नोभेम्बर महिनामा धेरै पुरुषले किन दाह्री काट्न छोड्छन् होला?
सन् २००९ मा अमेरिकाबाट सुरु भएको No-Shave November अभियानको उद्देश्य क्यान्सरबारे जनचेतना फैलाउनु हो। कोलोन क्यान्सरका कारण आफ्ना बुबा गुमाएको एक परिवारको पहलबाट सुरु भएको यो अभियानले दाह्री काट्न तथा ग्रुमिङमा खर्च हुने रकम क्यान्सरसम्बन्धी सचेतना, अनुसन्धान र उपचारमा सहयोग गर्न प्रोत्साहित गर्छ।
तर, यो अभियान दाह्री नकटाउने कुरामा मात्र सीमित छैन। यो क्यान्सरबारे खुलेर कुरा गर्ने, समयमै परीक्षण गराउने, रोगको प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्ने र क्यान्सरसँग लडिरहेका व्यक्ति तथा परिवारप्रति ऐक्यबद्धता जनाउने अभियान पनि हो।
एक क्यान्सर रोग विशेषज्ञका रूपमा मैले हरेक दिन क्यान्सरले बिरामी मात्र होइन, सम्पूर्ण परिवारलाई कसरी प्रभावित गर्छ भन्ने देखिरहेको छु। हामीलाई अझ बढी जनचेतना, अनुसन्धान, सहानुभूति र सबैको पहुँचमा पुग्ने गुणस्तरीय उपचारको आवश्यकता छ।
त्यसैले यस नोभेम्बरमा म पनि आफ्नो सानो योगदानसहित यो अभियानमा सहभागी हुँदैछु- मेरो यो दाह्रीसहित!
सायद मेरो दाह्रीले कसैलाई क्यान्सरबारे कुरा गर्न, समयमै स्वास्थ्य परीक्षण गराउन वा क्यान्सरसँग लडिरहेका कसैलाई साथ दिन प्रेरित गरोस्।
दाह्री मात्र नबढाऔँ, चेतना बढाऔँ।
मौनता होइन, संवाद गरौँ।
डर होइन, आशा फैलाऔँ।
दाह्री बढाऔँ, क्यान्सरविरुद्धको चेतना र आशा बढाऔँ!