नेपालका तीन अस्पतालमा सन् २०२२ मा गरिएको अध्ययनले वार्डमा भर्ना भएका १० जना बिरामीलाई हेर्ने हो भने तीमध्ये करिब ६ जनामा कुनै न कुनै एन्टिबायोटिक वा अन्य एन्टिमाइक्रोबियल उपचार प्रयोग भइरहेको उल्लेख गरेको छ। उपचारका लागि दिइएका अधिकांश एन्टिबायोटिक कल्चर रिपोर्ट आउनुअघि नै अनुमानका आधारमा सुरु गरिएको देखिन्छ।
यो अध्ययन बेल्जियमको एन्टवर्प विश्वविद्यालयले विकास गरेको ‘ग्लोबल पीपीएस’ विधि र कमनवेल्थ फार्मासिस्ट्स एसोसिएसन (सीपीए) को स्पार्क (SPARC - Surveillance and Prescribing Support for Antimicrobial Stewardship Resource Capacity Building) कार्यक्रमअन्तर्गत गरिएको थियो। यो अनुसन्धानमा नेपाल र बेलायतका संस्थासँग आबद्ध १६ जना अनुसन्धानकर्ता सहभागी छन्। जसमा नेपालतर्फ काठमाडौं विश्वविद्यालय, फार्मेसी विभागका उप–प्राध्यापक डा. अनुप लुइँटेल, सह–प्राध्यापक डा. राजन श्रेष्ठ, उप–प्राध्यापक ललित मोहन पन्त र रोशनी सलामी मगर; चितवन मेडिकल कलेजका सह–प्राध्यापक डा. गीता पौडेल; काठमाडौँ मेडिकल कलेजका सह–प्राध्यापक डा. बीना झा तथा अन्य अस्पतालका डा. अरुणा लुइँटेल र डा. संयुक्त के.सी. आबद्ध छन्।
बेलायततर्फ कमनवेल्थ फार्मासिस्ट्स एसोसिएसनका म्याक्सेन्सिया नाबिर्यो (Maxencia Nabiryo), ब्रिजेट केबिरुङ्गी (Bridget Kebirungi), भिक्टोरिया रटर (Victoria Rutter), केली अलेक्जेन्डर (Kelly Alexander) र प्रा. डा. डायन अशिरु–ओरेडोप (Prof. Dr. Diane Ashiru-Oredope); युनिभर्सिटी अफ एडिनबराका अग्बाजे गनियु ओलावाले (Agbaje Ganiyu Olawale); टिजसाइड युनिभर्सिटीकी प्रा. डा. सामन्था वेस्टन (Prof. Dr. Samantha Weston); र ब्रिटिश सोसाइटी फर एन्टिमाइक्रोबियल केमोथेरापीकी फ्रान्सेस गाराघन (Frances Garraghan) सहभागी छन्। यो अध्ययन सेप्टेम्बर २०, २०२६ मा ‘एन्टिबायोटिक्स’ जर्नलमा प्रकाशित भएको छ। अध्ययनमा ३७९ योग्य बिरामी समावेश भएका थिए।
किन चिन्ताको विषय?
एन्टिबायोटिक जीवाणुबाट लाग्ने रोग निको पार्ने औषधि हो। तर यसको अनावश्यक वा लामो समयसम्म प्रयोग हुँदा जीवाणुले एन्टिबायोटिकलाई छल्न सिक्छन् र एक दिन त्यही एन्टिबायोटिकले काम गर्न छाड्छ। यसैलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। अध्ययनका अनुसार एन्टिबायोटिकको दुरुपयोगले प्रतिरोध बढाउँछ, र प्रतिरोध बढ्दा संक्रमण रोक्न र उपचार गर्न कठिन हुन्छ। नेपालका अस्पतालमा एन्टिबायोटिक प्रयोगको नियमित र मानक निगरानी भने अझै विरलै हुने गरेको लेखकहरूले उल्लेख गरेका छन्।
कसलाई, कस्ता एन्टिबायोटिक?
