स्वास्थ्य सेवा कुनै पनि देशको सामाजिक विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर मापन गर्ने महत्त्वपूर्ण आधार हो। गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारका रूपमा स्थापित हुनु आधुनिक कल्याणकारी राज्यको प्रमुख विशेषता हो। युरोपेली मुलुक डेनमार्क आफ्नो व्यवस्थित, सर्वसुलभ र नागरिकमैत्री स्वास्थ्य प्रणालीका कारण विश्वमै उदाहरणीय मानिन्छ।
डेनमार्कको स्वास्थ्य प्रणाली मुख्यतः सार्वजनिक वित्तपोषणमा आधारित छ, जहाँ करबाट सङ्कलित रकम स्वास्थ्य सेवामा लगानी गरिन्छ। यस प्रणालीको मूल उद्देश्य नागरिकको आर्थिक अवस्था, सामाजिक हैसियत वा भौगोलिक बसोबासका आधारमा स्वास्थ्य सेवामा विभेद हुन नदिनु हो।
डेनमार्कले स्वास्थ्य सेवालाई रोग लागेपछि उपचार गर्ने माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, समयमै निदान, पुनस्र्थापना तथा दीर्घकालीन हेरचाहसँग जोडेर हेरेको छ। यसैले यसको स्वास्थ्य प्रणाली उपचारमुखी मात्र नभई नागरिकको समग्र स्वास्थ्य र जीवनस्तर सुधारमा केन्द्रित छ।
डेनमार्कको स्वास्थ्य प्रणालीको संरचना
डेनमार्कको स्वास्थ्य प्रणाली तीन तहका सरकारी संरचनामार्फत सञ्चालन हुन्छ:
1. केन्द्रीय सरकार: स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति, कानुनी व्यवस्था, मापदण्ड, नियमन तथा समग्र रणनीति निर्माण गर्ने जिम्मेवारी केन्द्रीय सरकारको हुन्छ।
2. ५ क्षेत्रीय प्रशासन: अस्पताल सञ्चालन, विशेषज्ञ चिकित्सकीय सेवा, मानसिक स्वास्थ्य सेवा तथा अस्पतालमा आधारित उपचार व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी क्षेत्रीय प्रशासनको हुन्छ।
3. ९८ स्थानीय नगरपालिका: स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, घरमै उपलब्ध गराइने स्वास्थ्य सेवा, वृद्धवृद्धाको हेरचाह, पुनस्र्थापना तथा सामुदायिक स्वास्थ्य सेवामा नगरपालिकाको महत्त्वपूर्ण भूमिका हुन्छ।
यस प्रकारको जिम्मेवारी बाँडफाँटले स्वास्थ्य सेवालाई राष्ट्रिय नीतिसँग जोड्दै स्थानीय आवश्यकताअनुसार सेवा प्रवाह गर्न सहयोग पुर्याएको छ।
सर्वव्यापी स्वास्थ्य पहुँच र वित्तपोषण
डेनमार्कको स्वास्थ्य प्रणालीको सबैभन्दा महत्त्वपूर्ण विशेषता सर्वव्यापी स्वास्थ्य पहुँच हो। डेनमार्कमा सामान्यतया कानुनी रूपमा बसोबास गर्ने नागरिक तथा योग्य बासिन्दाले सार्वजनिक स्वास्थ्य प्रणालीअन्तर्गत आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्।
स्वास्थ्य सेवाको मुख्य वित्तीय स्रोत व्यक्तिगत आयकर तथा अन्य सार्वजनिक कर र राजस्व हुन्। यसले गर्दा बिरामीले उपचारका लागि अस्पतालमा जाँदा अधिकांश सार्वजनिक स्वास्थ्य सेवामा प्रत्यक्ष शुल्क तिर्नुपर्दैन।
विशेषगरी निम्न सेवाहरू सामान्यतया सार्वजनिक प्रणालीबाट वित्तपोषित हुन्छन्:
• प्राथमिक स्वास्थ्य सेवा तथा सामान्य चिकित्सकको परामर्श।
