हामीले स्वास्थ्य सेवालाई प्रायः रोगको पहिचान, परीक्षण, औषधि र उपचारसँग जोडेर बुझ्ने गरेका छौँ। चिकित्सा विज्ञानको विकाससँगै रोग पत्ता लगाउने प्रविधि, शल्यक्रिया, औषधि, प्रयोगशाला परीक्षण र उपचारका विधिमा अभूतपूर्व प्रगति भएको छ। आज शरीरका सूक्ष्म अङ्गदेखि जटिल जैविक प्रक्रियासम्मको अध्ययन सम्भव भएको छ। तर के आधुनिक स्वास्थ्य सेवाले बिरामीलाई मानिसका रूपमा हेर्न सकेको छ? के अस्पतालमा भर्ना भएको व्यक्ति एउटा रोगको नाम, बेड नम्बर, प्रयोगशालाको रिपोर्ट वा उपचारको केस मात्र हो? ऊ आफ्नै भावना, पीडा, डर, आशा, परिवार, सामाजिक सम्बन्ध, आर्थिक अवस्था, सांस्कृतिक विश्वास र जीवनका अनेकौँ अनुभव बोकेको मानिस हो कि हैन? यो लेखले स्वास्थ्य सेवाको वास्तविक सफलता रोग निको पार्नुमा मात्र होइन, बिरामीको सम्मान, आत्मसम्मान र मानवीय मर्यादा जोगाउँदै उपचार गर्नुमा पनि निहित हुन्छ भन्ने बारेमा स्पष्ट पार्ने कोसिस गरेको छ।
बिरामीका अनगिन्ती चिन्ता र चासो
चिकित्सा शिक्षामा विज्ञान र प्रविधिको बढ्दो प्रभावले चिकित्सकहरूलाई रोगको जैविक पक्ष बुझ्न सक्षम बनाए पनि बिरामीको जीवनमा रोगले पार्ने सामाजिक, भावनात्मक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव बुझ्ने क्षमता कमजोर हुन सक्ने आजको चिन्ताको बिषय हो। रोगको अध्ययन र रोगसँग बाँचिरहेको मानिसको अनुभव एउटै कुरा होइनन्। प्रयोगशालाको रिपोर्टले रगतमा चिनीको मात्रा देखाउन सक्छ, तर मधुमेह भएका व्यक्तिले दैनिक जीवनमा भोगिरहेको चिन्ता, खानपानको सामाजिक कठिनाइ, औषधिको खर्च र भविष्यप्रतिको डर त्यसले बताउन सक्दैन। एक्सरेले हड्डी भाँचिएको देखाउन सक्छ, तर दुर्घटनापछि आफ्नो रोजगारी, परिवार र भविष्य गुम्ने हो कि भन्ने बिरामीको चिन्ता देखाउन सक्दैन। चिकित्सा सेवाले यी दुवै वास्तविकतालाई बुझ्न आवश्यक छ।
नेपालको स्वास्थ्य सेवा प्रणालीलाई कसरी सुधार्ने?
