नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा डा. मंगल रावल डा. बद्री रिजालसँग २५६ मतले पराजित भए । काठमाडौं उपत्यकाबाहिर डा. रिजालभन्दा बढी मत ल्याए पनि उपत्यकाभित्र भने उनलाई जिताउन पर्याप्त मत प्राप्त भएन । तर, इतिहासमै पहिलोपटक संस्थापन इतर पक्षले अध्यक्षमा तीव्र प्रतिस्पर्धा गरेको भन्दै उनले त्यसलाई ‘सेलिब्रेट’ गरे । आफ्नो पक्षमा थप १२८ मत आएको भए चुनाव जितिने आँकलन गर्दै उनले केकसमेत काटे । उनीसँग एनएमए निर्वाचनको अनुभव, आगामी कदम र निर्वाचित नेतृत्वले गर्नुपर्ने कामका विषयमा गरिएको संवाद :
• तपाईंले यसपटकको एनएमए निर्वाचनलाई कसरी लिनुभयो ?
एनएमए निर्वाचनलाई मैले सामान्य रुपमा लिएको थिएँ । वर्षौंदेखि जसरी एनएमए निर्वाचन हुँदै आएको थियो, यसपटक पनि त्यही प्रक्रियामा हुन्छ भन्ने लागेको थियो र हुनुपर्ने देखिन्थ्यो । तर, इतिहासमै पहिलोपटक धेरै विवादबीच यो निर्वाचन भयो।
विशेषगरी केही साथीहरूलाई उम्मेदवारीबाट वञ्चित गर्ने, निर्वाचन समिति चयनको विषय, दुवै टिमले देशभरि पुगिसक्दा पनि निर्वाचन स्थगित गरिनेजस्ता घटनाले समस्या सिर्जना गरे । त्यसको प्रभाव परिणाममा पनि देखियो ।
यदि एनएमएले तोकेको समयमा निर्वाचन गराएको भए परिणाम फरक हुन्थ्यो भन्ने सबैलाई थाहा छ । बीचमा धेरै कुराले प्रभाव पारे । तर समग्र रूपमा हेर्दा मलाई यो एउटा ठूलो ‘लर्निङ’ भयो ।
म केमा स्पष्ट थिएँ भने, म आफ्नो लागि वा कुनै पदका लागि अध्यक्ष बन्न उठेको होइन । 'एनएमएले यतिसम्म काम गर्न सक्छ' भनेर देखाउने मेरो उद्देश्य थियो । सही नेतृत्व र राम्रो टिम हुँदा मेडिकल क्षेत्रमा धेरै राम्रो काम गर्न सकिन्छ भन्ने देखाउन मैले टिम बनाएर अघि बढेको हो ।
नेपालभरको मत परिणाम हेर्दा हामीले राम्रो समर्थन पाएका छौं । काठमाडौं उपत्यकामा केही मतले पछि परेकाले प्राविधिक रूपमा हामी पराजित भयौं । तर केही साथीहरुलाई जिताउन सफल भयौं । हामी यसलाई सहर्ष स्वीकार गर्छौं।
जित्ने साथीहरूलाई पनि म भन्न चाहन्छु- मेडिकल क्षेत्रका लागि सकेसम्म राम्रो काम गर्नुहोस्, हामी साथमा छौं ।
• एनएमएको नेतृत्व गर्न खोज्नुको मुख्य कारण के थियो ?
