काठमाडौं- लयमा बढिरहेको जीवनको गति धिमा भइदिँदा निराश त भइन्छ नै। योजनामा चलिरहेको पाइला रोकिँदा मुस्किल हुन्छ नै। हिम्मतको खोजमा साथ दिने आधार भेटिए गजव, नत्र बढाउनुपर्छ संघर्ष। मेहनतमा उठेका जीवन संघर्षको कठीन बाटोबाट भाग्दैनन्, परिश्रम गर्छन् र पाउँछन् उपलब्धि।
त्यही परिश्रमको बाटोमा बढिरहँदा साइक्लिस्ट हर्क लामाका लागि नसोचेको आइपरिदियो। कोरोना महामारीले कामविहीन भएर आर्थिक समस्यासँग जुधिरहँदा उनलाई रोगले पनि थिचिदियो। जीवनको लय बदलियो। गति मोडियो। तर उनी विचलित भएनन्। डर त लाग्यो नै। तर भागेनन्। लडे। तब त जित्दैछन् क्यान्सर।
पहाडका उकाली ओरालीमा साइकल कुदाएर चिनिएका हुन् हर्क। ४६ वर्षका उनको साइकलसँगको नाता लामो छ। सिन्धुपाल्चोक लिशंखुबाट काठमाडौं आएर काम खोज्दा होस्, पर्यटकलाई हिमाली पाखामा घुमाउँदा होस् या खेलाडी पहिचानको यात्रामा बढ्दा, साथ साइकलले नै दिएको हो। यसैले औषधि हो उनका लागि साइकल। मन बलियो पारिदिने औषधि। शरीर चलाइरहने औषधि।
साइकल र डोको नाम्लो
हर्क सिन्धुपाल्चोक लिशंखुमा नै हुर्किएका हुन्। २०४९ सालमा एसएलसीपछि काठमाडौं आए। पहिलो पटक उनले साइकल देखेको काठमाडौं आएपछि नै हो। साइकल उनका लागि रहरभन्दा ज्यादा बाध्यता बनेको थियो। काम खोज्दै जाँदा यस्तो काम भेटे जहाँ साइकल चलाउन जान्नु अनिवार्य सर्त थियो।
एक दुई दिन लगाएर साइकल सिके पनि। चिनजानमा मागेको त्यो पुरानो साइकल उनका लागि पहिलो पाइला थियो। नभन्दै साइकल जानेपछि पसलमा काम पनि पाए। सामान एक ठाउँबाट अर्को ठाउँमा साइकलमा नै पुर्याएर काम सुरु भयो। सँगै सुरु भयो साइकल जिन्दगीको यात्रा। उनले तीन वर्ष पसलमा सामान ओसार पसारको काम गरे।
साइकल जब चिने तब हर्कले त्यसलाई धेरै समय छाडेका छैनन्। उनी सँगै छ साइकल। साइकलसँगै छन् उनी। यति सम्म कि २०५६ सालमा नै उनले सामान्य साइकल लिएर काठमाडौंदेखि गाउँ सिन्धुपाल्चोक लिशंखुसम्म जाने आँट गरेका थिए। उनको घरसम्मै बाटो पुगेको पनि थिएन। साँघुरो गोरेटोमा नपत्याउँदो साइकल कुदाए।
चाइनिज साइकलको त्यो सामान्य गियर उनका लागि परिचित आँट थियो। बनेपा पुगेपछि केही सजिलो होला भनेर हाते पम्प पनि किनेर बोकेका थिए। त्यत्तिको भरमा झण्डै १२० किलोमिटरको यात्रा गरे। काठमाडौं नआएका मानिसका लागि त्यो एकदमै नौलो कुरा थियो। हर्कको साइकल यात्राले गाउँमा धेरै मान्छे खुसी पनि भए। राम्ररी स्वागत भयो। फर्केर काठमाडौंसम्म पनि त्यही साइकलमा आए।
चक्रपथमा पसलमा काम गरिरहँदा हर्कको चिनजान ट्रेकिङ हिँड्ने साथीहरुसँग पनि भयो। काम उही तर साधन फेरियो। साइकलमा सामान बोक्ने उनी अब डोको नाम्लोतिर लागे। ट्रेकिङमा उनको काम भरियाको थियो। ३२ दिनसम्म लगातार डोको नाम्लो बोकेर हिँडेको याद उनीसँग छ। त्यो यादले मेहनतसँगै अत्यासलाग्दो दिन सम्झाउँछ। सँगै ३२औँ दिनको खुसी पनि।
