन्नुभो- नमस्ते! सुन न बाबु, म मधुहेहको रोगी, औषधि खाइरहेको छु, कोरोनाको खोप लगाइरहेको छ, मैले लगाउनु मिल्छ कि मिल्दैन? बुझ्न फोन गरेको।
मेरो मन अलि शान्त भयो। अनि पुन: सोधेँ- अनि किन यति आत्तिनु भाको?
उत्तर आयो- आत्तिएको छैन बाबु, सल्लाह लिन मात्र खोजेको, देशको स्थिति थाहा छँदै छ। अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर छटपटाएर मर्नुभन्दा खोप लागाउनु बेस पो हुन्छ कि? त्यसमाथि अस्पतालमा लडाइँ, झगडा, स्वास्थ्यकर्मीहरुलाई कुटपिट। कसले सुरक्षा अनि उपचार गर्छ हाम्रो?
अनि मेरो साथीले भन्नुभो- केही महिना अगाडि कोरोनाको खोप लगाऊ भन्दा लगाउन मानिन। यो खोप ट्रायल (क्लिनिकल, फिल्ड) को हो। के होला न होला भनी डरले लगाइनँ। अब अहिले पछुतो हुँदै छ भनेर सुनायो। आएको मौकालाई किन गुमाउने भनेर नि बाबु! बाबु जनस्वाथ्यकर्मी। जनस्वास्थ्य विषयमा स्नाकोत्तर गरी अध्यापन एवम् स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेको हुनाले सोधेको। बाबुले भनेपछि विश्वास लाग्छ।
म एकछिन स्तब्ध भएँ। सोचेँ अस्थिर राजनीतिको उपज होला तर बोल्न सकिनँ। किनकि, त्यो मेरो क्षेत्र परेन। केहीबेरमा भनेँ- जानकारी त छ तर नयाँ विषय भएकोले अहिले ठ्याक्कै भन्न सक्दिन। अध्ययन गर्छु, जानकार व्यक्तिसँग सल्लाह गरेर भन्छु भनेँ।
यी केही नमूना जिज्ञासा मात्र हुन्। यस्ता कैयौँ प्रस्नहरु छन् हाम्रो मनमा। हुन पनि नयाँ खोप भएकोले मनमा जिज्ञासा उत्पन्न हुनु स्वाभाभिक प्रकिया नै हो। हामीले बुझेर/जानेर खोप लगाउनुपर्छ। आफ्नै मनमा लागेका केही जिज्ञासा, साथीभाइ र आफन्तले गरेको प्रश्नको उत्तर खोज्न विश्व स्वास्थ्य संगठनबाट अनलाइन तालिम लिएँ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचनाका साथै केही अन्तर्राष्ट्रिय आर्टिकल अध्ययन गर्दा यस्तो पाएँ।
कोरोना भाइरसबाट हुने क्षतिको न्यूनीकरणका लागि अपनाउने जनस्वास्थ्यका मापदण्डहरुलाई भाषण दिएर हुँदैन, यसलाई कडाइका साथ व्यवहारमा लागू गर्नुपर्छ/गराउनुपर्छ। संक्रमण गराउनसक्ने एजेन्ट, होस्ट र वातावरणलाई तोड्न जरुरी छ। शरीरमा इम्युनिटी पावर विकास हुनु जरुरी छ। यो संक्रमण यति चाँडै उन्मुलन हुने सम्भावना नभएकोले रोकथामका लागि पूर्णरुपमा खोप लगाउनुपर्छ।
ल्यान्सेट, मे १२ ,२०२१ प्रकाशित आर्टिकलअनुसार कोभिड-१९ को खोप लगाउन बेलायतमा १८.४ प्रतिशत हिचकिचाएका छन्, १५.६ प्रतिशतले शंका व्यक्त गरे भने ६६.६ प्रतिशतले खोप लगाउने चाहना व्यक्त गरेको तथ्यांक सार्वजानिक गरिएको छ।
censusnepal.cbs.gov.np का अनुसार नेपालको जनसंख्या २०७८ जेठ १५ गतेसम्म ३ करोड ३ लाख ५२ हजार ८१७ देखाएको छ। यसैगरी नेपालमा कूल जनसंख्यामध्ये मे २७ सम्ममा २.२ प्रतिशत र ७.३ प्रतिशतले क्रमश: पूरा डोज र आंशिक डोज खोप लगाएको देखिन्छ। ourworldindata.org अनुसार विश्वमा ५.४ प्रतिशतले पूरा खोप लगाएका छन् भने ५.१ प्रतिशतले एक डोजमात्र लगाएका छन्। इजरायलमा ६० र ५४ प्रतिशत, बेलायतमा ५५ र ३१ प्रतिशत, अमेरिकामा ४८ र ३८ प्रतिशत, इटालीमा ३५ र १५ प्रतिशत, फ्रान्समा ३१ र १४ प्रतिशतले क्रमश: खोपको पहिलो र दोस्रो डोज लिएको तथ्यांक छ।
सार्क राष्ट्रहरुमा कोभिड-१९ विरुद्ध खोपको स्थिति:
देशको नाम | एक मात्रा खोप लिएको % | दुई मात्रा खोप लिएको % | प्रति १०० व्यक्तिमा |
माल्दिभ्स | ५७ | ३० | ८७.४५ |
भारत | ११.६ | ३.१ | १४.७२ |
बंगलादेश | ३.५ | २.५ | ६.०४ |
नेपाल | ७.३ | २.२ | ९.४८ |
श्रीलंका | ७ | १.६ | ८.५६ |
पाकिस्तान | २.१ | ०.७ | २.७८ |
भुटान | ६२.६ | ------- | ६२.६५ |
अफगानिस्तान | १.२ | ०.३ | १.५२ |
स्रोत: our world in Data ,11 pm , may 29, 2021
नेपालमा कोरोना संक्रमणविरुद्ध दिइने खोपको मात्रा बढाउने लाग्नुपर्ने दिखिन्छ। समय अनुकूल स्वास्थ्यकर्मी र आमजनतालाई कोरोना खोपको बारे ज्ञानमा अध्यावधिक गर्दै जानुपर्छ।