नेपालको स्वास्थ्य सेवा प्रणालीमा पनि बिरामीको सम्मान र मर्यादाको प्रश्न अत्यन्त सान्दर्भिक छ। सरकारी अस्पतालदेखि निजी अस्पतालसम्म, प्राथमिक स्वास्थ्य केन्द्रदेखि विशेषज्ञ अस्पतालसम्म स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार भइरहेको छ। तर सेवाको गुणस्तरलाई भवन, शय्या, उपकरण, विशेषज्ञ चिकित्सक, शल्यक्रियाको सफलता र औषधिको उपलब्धताबाट मात्र मापन गर्ने प्रवृत्ति अझै बलियो छ। अस्पतालमा बिरामीले कस्तो व्यवहार पाए? स्वास्थ्यकर्मीले उसको कुरा ध्यान दिएर सुने कि सुनेनन्? उपचारका विकल्पबारे बुझाए कि बुझाएनन्? उसको सहमति लिए कि लिएनन्? उसको गोपनीयता र व्यक्तिगत मर्यादा जोगाए कि जोगाएनन्? यी प्रश्न पनि स्वास्थ्य सेवाको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण आधार हुनुपर्छ।
हाम्रो समाजमा अस्पताल पुगेको बिरामी प्रायः कमजोर अवस्थामा हुन्छ। ऊ शारीरिक पीडामा हुन्छ, रोगको गम्भीरताबारे अनिश्चित हुन्छ र उपचार खर्च कसरी जुटाउने भन्ने चिन्तामा हुन्छ। ग्रामीण क्षेत्रबाट काठमाडौं वा अन्य सहरका ठूला अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि अस्पतालको वातावरण आफैँमा अपरिचित र भयावह हुन्छ। भाषा, आर्थिक अवस्था, शैक्षिक स्तर र सामाजिक पृष्ठभूमिका कारण स्वास्थ्य संस्थामा आफ्नो समस्या स्पष्ट रूपमा राख्न नसक्ने मानिसहरू धेरै हुन्छन्। तर के हाम्रो स्वास्थ्य सेवा प्रणालीले सबै बिरामीलाई समान रूपमा बुझ्ने र सम्मान गर्ने वातावरण निर्माण गर्न सकेको छ त? चिकित्सक र स्वास्थ्यकर्मीका लागि सामान्य लाग्ने प्राविधिक शब्द बिरामी र उनका परिवारका लागि बुझ्न कठिन हुन्छन्। यस्तो अवस्थामा बिरामीलाई नबुझाएको, झर्केर जवाफ दिएको वा उसको प्रश्नलाई अनावश्यक ठानेको व्यवहारले उसको आत्मसम्मानमा चोट पुर्याउँछ।
उदाहरणका लागि, कुनै वृद्ध व्यक्ति अस्पतालमा उपचारका लागि आउँदा उसको उमेरका कारण सुन्ने, बुझ्ने वा प्रश्न गर्ने क्षमतामा कठिनाइ हुन सक्छ। चिकित्सकले परिवारका सदस्यसँग मात्र कुरा गरेर बिरामीलाई सम्बोधन नै नगर्नु उचित होइन। वृद्ध व्यक्तिले आफ्नो शरीर, पीडा र उपचारबारे निर्णय गर्ने अधिकार राख्छन्। परिवारको सहयोग आवश्यक भए पनि बिरामीलाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु उसको व्यक्तित्व र मर्यादाको अवमूल्यन हो। त्यसैगरी, दृष्टिविहीन, श्रवणशक्तिमा कमी भएका, शारीरिक अपाङ्गता भएका वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई दया र असहायताको दृष्टिले होइन, अधिकार र सम्मानको दृष्टिले हेर्नुपर्छ। अपाङ्गता भएको व्यक्ति केवल उपचारको विषय होइन; ऊ आफ्ना आवश्यकता, रुचि, निर्णय र अधिकार भएको नागरिक हो।
