काठमाडौं । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभावको भएको गुनासो बढेपछि औषधि व्यवस्था विभागले औषधि उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।
विभागले प्लाटिन समूहका औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन तथा डायलाइसिसमा प्रयोग हुने सोलुसन लगायतका औषधि बिक्रि वितरण गर्ने कम्पनी र सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
विभागले सोमबार एक सूचना जारी गर्दै सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँचवटा कम्पनीको सम्पर्क विवरण उपलब्ध गराएको छ । ती औषधिका लागि ताज नेपाल प्रालिका ख्वाजा तारिक रानालाई ९८५१००३४९६, डीकेएम फार्मास्युटिकल्स प्रालिका शरद मानन्धरलाई ९८५११०७७६४ र यति फार्माकेम डिस्ट्रीब्युटर्स र यति केम डिस्ट्रीब्युटर्स प्रालिका प्रदीप लामिछानेलाई ९८०१२१६५५४ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ । त्यस्तै, सिजल फार्मा प्रालिका अञ्जन पुडासैनीलाई ९८०२०१७८५८ र डोमोटेक्स फार्माका योगेश कर्माचार्यलाई ९८२४८९७१२८ मा सम्पर्क गर्न सकिनी जानकारी बिभागले दिएको छ ।
यस्तै डायलाइसिससम्बन्धी औषधितमा पेरिटोनियल डायलाइसिस फ्लुइडका लागि केयर मेड इन्टरनेसनलका मधु चित्रकारलाई ९८५१०९५१८३ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ । यस्तै कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापीका लागि पिकन पीटीई लिमिटेड, ललितपुरका निरज जोशीलाई ९८५१०३२७७८ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।
जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न र बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन विभागले समय–समयमा बजार उपलब्धतासम्बन्धी सूचना प्रकाशित गर्दै आएको जनाएको छ । सम्बन्धित बिरामी तथा सरोकारवालालाई चिकित्सकको प्रिस्क्रिप्सनसहित उल्लेखित सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न विभागलेअनुरोध गरेको छ। साथै, सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित राख्दै नियमित रूपमा बजारमा उपलब्धता सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
