काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व र स्वास्थ्यसँग सम्बन्धित रणनीतिक एजेन्डा प्राथमिकतामा परेको देखिएको छैन। भारतसँग व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा सहकार्य गर्ने तयारी भइरहँदा स्वास्थ्य क्षेत्रका दीर्घकालीन र रणनीतिक महत्वका विषय भने भ्रमणको प्राथमिकतामा नपरेका हुन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक तथा सञ्चार सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी छन्। तर, स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्ने कुनै पनि व्यक्ति भ्रमण टोलीमा समेटिएका छैनन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रमा वैकल्पिक चिकित्सामा सहकार्य तथा शैक्षिक र सेवा क्षेत्रको सुदृढीकरणका लागि सहयोग आदानप्रदानजस्ता नियमित विषय मात्रै समेटिएका छन्। मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्रमा रणनीतिक र दीर्घकालीन महत्वका कुनै एजेन्डा भ्रमणको प्राथमिकतामा छैनन्।
नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहे पनि त्यसलाई दीर्घकालीन रणनीतिसहित अघि बढाउने विषयमा भ्रमणले विशेष प्राथमिकता दिएको देखिँदैन। स्वास्थ्य जनशक्ति विकास, चिकित्सा शिक्षा, औषधि उत्पादन तथा अनुसन्धान, स्वास्थ्य प्रविधि हस्तान्तरण, स्वास्थ्य बीमाको स्थायित्व र सीमापार स्वास्थ्य चुनौती सम्बोधनजस्ता विषयमा दुई देशबीच थप सहकार्यको सम्भावना छ।
विशेषगरी औषधि तथा स्वास्थ्य सामग्रीको उत्पादन र आपूर्ति, क्यान्सरलगायत जटिल रोगको उपचार, स्वास्थ्य अनुसन्धान र प्रविधिको विकासमा भारतसँग सहकार्य विस्तार गर्न सकिने क्षेत्र छन्। तर, यस्ता विषयलाई उच्चस्तरीय द्विपक्षीय छलफलको एजेन्डा बनाइएको छैन।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। त्यस्तै, व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
स्वास्थ्य क्षेत्र पनि समझदारीपत्र आदानप्रदान हुने क्षेत्रमध्ये समेटिए पनि त्यसमा उल्लेखित विषय नियमित सहयोग र सहकार्यमा सीमित देखिएका छन्। स्वास्थ्य क्षेत्रका ठूला चुनौती सम्बोधन गर्ने र दुवै देशको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा लाभ पुग्ने रणनीतिक सहकार्यका विषय भने ओझेलमा परेका छन्।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।