महिला बिरामीहरूको अनुभवमा पनि सम्मान र मर्यादाको प्रश्न महत्त्वपूर्ण छ। प्रजनन स्वास्थ्य, गर्भावस्था, प्रसूति, गर्भपतन, महिनावारी र यौन स्वास्थ्यका विषयमा महिलाले अझै पनि सामाजिक लज्जा, भेदभाव र अपमानजनक व्यवहार सामना गर्नुपर्ने अवस्था छ। ग्रामीण क्षेत्रका किशोरीहरू महिनावारीसम्बन्धी समस्या खुलेर व्यक्त गर्न हिचकिचाउँछन्। प्रसूति सेवामा आएका महिलालाई पीडा भइरहेको अवस्थामा पनि झर्कोफर्को गर्ने, गाली गर्ने वा उनको डर र असहजतालाई सामान्य ठान्ने व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। प्रसूति सेवा केवल सुरक्षित बच्चा जन्माउने प्राविधिक प्रक्रिया होइन; यो महिलाको शारीरिक स्वायत्तता, सुरक्षा, सम्मान र भावनात्मक अनुभवसँग जोडिएको जीवनको महत्त्वपूर्ण घटना हो। स्वास्थ्यकर्मीको भाषा, व्यवहार र सहयोगले महिलाको जीवनभरको स्वास्थ्य संस्थाप्रतिको विश्वास निर्माण गर्छ।
नेपालको सामाजिक संरचनामा जात, वर्ग, लिङ्ग, भाषा, भौगोलिक अवस्था र आर्थिक हैसियतले स्वास्थ्य सेवाको अनुभवलाई प्रभावित गर्छन्। दलित, जनजाति, मधेसी, दुर्गम क्षेत्रका बासिन्दा, गरिब तथा सीमान्तकृत समुदायका मानिसले स्वास्थ्य संस्थामा समान व्यवहार पाउने सुनिश्चितता हुनुपर्छ। स्वास्थ्य सेवामा विभेद केवल उपचार नपाउनुमा मात्र सीमित हुँदैन। कसलाई पहिले सेवा दिइन्छ, कसको कुरा ध्यान दिएर सुनिन्छ, कसलाई उपचारका विकल्प बुझाइन्छ र कसलाई अपमानजनक शब्द प्रयोग गरिन्छ भन्ने साना देखिने व्यवहारमा पनि असमानता प्रकट हुन सक्छ। उदाहरणका लागि, नेपाली भाषा राम्रोसँग नबुझ्ने समुदायका बिरामीलाई उनीहरूको भाषामा वा बुझ्न सक्ने माध्यमबाट जानकारी दिनु स्वास्थ्य संस्थाको जिम्मेवारी हो। बिरामीले आफ्नो कुरा व्यक्त गर्न नसक्नु उसको कमजोरी होइन; स्वास्थ्य प्रणालीले उसको कुरा बुझ्ने व्यवस्था गर्न नसक्नु प्रणालीको कमजोरी हो।
बिरामीको सम्मानको अर्को महत्त्वपूर्ण पक्ष गोपनीयता र सूचित सहमति हो। हाम्रो अस्पतालमा कहिलेकाहीँ बिरामीको शारीरिक परीक्षण गर्दा पर्दा लगाउने, ढोका बन्द गर्ने वा अन्य व्यक्तिको उपस्थितिबारे सोध्ने सामान्य सावधानीसमेत पर्याप्त रूपमा अपनाइएको पाइँदैन। विशेषगरी महिला बिरामीको परीक्षण, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र संवेदनशील रोगको उपचारमा गोपनीयता अत्यन्त महत्त्वपूर्ण हुन्छ। अस्पतालको वार्डमा बिरामीको निदान, एचआईभी संक्रमण, मानसिक स्वास्थ्यसम्बन्धी समस्या वा अन्य संवेदनशील जानकारी अनावश्यक रूपमा अरूका अगाडि छलफल गर्नु उसको व्यक्तिगत अधिकारको उल्लङ्घन हो। स्वास्थ्यकर्मीले बिरामीको जानकारी सुरक्षित राख्नु केवल व्यावसायिक औपचारिकता होइन, विश्वासमा आधारित उपचार सम्बन्धको आधार हो।
