काठमाडौं- नेपालमा अकुपञ्चर उपचार पद्धति भित्रिएको पाँच दशकभन्दा बढी भइसक्दा पनि यसको अपेक्षित विकास हुन सकेको छैन। चीनमा परम्परागत उपचार विधिका रूपमा सुरु भएको अकुपञ्चर आधुनिक चिकित्सा, वैज्ञानिक अनुसन्धान, उच्च शिक्षा र राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत भइसकेको छ। तर नेपालमा भने यो सेवा अझै सीमित अस्पताल, केही निजी क्लिनिक र पुनर्स्थापना केन्द्रमा खुम्चिएको छ।
विश्व अकुपञ्चर दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिए पनि यसको विकासका लागि आवश्यक नीतिगत प्राथमिकता, शैक्षिक पूर्वाधार, दक्ष जनशक्ति उत्पादन र सरकारी स्वास्थ्य सेवामा विस्तारको विषयले अपेक्षित महत्त्व पाउन सकेको देखिँदैन।
चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको आयोजनामा विभिन्न संघसंस्थाको सहकार्यमा दुई चरणमा दिवस मनाइएको हो। पहिलो चरणमा भक्तपुरको राधेराधेमा सामुदायिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो। डिभाइन युथ क्लब अफ नेपालको सहकार्यमा आयोजित शिविरमा १५० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका थिए। शिविरमा अकुपञ्चर, कपिङ थेरापी, मोक्सिबुसनलगायतका सेवा प्रदान गरिएको थियो।
दोस्रो चरणमा काठमाडौंमा चिकित्सक, प्राध्यापक, चिनियाँ प्रतिनिधि तथा विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अकुपञ्चरको महत्व, नेपालमा यसको विकासको अवस्था र नेपाल–चीनबीच चिकित्सकीय सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले नेपालमा अकुपञ्चरको सम्भावना हुँदाहुँदै पनि यसको संस्थागत विकास हुन नसकेको विषय उठाएका थिए। शिक्षा, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, सरकारी अस्पतालमा सेवा विस्तार र गुणस्तर नियमनका लागि राज्यले स्पष्ट नीति लिनुपर्ने उनीहरूको जोड थियो।
चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालका निवर्तमान अध्यक्ष डा. झुलाराम अधिकारीले लामो इतिहास बोकेको अकुपञ्चर उपचार पद्धति नेपालमा विस्तारै विकास हुँदै गएको बताए। चाइना कल्चरल सेन्टर इन नेपालका निर्देशक लिउ झानपिङले विशेषगरी दीर्घरोगको व्यवस्थापनमा अकुपञ्चरको सम्भावना रहेको उल्लेख गर्दै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध तथा चिकित्सकीय सहकार्यलाई थप मजबुत बनाउन यो विधि माध्यम बन्न सक्ने बताए।
काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. ली श्वाङछेङले दुखाइसम्बन्धी समस्याको उपचारमा अकुपञ्चरको महत्वबारे चर्चा गरे। वीर अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. अविनाश चन्द्रले विभिन्न स्नायुजन्य रोगको उपचारमा यसको प्रयोग र सम्भावित फाइदाबारे धारणा राखे। उनले बिरामीको अवस्था र आवश्यकताअनुसार उपचार गर्नुपर्ने भन्दै व्यक्तिगत मूल्याङ्कनलाई महत्त्व दिनुपर्ने बताए।
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. मनीष विक्रम शाहले हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्याको उपचारमा अकुपञ्चर प्रयोगको अनुभव सुनाए। अन्य उपचारबाट अपेक्षित लाभ नपाएका कतिपय बिरामीलाई अकुपञ्चरका लागि सिफारिस गर्ने गरिएको उनले बताए।
सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले नेपालमा परम्परागत चिनियाँ चिकित्सा पद्धतिको विकासका लागि शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा तालिम र अनुसन्धान गरी तीनवटा पक्षमा विशेष ध्यान दिनुपर्ने बताए। नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर गौतमले पनि यसको विकास र विस्तारका लागि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
चीनमा आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत
अकुपञ्चरको विकास र विस्तारमा चीनले हासिल गरेको उपलब्धि नेपालका लागि पनि सिकाइको विषय हुन सक्छ। चीनमा परम्परागत चिनियाँ चिकित्सा पद्धतिलाई आधुनिक स्वास्थ्य सेवासँगै अघि बढाइएको छ। अकुपञ्चरको प्रयोग परम्परागत सियोमा मात्र सीमित छैन। इलेक्ट्रो-अकुपञ्चर, लेजर अकुपञ्चरलगायत प्रविधिको विकास र प्रयोग भइरहेको छ। विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले यसको प्रभावकारिता र शरीरमा पर्ने प्रभावबारे विभिन्न वैज्ञानिक अध्ययन गरिरहेका छन्।