४५ किलोको भारी ३२ दिनसम्म सजिलो कसरी होस्। अत्यास लाग्दो, आजबाट दिन गन्न सुरु हुँदा बल्ल एक दिन भयो अझ ३१ दिन त बाँकी नै छ। गाउँमा जन्मे हुर्केको मान्छे उनलाई भारी बोक्नुसँग पिर त थिएन। बलियो नै थिए। तर त्यत्रो लामो दिनमा दिक्क किन नलागोस्। दुःख सम्झिँदा त अबदेखि कहिल्यै भारी बोक्ने काम गर्दिनँ भनेजस्तो लाग्यो पनि। ट्रेकको अन्तिम दिनसम्म पुग्दा त्यो दुःखले सुख अनुभव गराएरै बिदा हुन्थ्यो।
निकै वर्ष हर्कको जिन्दगी त्यही भारीमा बित्यो। धेरैपटक उसैगरी ट्रेकिङ हिँडे। भरियाबाट सुरु भएको यात्रा जिन्दगी अंग्रेजी भाषाको ज्ञानसँगै पदोन्नती हुँदै पनि गयो। गाउँमा चार कक्षापछि एबिसिडी चिनेका उनका लागि भाषा कक्षामा जानुको विकल्प थिएन। पढे सिके। पर्यो सिके।
जनयुद्धका नाममा भइरहेको सशस्त्र विद्रोह र त्यसले निम्त्याएको संकटकालले हर्कलाई लामो समय ट्रेकिङमा बाटो बनिरहेन। कमजोर आर्थिक अवस्थाले उनले कामको विकल्प खोज्न थाले। जे काम भेटियो त्यही गरे। ट्याक्सी चलाए। रातको समय सेक्युरिटी गार्ड बसे। दिउँसो भेटिएका अरु काम पनि छाडेनन्।
गाउँमा बुबाआमा र भाइबहिनीको खर्च पुर्याउने जिम्मेवारी उनकै काँधमा थियो। दसैँमा जाने बेला गाउँमा आश पर्खिरहेको हुन्थ्यो। जसले हर्कलाई खाली हात जाने सुविधा भएन। केही न केही लगिदिनै पथ्र्यो। त्यसैले उनले काठमाडौंमा जे भेटियो त्यही काम गरे।
हर्कले संकटकाल सकिएपछि ट्रेकिङको पुरानै काममा फर्कने अवसर पाए। पर्यटन क्षेत्र विस्तारै लयमा आउन थालेको थियो। अहिले भने भरियाको कामबाट उनी शेर्पा, किचन हुँदै आफै गाइड भए। अहिले पर्यटन क्षेत्रमा काम गर्न उनले आफ्नै कम्पनी ‘हिमालयन एक्सन ट्रेक्स एण्ड टुर्स’ चलाएको पनि पाँच वर्ष पुगिसकेको छ।
फेरिएको साइकल जिन्दगी
सन् २०१० पछि हर्कको साइकल सम्बन्ध फेरि ब्युँतियो। साइकलमा पसलको सामान ओसार्ने उनले अहिले फरक खालका साइकलसँग परिचय पाइरहेका थिए। ठमेलमा पर्यटन क्षेत्रमा काम गर्ने साथीहरू मार्फत उनी साइकल पसलतिर पुगे। आफैले पर्यटकलाई साइकल टुर गराउन पनि थाले।
साइक्लिङमा लागेका सबैको जस्तै छ हर्कको अनुभव पनि, ‘साइक्लिङ टुरका लागि नेपाल भौगोलिक हिसाबले निकै राम्रो छ। यहाँको भूगोलमा साइक्लिङमा रमाउन विदेशी पर्यटक नेपाल आउन चाहन्छन्।’