नेपालको इतिहासमै सबैभन्दा कान्छो उमेरमा प्रतिष्ठानको उपकुलपति भएर सफल कार्यकाल पूरा गरेपछि मेरो अगाडि धेरै विकल्प थिए, अहिले पनि छन् । तर ती सबै छाडेर म यहाँ आउनुको विशेष कारण थियो ।
मैले ब्रिटिस मेडिकल एसोसिएसन, अमेरिकन मेडिकल एसोसिएसनजस्ता संस्थाले विश्वस्तरमा काम गरेको देखेको छु । नेपालमा भने मेडिकल एसोसिएसन ‘अन्डर युटिलाइज’ भएको जस्तो लाग्यो ।
२०–३० वर्षदेखि नेपालको चिकित्सा शिक्षा र मेडिकल एसोसिएसनको नेतृत्व तथा कार्यशैलीलाई नजिकबाट नियालेपछि मलाई लाग्यो, यसलाई यो भन्दा धेरै गुणा राम्रो बनाउन सकिन्छ ।
अहिले नेपाली चिकित्सकको सबैभन्दा ठूलो समस्या ‘ब्रेन ड्रेन’ हो । साना सुधारदेखि व्यापक सुधारसम्म एनएमएमार्फत गर्न सकिन्छ भन्ने विश्वास थियो । म आफ्नो लागि होइन, मेडिकल सिस्टमकै लागि लागौं भनेर चार–पाँच महिनाको तयारीसहित चुनावमा गएको हुँ ।
अहिलेसम्म एउटै समूहले वर्षौंदेखि नेतृत्व गरिरहेको छ । काम भएको छ, तर अपेक्षाअनुसार परिणाम देखिएको छैन । सदस्य आफैं बनाउने र त्यही सदस्यबाट चुनाव जित्ने परम्परा रहँदै आएको छ । यदि सबै चिकित्सकले मतदान गर्न पाएका भए परिणाम फरक हुन्थ्यो ।हामी परिवर्तनको पहल गर्न अघि बढेका हौं । नेपालको चिकित्सा शिक्षा सुधार गर्नुपर्छ भन्ने सोचले टिम बनाएर अघि बढेका थियौं ।
हाम्रो मुख्य उद्देश्य एनएमएको आन्तरिक सुधार र ‘१२ बुँदे प्रतिवेदन’ कार्यान्वयन थियो । केवल १२८ मत थप आएको भए म अध्यक्ष बन्ने स्थिति थियो । महासचिवलगायतका पदमा पनि अत्यन्त झिनो मतान्तर थियो । एनएमए कहाँसम्म पुग्न सक्छ भनेर देखाउने हुटहुटीले नै टिम मंगललाई अघि बढाएको हो ।
• तपाईंले बनाउन चाहेको एनएमए कस्तो थियो ?
मैले बनाउन चाहेको एनएमए सबैले आफ्नै महशुस गर्ने एनएमए थियो । सबैभन्दा पहिले ‘पार्टिसिपेटिभ एनएमए’ बनाउन चाहन्थें । अहिले धेरै चिकित्सकले एनएमए सदस्यता लिँदैनन् । कारण दुईवटा छन्- पहिलो, 'एनएमएले हाम्रो लागि केही गर्दैन' भन्ने धारणा । दोस्रो, तीन हजार रुपैयाँ सदस्यता शुल्क नयाँ चिकित्सकका लागि महँगो हुनु ।
त्यसैले हाम्रो पहिलो बैठकमै ३०० रुपैयाँमा सबैलाई सदस्यता दिने प्रस्ताव पारित गर्ने योजना थियो । सबै चिकित्सक सदस्य भए एनएमए स्वतः सहभागीमूलक बन्थ्यो । दोस्रो, म पारदर्शी एनएमए बनाउन चाहन्थें । अहिले एनएमएमा हिसाब–किताब र प्रगति विवरण पारदर्शी रूपमा सार्वजनिक हुँदैन ।