• सार्वजनिक अस्पतालमा भर्ना तथा उपचार।
• आवश्यक विशेषज्ञ चिकित्सकीय सेवा।
• आकस्मिक स्वास्थ्य सेवा।
• गर्भावस्था तथा प्रसूतिसम्बन्धी आवश्यक सेवा।
• बालबालिकाका लागि नियमित स्वास्थ्य परीक्षण तथा खोप कार्यक्रम।
यद्यपि औषधि, दन्त उपचार तथा केही अन्य सेवामा सहभुक्तानी वा व्यक्तिगत खर्च लाग्न सक्छ। त्यसैले डेनमार्कको स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क नभई सार्वजनिक वित्तपोषणमा आधारित व्यापक स्वास्थ्य सुरक्षा प्रणाली हो।
प्राथमिक स्वास्थ्य सेवा र पारिवारिक चिकित्सकको भूमिका
डेनमार्कको स्वास्थ्य प्रणालीमा प्राथमिक स्वास्थ्य सेवालाई विशेष महत्त्व दिइएको छ। यस प्रणालीको केन्द्रमा सामान्य चिकित्सक (जेनरल प्राक्टिसनर–जीपी) रहेका हुन्छन्।
प्रत्येक दर्ता भएका बासिन्दाले आफ्नो रोजाइअनुसार उपलब्ध सामान्य चिकित्सक वा स्वास्थ्य केन्द्र छनोट गर्न सक्छन्। सामान्य स्वास्थ्य समस्या देखिएमा बिरामीले सर्वप्रथम जीपीसँग सम्पर्क गर्छन्। आवश्यकताअनुसार जीपीले बिरामीलाई विशेषज्ञ चिकित्सक वा अस्पतालमा पठाउँछन्।
जीपीका प्रमुख जिम्मेवारीहरू निम्न छन्:
• सामान्य रोगको पहिचान तथा उपचार
• उच्च रक्तचाप, मधुमेह तथा अन्य दीर्घरोगको नियमित निगरानी
• स्वास्थ्य परीक्षण तथा रोगको प्रारम्भिक पहिचान
• खोप तथा रोग रोकथामसम्बन्धी परामर्श
• आवश्यकताअनुसार विशेषज्ञ चिकित्सककहाँ प्रेषण
• बिरामीको दीर्घकालीन स्वास्थ्य अवस्थाको अभिलेख तथा अनुगमन
यसले अस्पतालमा अनावश्यक बिरामीको चाप घटाउन र स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न सहयोग पुर्याउँछ।
अस्पताल सेवा तथा विशेषज्ञ उपचार
डेनमार्कका पाँचवटा क्षेत्रीय प्रशासनले सार्वजनिक अस्पतालहरूको सञ्चालन तथा व्यवस्थापन गर्छन्। अस्पतालहरूमा आकस्मिक उपचार, शल्यक्रिया, विशेषज्ञ परामर्श, प्रसूति सेवा, बाल स्वास्थ्य सेवा तथा विभिन्न जटिल रोगहरूको उपचार उपलब्ध हुन्छ।
डेनमार्कले अस्पताल सेवाको गुणस्तर सुधार गर्न आधुनिक चिकित्सा प्रविधि, दक्ष स्वास्थ्य जनशक्ति, वैज्ञानिक अनुसन्धान तथा प्रमाणमा आधारित उपचार पद्धतिलाई प्राथमिकता दिएको छ।
अस्पताल सेवामा बिरामीको सुरक्षा, उपचारको प्रभावकारिता र सेवाको निरन्तरतालाई महत्त्वपूर्ण सूचकका रूपमा लिइन्छ। अस्पतालबाट डिस्चार्ज भएपछि बिरामीलाई आवश्यकताअनुसार स्थानीय स्वास्थ्य सेवा तथा पुनस्र्थापना सेवासँग जोडिन्छ।
डिजिटल स्वास्थ्य प्रणाली: आधुनिक प्रविधिको प्रभावकारी प्रयोग
डेनमार्कको स्वास्थ्य प्रणालीको अर्को उल्लेखनीय पक्ष डिजिटल स्वास्थ्य सेवा हो। सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगले स्वास्थ्य सेवाको पहुँच, पारदर्शिता र कार्यक्षमता सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
डेनमार्कमा प्रयोग हुने डिजिटल स्वास्थ्य सेवाका प्रमुख उदाहरणहरू:
