सीधा कुरा, प्रस्ट विचार : यो सुदूरपश्चिमवासीको विशुद्ध भावनामाथि खेलबाड गर्ने गिरोहबाट गेटा अस्पताललाई मुक्त गरी निम्न सुविधासहितको सुपर स्पेसियालिटी, हाललाई एक हजार शय्याको अस्पताल सञ्चालन गर्नु मात्र सही विकल्प हो!
हामीलाई सबै खालको क्यान्सरको उपचार केन्द्र गेटामा चाहियो।
हामीलाई बालबालिकाहरूको सबै खालको उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको मनोचिकित्सा उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको ट्रमा उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको मानव अङ्ग प्रत्यारोपण उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको प्लास्टिक सर्जरी उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको स्नायु चिकित्सा उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको स्त्री तथा प्रजनन उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको जलन उपचार केन्द्र चाहियो।
हामीलाई सबै खालको कार्डियो भास्कुलर तथा थोरासिक सर्जरी उपचार केन्द्र चाहियो।
हामीलाई आधुनिक चिकित्सा विज्ञानको सबै विधाको अध्ययन तथा अनुसन्धान केन्द्र चाहिएको हो।
यस्ता तमाम सेवाहरू सस्तो, सुलभ र गुणस्तरीय रूपमा गेटामा तुरुन्त चाहिएको हो! यी सेवा उपलब्ध हुनका लागि एमबीबीएस पढाइ हुनु कुनै अनिवार्य सर्त होइन! त्यो भन्नु सरासर झूटो र पूर्वाग्रहपूर्ण हो। बी एन्ड बी अस्पतालमा मेगा एडभान्स ट्रमा, अर्थोपेडिक र स्पाइन ट्रमा सर्जरीहरू हुन्छन्; अन्नपूर्ण र बाँसबारी न्युरो तथा गंगालालमा के एमबीबीएस नै पढाइ हुन्छ?
यो एमबीबीएस पढाइ सुरु गरेर सुदूरपश्चिमको स्वास्थ्य सेवामा के-के न गरेजस्तो गरेर त्यो अस्पतालबाट माथि उल्लिखित सेवा अवरुद्ध गर्ने प्रपञ्च हो! यदि त्यस्तो हुँदो हो त माथि उल्लिखित कैयौँ सेवाहरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापनाको ३५ वर्षसम्म पनि किन हुन सकेका छैनन्?
अहिले उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था बिजोग छ। उनीहरू चरम बेरोजगार छन्। अनि यहाँ पढाएका चिकित्सक पढिसकेपछि के गर्ने हुन्, कता काम गर्ने हुन्? जीवन, जवानी र यो प्रक्रिया तथा पद्धतिका नाममा एक करोड आसपास पैसा लुटिसकेपछि अनि बल्ल बेरोजगार हुने अवस्था!
नक्कली बुख्याँचा देखाएर एमबीबीएस पढाउन सुरु गर्ने, त्यसैको वरिपरि सामान, नीति र मानव स्रोतमा घोटाला गर्ने र अर्कोतिर अर्को प्राइभेट कलेजलाई सम्बन्धन दिने प्रपञ्च हो यो!
त्यहाँ एमबीबीएस पढाइ सुरु गरेर सुदूरपश्चिमको स्वास्थ्य सेवामा कुनै टेवा हुँदैन। टेवा त माथि उल्लिखित र अन्य थुप्रै विशेषज्ञसहितको सुपर स्पेसियालाइज्ड जनशक्तिसहितको अस्पतालले दिने हो।
एमबीबीएस, एमडीएस, एमसीएच, बीडीएस, पीएचडी गरेका चिकित्सक देशभरि काम नपाएर जिन्दगी बिजोग छ। गरिब र मध्यम वर्गका सन्तान लुट्ने र जिन्दगीमाथि डकैती गर्ने काम तुरुन्त बन्द गरियोस्!
होइन भने यो डकैतीका पीडितहरूले यिनीहरूलाई पातालमा गए पनि छोड्ने छैनन्, चेतना भया!
हाम्रा मेडिकल नेताजीहरू कता हुनुहुन्छ?