परिचय
सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गर्ने अवसर नेपालको संविधानले दिएको छ। यसको अर्थ सबै व्यक्तिले कुनै आर्थिक कठिनाइविना आफूलाई आवश्यक पर्ने तोकिएबमोजिमका गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नु हो। संविधानको धारा ३५ (१), जनस्वास्थ्य सेवा ऐनको धारा ३ (४) र जनस्वास्थ्य सेवा नियमावलीको अनुसूची (१) मा आधारभूत स्वास्थ्य सेवा सम्बन्धमा व्याख्या र यसको सीमा समावेश भएको छ। निःशुल्क रूपमा उपलब्ध हुने रोगको रोकथाम, उपचार, पुनर्स्थापना तथा पीडा न्यूनीकरणसम्बन्धी (प्यालियटिभ) सेवाहरू समावेश गरिएका छन्।
अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई नागरिकको अधिकारका रूपमा सुनिश्चित गर्नु आधारभूत स्वास्थ्य सेवाको मुख्य उद्देश्य हो। स्वास्थ्य सेवा नियमावली र आधारभूत स्वास्थ्य सेवा निर्देशिका, २०७५ मा विभिन्न नौवटा प्याकेजअन्तर्गतका ९८ प्रकारका सेवा र औषधिहरू निःशुल्क रूपमा स्थानीय र प्रदेश तहअन्तर्गतका प्राथमिक अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ, प्रदेश अस्पताल वा अन्य तोकिएका स्वास्थ्य संस्थाहरूको सञ्जालमार्फत उपलब्ध गराउने व्यवस्था उल्लेख छ। उल्लिखित नौवटा प्याकेजभित्र खोप सेवा; मातृ तथा नवजात शिशु तथा बाल स्वास्थ्य; सरुवा रोग; नसर्ने रोग; मानसिक स्वास्थ्य; ज्येष्ठ नागरिकको स्वास्थ्य; आकस्मिक उपचार; स्वास्थ्य प्रवर्द्धन; र आयुर्वेद वा अन्य मान्यताप्राप्त वैकल्पिक स्वास्थ्य सेवाहरू समावेश भएको पाइन्छ।
आधारभूत स्वास्थ्य सेवा किन?
प्रत्येक व्यक्तिको स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, आधारभूत उपचार तथा पुनर्स्थापना सेवाका लागि नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरिएको न्यूनतम अत्यावश्यक स्वास्थ्य सेवा नेपाल सरकारको वित्तपोषित (Public financing) स्रोतबाट सञ्चालन गर्ने व्यवस्था छ। अन्य कतिपय देशहरूमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच (Universal Health Coverage) वा प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरेको पाइन्छ। नेपालमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने मुख्य कारणहरू निम्नलिखित छन्:
(१) संवैधानिक अधिकारको व्यावहारिक प्रत्याभूति
नेपालको संविधानको धारा ३५ (१) ले आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा मान्यता दिएको छ। संविधानकै मर्मअनुरूप सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने सेवाहरू स्पष्ट रूपमा निर्धारण गरेर महत्वाकांक्षी आधारभूत स्वास्थ्य सेवा प्याकेज स्वीकृत गरी यसलाई व्यावहारिक रूप दिन खोजेको छ। यसले सबै नागरिकका लागि न्यूनतम सेवाको समान प्रत्याभूति स्थापित गर्नुपर्छ। विशेषगरी गरिब, दुर्गम क्षेत्रमा बसोबास गर्ने, विभिन्न दृष्टिले जोखिम वर्ग तथा सीमान्तकृत घरपरिवारसम्म यसको पहुँच आवश्यक हुन्छ, तब मात्र यसले व्यावहारिक रूपमा सार्थकता पाउनेछ।
(२) प्राथमिक स्वास्थ्य सेवाको आधार