साइक्लिङ टुर गर्न थालेदेखि हर्क आफै पनि माउन्टेन बाइकमा लागिपरे। उच्च क्षेत्रमा जान मिल्ने साइकल सुरुवातमा उनीसँग थिएन। भाडामा साइकल लिएर टुर गरिरहेका थिए। कुनै बेला साथीहरूले पनि टुर बुक गराइदिन्थे। टुर चलाउँदै जाँदा नै उनको चिनजान राष्ट्रिय साइक्लिस्टसँग भयो। टुरको हिसाबले साइक्लिङमा जाँदा पनि राष्ट्रिय खेलाडीलाई पछ्याउन सक्ने, उनीहरूसँगै जान सक्ने भए। हर्कलाई पर्खिएर बस्नुपर्ने बाध्यता नभएपछि उनको साथी सम्बन्ध बढ्दै गयो। साइकलमा फरक भूमिकामा रमाउन थाले।
सन् २०१६ मा त हर्कले साइक्लिङमा राष्ट्रिय स्तरको प्रतियोगिता नै खेले। ‘सबै जनाले खेल्नु भनेर कर गरेपछि धरानमा भएको राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थिएँ। त्यसमा पहिलो रेसमा भेट्रानतर्फ चौथो भएँ’, हर्क सुनाउँछन्, ‘पहिलो रेसको अनुभव अचम्म लाग्दो हुने रहेछ। प्राविधिक कुराहरू केही पनि थाहा थिएन। जतिसक्दो कुदाउनुपर्ने भन्ने मात्र भयो। बल प्रयोग गर्नेबाहेक अरु भएन।’
पहिलो रेसमा आफूले धेरै कुरा बुझेको थिइनँ भन्ने हर्कले अहिले बुझेका छन्। आफ्नो धुनमा एकोहोरो साइकल कुदाउनेबाहेक उनको ध्यान यताउति गएन। कति अगाडि कुदिरहेका छन्, कति पछि छुटे भन्ने ख्याल पनि उनलाई थिएन। जे होस्, त्यही अनुभवले बढिरहेको हो उनको साइकल यात्रा। त्यसैले त सन् २०१७ पछिको रेसमा आफ्नो उमेर समूहमा उनी सधैँजस्तो विजेता बनिरहेका छन्।
‘भारतमा भएको साइक्लिङ म्याराथन रेस जहाँ ६६० किलोमिटर सात दिनमा पूरा गर्दा दोस्रो भएको थिएँ। २०१९ सम्ममा नेपालमा भने शीर्ष स्थानमा नै रहेँ। त्यसपछि त रेस पनि भएको छैन’ उनले भने।
हर्क सन् २०१७ मा भएको याक अट्याकमा दोस्रो भएका थिए। जहाँ ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ पास जस्तो बाटोसमेत पर्छ। सन् २०१८ र २०१९ को याक अट्याकमा त उनी भेट्रानतर्फ पहिलो नै भए। त्यसबाहेक पनि पोखरा, धरान, वालिङमा भएका अरु रेसहरुमा पनि हर्कको नाम अगाडि नै रह्यो। उपाधिहरू जितिरहे। जसले उनको खेलाडी परिचय अझ उचाइमा पुर्यायो।
हर्क भारतमा खेल खेल्न जाँदा १४ देशका सहभागी भेट भएका थिए। त्यहीँको चिनजानले जर्मनीका साथीहरू भेटे। उनीहरूकै निमन्त्रणामा युरोपमा ट्रान्स एएलपी खेल्न जान पाए। जुन रेसमा आफैले खर्च धानेर जान असम्भव नै हुन्छ।
हर्क सन् २०१९ को जुलाइमा युरोप गएका थिए। त्यहाँ अस्ट्रियादेखि इटाली पुगेर सकिने ७ दिनको रेस थियो। सहभागी असाध्यै धेरै थिए। धेरै वटा विधामा प्रतिस्पर्धा भइरहेको थियो। झण्डै १५ हजार साइक्लिस्टमाझ आफू कुन चाहिँ हुलमा छु भन्ने हर्कले ठम्याउन सकेका थिएनन्। आज भेटिएको साथी भोलि कहाँ पुगे भेट्न मुस्किल थियो। त्यो अनौठो रोमाञ्चकता उनको साइक्लिङमा नौलो उपलब्धी हो।