त्यसैगरी, कुनै पनि उपचार वा शल्यक्रिया गर्नुअघि बिरामीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे बुझ्न सक्ने भाषामा जानकारी दिनुपर्छ। उपचारका सम्भावित फाइदा, जोखिम, वैकल्पिक उपाय र उपचार नगर्दा हुन सक्ने परिणामबारे जानकारी पाएपछि बिरामीले निर्णय गर्न सक्नुपर्छ। सहमति फाराममा हस्ताक्षर गराउनु मात्र सूचित सहमति होइन। बिरामीले वास्तवमै के भइरहेको छ र उसले के निर्णय गर्दैछ भन्ने बुझ्नु आवश्यक छ। हाम्रो सन्दर्भमा निरक्षर वा कम शिक्षित बिरामीका परिवारका सदस्यले हस्ताक्षर गरिदिने प्रचलन छ। तर यसले बिरामीको आफ्नै इच्छा र निर्णयलाई विस्थापित गर्नु हुँदैन। बिरामी निर्णय गर्न सक्षम छ भने उसको आवाज र प्राथमिकतालाई पहिलो स्थान दिनुपर्छ।
रोगले मानिसको शरीर मात्र होइन, उसको परिवार र सामाजिक जीवनलाई पनि प्रभावित गर्छ। नेपालमा दीर्घरोग, क्यान्सर, मिर्गौला रोग, मुटुरोग, मधुमेह, पक्षाघात र मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग बाँचिरहेका मानिसहरूको संख्या बढ्दो छ। यस्ता रोगको उपचार लामो समयसम्म चल्न सक्छ र परिवारको आर्थिक अवस्था, रोजगारी, सामाजिक सम्बन्ध तथा मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। मिर्गौला रोग भएका व्यक्तिले नियमित डायलाइसिसका लागि अस्पताल धाउनुपर्ने बाध्यता, क्यान्सर भएका बिरामीले उपचार खर्च जुटाउन गर्नुपर्ने संघर्ष, पक्षाघात भएका व्यक्तिले दैनिक क्रियाकलापमा अरूको सहयोग लिनुपर्ने अवस्था र मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले सामाजिक कलङ्क सामना गर्नुपर्ने वास्तविकता उपचारको जैविक पक्षभन्दा धेरै फराकिलो छ। बिरामीलाई औषधि दिएर मात्र स्वास्थ्य सेवा पूरा हुँदैन। उसको जीवनको परिस्थिति बुझ्ने, परिवारलाई सहयोग गर्ने र सामाजिक सुरक्षासँग जोड्ने दृष्टिकोण पनि आवश्यक छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा बिरामीको मर्यादाको प्रश्न झन् गम्भीर छ। मानसिक रोग भएका व्यक्तिलाई पागल, कमजोर वा परिवारको बोझका रूपमा हेर्ने सामाजिक दृष्टिकोण अझै पूर्ण रूपमा हटेको छैन। कतिपय अवस्थामा परिवारले नै बिरामीको कुरा नसुन्ने, उसको निर्णयलाई महत्त्व नदिने वा उपचारका नाममा अनावश्यक नियन्त्रण गर्ने अवस्था हुन सक्छ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पनि अन्य बिरामीसरह सम्मान, गोपनीयता, उपचार र निर्णय गर्ने अधिकार हुन्छ। आत्महत्या प्रयास गरेका व्यक्तिलाई दोष लगाउने, लागूपदार्थ प्रयोगसम्बन्धी समस्या भएका व्यक्तिलाई अपमान गर्ने वा मानसिक रोगलाई चरित्रको कमजोरी ठान्ने व्यवहार स्वास्थ्य सेवाको मानवीय दर्शनविपरीत छ।