मैले प्रत्येक तीन महिनामा अडिट रिपोर्ट र प्रत्येक महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने योजना बनाएको थिएँ । त्यस्तै, मतदान प्रणाली अनलाइन बनाउन चाहन्थ्यौं । अहिले दुर्गम क्षेत्रमा काम गर्ने धेरै चिकित्सक मतदानबाट बञ्चित भएका छन्।
सोलुखुम्बु, ओखलढुंगा, हुम्ला, बाजुरा, मधेश प्रदेशलगायतका ठाउँका चिकित्सक मतदानबाट वञ्चित भए । अनलाइन मतदान भएको भए सबै सहभागी हुन सक्थे । अर्को, मेडिकल–लिगल केसमा फस्ने चिकित्सकका लागि एनएमएले निःशुल्क कानुनी परामर्श र ‘लिगल सपोर्ट सिस्टम’ विकास गर्नुपर्ने योजना थियो ।त्यसपछि चिकित्सकको तलब, सुरक्षा, करिअर विकासलगायत विषयमा ‘१२ बुँदे प्रतिवेदन’ कार्यान्वयन गर्नुपर्ने थियो ।
यदि त्यो कार्यान्वयन भएको भए नेपालको मेडिकल क्षेत्र उत्कृष्ट क्षेत्रमध्ये एक बन्न सक्थ्यो भन्ने मलाई विश्वास छ । ग्लोबल नेटवर्किङमार्फत नेपाली चिकित्सकका लागि सयौं फेलोसिप अवसर सिर्जना गर्न सकिन्थ्यो ।
सरकारसँग आवश्यक विषयमा सहकार्य गर्दै, आवश्यक परे दृढतापूर्वक उभिएर चिकित्सकको पक्षमा काम गर्ने उदाहरण स्थापित गर्न म चुनावमा उठेको थिएँ ।
• वर्तमान नेतृत्वले तत्काल प्राथमिकतामा राख्नुपर्ने मुख्य तीन काम के हुन् ?
वर्तमान नेतृत्वले धेरै गर्नुपर्दैन । केही आधारभूत सुधार गरे पुग्छ । पहिलो, एनएमएको आन्तरिक सुधार गर्नुपर्छ । चार वर्ष र सात वर्षको उम्मेदवारी सम्बन्धी मापदण्ड हटाएर युवा चिकित्सकलाई नेतृत्वमा आउने अवसर दिनुपर्छ ।
दोस्रो, अनलाइन मतदान लागू गर्नुपर्छ । तेस्रो, सदस्यता शुल्क तीन हजारबाट घटाउनुपर्छ । चौथो, कानुनी परामर्श प्रणाली विकास गर्नुपर्छ । पाँचौं, अडिट रिपोर्ट र प्रगति प्रतिवेदन नियमित सार्वजनिक गर्नुपर्छ ।
यी पाँचवटा निर्णय एक दिनमै गर्न सकिन्छ । यसले एनएमएको आन्तरिक सुधार र पारदर्शिता सुनिश्चित गर्छ ।
दोस्रो ठूलो काम भनेको ‘१२ बुँदे प्रतिवेदन’ पूर्ण रूपमा कार्यान्वयन गर्नु हो । सरकारलाई दबाब दिएर भए पनि कार्यान्वयन गराउनुपर्छ । तेस्रो, एनएमएले चिकित्सकलाई गुणस्तरीय सेवा प्रवाहका लागि तालिम, कार्यशाला र अभिमुखीकरण सञ्चालन गर्नुपर्छ ।
प्रतिबद्ध नेतृत्व भयो भने यी काम गर्न असम्भव छैनन् । आवश्यक परे म आफैं पनि सहयोग गर्न तयार छु ।
• तपाईंले उठाएका एजेन्डामध्ये कुन कुरा नयाँ नेतृत्वले अपनाए राम्रो हुन्थ्यो भन्ने लाग्छ ?
टिम मंगलले उठाएका एजेन्डा केवल हाम्रो टिमका होइनन् । ती सम्पूर्ण चिकित्सक र नेपालको चिकित्सा क्षेत्रका साझा एजेन्डा हुन् । त्यसैले ती कार्यान्वयन गरिनुपर्छ ।
• एनएमए कति कुरामा ठीक ठाउँमा छ र के–के बदलिनुपर्छ ?
