सन् २००९ मा एमबीबीएस दोस्रो वर्ष पढ्दै गर्दा घरमै ट्युसन पढाएर कमाएको पैसाले किनेको मेरो पहिलो स्टेथोस्कोप (लिटम्यान)। त्यतिबेला यो किन्दा कति खुसी भएको थिएँ, आज पनि सम्झना छ। सायद त्यतिबेला मलाई थाहा थिएन, एउटा स्टेथोस्कोपसँग यति गहिरो सम्बन्ध गाँसिएला भनेर।
त्यसपछि यो सधैँ मसँगै रह्यो।
एमबीबीएसका हरेक सेमेस्टर र वर्षका परीक्षा, एमडीका परीक्षाहरू, कति तनाव, कति डर, कति रातको अनिद्रा अनि सफलता पछिको त्यो छुट्टै खुसी... मेरो यात्राको मुख्य साक्षी।
विद्यार्थी, इन्टर्न, चिकित्सक, आवासीय चिकित्सक हुँदै परामर्शदाता चिकित्सक बन्दासम्म पनि अनवरत १७ वर्षको साथ!
मैले हरेक बिरामी जाँच्दा, रोगको निदान गर्न खोज्दा, कहिलेकाहीँ अलमलमा पर्दा मलाई सही बाटो देखाउने मार्गदर्शक हो यो। कति रोग पत्ता लगाउन सहयोग गर्यो, कति बिरामीको उपचार यही साधनको भरमा मात्रै पनि गरियो!
वीर अस्पतालदेखि लुम्बिनी प्रादेशिक अस्पताल, कलेज अफ मेडिकल साइन्सेज, भरतपुरदेखि रोल्पा र अर्घाखाँचीका जिल्ला अस्पतालसम्म। तानसेन (पाल्पा), मोतीपुर (रूपन्देही), बल्कोट (अर्घाखाँची) का प्राथमिक स्वास्थ्य केन्द्रहरू अनि विभिन्न समय र स्थानमा म पुगेका शिविरहरूमा यसले सुनेका मुटुका धड्कन र श्वासप्रश्वासको हिसाब मसँग छैन। तीमध्ये कतिलाई सही समयमा रोग पत्ता लगाउन र उपचार गर्न मद्दत पुग्यो होला, कतिका जीवन बचाउने प्रयासमा यसले पनि आफ्नो भूमिका निभायो होला।
हिजो यो बिग्रियो। सायद अब मर्मत गरेर पनि पहिलेझैँ काम नगर्ला।
यसको स्थान एउटा नयाँ स्टेथोस्कोपले लिइसक्यो, तर यससँग जोडिएका ती दिनहरू, ती सङ्घर्ष र ती सम्झनाहरू सदाबहार छन्!
अचम्म लाग्छ, एउटा निर्जीव वस्तुसँग पनि मान्छेको यति गहिरो सम्बन्ध हुँदो रहेछ। आज यसलाई हेर्दा दुःख मात्रै लागेको छैन, मनमा अपार कृतज्ञता पनि छ। घरमा ट्युसन पढाएर आफ्नो सपना पूरा गर्न खोजिरहेको त्यो विद्यार्थीको सम्झना हो यो। आजको म बन्ने यात्राको साक्षी हो। मेरो सङ्घर्ष, मेरो सिकाइ र मैले बिरामीको सेवामा बिताएका वर्षहरूको एउटा सानो इतिहास हो।
आज बिग्रिएको छ, तर यसप्रतिको माया अलिकति पनि घटेको छैन। अझै पनि यसलाई फाल्न मन छैन। सायद कुनै दिन फेरि बनाउन सकिएला। नभए पनि, यो मसँगै रहिरहोस् भन्ने लाग्छ।
कहिलेकाहीँ निर्जीव वस्तुहरूले पनि जीवनका कति धेरै जीवित सम्झनाहरू बोकेर बस्दा रहेछन्, है!
मेरो पहिलो स्टेथोस्कोप साथी, तिमीले मेरो कानमा बिरामीका धड्कनहरू मात्रै सुनाएनौ, मेरो आफ्नै जीवनका कति धेरै धड्कनहरूको साक्षी पनि बन्यौ।
तिमीलाई धन्यवाद भन्न कुन शब्द पर्याप्त होला र?
तिमी एउटा स्टेथोस्कोप मात्रै होइनौ मेरा लागि। तिमी मेरो विद्यार्थी जीवनको सम्झना हौ, मेरो सङ्घर्षको साथी हौ, मेरो चिकित्सकीय यात्राको एउटा अमूल्य हिस्सा हौ।
तिमी बिग्रिएका छौ, तर तिमीसँग जोडिएका सम्झनाहरू अझै उस्तै जीवन्त छन्। अनि तिम्रो स्थान मेरो जीवनमा सधैँ उस्तै रहनेछ।