कोभिड-१९ विरुद्ध नेपालमा दुईवटा खोपहरु प्रयोगमा आइरहेका छन्, ती हुन् कोभिशिल्ड र भेरोसेल।
कोभिशिल्ड खोपको विकासकर्ता युनिभर्सिटी अफ अक्सफोर्ड र एस्ट्राजेनिका हो भने खोप उत्पादन गर्ने भारतको कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डिया हो। यो खोपको प्रभावकारिता ७० प्रतिशत रहेको हुन्छ।
भेरोसेल खोप कोभिङ-१९ विरूद्ध दिइने खोप हो। यो खोप नेपाल सरकारलाई चीन सरकारबाट अनुदानमा प्राप्त भएको छ। 'भेरोसेल' नामको यो खोप चीनको सिनोफर्मअन्तर्गत बेइजिङ इन्स्टिच्यूट अफ वायोलोजिकल प्रोडक्ट्सबाट उत्पादन गरिएको हो। भेरोसेल खोप 'इनाक्टिभेटेड' खोप हो। यो खोपले शरीरमा रोगविरुद्ध लड्ने प्रतीरक्षा क्षमताको विकास गर्दछ। यो खोप प्रभावकारी तथा सुरक्षित छ।
यो खोप भायलमा उपलब्ध हुन्छ र भण्डारण एवम् ढ्वानी गर्दा +२ डिग्रीदेखि +८ डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनले +२ डिग्रीदेखि +८ डिग्री सेल्सियस, -२०० डिग्री सेल्सियस र नयाँ भनी -७०० डिग्री सेल्सियसमा भण्डारण गरीराख्न सकिने जनाएको छ। जमेको शंका लागेमा प्रयोग गर्नु हुँदैन। यो खोप सङ्घीय र प्रदेश तहमा वार्क-इन-कुलरमा भण्डारण गर्नुपर्छ। जिल्ला तह र वितरण केन्द्रमा रेफ्रिजेरेटरमा भण्डारण गर्नुपर्छ भने स्वास्थ्य संस्थामा रेफ्रिजेरेटर वा कण्डिसनिङ गरेका आइस प्याक राखेर कोल्ड बक्समा भण्डारण गर्नुपर्छ। खोप केन्द्र वा खोप सेसनको लागि यो खोप लैजाँदा कण्डिसनिङ गरेको आइस प्याक राखेको कोल्ड बक्स वा भ्याक्सिन क्यारियरमा राख्नुपर्छ। यो खोप तातोबाट पनि बिग्रिनसक्छ।
यो खोप ०.५ मि.लि. मात्र सुइको माध्यमबाट बाँया पाखुराको माथिल्लो भागको मासुमा दिइन्छ। पहिलो मात्रा जुन खोप लगाइएको छ दोस्रो मात्रा पनि सोही खोप प्रयोग गर्नुपर्छ। यो खोप १८ वर्षदेखि ५१ वर्ष उमेरका व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाहमा लगाउन सकिन्छ।
यो खोप लगाउँदा अन्य खोपहरूजस्तै सामान्य असरहरू देखिनसक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन्। यस्ता सामान्य असरहरू विस्तारै ठीक भएर जान्छन्। तर, पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस प्रतिक्रियाजस्तो छाला रातो हुने, सुनिने, आँखा सुनिने, श्वास फुल्ने, बेहोस भए, रक्तचाप कम भएको छ भने, एलर्जी भएकाहरूले पनि दोस्रो लिँदा साथै गर्भवती तथा स्तनपान गराइरहेकाले विशेषज्ञसँग सल्लाह लिएर मात्र खोप लगाउनुपर्छ।
सबैलाई पुग्नेगरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमश: दिइनेछ। मुटुरोग, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह सुगर, शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले पनि यो खोप लिन सकिन्छ। यसका साथै १८ वर्षमुनिका बालबालिका र गर्भवतीमा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहका लागि खोप सिफारिस गरिएको छैन। संक्रमण भइरहेको बेला यो खोप लगाउन मिल्दैन र सक्रमणमुक्त भएको ३० दिनपछि ९० दिनसम्म पनि स्वास्थ्यकर्मीको सल्लाहमा लगाउन सकिन्छ।
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ। खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुनसक्ने हुनाले खोप लगाउनुपर्छ। संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन थाहा नभएकोले पनि सबैले खोप लिनु आवश्यक छ।
खोप लिएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु अपनाइरहनुपर्छ। जस्तो: भीडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दूरी कायम गर्ने तथा बेला-बेलामा साबुन पानीले हात धुने। खोप उपलब्ध छ/छैन आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरिरहनुपर्छ। आम मानिसहको कौतुहल्तालाई समाधान गर्दै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै सबै मानिसलाई खोप उपलब्ध गराउनु राज्यको दायित्व हो भने जनस्वास्थ्यका मापदण्डहरु अपनाउनु नागरिकको कर्तव्य हो।