अल्मा आटा शिखर सम्मेलनको घोषणापत्रलाई नेपालले अपनाएको र त्यसमा भएका अधिकांश प्रावधानलाई समेटी आधारभूत स्वास्थ्य सेवाको प्याकेज तयार भएको देखिन्छ र सोको मर्मअनुरूप मूलतः स्थानीय तहका स्वास्थ्य संस्थाहरू, बाह्य स्वास्थ्य सेवा र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अधिकांश सेवाहरू सम्बोधन गर्न सकिने भएकोले यस प्याकेजअन्तर्गतका सेवाहरू सङ्घीय सरकारको नीति एवं प्रावधानमा स्थानीय सरकारले कार्यान्वयन गर्ने स्वास्थ्य सेवाको व्यवस्थापनमा निर्भर हुन्छ। सङ्घीय तथा प्रदेश सरकारले सेवाको मापदण्ड, वित्तीय व्यवस्थापन र सेवा सञ्चालनमा समन्वय गर्नुपर्दछ। स्थानीय सरकारबाट कार्यान्वयन गर्ने प्रतिबद्धता गरेमा र आवश्यकताअनुसार बजेटको व्यवस्था भएमा मात्र यसको प्रभावकारी कार्यान्वयन हुन सक्छ। यस प्रकार, आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनमार्फत देशको संविधान, कानुनहरूले तोकेअनुसारको उपलब्धिहरू प्राप्त हुन सक्छन् र नेपालले प्रतिबद्धता गरेको अल्मा आटा घोषणापत्रअनुसारको प्राथमिक स्वास्थ्य सेवाको लक्ष्यहरू प्राप्त गर्न सम्भव हुन्छ।
(३) सर्वव्यापी स्वास्थ्य पहुँच
दिगो विकास लक्ष्यमा उल्लेख भएको सर्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य प्राप्त गर्नका लागि आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन नै उचित माध्यम बन्न सक्छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच गरिब, विपन्न, स्वास्थ्यको हिसाबले पहिचान भएका लक्षित समूह, गाउँ, सहर, दुर्गम र विकट बस्तीसम्म पुर्याउन सकेमा मात्र सर्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य नजिक पुग्न सम्भव देखिन्छ। सबै नागरिकलाई सरकारले ढुक्कसँग आफ्नै गाउँ–बस्तीमा आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गरिदिनुका साथै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सामाजिक सुरक्षामार्फत स्वास्थ्य सेवा पाउने व्यवस्थालाई व्यापक रूपमा लागू गर्न सक्नुपर्छ। तसर्थ, आधारभूत स्वास्थ्य सेवालाई सर्वव्यापी स्वास्थ्य पहुँचको मूलद्वार (Gateway) को रूपमा सञ्चालन गर्न आवश्यक छ।
संक्षेपमा, सर्वव्यापी स्वास्थ्य पहुँचका तीन परस्पर सम्बन्धित आयामअन्तर्गत सबै वर्ग तथा समूहको स्वास्थ्य सेवामा पहुँच (Population coverage); आवश्यक गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच (Health service coverage) र स्वास्थ्य सेवा लिँदा व्यक्तिलाई आर्थिक कठिनाइ नपर्ने (Financial coverage) गरी स्वास्थ्य सेवा प्रवाहको व्यवस्थापन सरकारले गर्नुपर्छ।
आधारभूत स्वास्थ्य सेवा कार्यान्वयनका प्रमुख चुनौतीहरू
आधारभूत स्वास्थ्य सेवालाई समतामूलक र तीन तहकै सरकारको समन्वयमा स्वास्थ्य सेवा प्रवाह गर्ने नीति लिएको छ। कानुनी रूपमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा र विशिष्टीकृत सेवालाई प्रेषणका आधारमा बीमामार्फत सेवा पुर्याउने भनिए तापनि त्यसको हालसम्म कुनै पनि सरकारबाट ठोस रूपमा प्रत्याभूत गरेको पाइँदैन। आधारभूत स्वास्थ्य सेवालाई आवश्यकताअनुसार सबैका लागि निःशुल्क गर्ने सम्बन्धमा तीन तहकै सरकारका नीतिगत तहमा बसेका पदाधिकारीबाट यो वा त्यो बहाना देखाई पन्छिएको पाइन्छ वा एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गरेको पाइन्छ। संक्षेपमा आधारभूत स्वास्थ्य सेवाको हालको अवस्था विश्लेषण गर्दा सरकारबाट यो कार्यक्रमको कार्यान्वयनमा मुख्य चारवटा चुनौतीहरूको सामना गरिरहेको पाइन्छ:
(१) वित्तीय व्यवस्थापनको कमी
आधारभूत स्वास्थ्य सेवाको पहुँच सबैका लागि सुनिश्चित गर्ने सवालमा सबैभन्दा बाधकका रूपमा वित्तीय व्यवस्थापनको कमजोरी देखिन्छ। विश्व स्वास्थ्य संगठनले दशकौँ अघिदेखि कुल राष्ट्रिय वार्षिक बजेटको कम्तीमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने वकालत गरे तापनि नेपालले विगत धेरै वर्षदेखि कार्यान्वयन गर्न नसक्नुले यो प्याकेज नाम मात्रको नारा बन्न पुगेको छ। सन् २०२३ को एक नतिजाले नेपालको चालु स्वास्थ्य खर्चमध्ये ५४.२ प्रतिशत व्यक्तिले आफ्नै खल्तीबाट व्यहोर्नुपरेको तथ्य सार्वजनिक गरेको छ। स्वास्थ्य उपचारका कारण बर्सेनि लाखौँ व्यक्तिहरू गरिबीको रेखा मुनि धकेलिन बाध्य छन्। सरकारी अस्पतालबाट सामान्य औषधि पनि बिरामीले खरिद गर्नुपर्ने अवस्था छ। गुणस्तरीय स्वास्थ्य सेवाको अविश्वासका कारण अधिकांश नागरिकले निजी स्वास्थ्य संस्थाबाट उपचार गर्न बाध्य छन्। सबैजसो स्वास्थ्य संस्थाले औषधि, उपकरण, जनशक्ति, भौतिक पूर्वाधार आदिको कमीका कारण आधारभूत स्वास्थ्य सेवालाई यथार्थपरक बनाउन सकेका छैनन्। प्रेषण तहका सरकारी अस्पताल (प्रदेश र सङ्घीय तह) मा त आधारभूत स्वास्थ्य सेवामध्येका केही प्रतिकारात्मक सेवाबाहेक उपचारात्मक सेवामा शतप्रतिशत रकम चुक्ता गर्नुपर्ने अवस्था छ।
(२) नियमित स्वास्थ्य सेवा प्रवाहमा अवरोध
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने आवधिक बजेटको अपर्याप्तता, पर्याप्त स्वास्थ्य जनशक्तिको अभाव, जनशक्तिको असन्तुलित वितरण, स्वास्थ्य निदानको अपर्याप्तता, ग्रामीण वा दुर्गम क्षेत्रमा काम गर्ने जनशक्तिलाई प्रोत्साहन र सुरक्षाको अभाव, औषधि तथा औषधिजन्य सामग्रीको आपूर्ति शृङ्खलामा समस्या, कमजोर प्रेषण प्रणाली आदिका कारण नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या छ।
(३) सुशासन र समता अभाव
सङ्घीयताले स्वास्थ्य सेवालाई समुदायको नजिक ल्याउन खोजिरहेको भए तापनि अझसम्म पनि यसको कार्यान्वयन सबै ठाउँमा समान छैन। स्थानीय तहमा जनशक्तिको अभाव, योजना तर्जुमा गर्ने क्षमतामा कमी, कमजोर खरिद प्रणाली, पूर्वाधार र तथ्याङ्कमा आधारित कार्यक्रम तर्जुमा गर्ने अभ्यासमा कमी, समायोजनप्रति स्वास्थ्यकर्मीको असन्तोष एवं सेवाग्राहीमैत्री र स्वास्थ्य सेवा प्रवाहमा जवाफदेहितामा कमी भएका कारण पनि आधारभूत स्वास्थ्य सेवा प्रवाहमा धेरै कठिनाइ भएको महसुस हुन्छ।
आधारभूत स्वास्थ्य सेवा प्रवाहमा सुशासन र समता अवरोधका कारण गरिब, विपन्न, ग्रामीण र दुर्गममा बस्ने जनता र जोखिम वर्ग प्रत्यक्ष रूपमा सेवाबाट वञ्चितिमा परेका छन्। यस सवालमा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहसम्म नियमित एवं पूर्वानुमान गर्न सकिने सहयोग उपलब्ध गराउन नसक्दा स्थानीय सरकार अलमलमा परेको पाइन्छ।
(४) स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रेषण अस्पतालमा सञ्चालन समस्या