हर्कका लागि साइक्लिङ रेसमा सहभागी हुनु कहिल्यै नसोचेको कुरा हो। साइकल नै नदेखेको मान्छे साइकल सम्बन्धी काममा लागे। सामान्य साइकल र साइकल रेस बुझे। रेसमा पनि राम्रोसँग लागिरहन सके। उपाधिहरू जिते। रेस कहिले आउला र जाउँला भन्ने प्रतीक्षा हुनु हर्कको साइकलसँगको मीठो सम्बन्ध नै हो। पछिल्लो समय उनलाई स्वास्थ्यले साथ दिएको छैन, तर साइक्लिङबाट पर नहुने हौसला बढाइरहेकै छन्।
क्यान्सरले निउँ खोज्यो
हर्कलाई रोगले पनि कठीन समयमा छोप्यो। कोरोना माहामारीसँग विश्व लडिरहेका बेला हर्क क्यान्सरसँग लडिरहे। उनलाई क्यान्सर भएको एक वर्ष भयो। ‘सन् २०२० को सुरुमा नै स्वास्थ्यमा समस्या आएपछि जाँच गर्न गएँ। अहिले पनि क्यान्सरसँग लडिरहेको छु। अझै लामो समय लड्नुपर्ने छ। डेन्जर जोनबाट भने बाहिर छु’, हर्क भन्छन्, ‘सहि समय, सहि ठाउँमा सहि उपचार भयो भने राम्रो हुने रहेछ। क्यान्सरलाई पनि जित्न सकिने रहेछ भन्ने कुरा प्रमाणित गर्न चाहन्छु।’
हर्कलाई भएको युरिनरी ब्लाडर क्यान्सर हो। सुरुमा पिसाबमा रगत देखिएपछि अस्पताल गएका थिए। भिडियो एक्सरे गर्दा ट्युमर देखिएको थियो। त्यसलाई अप्रेसन गरेर निकाल्नु पर्छ भन्ने सल्लाह डाक्टरले दिए। २०२० को फेब्रुअरीको पहिलो हप्ता शल्यक्रिया भयो। त्यसपछि औषधी चलाइएयो। त्यसको ६ हप्तापछि फेरि ट्युमर पुनरावृत्ति भयो। दोस्रो पटक जुन महिनामा फेरि शल्यक्रिया भयो।
दोस्रो पटकको शल्यक्रियापछि भने औषधि परिवर्तन गरियो। त्यसको तीन महिनापछि हेर्दा बल्ल ट्युमर पुनरावृत्ति भएन। यसपटक औषधिले काम गर्यो। त्यो बेला पनि पुनरावृत्ति भएको भए युरिनरी ब्लाडर नै निकाल्नु पर्ने हुन्थ्यो भन्ने हर्कले सुनेका थिए। त्यसैले उनलाई डर थियो कतै साइकल जिन्दगी नै सकिने त होइन। धन्न उनी अहिले साइकलमै छन्। रोग ठीक हुँदैछ।
हर्कलाई अझ केही समय औषधिमा रहेर जाँचका लागि अस्पताल गइरहनुपर्छ। ‘तीन वर्ष त अझ औषधि चलाउनु पर्छ भन्ने कुरा छ। तीन पटक किमो पनि गर्नुपर्ने छ। डाक्टरले तीन महिनामा बोलाउनुहुन्छ त्यसको लागि’ हर्कले सुनाए।
अब तपाइँ साइक्लिङमा फर्कन सक्नुहुन्छ भनेर डाक्टरले भनेका छन्। क्यान्सर ठीक हुँदै गएको खुसीभन्दा ठूलो साइक्लिङमा फर्कन पाउँछु भन्ने खुसीले हर्कको मन उज्यालो भएको छ। अहिले धेरै अभ्यासमा नजानु तर रेसमा केही समयमा जान सक्नुहुन्छ भनेर डाक्टरले भनेका छन्। यसैले अहिले पनि हर्क विचार पुर्याएर साइक्लिलङ गरिरहेकै छन्।
‘लागिसकेको कुरालाई उपचार त गर्नु नै परिहाल्यो। तर आफ्नो जीन्दगीलाई पहिलेदेखि नै हेरविचार त गरिरहनु पर्छ। बेपरवाह हुनु भएन’ सबैको लागि हर्कको सुझाव हो यो। आफूले नै आफ्नो जिन्दगीको विचार राम्ररी गर्नुपर्छ भन्ने हर्कले बुझेका छन्।