चीनका विभिन्न विश्वविद्यालयमा अकुपञ्चर तथा परम्परागत चिनियाँ चिकित्साको उच्च तहसम्म अध्ययन अध्यापन हुन्छ। त्यहाँका स्वास्थ्य संस्थामा आधुनिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा पद्धतिबीच सहकार्यको अभ्याससमेत छ। दुखाइ व्यवस्थापन, पक्षाघातपछिको पुनर्स्थापना तथा केही उपचारका क्रममा देखिने समस्याको व्यवस्थापनमा अकुपञ्चरको प्रयोग गरिन्छ।
अकुपञ्चरलाई स्वास्थ्य सेवामा समायोजन गर्ने चीनको अभ्यासले यसको संस्थागत विकासका लागि शिक्षा, अनुसन्धान, नियमन र स्वास्थ्य सेवामा पहुँच विस्तार महत्त्वपूर्ण हुने देखाउँछ। यद्यपि, अकुपञ्चर सबै रोगको उपचार होइन र यसको प्रयोग वैज्ञानिक प्रमाण तथा बिरामीको अवस्थाका आधारमा गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।
पाँच दशकमा पनि नेपालमा संस्थागत विकास कमजोर
नेपालमा अकुपञ्चर सेवा औपचारिक रूपमा वि.सं. २०२८ सालतिर चिनियाँ प्राविधिक तथा चिकित्सकमार्फत भित्रिएको मानिन्छ। अरनिको राजमार्ग निर्माणका क्रममा नेपाल आएका चिनियाँ कामदार तथा चिकित्सकहरूले स्थानीय नेपालीलाई समेत उपचार गर्न थालेपछि यसको अभ्यास विस्तार भएको विभिन्न ऐतिहासिक विवरणमा उल्लेख छ।
चिनियाँ टोलीबाट प्रभावित भएर वीर अस्पतालमा पनि अकुपञ्चर सेवा सुरु भएको थियो। वि.सं. २०३३ मा डा. राममान श्रेष्ठ चीनबाट अकुपञ्चर अध्ययन गरी फर्किएपछि नेपालमा यसको अभ्यासले थप संस्थागत स्वरूप लिएको मानिन्छ। त्यसैगरी, वि.सं. २०४१ सालदेखि काठमाडौंको आयुर्वेद चिकित्सालय नरदेवीमा नियमित अकुपञ्चर सेवा सञ्चालन हुँदै आएको छ।
तर पाँच दशकभन्दा लामो इतिहास हुँदासमेत नेपालमा अकुपञ्चरको उच्च शिक्षा प्रदान गर्ने छुट्टै शैक्षिक संस्था स्थापना हुन सकेको छैन। दक्ष जनशक्ति उत्पादनका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था छ। सरकारी अस्पतालमा पनि अकुपञ्चर विशेषज्ञका लागि पर्याप्त दरबन्दी र सेवा विस्तार हुन सकेको छैन।
अकुपञ्चरको अभ्यास गर्ने जनशक्तिको योग्यता, तालिम र सेवाको गुणस्तर निर्धारण गर्ने प्रभावकारी नियमन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। छोटो अवधिको तालिम लिएका व्यक्ति र लामो समय अध्ययन तथा अभ्यास गरेका विशेषज्ञबीच स्पष्ट मापदण्ड हुन नसक्दा सेवाको विश्वसनीयतामा समेत प्रश्न उठ्न सक्ने उनीहरूको भनाइ छ।
त्यस्तै, स्वास्थ्य बीमामार्फत अकुपञ्चर सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने विषय पनि महत्त्वपूर्ण छ। सरकारी अस्पतालमा सेवा विस्तार, बीमा कार्यक्रममा उपयुक्त सेवाको समावेश र अनुसन्धानमा लगानी हुन सके यसको पहुँच बढाउन सकिने देखिन्छ।
नेपालमा कार्यरत १७औँ चिनियाँ मेडिकल टोलीका डा. जिया सोङताओले भरतपुर क्यान्सर अस्पताल र काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा उपलब्ध गराइँदै आएको अकुपञ्चर सेवाबारे जानकारी गराएका थिए। यसले नेपालका केही सरकारी स्वास्थ्य संस्थामा यसको अभ्यास भइरहेको देखाए पनि देशव्यापी विस्तारका लागि थप प्रयास आवश्यक रहेको औँल्याउँछ।
कार्यक्रममा चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालका अध्यक्ष डा. सुरज कर्माचार्य, डा. आनन्द केसी, अकुपञ्चर, मोक्सिबुसन तथा अकुप्रेसर एसोसिएसन अफ नेपालका अध्यक्ष सुवास ढकाललगायले धारणा राखेका थिए भने समाजकी उपाध्यक्ष डा. जया सत्यालले कार्यक्रममा सहजीकरण गरेकी थिइन्।
विश्व अकुपञ्चर दिवसका अवसरमा आयोजित कार्यक्रमले यसको महत्वबारे जनचेतना बढाउने र चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने अवसर दिएको छ। तर यस्ता दिवस र अन्तरक्रियाले मात्र अकुपञ्चरको विकास सम्भव नभएको सहभागीहरुले समेत महशुस गरेका छन्। यसका लागि यसको उद्गम स्थल चिन सरकारले शैक्षिक कार्यक्रम, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान र सेवा विस्तारमा थप सहयोग गर्ने र नेपाल सरकारले नीतिगत प्राथमिकतामा राख्नुपर्ने देखिएको बताइएको छ।
चीनमा परम्परागत उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर अघि बढाइएको अभ्यासबाट नेपालले पनि सिक्न सक्छ। पाँच दशकअघि सुरु भएको अकुपञ्चरलाई अब पनि सीमित शिविर र निजी क्लिनिकमा मात्र राख्ने कि व्यवस्थित अध्ययन, अनुसन्धान र नियमनसहित राष्ट्रिय स्वास्थ्य सेवाको उपयुक्त हिस्सा बनाउने भन्ने प्रश्नमा राज्य र सरोकारवालाले गम्भीर छलफल गर्नुपर्ने समेत देखिएको छ।