स्वास्थ्य सेवामा बिरामीको सम्मानको कुरा गर्दा जीवनको अन्तिम अवस्थालाई पनि बिर्सन मिल्दैन। हाम्रा अस्पतालहरूमा जीवन बचाउने प्रयासलाई अत्यधिक प्राथमिकता दिइन्छ, जुन स्वाभाविक र आवश्यक पनि हो। तर सबै रोग निको पार्न सम्भव हुँदैन। कहिलेकाहीँ उपचारको उद्देश्य रोग निको पार्नु नभई पीडा कम गर्नु, सहजता प्रदान गर्नु र बिरामीलाई आफ्नो जीवनको अन्तिम समय सम्मानपूर्वक बिताउन सहयोग गर्नु हुन्छ। क्यान्सरको अन्तिम अवस्था, अङ्ग विफलता वा निको नहुने गम्भीर रोग भएका बिरामीलाई उनीहरूको अवस्था र इच्छाबारे संवेदनशील संवाद आवश्यक हुन्छ। बिरामीलाई सत्य कुरा कसरी बताउने, परिवारको भूमिका कसरी समेट्ने र अनावश्यक उपचारबाट कसरी जोगाउने भन्ने प्रश्न महत्त्वपूर्ण छन्। मृत्यु जीवनको स्वाभाविक हिस्सा हो। त्यसैले राम्रो स्वास्थ्य सेवा भनेको जीवन लम्ब्याउने प्रयास मात्र होइन, जीवनको अन्तिम क्षणसम्म मानिसको मर्यादा जोगाउनु पनि हो।
नेपालमा स्वास्थ्य सेवामा मानवीय संवेदना विकास गर्न चिकित्सा शिक्षा र स्वास्थ्यकर्मीको तालिममा पनि परिवर्तन आवश्यक छ। चिकित्सा शिक्षामा शरीर र रोगसम्बन्धी वैज्ञानिक ज्ञान अनिवार्य छ। तर चिकित्सा विज्ञानको ज्ञान मात्रले असल चिकित्सक निर्माण हुँदैन। बिरामीको कथा सुन्ने, उसको पीडा बुझ्ने, सामाजिक तथा सांस्कृतिक सन्दर्भ पहिचान गर्ने, नैतिक निर्णय गर्ने र कठिन परिस्थितिमा संवेदनशील संवाद गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ। यही आवश्यकतालाई सम्बोधन गर्न चिकित्सा मानविकी (Medical Humanities) को अवधारणा विकसित भएको हो। साहित्य, कविता, कथा, जीवनी, इतिहास, कला, चलचित्र, दर्शन र नैतिकताका माध्यमबाट विद्यार्थीले बिरामीको जीवन अनुभव बुझ्न सक्छन्। एउटा बिरामीको कथा सुन्दा विद्यार्थीले रोगको नामभन्दा पर रहेको मानिसलाई चिन्न सिक्छ। कुनै अपाङ्गता भएका व्यक्तिको जीवनकथा पढ्दा वा ज्येष्ठ नागरिकको अनुभव सुन्दा स्वास्थ्यकर्मीले बिरामीको संसारलाई फरक दृष्टिले हेर्न सक्छन्।
नेपालमा चिकित्सा मानविकीलाई स्वास्थ्य विज्ञान शिक्षामा समावेश गर्ने प्रयासहरू उत्साहजनक छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१८ देखि चिकित्सा मानविकीसम्बन्धी शिक्षण गतिविधि सञ्चालन हुनु यस दिशाको महत्त्वपूर्ण उदाहरण हो। विद्यार्थीहरूलाई दया, करुणा, वृद्धावस्था, अपाङ्गता, जीवनको अन्तिम अवस्था, बिरामीका अपेक्षा र स्वास्थ्यकर्मीको जिम्मेवारीबारे कविता, साहित्य, चलचित्र, जीवनी तथा सामूहिक छलफलमार्फत सोच्न प्रेरित गर्नु यसको महत्त्वपूर्ण पक्ष हो। यस्तो शिक्षणलाई अतिरिक्त वा मनोरञ्जनात्मक विषयका रूपमा सीमित राख्नु हुँदैन। यो असल स्वास्थ्यकर्मी निर्माण गर्ने शिक्षाको अभिन्न अङ्ग हुनुपर्छ। चिकित्सा विद्यार्थीले शरीर र रोगको अध्ययनसँगै पीडा, मानवीय सम्बन्ध, सामाजिक अन्याय र जीवनको अर्थ बुझ्ने अवसर पाउनुपर्छ। राज्यकोको नेतृत्व, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका जिम्मेवार व्यक्ति, आयोगहरुले यसको महत्वलाई आत्मसात गर्नु पर्छ।
