सानो हुँदा जिज्ञासु हुदैं म हेर्थें, बादलजस्तै धुवाँको मुस्लो बुवाको नाक र मुखबाट उडिरहेको। बेलाबेलामा उहाँ लामो सास लिनुहुन्थ्यो चुरोटको खिल्लीलाई ओठको चेपमा अडाएर। उसैगरी सासलाई भित्र शरीरका अंग अंगमा पुर्याएर बाहिर उडाउनुहुन्थ्यो। मलाई निकै रोचक लाग्थ्यो त्यसैले यो दृश्य नियाँल्न सधैजसो म बुवाको नजिक जान्थें। उहाँ दिनमा पाँचपटकभन्दा बढी चुरोट तान्नुहुन्थ्यो। त्यो चुरोट मिश्रित गन्ध मेरो लागि अत्तरको सुगन्धभन्दा प्यारो लाग्थ्यो।
कक्षा ५ सम्म पढ्दै गर्दा उहाँले चुरोट तान्दा म सँगै साक्षी बसिरहन्थें। मलाई थाहा थिएन चुरोटको धुवाँले नजिक बस्नेलाई पनि असर गर्छ भन्ने। मेरो पनि यसमा एक किसिमको लत बस्यो। अर्को लत पढ्न र खेल्नमा थियो। पढाइमा सरकारी निम्न माध्यमिक तहमा एकपटक स्कूल नै प्रथम भएको रेकर्ड मेरो नाममा थियो। किताबका अक्षरले मलाई धूम्रपान गर्न हुदैंन भनेर धेरैपटक सम्झाउँन्थ्यो तर म आफैले चुरोट नपिएपनि यो सँगको साइनो भने जोडिइरहेको नै थियो। स्कूलमा सरले चुरोट, बिडीँ, हुक्का, सूर्ति, खैनी खानु हुदैंन भनेर बडो जोडतोडले सिकाउनुहुन्थ्यो तर उहाँ नै चुरोटको अम्मली हुनुहुन्थ्यो। खाली समय पाउँदासाथ शौचालयमा गएर एक खिल्ली क्षणभरमै फोक्सोसम्म पुर्याउन उहाँलाई केही सेकेण्डमात्रै भएपनि पुग्थ्यो।
हुन त प्रायः शिक्षक कक्षाकोठामा आउँदा उहाँसँग चक, डस्टर, खैनी वा सूर्तिको सानो पोका पनि तपाई हामीले धेरैपटक देख्दै आएका हौ। कतिपटक त तपाई हाम्रो अनुहारसम्म पनि उहाँको थुकसँगै खैनीका बाछिटा पनि सँगै आएको भोगाई होला। शिक्षकले धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्नुपर्छ भनेर कहिल्यै भन्नु भएन न त बुवाले नै भन्नुभयो तर उहाँहरुको त्यसप्रतिको माया देखेर भने मलाई सधै कौतुहल भने बनाइराख्थ्यो।
घरमा कपडाको पसल थियो। बुवा पसलमा कपडाको अलवा चुरोट र सूर्तिपनि बेच्न राख्नुहुन्थ्यो। सायद उहाँले आफूलाई अरुकोमा चुरोट किन्न जान नपरोस् भनेर बेच्नुको अलवा आफूलाई पनि खान सहज होस् भनेर राखेको हुनुपर्छ।
कक्षा ५ को वार्षिक परीक्षा सक्काएपछि मैले खाली समय पसलमा बस्ने मौका पाए। त्यतिबेला खै किन हो म मा खैनी खाने विचार पलायो। मैले कोही नभएको मौका छोपी खैनीको बट्टाबाट एक चिम्टी निकाली ओठमा च्यापें। केहीबेरमै त्यसले मलाई अर्के संसारमा पृर्यायो। म ज्वरोले ५ दिनसम्म उठ्नै नसक्नेगरी थलिएँ।
शरीरलाई हानी गर्ने थाहा हुँदाहुँदैं पनि मान्छे धूम्रपान तथा सूर्तिजन्य पदार्थको लतमा किन फस्छ होला? यहि सोचिरहन्थें। मैले भने एकपटक बिरामी परेपछि यसको सेवन नगर्ने अठोट लिएको थिएँ। धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्नू स्वास्थ्यको लागि हानीकारक हुन्छ भनेर रेडियोमा पनि बारम्बार भनिरहन्थ्यो। आकर्षक विज्ञापनले लोभ्याएपनि यसको उपयोगी गुण केही थिएनन्। यस्ता पदार्थको बाहिरी भागमा नखान सचेत बनाउँदैं फोक्सो बिग्रिएको फोटो समेत राख्थ्यो तर मान्छे यसको पूरै बेवास्ता गरिरहेका हुन्थे। अझ चुरोटको बाहिरी भागको खोलमा ठूला अक्षरले “धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ” भनेर लेखिएको हुन्थ्यो।
दिन बित्दै गएसँगै घरमा बुवाको चुरोट तथा सूर्तिको लत पनि झन् बढेर गयो। म बुवालाई यसबाट छुटकारा दिलाउन चाहन्थें तर यो आफैंमा सहज थिएन। वर्षोदेखिको सामिप्यतालाई बुवाबाट टाढा पृर्याउन खोज्नु आफैंमा चानचुने विषय थिएन। मेरो सानो आग्रहमा उहाँ धूम्रपानको लतबाट निस्कने सम्भावना एकदमै न्यून थियो। घरमा मम्मीले समेत लुकीछिपी चुरोट तानेको मैले देखेको थिएँ। त्यसैले यसबाट उहाँहरुलाई छुटकारा दिलाउन उपयुक्त उपायको खोजीमा मैले धेरै रात सोच्दै बिताएँ। यसबीचमा एउटा जुक्ति निकालें।