‘क्यान्सर लाग्नेवित्तिकै ल अब सबै कुरा सकियो। जिन्दगी नै सकियो, अब केही छैन भन्ने सोच्नु हुँदैन। त्यस्तो होइन रहेछ भन्ने मबाट नै प्रमाणित हुन्छ जस्तो लाग्छ’, उनी भन्छन् ‘हामी सबैलाई क्यान्सर भनेपछि डर नै लाग्छ। समाजमा सबैको सोच त्यही छ क्यान्सर भनेपछि जीवन सकियो भन्ने। तै पनि साथीभाइले धुलिखेल अस्पतालले मलाई राम्रो हौसला दियो।’
हर्कले सुरुमा अरु नै अस्पतालबाट रोगबारे थाहा पाएका हुन्। साइक्लिङमार्फत चिनेका डाक्टरमार्फत पछि धुलिखेल अस्पतालमा गए। बाँकी सबै उपचार त्यहीँ नै भइरहेको छ। अस्पतालमा डा जोशी, डाक्टर विकास, डाक्टर सुजन लगायत सबैले आफूलाई उपचारसँगै हौसला दिएकाले मन बलियो भएको हर्क सुनाउँछन्।
‘सुरुमा त धेरै आत्तिएको थिएँ। सामान्य छ त्यति आत्तिनुपर्ने छैन भनेर डाक्टरहरूले हौसला दिनुभएको थियो। त्यही भएर म धेरै आत्तिनँ। उपचारमा संलग्न सबैलाई धन्यबाद भन्न चाहन्छु’ हर्कले सबैलाई सम्झिए।
‘शल्यक्रिया भन्ने वित्तिकै के हो कसो हो भन्ने त भइ नै हाल्छ। पूरा शरीर नलठ्याइकन आधा शरीर लठ्याएर अप्रेसन गरिएको थियो। त्यसैले आँखाले आफैले पनि हेर्न पाएँ। स्क्रिनमा देखाएर काटेको झिकेको सबै कुरा मैले आफैले देखेँ। आफैले महसुस गर्न पाएँ। कहाँ के भएको रहेछ भनेर देखेँ। तिम्रो यस्तो छ भनेर सबै बुझाउनु भयो’ हर्कले सुनाए।
अस्पतालमा उनी शल्यक्रियाको समयमा मात्रै बसेका हुन्। होइन भने त उनी काठमाडौं स्वयम्भूदेखि धुलिखेल आउने जाने नै गरिरहे। लकडाउनको समयमा लामो दुरी तय गर्न सहज पनि थिएन। सबै कागजपत्र बाटोमा प्रहरीलाई देखाउँदै, कुरा बुझाउँदै जानुपर्ने थियो।
‘बन्दको अवस्थामा सजिलो त थिएन। कष्टपूर्ण रुपमा नै बित्यो त्यो समय। आर्थिक रुपमा र स्वास्थ्यका हिसाबले पनि समस्या एकैपटक परिदियो। अफिस बन्द हुँदा गाह्रो नै भएको छ’ उनले भने।
साइक्लिङ औषधि
डाक्टरले दिएका औषधिसँगै हर्कका लागि साइक्लिङ अझ विशेष औषधि हो। उनी जिन्दगीका तमाम दुःख साइकलमै भुलिदिन्छन्। साइक्लिङ एक दिन गरेनन् भने उनलाई के पुगेन-के पुगेन जस्तो भइरहन्छ। एक समय त घरको काम सबै सकाएर ९ वर्षकी छोरीको रेखदेख गर्दै उनी साइक्लिङमा लागिरहे।
‘घरको कामदेखि खेलसम्म नबिराइ लागिरहन सहज त हुँदैन नै। छोरी ७ बजेसम्म सुतिरहँदा म बिहान उठेर अभ्यास गरेर पनि घर फर्किसकेको हुन्थेँ। ४ बजे नै उठेर साइक्लिङबाट आएर खाना बनाएर छोरीलाई स्कूल लगेर काममा जान्थेँ। त्यसपछि फेरि घरको काम’, हर्कले दुई वर्षअघिको समय सम्झँदै बेलिविस्तार लगाए, ‘स्कूलबाट छोरीलाई ल्यायो, घरको काम गर्यो। सन् २०१९ को याक अट्याक यसैबीचमा नै खेलको हो। मान्छेले चाह्यो भने समय मिलाउन सकिँदो रहेछ, भ्याइनँ समय भएन भन्ने चाहिँ हुँदैन रहेछ।’
आफ्नो साइक्लिङको कुरा हर्कले छोरीसँग पनि साटिरहेका हुन्छन्। छोरीलाई पनि उनले साइक्लिङ सिकाएका हुन्। तर छोरीले साइक्लिङमा नै उत्ति रुचि दिएको जस्तो उनलाई लागेन।
