काठमाडौं- चितवनको माडीमा अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस गर्न पाउने वा नपाउने विषयमा विवाद भइरहेका बेला नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो धारणा सार्वजनिक गरेको छ। परिषद्ले आफ्नो शैक्षिक योग्यता, पेसागत दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर अहेब स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने स्पष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा परिषद्मा प्राप्त गुनासो र उजुरीप्रति ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले स्वास्थ्यकर्मीले आफ्नो पेसागत कार्यक्षेत्र र आचारसंहिताभित्र रहेर सेवा दिनुपर्ने जनाएको हो।
परिषद्ले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नियमावली, २०५६ तथा निर्धारित पेसागत आचारसंहिताअनुसार दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता र पेसागत दर्ताको सीमाभित्र रहेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।
विशेषगरी चितवनको माडी नगरपालिका–३ मा स्वास्थ्य सेवा प्रदान गर्दै आएका चिकित्सा तृतीय समूह (अहेब) अन्तर्गत परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीका विषयमा सार्वजनिक भएका समाचार, गुनासा तथा उजुरीबारे परिषद्ले चासो व्यक्त गरेको छ।
परिषद्ले उक्त घटनाबारे आफू जानकार रहेको उल्लेख गर्दै प्राप्त निवेदन, उजुरी तथा उपलब्ध तथ्य र प्रमाणका आधारमा आवश्यक अनुसन्धान, जाँचबुझ र अध्ययन गरी प्रचलित कानुनअनुसार प्रक्रिया अगाडि बढाउने जनाएको छ।
त्यस्तै, कुनै स्वास्थ्यकर्मीबाट पेसागत आचारसंहिता वा निर्धारित कार्यक्षेत्रको उल्लङ्घन भएको पाइएमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ र नियमावली, २०५६ बमोजिम निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गरिने परिषद्ले स्पष्ट पारेको छ।
अहेब स्वास्थ्यकर्मीले एन्टिबायोटिकलगायतका औषधि सिफारिस गर्न पाउने वा नपाउने भन्ने विषयमा भने विज्ञप्तिले औषधिअनुसार छुट्टै स्पष्ट व्यवस्था उल्लेख गरेको छैन। परिषद्ले समग्रमा स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, पेसागत दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर मात्रै सेवा दिनुपर्ने जनाएको छ।
परिषद्ले सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई स्वास्थ्यकर्मीको पेसागत कार्यक्षेत्र, अधिकार र जिम्मेवारीसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक जानकारी लिएर तथ्य पुष्टि गर्न आग्रह गरेको छ।
त्यसैगरी, सम्पूर्ण स्वास्थ्यकर्मीलाई पेसागत मर्यादा कायम राख्दै निर्धारित आचारसंहिता र कार्यक्षेत्रभित्र रहेर सुरक्षित, गुणस्तरीय तथा जिम्मेवार स्वास्थ्य सेवा प्रदान गर्न अनुरोध गरेको छ।
परिषद्ले स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यकर्मीको पेसागत मर्यादा र नागरिकको सुरक्षित स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।