बिरामीको भावना सुन्ने अभ्यास पनि स्वास्थ्य सेवामा अत्यन्त उपयोगी हुन्छ। स्वास्थ्यकर्मीले बिरामीलाई 'तपाइलाई के समस्या छ?' भनेर सोध्नु आवश्यक छ, तर त्यतिमै सीमित हुनु पर्याप्त हुँदैन। 'यो समस्याले तपाईंको दैनिक जीवनमा कस्तो प्रभाव पारेको छ?', 'तपाईंलाई सबैभन्दा बढी के कुराको चिन्ता छ?', 'उपचारबाट तपाईंको के अपेक्षा छ?' जस्ता प्रश्नले बिरामीको वास्तविक आवश्यकता बुझ्न मद्दत गर्छन्। उदाहरणका लागि, मधुमेह भएका एक जना किसानलाई नियमित खानपान, औषधि र व्यायामको सल्लाह दिँदा उसको कामको प्रकृति, आम्दानी, परिवारको खानपान र स्वास्थ्य संस्थासम्मको दूरी बुझ्नुपर्छ। दिनभरि खेतमा काम गर्ने र नियमित खाना खाने समय नपाउने व्यक्तिलाई सहरी जीवनशैलीमा आधारित सल्लाह दिनु व्यावहारिक नहुन सक्छ। बिरामीको जीवनसँग मेल खाने उपचार योजना बनाउनु नै मानवीय स्वास्थ्य सेवाको एउटा महत्त्वपूर्ण पक्ष हो।
यसका लागि चिकित्सक मात्र होइन, नर्स, स्वास्थ्य सहायक, प्रयोगशालाकर्मी, फार्मासिस्ट, प्रशासनिक कर्मचारी, अस्पताल व्यवस्थापक र स्वास्थ्य नीतिनिर्माताको भूमिका महत्त्वपूर्ण हुन्छ। अस्पतालमा बिरामीको पहिलो सम्पर्क प्रायः जचाउनको लागि टिकट लिने ठाउँ, स्वागत कक्ष वा दर्ता शाखामा हुन्छ। त्यहाँबाटै सम्मानजनक व्यवहार सुरु हुनुपर्छ। लामो समय लाइनमा बस्नुपर्ने, आवश्यक जानकारी नपाउने, अपमानजनक भाषा सुन्नुपर्ने वा सेवा प्राप्त गर्न अनावश्यक रूपमा धेरै ठाउँ धाउनुपर्ने अवस्थाले बिरामीको पीडा बढाउँछ। स्वास्थ्य संस्थाको व्यवस्थापनले बिरामीमैत्री सेवा, स्पष्ट सूचना, अपाङ्गतामैत्री संरचना, भाषिक सहजता, गुनासो सुनुवाइ र पारदर्शी उपचार प्रक्रियालाई प्राथमिकता दिनुपर्छ।
त्यसैगरी, बिरामीको सम्मानको जिम्मेवारी व्यक्तिगत स्वास्थ्यकर्मीको सद्भावनामा मात्र छोड्नु हुँदैन। अस्पताल र स्वास्थ्य संस्थाले बिरामीका अधिकारलाई संस्थागत गर्नुपर्छ। बिरामीको अधिकारसम्बन्धी जानकारी सबैले बुझ्ने भाषामा उपलब्ध गराउनुपर्छ। गोपनीयता, सूचित सहमति, सम्मानजनक व्यवहार, उपचारका विकल्पबारे जानकारी र भेदभावरहित सेवाको व्यवस्था व्यवहारमा लागू हुनुपर्छ। स्वास्थ्यकर्मीमाथि कामको अत्यधिक चाप, न्यून जनशक्ति, अपर्याप्त स्रोतसाधन र असुरक्षित कार्यवातावरणले पनि व्यवहारमा असर पार्छ। त्यसैले स्वास्थ्यकर्मीलाई दोष लगाएर मात्र समस्या समाधान हुँदैन। उनीहरूलाई पर्याप्त समय, सहयोगी कार्यवातावरण, निरन्तर तालिम र संस्थागत समर्थन उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।
आज कृत्रिम बुद्धिमत्ता, डिजिटल स्वास्थ्य, टेलिमेडिसिन र अत्याधुनिक उपकरणले स्वास्थ्य सेवाको स्वरूप परिवर्तन गरिरहेका छन्। यी प्रविधिले निदान र उपचारलाई प्रभावकारी बनाउन सक्छन्। तर प्रविधिले बिरामीको हात समातेर उसको डर कम गर्न सक्दैन, उसको मौनताभित्र लुकेको पीडा स्वतः बुझ्न सक्दैन र उसको जीवनको अर्थबारे संवेदनशील संवाद गर्न सक्दैन। प्रविधिको प्रयोगले चिकित्सक र बिरामीबीचको मानवीय सम्बन्ध कमजोर हुनु हुँदैन। बरु प्रविधिले स्वास्थ्यकर्मीलाई बिरामीसँग संवाद गर्न र उसको आवश्यकता बुझ्न थप समय उपलब्ध गराउन सहयोग गर्नुपर्छ। विज्ञान र मानविकीबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक छ।