• Sundhed.dk: नागरिकले आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी, परीक्षण नतिजा, उपचार विवरण तथा स्वास्थ्य सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने राष्ट्रिय स्वास्थ्य पोर्टल।
• MinSundhed: मोबाइल एपमार्फत व्यक्तिगत स्वास्थ्य विवरण तथा विभिन्न स्वास्थ्य सेवामा पहुँच।
• Electronic Prescription: चिकित्सकले विद्युतीय माध्यमबाट औषधिको प्रिस्क्रिप्सन पठाउने व्यवस्था।
• Electronic Health Record: बिरामीको स्वास्थ्यसम्बन्धी विवरण डिजिटल रूपमा अभिलेख राख्ने प्रणाली।
• Telemedicine: आवश्यकताअनुसार दूरचिकित्सा तथा अनलाइन स्वास्थ्य परामर्श।
डिजिटल प्रणालीले बिरामी, चिकित्सक, अस्पताल तथा अन्य स्वास्थ्य संस्थाबीच सूचना आदानप्रदान सहज बनाएको छ। यसले कागजी अभिलेखमा निर्भरता घटाउनुका साथै स्वास्थ्य सेवाको व्यवस्थापनलाई प्रभावकारी बनाएको छ।
जनस्वास्थ्य, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धन
डेनमार्कको स्वास्थ्य प्रणाली उपचारमा मात्र सीमित छैन। रोग लाग्न नदिनु र नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु पनि यसको प्रमुख उद्देश्य हो।
यसअन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गरिन्छन्:
• बालबालिका तथा जोखिम समूहका लागि नियमित खोप कार्यक्रम
• गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य परीक्षण
• स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण कार्यक्रम
• धूमपान नियन्त्रण तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण
• स्वस्थ खानपान तथा शारीरिक गतिविधिको प्रवर्द्धन
• मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा परामर्श
• दीर्घकालीन रोगको रोकथाम र व्यवस्थापन
विशेषगरी स्थानीय नगरपालिकाले समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्छन्। यसले स्वास्थ्य समस्यालाई अस्पतालसम्म पुग्नुअघि नै पहिचान तथा नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
मानसिक स्वास्थ्य सेवा
मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्त्वपूर्ण मान्ने डेनमार्कको दृष्टिकोण यसको स्वास्थ्य प्रणालीको अर्को सकारात्मक पक्ष हो।
डिप्रेसन, चिन्ता, तनाव, लागूपदार्थको दुरुपयोग तथा अन्य मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचारका लागि विभिन्न सेवा उपलब्ध छन्।
सामान्य चिकित्सकबाट प्रारम्भिक मूल्याङ्कन, मनोवैज्ञानिक परामर्श, विशेषज्ञ मनोचिकित्सा तथा अस्पतालमा आधारित मानसिक स्वास्थ्य उपचार उपलब्ध गराइन्छ।
विद्यालय, कार्यस्थल र समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने प्रयाससमेत गरिन्छ। मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रूपमा नभई उपचार तथा व्यवस्थापन गर्न सकिने स्वास्थ्य अवस्थाका रूपमा बुझ्ने वातावरण निर्माणमा जोड दिइएको छ।
