शिशु जन्मेदेखि पहिलो ६ महिना पूर्ण रूपमा स्तनपान गराउनुपर्छ र दुई वर्षसम्मका बालबालिकालाई स्तनपान गराउनुपर्छ। तर स्तनपान गराइरहेका आमाहरूले भने स्तनपानको अवधिमा विभिन्न किसिमका समस्या भोगिरहेका हुन्छन्। ती समस्यामध्ये कमन समस्या निप्पल डर्माटाइटिस हो। स्तनपान गराइरहेका आमाहरूले भोग्ने निप्पल डर्माटाइटिस के हो ? यसका लक्षण, उपचार र सावधानीबारे स्वास्थ्यखबरकी रिता लम्सालले वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीसँग कुराकानी गरेकी छन्। प्रस्तुत छ, डा. कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :
स्तनपान गराउने आमामा देखिने निप्पल डर्माटाइटिस भनेको के हो ?
छालारोगको क्षेत्रमा निप्पल डर्माटाइटिस अर्थात् ब्रेस्ट एक्जिमा स्तनपान गराइरहेका महिलाहरूलाई देखिने गरेको कमन समस्या हो। स्तनको निप्पल र त्यस वरिपरिको भागमा यो समस्या देखिन्छ। छाला सुक्खा हुने, चिलाउने, फुट्ने र साना घाउ वा चिरा पर्ने लक्षण यसमा देखिन्छन्। यो समस्या एउटा स्तनमा मात्रै वा दुवै स्तनमा देखिन सक्छ।
निप्पल डर्माटाइटिस हुने कारणहरू के–के हुन् ?
यसका विभिन्न कारण हुन्छन्। कुनै वस्तु वा कपडाको एलर्जीका कारण हुने कन्ट्याक्ट डर्माटाइटिस, छालामा हुने सुक्खापन वा कुनै वस्तुको सम्पर्कले हुने इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस यसका कारण हुन सक्छन्। त्यसबाहेक सोरायसिसजस्ता छालाका रोग पनि निप्पलमा देखिन सक्छन्। सोरायसिस निप्पलसँगै शरीरको अन्य भागमा पनि देखिन्छ।
यो समस्या महिला र पुरुष दुवैमा हुन सक्छ। तर विशेषगरी स्तनपान गराइरहेका आमाहरूलाई यो समस्या बढी हुन्छ।
स्तनपान गराउने आमामा यो समस्या किन बढी देखिन्छ ?
स्तनपान गराउने आमामा यो समस्या देखिनुका केही विशेष कारण छन्। बच्चाले दिनहुँ पटक–पटक दूध चुस्ने भएकाले निप्पलमा घर्षण हुन्छ। यसले पनि छालामा समस्या निम्त्याउन सक्छ। कहिलेकाहीँ बच्चाको र्यालका कारण पनि आमाको निप्पल वरिपरिको छालामा एलर्जी वा जलन हुन सक्छ। त्यस्तै, बच्चाले दूध चुस्ने क्रममा सही तरिकाले स्तन चुस्न (ल्याचिङ) नसक्दा पनि समस्या आउँछ।
बच्चाले निप्पलको एउटा भागमा बढी दबाब दिएर दूध चुस्दा छालामा चिरा पर्ने र फुट्ने समस्या हुन्छ। यसलाई फिसरिङ भनिन्छ। यस्तो अवस्थामा आमालाई निकै दुखाइ हुन्छ। समयमै उपचार नगरेमा त्यहाँ दोस्रो चरणको ब्याक्टेरियल संक्रमणसमेत हुन सक्छ।
विशेषगरी बच्चाले दूध चुस्ने सही पोजिसन नमिल्दा बच्चाले सही तरिकाले स्तनपान गर्न नसक्दा यो समस्या छिटो देखिन सक्छ।
यो समस्या देखिएमा कस्तो उपचार गर्नुपर्छ ?