अन्ततः स्वास्थ्य सेवाको केन्द्रमा बिरामी हुनुपर्छ, रोग मात्र होइन। अस्पतालमा आउने प्रत्येक व्यक्ति सम्मानको हकदार हो—ऊ धनी होस् वा गरिब, शिक्षित होस् वा अशिक्षित, गाउँको होस् वा सहरको, बालबालिका होस् वा ज्येष्ठ नागरिक, अपाङ्गता भएको होस् वा दीर्घरोगसँग बाँचिरहेको होस्। बिरामीको सम्मान गर्नु कुनै अतिरिक्त सुविधा होइन; यो स्वास्थ्य सेवाको आधारभूत नैतिक दायित्व हो। एउटा चिकित्सकले बिरामीको कुरा ध्यान दिएर सुन्नु, नर्सले पीडामा रहेको व्यक्तिलाई समानुभूतिपूर्वक सम्बोधन गर्नु, अस्पतालका कर्मचारीले सही सूचना दिनु र व्यवस्थापकले बिरामीमैत्री वातावरण निर्माण गर्नु सबै मानवीय स्वास्थ्य सेवाका अङ्ग हुन्।
हामीले स्वास्थ्य सेवाको सफलतालाई केवल कति बिरामीको उपचार भयो, कति शल्यक्रिया सफल भए वा कति नयाँ उपकरण भित्रिए भनेर मात्र मूल्याङ्कन गर्नु हुँदैन। उपचारका क्रममा कति बिरामीले सम्मान पाए, कति व्यक्तिको आवाज सुनियो, कति परिवारले कठिन समयमा सहयोग पाए र कति मानिसले आफ्नो अन्तिम अवस्थासम्म मानवीय मर्यादा अनुभव गर्न पाए भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन्। बिरामीको शरीर उपचारको विषय हुन सक्छ, तर उसको व्यक्तित्व, भावना, अधिकार र गरिमा कहिल्यै उपचार प्रक्रियाभन्दा तल राखिनु हुँदैन।
अन्तमा,
आज नेपालको स्वास्थ्य प्रणालीले एउटा महत्त्वपूर्ण आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ। के हामीले आधुनिक अस्पताल र प्रविधि निर्माणसँगै संवेदनशील स्वास्थ्यकर्मी, सुन्न सक्ने चिकित्सक, बिरामीको अधिकार बुझ्ने व्यवस्थापक र मानवताको मूल्य आत्मसात् गर्ने स्वास्थ्य शिक्षा विकास बारेमा बहस गरेका छौं? के हाम्रा पाठ्यक्रमले यस्ता संबेदनशील बिषयलाई समेटेको छ? चिकित्सा विज्ञानले रोगसँग लड्न सिकाउँछ, तर चिकित्सा मानविकीले रोगसँग संघर्ष गरिरहेको मानिसलाई बुझ्न सिकाउँछ। यी दुवैको समन्वयबाट मात्र गुणस्तरीय र न्यायपूर्ण स्वास्थ्य सेवा सम्भव हुन्छ। अन्ततः अस्पतालमा प्रवेश गर्ने व्यक्ति कुनै रोगको नाम वा एउटा चिकित्सकीय प्रतिवेदन मात्र होइन, ऊ एउटा मानिस हो, जसको जीवनको आफ्नै कथा र व्यथा छ। उसको भोगाई सुन्नु, उसको पीडालाई सम्मान गर्नु र उसको मर्यादा जोगाउनु नै साँचो अर्थमा मानवीय स्वास्थ्य सेवाको पहिचान हो। बिरामी पनि मानिस हुन् भन्ने सामान्य तर गहिरो सत्यलाई हाम्रो स्वास्थ्य प्रणालीले व्यवहारमा आत्मसात् गर्न सके मात्र स्वास्थ्य सेवा वास्तवमै सेवामुखी, न्यायपूर्ण र मानवीय बन्न सक्छ।
(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य संकायका पूर्वप्रमुख हुन्।)