काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि कोरोना भाइरस विरुद्वको खोप आइपुगेको छ।
गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि भएको थियो। त्यसको भोलीपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।
त्यसको एक वर्षपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणको डेढ प्रतिशत जनसंख्यालाई पुग्ने खोप अवतरण भयो। मध्याह्न १२ बजे एयर इन्डियाको जहाजमा भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको हो।
स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनमा कोभिड १९ विरुद्वको खोप अभियान सञ्चालन गर्ने बताए।
उनले पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना रहेको बताए। उनका अनुसार नेपाललाई थप ४० लाख डोज भ्याक्सिन आवश्यक छ।
उनले भने,‘अनुदानबाहेक थप आवश्यक खोप खरीदको प्रक्रिया चाँडै सुरु हुनेछ। पारदर्शी रुपमा खरीद गरी न्यायपूर्ण रुपमा खोप अभियान सञ्चालन हुनेछ।’
नेपाल सरकारले कूल जनसख्ंयाको ७२ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ। जसको पहिलो चरणमा ३ प्रतिशत जनसंख्या अर्थात ९ लाख ११ हजार ३४२ जनालाई खोप लगाइने बताइएको छ।
तर, पहिलो चरणमा अनुदान स्वरुप आएको १० लाख डोज भ्याक्सिनले करिब पाँच लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।
त्यसबाहेक नेपाललाई कोभिड भ्याक्सिनको सहजीकरण र समान वितरणका लागि बनेको अलायन्स कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुनेछ। कोभ्याक्सले आगामी मार्च अप्रिलसम्ममा नेपाललाई खोप उपलब्ध गराउने पत्र पठाइसकेको छ। बाँकी आवश्यक खोप भने खरीद गर्नुपर्नेछ।
भ्याक्सिनको भण्डारण र ढुवानी
भारतबाट आज आएको खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ।
व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिहं तिंकरीले उक्त खोप शुक्रबार दिउँसो वा शनिबार बिहानबाट सातै प्रदेशमा ढुवानी गरिने बताए। उनले बिहीबार बेलुकासम्म कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेपछि रेफ्रिजेरेटर भ्यानमार्फत हरेक प्रदेशमा पठाइने छ। प्रदेशबाट सम्बन्धित जिल्लामा खोप पठाइने डा तिंकरीले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा हरेक जिल्लाका खोप कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीलाई भर्चुअल तालिम दिने, ढुवानी व्यवस्थापन गर्ने र कसरी खोप कार्यक्रम सञ्चालन गर्ने लगायतका काम भइरहेको छ।
व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार हरेक जिल्लामा पहिलो ३ प्रतिशत खोप पाउने व्यक्तिको सूची आइसकेको छ। त्यसमा पनि खोपको उपलब्धता अनुसार डेढ प्रतिशत जनसख्ंयालाई पुग्ने गरी खोप हरेक प्रदेशलाई पठाइने उनले बताए।
कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने हुन्छ।
व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले केन्द्रीय भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा रुम कोभिड भ्याक्सिन भण्डारणका लागि तयारी अवस्थामा राखेको जानकारी दिए।
उनका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखिएको छ।
उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।
त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममध्ये एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। उक्त कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ।