कक्षा ५ बाट उत्तीर्ण भई कक्षा ६ मा पुगें। योसँगै मेरो सोचाई पनि केही विकसित बन्न पुग्यो। प्रथम त्रैमासिक परीक्षामा जानेको प्रश्नको पनि उत्तर नलेख्ने जुक्ति लगाएँ। सोहि अनुसार म कक्षाको अब्बल विधार्थी परीक्षामा फेल भएँ। घरमा नतिजाको विषयले हलचल ल्यायो। मैले बुवाको अगाडि अबदेखि नपढ्ने भनेर संकल्प कसें। यो उहाँलाई मेरो कुरा मनाउन बाध्य पार्न अपनाइएको घुर्की थियो।
साँझको खाना खाइसकेपछि बुवाले मलाई सम्झाउनु भयो। भविष्यका सुनौला सपना म माथी राखेको र त्यसैबाट हाम्रो परिवारको गन्तव्य भेटिने कुरा गर्नुभयो। म सहमत नै थिएँ यी यावत् कुरामा तर मेरो उहाँमाथी सर्त थियो। मैले निशंकोच उहाँलाई भने– अबदेखि तपाईंले यस्ता धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दिनँ साथै हाम्रो पसलबाट समेत यस्ता सामाग्रीको बिक्री नगर्ने कुरामा सहमत हुनुपर्छ भनेर। एकछिन सोचमग्न हुनुभएका बुवाले स्वीकृत जनाउनु भयो। यी सारा कुराको साक्षी मम्मीले समेत त्यसदिन पछाडी मैले चुरोट सेवन गरेको देखिनँ।
गाउँले जनजीवन आफैंमा अभावले ग्रस्त थियो तैपनी यस्ता शरीरलाई हानी गर्ने वस्तु किन्न भने पैसाको अभाव हुन्थेन। हाम्रो मात्रै घर नभएर धेरैको घरमा यस्ता पदार्थको सेवन अधिकांशले गर्दथें। त्यसैमा स्वास्थ्य सम्बन्धी चेतनाको कमी थियो। बिरामी पर्दा अस्पताल हैन धामी–झाँक्रीकोमा लैजानुपर्छ भन्ने चेतले मानसिकता भरिएको थियो।
त्यसपछि हाम्रो पसलबाट यस्ता स्वास्थ्यलाई हानी गर्ने कुरा बेच्न छाडिए। हाम्रो घरपरिवार यस्ता पदार्थको सेवनबाट टाढियो तर चिन्ता समग्र समाजको थियो। जो यसैको सिकारले थिलोथिलो भएको थियो। मैले स्कुलमा स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउने शिक्षकको संयोजनमा वार्षिक उत्सवको समय पारेर धूम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण सम्बन्धी एक नाटक देखाउने योजना साथीहरुलाई सुनाएँ। हामी कक्षा ६ मा पढ्ने सबै यो कुरामा सहमत भयौं। अनि एक आपसमा जिम्मेवारी समेत बाड्यौं। हाम्रो कुराले विषय शिक्षक एकदमै खुसी हुनुभयो। उहाँले आवश्यक सबै सहयोग गर्नुभयो।
स्कुलको वार्षिक उत्सव सबै विधार्थी, शिक्षक, अभिभावक, राजनीतिकर्मी, बुद्धिजीवि र समाजका हरेक व्यक्तित्वको उपस्थितिमा हामीले “धूम्रपान तथा सूर्तिजन्य नियन्त्रण” सम्बन्धी नाटकलाई बढो मिहिन ढंगले देखायौं। यस्ता पदार्थको सेवनले दाँत तथा मुखको क्यान्सर, घाँटी, खानेनली, फोक्सो तथा पेटमा असर, निमोनिया, मुटुसम्बन्धी रोग, प्रजनन क्षमतामा कमी हुनेजस्ता कुरा बुझायौं। चुरोट सेवन नगर्ने व्यक्तिभन्दा सेवन गर्ने व्यक्तिमा २५ प्रतिशत फोक्सोको क्यान्सर हुने सम्भावना हुने कुरा पनि बतायौं। योसँगै अप्रत्यक्ष रुपमा यसका आर्थिक तथा सामाजिक असरहरुको समेत व्याख्या गर्यौ। यस्ता पदार्थमा हुने निकोटिनयुक्त पदार्थले लतमा पार्ने कुरा पनि बुझिनेगरी प्रकाश पार्यौ। यसका प्रभाव र असरको नाट्य भाव बुझेपछि सबैले ताली बजाउनुभयो र अबदेखि यसबाट टाढा रहने प्रण समेत सोही कार्यक्रमबाट गर्नुभयो र यसको हरेक व्यक्ति, परिवार र समाजले समेत यसको कार्यान्वयन गर्यो।
यतिबेला नेपालमात्रै नभएर विश्वनै कोभिड–१९ को महामारीले थलिएको छ। धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्नेहरु यसको संक्रमणबाट धेरै नै प्रभावित भैरहेका छन्। तथ्यांकमा हेर्ने हो भने नेपालमा वर्षेनी २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य पदार्थको सेवनले हुने गरेको देखिन्छ। त्यसैले पनि शरीरलाई स्वस्थ्य राख्न नदिने यस्ता हानिकारक पदार्थको सेवनबाट टाढा रहनुपर्छ। हरेक वर्ष मे ३१ मा विश्व “धूम्रपान रहित दिवस” मनाउनुको उपादेयता समेत यसैमा रहन्छ।