काठमाडौं - नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन्।
नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी चयन भएका छन्। त्यसैगरी सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन भएका छन्।
कार्यसमिति सदस्यमा डा. विपिन कारी, डा. शुभकल्याण श्रेष्ठ, डा. वसन्त गौली र डा. कल्पना खर्बुजा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष प्रा. डा. रविराम श्रेष्ठले बधाई दिएका छन्।
नेपालमा कार्यरत सघन उपचार विशेषज्ञहरूको व्यावसायिक संस्था एनएससीसीएमले देशमा सघन उपचार सेवा (क्रिटिकल केयर) को विकास, विस्तार र गुणस्तर अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ।
यसै अवसरमा काठमाडौंस्थित होटल र्याडिसनमा कात्तिक २७ र २८ गते सघन उपचारसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय सम्मेलनसमेत सम्पन्न भएको छ।
सम्मेलनमा वर्ल्ड फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस (डब्लुएफसीसीएन) को २१औँ विश्व सम्मेलन, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को आठौँ अन्तर्राष्ट्रिय सम्मेलन र क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपाल (सीसीएनएएन) को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन एकैसाथ आयोजना गरिएको थियो।
‘एउटै समूह, एउटै लक्ष्य : न्यून तथा मध्यम आय भएका देशमा सघन उपचारको गुणस्तर र सुरक्षा अभिवृद्धि’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा ४० भन्दा बढी देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ तथा विज्ञ र ८०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।
सम्मेलनले सघन उपचार सेवामा गुणस्तर र बिरामीको सुरक्षा अभिवृद्धि गर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीबीचको सहकार्य र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानलाई महत्त्व दिएको थियो।