व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिन स्टोर गर्ने तयारी गरिएको छ। तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ। त्यहाँ प्रति रुममा १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ। भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने बताइएको छ।
पथलैयामा रहेको कोल्ड रुम बिग्रिएर सञ्चालनमा आएको थिएन। केही दिनअघि काठमाडौैंबाट पठाइएका प्राविधिकहरुले उक्त स्टोर मर्मत गरिसकेको व्यवस्थापन महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीले जानकारी दिए।
पोखरा, बुटवल र धनगढीमा एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। २ हजार २५० लिटर क्षमता भएको उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ।
नेपालगञ्ज र सुर्खेतमा ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ। जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।
कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)
जिल्ला | जनसंख्या (खोप लगाउने ३ प्रतिशत) | भ्याक्सिन डोज |
ताप्लेजुङ्ग | ३,९२० | ९,२५० |
संखुवासभा | ४,६८२ | ११,०४९ |
सोलुखुम्बु | ३,०७६ | ७,२५८ |
ओखलढुंगा | ४,५४२ | १०,७२० |
खोटाङ | ५,२६० | १२,४१४ |
भोजपुर | ४,७०८ | ११,११२ |
धनकुटा | ५,१२४ | १२,०९३ |
तेह्रथुम | ३,०२५ | ७१३८ |
पाँचथर | ५,९०६ | १३,९३९ |
इलाम | ९,३२८ | २२,०१५ |
झापा | २७,६२७ | ६५,१९९ |
मोरङ | ३२,६३२ | ७७,०११ |
सुनसरी | २७,१८१ | ६४,१४८ |
उदयपुर | १०,६३४ | २५,०९६ |
सप्तरी | २१,२७ | ५०,०९६ |
सिरहा | २१,०२० | ४९,६०७ |
धनुषा | २५,१४३ | ५९,३३६ |
महोत्तरी | २१,१४३ | ५९,३३६ |
सर्लाही | २६,६७० | ६२,९४० |
रौतहट | २५,०७८ | ५९,१८५ |
बारा | २४,६७७ | ५८,२३७ |
पर्सा | २१,२९६ | ५०,२५९ |
सिन्धुली | ९, ३१२ | २१,९७७ |
मकवानपुर | १३,८०३ | ३२,५७४ |
चितवन | २०,७५० | ४८,९७१ |
दोलखा | ५,६१४ | १३,२४८ |
सिन्धुपाल्चोक | ८,८२४ | २०,८२४ |
रसुवा | १,३४९ | ३,१८४ |
धादिङ | १०,६०३ | २५,०२३ |
नुवाकोट | ८,६१३ | २०,३२६ |
काठमाडौं | ६६,४२४ | १५६,७६० |
भक्तपुर | १०,९९५ | २५,९४८ |
ललितपुर | १७,०३७ | ४०,२०८ |
काभ्रेपलाञ्चोक | १२,०४९ | २८,४३६ |
रामेछाप | ६,२५६ | १४,७६५ |
गोरखा | ७,४३५ | १७,५४७ |
मनाङ | १९० | २,५४० |
मुस्ताङ | २४८ | ८२० |
म्याग्दी | ३,३३२ | ७,८६५ |
कास्की | १७,४५९ | ४१,२०३ |
लमजुङ | ५,१५२ | १२,१५९ |
तनहुँ | १०,२५९ | २४,४४७ |
नवलपरासी पूर्व | १०,५२५ | २४,८३८ |
स्याङजा | ९,५९३ | १७,९१९ |
बागलुङ | ८,४९० | २०,०३६ |
रुकुम पूर्व | १,७४४ | ४,११५ |
रोल्पा | ७,११७ | १६,७९७ |
प्युठान | ७,२५३ | १७,११६ |
गुल्मी | ७,७१८ | १८,२१४ |
अर्घाखाँची | ६,०६८ | १४, ३२२ |
पाल्पा | ७,४६६ | १७,६२० |
नवलपराससी पश्चिम | ११, २०१ | २६,४३५ |
रुपन्देही | ३१,७६८ | ७४,९७३ |
कपिलवस्तु | १९,९४० | ४९,०५९ |
दाङ | १९,३३७ | ४५,६३५ |
बाँके | १८,०५६ | ४२,६१३ |
बर्दिया | १४,३३० | ३३,८१९ |
डोल्पा | १,२६३ | २,९८१ |
मुगु | १,९०९ | ४,५०५ |
हुम्ला | १,७५४ | ४,१४० |
जुम्ला | ३,७३५ | ८,८१५ |
कालिकोट | ४,७५४ | ११,२२१ |
दैलेख | ८,८८४ | २०,०१७ |
जाजरकोट | ५,९२१ | १३,९७३ |
रुकुम पश्चिम | ५,०९२ | १२,०१७ |
सल्यान | ८,१३६ | १९,२०० |
सुर्खेत | १२,४५६ | २९३९६ |
बाजुरा | ४,६३९ | १०,९४८ |
बझाङ | ६,६२६ | १५,६३८ |
दार्चुला | ४,३२१ | १०,१९७ |
बैतडी | ७,९७१ | १८,८११ |
डडेलधुरा | ४,७३३ | ११,१७१ |
डोटी | ६,४०६ | १५,११८ |
अछाम | ८,५९६ | २०,२८७ |
कैलाली | २८,२४३ | ६६,६५३ |
कन्चनपुर | १५,७८० | ३७,२४० |