उपचार गर्दा सबैभन्दा पहिले समस्याको कारण र अवस्था हेर्नुपर्छ। त्यसैअनुसार केही समयका लागि औषधियुक्त क्रिम प्रयोग गर्नुपर्ने हुन सक्छ। कतिपय अवस्थामा हल्का स्टेरोइड र एन्टिबायोटिक मिसिएको क्रिम सातदेखि १० दिन वा डेढ हप्तासम्म प्रयोग गर्नुपर्ने हुन्छ।
निप्पलमा डर्माटाइटिस भएको अवस्थामा बच्चालाई दूध खुवाउन बन्द गर्नुपर्छ ?
निप्पल डर्माटाइटिस एक्जिमाको समस्या हो। यो सरुवा रोग होइन। त्यसैले आमालाई यो समस्या हुँदैमा बच्चालाई दूध खुवाउन बन्द गर्नुपर्छ भन्ने हुँदैन।
तर समस्या बढ्दै जाँदा आमालाई निकै दुखाइ हुन सक्छ। कहिलेकाहीँ दुखाइका कारण आमाले बच्चालाई दूध खुवाउनै डराउने अवस्था पनि आउन सक्छ। त्यसैले समयमै उपचार गर्नु आवश्यक हुन्छ।
बच्चालाई स्तनपान गराउनु अत्यन्त महत्त्वपूर्ण कुरा हो। निप्पल डर्माटाइटिस भयो भन्दैमा स्तनपान पूर्ण रूपमा बन्द गर्नु हुँदैन। प्रभावित भागलाई सफा राख्ने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने र आवश्यकताअनुसार केही समय स्तनलाई आराम दिने गर्न सकिन्छ। आवश्यकताअनुसार एकपटक एउटा स्तनलाई आराम दिएर अर्को स्तनबाट दूध खुवाउन सकिन्छ। यसले गर्दा निप्पल डर्माटाइटिस निको हुन केही सहज र छिटो हुन्छ। स्तनपानलाई निरन्तरता दिँदै समस्याको उपचार गर्न सकिन्छ। त्यसैले यस्तो समस्या देखिएमा आत्तिनु पर्दैन, समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।
निप्पल डर्माटाइटिस सामान्य समस्या हो कि यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ?
निप्पलमा एक्जिमाजस्तै देखिने अर्को एउटा गम्भीर अवस्था हुन्छ, जसलाई पेजेट्स डिजिज भनिन्छ। यो स्तन क्यान्सरसँग सम्बन्धित अवस्था हो।
यसलाई सुरुवाती अवस्थामा निप्पल डर्माटाइटिस वा एक्जिमा भनेर झुक्किन सकिन्छ। किनभने यसमा पनि निप्पलको छाला सुक्खा हुने, खस्रो हुने र एक्जिमाजस्तै दाग वा प्लाक देखिने गर्छ।
कतिपय अवस्थामा एक्जिमाका लागि प्रयोग गरिने औषधिले केही समयका लागि लक्षण निको भएजस्तो पनि देखिन्छ। तर १५–२० दिनपछि फेरि समस्या दोहोरिन सक्छ।
यसलाई छुट्याउन केही लक्षणमा ध्यान दिनुपर्छ। सामान्यतया पेजेट्स डिजिज एउटा स्तनमा मात्रै देखिने गर्छ। यसमा विस्तारै निप्पलको आकार परिवर्तन हुने, निप्पल भित्रतिर तानिने वा यसको स्वरूप बिग्रिने हुन सक्छ। त्यस्तै, निप्पलबाट पानीजस्तो तरल पदार्थ निस्कने वा रगत मिसिएर आउने पनि हुन सक्छ। निप्पलमा देखिएको दाग वा प्लाक पटकपटक देखिने, उपचार गर्दा पनि पूर्ण रूपमा निको नहुने र लामो समयसम्म रहने अवस्था भएमा विशेष सावधानी अपनाउनुपर्छ।
यस्ता लक्षण देखिएमा छालारोग विशेषज्ञलाई देखाउनुपर्छ। आवश्यकताअनुसार थप परीक्षण गरेर रोग पहिचान गर्नुपर्छ। समयमै पहिचान र उपचार गर्नु निकै महत्त्वपूर्ण हुन्छ।