हालसम्म पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू र सरकारी ठूला अस्पतालहरूमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गतका अधिकांश सेवाहरू तथा औषधि र सेवाको मूल्य बिरामीहरूले चुक्ता गर्नुपरिरहेको छ। यी स्वास्थ्य संस्थाहरूबाट पनि आधारभूत स्वास्थ्य सेवा नागरिकले निर्बाध रूपमा निःशुल्क पाउनुपर्ने सवाल उठिरहँदा पनि हालसम्म सरकारले त्यसको व्यवस्थापन गर्न सकिरहेको छैन। बिरामी वा सेवाग्राहीलाई जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट तोकिएका आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध हुने व्यवस्था सञ्चालन गर्न सरकार वा सम्बन्धित मन्त्रालय अलमलमा परिरहेको छ। यस्तो परिस्थितिले गर्दा एकातर्फ ठूला अस्पतालहरूको कार्यक्षेत्रभित्र बस्ने नागरिकहरूलाई कार्यक्रमले समेटेको छैन भने अर्कोतर्फ विभिन्न कानुनहरू र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसारको कार्यक्रम कार्यान्वयन फितलो हुन पुगेको छ।
अन्त्यमा, संविधान र अन्य कानुनमा भएका प्रावधानलाई पूरा गर्ने नाममा फितलो अनुमानका आधारमा प्याकेज तयार भएको छ। वि.सं. २०७५ देखि सञ्चालित यो कार्यक्रमको जति नीति, नियम, कानुनी रूपमा महत्व पाएको छ, सोहीअनुसार व्यावहारिक रूपमा मापनयोग्य उपलब्धिहरू देखिँदैनन्। प्याकेज सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन, जनशक्तिको व्यवस्थापन, तीन तहका सरकारको भूमिका, जनसङ्ख्याको वितरण वा बसाइँसराइको अवस्था, सबै तहका स्वास्थ्य संस्थाको भूमिका, प्रेषण प्रणाली, समतामूलक स्वास्थ्य सेवा प्रवाह गर्ने पद्धति आदि सम्बन्धमा कुनै तयारी र विश्लेषण नगरी हचुवाको भरमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज तयार भएकोले यसलाई अविलम्ब अध्ययन र अनुसन्धानबाट प्राप्त प्रमाण र सञ्चालनको करिब ८ वर्षको अनुभवका आधारमा सम्बन्धित निकायले संशोधन गर्न आवश्यक छ।
-(लेखक शम्भुप्रसाद ज्ञवाली जनस्वास्थ्यकर्मी हुन्।)
सन्दर्भ सामग्रीहरू
१. नेपाल सरकार, नेपालको संविधान, २०७२
२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य क्षेत्र रणनीति (NHSS), २०२४–२०३०
३. नेपाल सरकार, जनस्वास्थ्य सेवा नियमावली, २०७६
४. स्वास्थ्य सेवा विभाग, आधारभूत स्वास्थ्य सेवा निर्देशिका, २०७५
५. विश्व स्वास्थ्य सङ्गठन, देशगत सहकार्य रणनीति: नेपाल, २०२३–२०२७
६. नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको प्रगति प्रतिवेदन, २०२४/२५
७. विश्व स्वास्थ्य सङ्गठन, सार्वभौमिक स्वास्थ्य पहुँच: सचिवालयको प्रतिवेदन (WHA66.24)
८. विश्व स्वास्थ्य सङ्गठन, प्राथमिक स्वास्थ्य सेवासम्बन्धी देशगत अध्ययन: थाइल्यान्ड
९. विश्व बैंक, वित्तीय सीमाबीच सार्वभौमिक स्वास्थ्य पहुँचतर्फ: थाइल्यान्ड
१०. विश्व स्वास्थ्य सङ्गठन, प्राथमिक स्वास्थ्य सेवा प्रणाली (PRIMASYS): रुवान्डाको अध्ययन
११. विश्व बैंक, इथियोपियाको स्वास्थ्य विस्तार कार्यक्रम
१२. फ्रन्टियर्स इन पब्लिक हेल्थ, नेपालमा सार्वभौमिक स्वास्थ्य पहुँचका लागि स्वास्थ्य सेवा खरिद व्यवस्थाको पुनर्संरचना