डेनमार्कमा गर्भवती महिला तथा नवआमाहरूका लागि मातृ–शिशु स्वास्थ्य सेवा
डेनमार्कमा गर्भवती महिला तथा नवआमाहरूका लागि मातृ–शिशु स्वास्थ्य सेवा सरकारी करबाट वित्तपोषित तथा सामान्यतया निःशुल्क उपलब्ध गराइन्छ। यसअन्तर्गत निम्न सेवाहरू प्रदान गरिन्छन्:
• गर्भावस्थादेखि बच्चा जन्मिएको एक वर्षसम्म आमा र शिशुको स्वास्थ्य तथा विकासलाई प्राथमिकता
• पारिवारिक चिकित्सक (जीपी), दक्ष मिडवाइफ तथा विशेषज्ञबाट नियमित स्वास्थ्य परीक्षण
• अल्ट्रासाउन्ड, पोषण तथा स्वास्थ्यसम्बन्धी परामर्श
• अस्पतालमा सुरक्षित प्रसूतिको व्यवस्था
• नवजात शिशुको जन्मपछिको प्रारम्भिक स्वास्थ्य परीक्षण
• तालिमप्राप्त नर्स (हेल्थ भिजिटर) बाट घरमै पुगेर आमा र शिशुको स्वास्थ्य परीक्षण
• स्तनपान तथा पोषणसम्बन्धी सहयोग
• शिशुको खोप, वृद्धि तथा विकासको नियमित अनुगमन
• आमाको प्रसूतिपछिको शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श
• आमाहरूबीच अनुभव आदानप्रदानका लागि मदर सपोर्ट ग्रुप्सको व्यवस्था
• आमा तथा बाबु दुवैका लागि अभिभावकीय बिदा
• आवश्यकताअनुसार आर्थिक सहयोगको व्यवस्था
• अस्पताल, पारिवारिक चिकित्सक, मिडवाइफ, नर्स, नगरपालिका तथा परिवारबीच समन्वय
वृद्धवृद्धा, दीर्घकालीन हेरचाह र पुनस्र्थापना सेवा
डेनमार्कमा वृद्धवृद्धाको स्वास्थ्य तथा सामाजिक सुरक्षालाई विशेष महत्त्व दिइन्छ। बढ्दो उमेरसँगै देखिने दीर्घरोग, शारीरिक अशक्तता र दैनिक जीवनका कठिनाइलाई सम्बोधन गर्न नगरपालिका स्तरबाट विभिन्न सेवा उपलब्ध गराइन्छ।
प्रमुख सेवाहरूमा निम्न पर्दछन्:
• घरमै नर्सिङ तथा स्वास्थ्य सेवा।
• वृद्धाश्रम तथा आवासीय हेरचाह।
• दैनिक जीवनका गतिविधिमा सहयोग।
• अस्पतालबाट घर फर्किएपछि पुनस्र्थापना सेवा।
• फिजियोथेरापी तथा शारीरिक व्यायाम।
• दीर्घकालीन रोग भएका व्यक्तिको नियमित निगरानी।
यस प्रणालीको उद्देश्य वृद्धवृद्धालाई सम्भव भएसम्म स्वतन्त्र, सुरक्षित र सम्मानजनक जीवन बिताउन सहयोग गर्नु हो।
स्वास्थ्य जनशक्ति तथा चिकित्सा शिक्षाको अवस्था
डेनमार्कको स्वास्थ्य प्रणालीको प्रभावकारितामा दक्ष स्वास्थ्य जनशक्तिको महत्त्वपूर्ण योगदान रहेको छ। चिकित्सक, नर्स, मिडवाइफ, फार्मासिस्ट, फिजियोथेरापिस्ट, मनोवैज्ञानिक तथा अन्य स्वास्थ्यकर्मीले समन्वयात्मक रूपमा सेवा प्रदान गर्छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको व्यावसायिक योग्यता निर्धारणमा राज्यको नियमन महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यकर्मीलाई आफ्नो पेसागत दक्षता निरन्तर अद्यावधिक गर्न प्रोत्साहित गरिन्छ।
आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) को सन् २०२५ को तथ्याङ्कअनुसार डेनमार्कमा प्रति एक हजार जनसङ्ख्यामा ४.५ चिकित्सक र १०.५ नर्स कार्यरत छन्। यी दुवै सूचक ओईसीडी देशहरूको औसतभन्दा माथि छन्।
डेनमार्कको स्वास्थ्य प्रणालीका उपलब्धि र चुनौतीहरू