हर्कमा साइक्लिङ मोह असाध्यै छ। कतिसम्म भने सन् २०१२ मा पहिलोपटक मोटरसाइकल बेचेर पैसा थपेर उनले साइकल किनेका थिए। मोटरसाइकल बेचेर ८० हजार रुपैयाँ जति पाए। १ लाख २५ हजार रुपैयाँको साइकल किने। अहिले त लकडाउनको समय उनले आफूसँग भएको एउटा साइकल नबेची नहुने अवस्थामा पुगे।
भन्छन्, ‘कोरोनाले अप्ठ्यारो पारेको थियो। विदेशबाट मगाएको डाउन हिल साइकल थियो। मेरो विधा क्रस कन्ट्री म्याराथन भए पनि त्यो साइकल मन परेको थियो। एक त लकडाउनको समय सबैलाई गाह्रो नै हो, मेरो त उपचारको समय पनि त्यही बेला परिदियो। त्यसैले एउटा साइकल बेचेँ।’
जे जसो आइपरे पनि उनका लागि साइक्लिङभन्दा ठूलो अर्को केही छैन। साइक्लिङमा नलागेको भए यो सबै देख्न कहाँ पाउँथे र भनेर उनी प्रश्न गर्छन्। साइकलले नै आफूलाई यहाँसम्म ल्याइपुर्याएको उनलाई लाग्छ। उनका लागि जीवनको सन्तुष्टि साइकलले नै दिएको हो। साथीभाइ साइकलमा नै भेटिएका हुन्।
हर्कले काठमाडौंमा पहिलोपटक आउँदा जे भेटिन्छ त्यही काम गर्नुपर्ने बाध्यतामा धेरै काम गरे। सुरुमा काठमाडौं आएपछि पसलमा सामान ओसारपसार गर्दा साइकलसँग जोडिएको नाता माउन्टेन बाइकिङ, रेस हुँदै यो समयसम्म आइपुगेको छ। पछिल्लो समय रोगलाई जित्दै साइकलसँग नै जोडिन पाइरहेका छन्। साइकलमा रमाउन सकिरहेका छन्।
रोग लाग्नुभन्दा पहिले र अहिलेमा साइकल चलाउँदा त्यस्तो फरक त महसुस उनलाई भएको छैन। हुन त शल्यक्रिया गरेको भोलिपल्ट नै पनि साइकल चलाउन सक्छु भन्ने आँट उनको मनमा थियो। बाहिरी चोटपटक नभएकाले दुःखाइ महसुस भएको थिएन। कमजोर भएको अनुभव पनि गरेनन्।
जिन्दगीको आयामले जता पुर्याइरहे पनि हर्कले साइकलबाहेक अहिले अरु सोचेका छैनन्। यो अप्ठ्यारो समय सकिन केही बेर त लाग्ला भनेर पर्खिरहेका छन्। समय आखिर एकैनास त नहोला। यो धुम्मिएको समयमा फेरि उज्यालो त आउला नै। यसैले त साइक्लिङ अभ्यास बिहान बेलुका मन लगाएर गरिरहेका छन्।
अहिले उनले सबैलाई भन्न चाहेको कुरा छ, ‘आत्तिनु हुँदैन तर रोगलाई लुकाउनु पनि हुँदैन। उमेर भनेको अंक बढ्ने कुरा मात्र हो। अहिले ४६ वर्षमा पनि म भाइहरूसँग साइक्लिङ गरिरहेकै छु। म बुढो भएँ सक्दिनँ भन्ने कुरा होइन रहेछ। किनभने मेरो उमेरकै साथीहरु बुढो भयो अब कहाँ सक्नु भनिरहेका हुन्छन्। निरन्तर गरिरहने काममा अभ्यास भयो भने सकिन्छ नै।’
जीवनलाई लापरवाह रुपमा सोच्नु हुँदैन भन्ने हर्कले जे बुझेका छन् त्यो सबैलाई बुझाउन चाहन्छन्। जीवनमा अमूल्य पाटो र उत्सव आखिर जिउँदा न छ। त्यही जीवनको उत्सव अझै साइकलबाट नै खोजिरहनेछन् हर्क। कुदाइरहने छन् साइकल यिनै उकाली ओरालीमा। जीवनका उकाली ओरालीले कुनै समथर भेट्यो भने बढिरहने छन् त्यहीँ नै।