काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हेमराज थापाले सरकारी अस्पतालमा उपचारका लागि जाने बिरामीले उचित सेवा र व्यवहार पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उपचारका लागि अस्पताल पुगेका थापाले त्यहाँको सेवा प्रवाह, स्वास्थ्यकर्मीको व्यवहार र बिरामीलाई गरिने परामर्शप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका हुन्।
भिडियोमा उनले सरकारी अस्पतालमा उपचारका लागि आशा बोकेर जाने बिरामीले स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार र आवश्यक परामर्श नपाउने गरेको गुनासो गरेका छन्। अस्पतालमा बिरामीलाई के समस्या भएको हो, अब के गर्नुपर्छ र कुन परीक्षण किन गराउनुपर्छ भन्ने विषयमा समेत स्पष्ट जानकारी नदिइने गरेको उनको भनाइ छ।
'बिरामी उपचार गर्ने सरकारी अस्पताल र त्यहाँका डाक्टर, नर्स र कर्मचारी आफैँ बिरामी जस्ता छन्,' उनले भनेका छन्, 'अस्पतालमा मान्छे आशा गरेर जान्छन्, केही राम्रो होला भनेर। तर त्यहाँ उनीहरूसँग कुनै किसिमको राम्रो व्यवहार नै गरिँदैन।'
आफूले पछिल्लो तीन–चार दिनमा अस्पतालमा भोगेको अनुभव सुनाउँदै उनले बोल्न सक्ने, आफ्नो समस्या राख्न सक्ने र परीक्षणका रिपोर्टबारे इन्टरनेट तथा कृत्रिम बौद्धिकता (एआई) को सहयोग लिन सक्ने व्यक्तिले समेत यस्तो समस्या भोग्नुपरेको बताए। सामान्य नागरिकले सरकारी अस्पतालमा उपचार गराउनुपर्दा झन् कठिन अवस्था भोग्नुपर्ने उनको भनाइ छ।
उनले अस्पतालको आकस्मिक सेवा, शय्या व्यवस्थापन र औषधिबारे बिरामीलाई जानकारी दिने प्रक्रियामा समेत सुधार आवश्यक रहेको औँल्याएका छन्। स्वास्थ्यकर्मीले बिरामीसँग कसरी संवाद गर्ने, परामर्श दिने र उपचार प्रक्रियामा सहजीकरण गर्ने भन्ने विषयमा तालिम तथा मनोवैज्ञानिक परामर्श दिनुपर्ने उनको सुझाव छ।
थापाले स्वास्थ्य तथा शिक्षा मन्त्रालय, सम्बन्धित मन्त्री, स्वास्थ्य समितिका सांसद तथा राजनीतिक दलका स्वास्थ्य विभागलाई सरकारी अस्पतालको सेवा प्रवाहको अनुगमन गरी सुधार गर्न आग्रह गरेका छन्।
उनले अस्पताल जनताको आधारभूत विश्वास र भरोसाको केन्द्र भएको उल्लेख गर्दै त्यहाँबाटै नागरिकले राज्यको सेवा अनुभव गर्ने बताए।
'सरकारी अस्पतालमा गलत भइरहेको छ। काउन्सिलिङ राम्रोसँग हुँदैन। आम मान्छे त्यहाँ गएर के गर्ने भन्ने नै थाहा पाउँदैनन्,' उनले भिडियोमा भनेका छन्।
सरकारले स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने माग गर्दै उनले बिरामीलाई अस्पताल पठाउनुअघि स्वास्थ्यकर्मीलाई नै बिरामीमैत्री व्यवहार, संवाद र परामर्शबारे आवश्यक प्रशिक्षण दिनुपर्ने बताएका छन्।
उनले आफ्नो भनाइले कसैको चित्त दुखे माफी माग्ने तर गलत अभ्यासविरुद्ध आवाज उठाउन नछाड्ने पनि बताएका छन्।