डेनमार्कको स्वास्थ्य प्रणाली विश्वका विकसित स्वास्थ्य प्रणालीमध्ये एक मानिए पनि यसमा केही चुनौतीहरू विद्यमान छन्।
प्रमुख उपलब्धिहरू:
• सबै कानुनी रूपमा बसोबास गर्ने व्यक्तिका लागि आधारभूत स्वास्थ्य सेवामा व्यापक पहुँच।
• करमा आधारित सार्वजनिक स्वास्थ्य वित्तपोषण।
• प्राथमिक स्वास्थ्य सेवाको सुदृढ व्यवस्था।
• आधुनिक डिजिटल स्वास्थ्य प्रणाली।
• दक्ष स्वास्थ्य जनशक्ति तथा गुणस्तरीय अस्पताल सेवा।
• रोग रोकथाम, पुनस्र्थापना र वृद्धवृद्धाको हेरचाहमा जोड।
• स्वास्थ्य सेवामा नागरिकको उच्च सन्तुष्टि।
ओईसीडीको सन् २०२५ को प्रतिवेदनअनुसार डेनमार्कको औसत आयु ८१.८ वर्ष रहेको छ। त्यस्तै, ८६ प्रतिशत नागरिकले आफ्नो क्षेत्रमा उपलब्ध गुणस्तरीय स्वास्थ्य सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
प्रमुख चुनौतीहरू:
1. ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक र विशेषज्ञ स्वास्थ्यकर्मीको असमान वितरण।
2. विशेषज्ञ उपचार तथा केही शल्यक्रियाका लागि प्रतीक्षा समय।
3. वृद्ध जनसङ्ख्याको वृद्धि र दीर्घकालीन हेरचाहको बढ्दो आवश्यकता।
4. औषधि तथा दन्त उपचारमा व्यक्तिगत खर्चको भार।
5. डिजिटल स्वास्थ्य सेवामा व्यक्तिगत तथ्याङ्कको गोपनीयता र साइबर सुरक्षाको चुनौती।
6. अस्पताल, सामान्य चिकित्सक र नगरपालिकाबीच स्वास्थ्य सेवाको प्रभावकारी समन्वय कायम राख्ने आवश्यकता।
विशेषगरी औषधि र दन्त उपचारमा सार्वजनिक आर्थिक संरक्षण तुलनात्मक रूपमा कम छ। ओईसीडी तथा युरोपेली आयोगको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२३ मा औषधि खर्चको ४२ प्रतिशत र दन्त उपचार खर्चको ३८ प्रतिशत मात्र सार्वजनिक तथा अनिवार्य योजनाबाट वित्तपोषित थियो।
नेपालको स्वास्थ्य प्रणालीका लागि डेनमार्कबाट सिक्न सकिने पाठ
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ। तथापि, स्वास्थ्य सेवामा भौगोलिक असमानता, जनशक्ति अभाव, कमजोर स्वास्थ्य पूर्वाधार, नागरिकको उच्च व्यक्तिगत खर्च तथा गुणस्तरीय सेवामा सीमित पहुँचजस्ता चुनौतीहरू अझै विद्यमान छन्।
नेपालले डेनमार्कको स्वास्थ्य प्रणालीबाट निम्न विषयमा महत्त्वपूर्ण पाठ सिक्न सक्छ।
प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउने
प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी र आवश्यक औषधि उपलब्ध गराउनुपर्छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य प्रणालीको पहिलो सम्पर्क बिन्दुका रूपमा विकास गर्नुपर्छ।
स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने
डेनमार्कमा जस्तै स्थानीय सरकारलाई स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, वृद्धवृद्धाको हेरचाह तथा पुनस्र्थापना सेवामा थप जिम्मेवार बनाउन सकिन्छ।
स्वास्थ्य वित्तपोषणमा सुधार गर्ने