यदि एनएमए ठीक ठाउँमा भएको भए म अध्यक्षमा उठ्दिनथेँ। सुधार गर्नुपर्ने धेरै कुरा छन् । सबैभन्दा पहिले, एउटा राजनीतिक समूहको झुन्डजस्तो देखिने अवस्था अन्त्य हुनुपर्छ । दोस्रो, इफिसियन्ट र काम गर्न सक्ने व्यक्तिहरूको नेतृत्व विकास हुनुपर्छ । तेस्रो, केवल व्यक्तिगत पद, प्रतिष्ठा वा भविष्यका अवसरका लागि होइन, चिकित्सा समुदायका लागि काम गर्ने संस्कार विकास हुनुपर्छ ।
हामीले थोरै मतले पराजय भोग्यौं । तर ४० हजार चिकित्सकमध्ये सीमित सदस्यले मात्रै मतदान गर्न पाएका थिए । सबै चिकित्सकले मतदान गर्न पाएको भए परिणाम फरक हुन्थ्यो । निर्वाचन स्थगित हुनु, त्रिकोणात्मक प्रतिस्पर्धा हुनु, काठमाडौंमा पर्याप्त समय दिन नसक्नु, दुर्गम क्षेत्रका चिकित्सक मतदानबाट वञ्चित हुनुजस्ता कारणले हामी पछि पर्यौं। तर अहिले पनि चिकित्सक साथीहरूको माया, आशा र विश्वास कायम छ । त्यो विश्वास कुनै हालतमा टुट्न दिँदैनौं।
• तपाईंले औपचारिक रूपमा नेतृत्व गर्न पाउनुभएन, तर चिकित्सकको विश्वास भने बलियो देखियो । त्यो विश्वास टिकाइरहन कसरी काम गर्ने योजना छ?
मैले पहिले पनि भनेको थिएँ- म एनएमए आफ्नो लागि जान खोजेको होइन। 'एनएमए कहाँसम्म पुग्न सक्छ' भनेर देखाउने रहर थियो । हामी नन–पोलिटिकल ढंगले, निष्पक्ष भएर अघि बढ्न चाहन्थ्यौं । चुनाव हार्दैमा हाम्रो अभियान रोकिन्न । मेडिकल क्षेत्रमा समस्या पर्दा हामी सधैं चिकित्सकको साथमा हुनेछौं ।
कालीमाटीदेखि माइतीघरसम्म, आन्दोलनदेखि एड्भोकेसीसम्म, टिम मंगल सक्रिय रहनेछ । यो केवल चुनावी समूह होइन, एउटा मेडिकल मुभमेन्ट हो।
• एनएमए नेतृत्वको आकांक्षा यो पराजयसँगै टुंगियो कि झन् बढेको छ ?
मेरो नेतृत्वको व्यक्तिगत आकांक्षा थिएन । 'हामीले नगरे कसैले गर्दैन' भन्ने महसुस भएपछि हामी अघि बढेका हौं । तर मैले स्पष्ट रूपमा भनिसकेको छु- यो मेरो पहिलो र अन्तिम एनएमए निर्वाचन थियो ।
अब म अध्यक्षमा उठ्दिनँ ।तर राम्रो मान्छेहरूले नेतृत्व लिए, इमानदार ढंगले काम गरे भने सधैं समर्थन हुनेछ । जो वास्तविक अर्थमा स्वतन्त्र, सक्षम र काम गर्ने मान्छे हुन्, उनीहरूलाई मेरो समर्थन रहिरहन्छ ।
म स्वयं नउठे पनि मेडिकल क्षेत्रका मुद्दामा सधैं सक्रिय रहन्छु । कहीं कतै चिकित्सकलाई समस्या पर्यो र मेरो साथले सकारात्मक प्रभाव पार्न सक्छ भने म सधैं सहयोगका लागि तयार छु।
हामी सधैं चिकित्सकका पक्षमा एड्भोकेसी गर्नेछौं, भाइबहिनीहरूलाई साथ दिनेछौं, सिनियरहरूबाट सिक्नेछौं र परिवर्तनका लागि लागिरहनेछौं ।