स्वास्थ्य सेवामा सरकारी लगानी वृद्धि गर्दै स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ। आर्थिक अवस्थाका कारण कसैले पनि आवश्यक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था गर्नुपर्छ।
डिजिटल स्वास्थ्य प्रणाली विस्तार गर्ने
एकीकृत विद्युतीय स्वास्थ्य अभिलेख, डिजिटल प्रिस्क्रिप्सन, टेलिमेडिसिन तथा राष्ट्रिय स्वास्थ्य सूचना प्रणाली विकास गर्न आवश्यक छ।
रोकथाममुखी स्वास्थ्य प्रणाली विकास गर्ने
मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर तथा अन्य नसर्ने रोगको रोकथामलाई प्राथमिकतामा राख्नुपर्छ। विद्यालयदेखि समुदायसम्म स्वास्थ्य शिक्षा र जनचेतना विस्तार गर्नुपर्छ।
स्वास्थ्य जनशक्तिको समान वितरण गर्ने
दुर्गम तथा ग्रामीण क्षेत्रमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई आकर्षित गर्न उचित प्रोत्साहन, आवास, सुरक्षा तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउनुपर्छ।
स्वास्थ्य सेवामा तीनै तहका सरकारबीच समन्वय गर्ने
सङ्घ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी, स्रोतसाधन, सूचना आदानप्रदान तथा जवाफदेहिताको स्पष्ट व्यवस्था गर्नुपर्छ।
नेपालले डेनमार्कको प्रणालीलाई जस्ताको तस्तै लागू गर्नुभन्दा आफ्नो आर्थिक क्षमता, जनसाङ्ख्यिक अवस्था, भौगोलिक विविधता र सामाजिक आवश्यकताअनुसार उपयोगी पक्षहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ।
निष्कर्ष
डेनमार्कको स्वास्थ्य प्रणाली समानता, सामाजिक न्याय, सार्वजनिक उत्तरदायित्व र नागरिकको स्वास्थ्य अधिकारमा आधारित एक महत्त्वपूर्ण उदाहरण हो। करमा आधारित स्वास्थ्य वित्तपोषण, सुदृढ प्राथमिक स्वास्थ्य सेवा, दक्ष स्वास्थ्य जनशक्ति, डिजिटल प्रविधिको प्रयोग तथा स्थानीय सरकारको सक्रिय सहभागिताले यस प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुर्याएका छन्।
यस प्रणालीको मूल दर्शन स्वास्थ्य सेवालाई व्यापारिक वस्तुका रूपमा नभई नागरिकको आधारभूत आवश्यकताका रूपमा स्वीकार गर्नु हो। बिरामी भएपछि उपचार गर्नु मात्र पर्याप्त हुँदैन; रोग लाग्न नदिनु, समयमै पहिचान गर्नु, प्रभावकारी उपचार प्रदान गर्नु र उपचारपछि पुनस्र्थापना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
नेपालजस्ता विकासोन्मुख मुलुकका लागि डेनमार्कको अनुभवले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ- स्वास्थ्य प्रणालीको सफलता अस्पताल र चिकित्सकको सङ्ख्याले मात्र निर्धारण गर्दैन; यसको सफलता नागरिकले समयमै, सहज रूपमा, आर्थिक भारविना र सम्मानपूर्वक गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छन् वा छैनन् भन्ने कुराले निर्धारण गर्छ।
अन्ततः, स्वस्थ नागरिक नै समृद्ध राष्ट्र निर्माणको आधार हुन्। त्यसैले स्वास्थ्यमा सार्वजनिक लगानी, संस्थागत जवाफदेहिता र समान पहुँच सुनिश्चित गर्नु प्रत्येक राष्ट्रको प्राथमिकता हुनुपर्छ।