अस्पतालमा भर्ना भएका ३७९ मध्ये २३३ जना (६१.५%) ले कम्तीमा एउटा एन्टिमाइक्रोबियल पाएका थिए, र वयस्क तथा नवजात शिशुका गहन उपचार कक्षमा यो दर सबैभन्दा बढी थियो। वयस्क गहन उपचार कक्षमा ९३.२%, बाल चिकित्सा वार्डमा ८६.७%, र नवजात शिशु गहन उपचार कक्षमा २३ जनामध्ये २२ जना (९५.७%) एन्टिबायोटिकमा थिए। (यद्यपि नवजात शिशुको सङ्ख्या सानो छ।)
अध्ययनका ३७१ एन्टिबायोटिक प्रेस्क्रिप्सनमध्ये ३०.२% थर्ड जेनेरेसन सेफालोस्पोरिन र ८.१% कार्बापेनेम समूहका थिए। बाल चिकित्सा वार्डमा सेफालोस्पोरिनको हिस्सा ७१% पुग्यो भने वयस्क गहन उपचार कक्षमा कार्बापेनेम २३.६% थियो। लगभग आधा (४८.८%) बिरामीले एकभन्दा बढी एन्टिबायोटिक पाएका थिए।
अनुमानमा सुरु, पछि पुनरावलोकन?
चिकित्सकले उपचारमा संक्रमणको शङ्का लाग्दा प्रायः कल्चर रिपोर्ट आउनुअघि नै अनुमानका आधारमा (एम्पिरिकल) एन्टिबायोटिक सुरु गर्छन्, र रिपोर्ट आएपछि औषधि मिलाउँछन् वा रोक्छन्। यस अध्ययनमा अनुमानमा आधारित प्रयोग निकै हावी देखियो। सबै प्रेस्क्रिप्सन हेर्दा ५६.३३% अनुमानका आधारमा सुरु गरिएका थिए र लक्षित उपचार जम्मा ४.०४% थियो।
उपचारका २२४ प्रेस्क्रिप्सनमध्ये:
अस्पतालबाट सरेको संक्रमण: सबै २९ वटा (१००%) अनुमानका आधारमा, लक्षित उपचार एउटै पनि थिएन।
समुदायबाट सरेको संक्रमण: ९२.३% (१८० वटा) अनुमानका आधारमा, लक्षित उपचार ७.७% (१५ वटा) मात्र।
यसको अर्थ अनुमानमा सुरु गर्नु नै गलत हो भन्ने होइन। गम्भीर संक्रमणमा रिपोर्ट कुरेर बस्नुभन्दा तुरुन्त उपचार सुरु गर्नु सिफारिस गरिन्छ भन्ने लेखकहरूको भनाइ छ। चिन्ताको कुरा त्यसपछि के भयो भन्ने हो: रिपोर्टका आधारमा एन्टिबायोटिक मिलाइयो कि उपचार यथावत् चल्यो? यो सर्वेक्षणले कल्चर गरिएकै थिएन, रिपोर्ट नेगेटिभ आयो, कि रिपोर्टपछि पनि एन्टिबायोटिक परिवर्तन भएन भन्ने छुट्याउन सकेको छैन। अन्य देशको अनुभवका आधारमा लेखकहरूले ढिलो आउने कल्चर नतिजा र सीमित प्रयोगशाला क्षमता यहाँ पनि सम्भावित कारण हुन सक्ने उल्लेख गरेका छन्, तर यो सर्वेक्षणले कारण पुष्टि गर्दैन। प्रयोगशाला क्षमता बढाउने, कल्चर रिपोर्ट नियमित हेर्ने र ४८–७२ घण्टामा एन्टिबायोटिकको पुनरावलोकन गर्ने व्यवस्था गर्दा कमजोरी कहाँ छ भन्ने देखिन्छ, र भविष्यमा अनुमानमा एन्टिबायोटिक रोज्न काम लाग्ने प्रतिरोध निगरानीको तथ्याङ्क पनि बलियो हुन्छ।
एक्वेयर (AWaRe): कुन औषधि, कति प्रतिशत?
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई तीन समूहमा बाँडेको छ: ‘एक्सेस’ (पहिलो रोजाइ, प्रतिरोधको जोखिम कम), ‘वाच’ (सावधानीपूर्वक र सीमित प्रयोग गर्नुपर्ने) र ‘रिजर्भ’ (अन्तिम उपाय)। यस अध्ययनमा ३७१ एन्टिबायोटिक प्रेस्क्रिप्सनमध्ये करिब ६१% वाच, ३३.१% एक्सेस र ४.०% अवर्गीकृत समूहका थिए भने रिजर्भ करिब २% थियो।
मुख्य बुँदा:
सबैभन्दा धेरै प्रयोग भएको एन्टिबायोटिक: वाच समूहको सेफ्ट्रियाक्सोन (Ceftriaxone) २३.५%, अर्थात् लगभग चारमध्ये एक प्रेस्क्रिप्सन। दोस्रो पिपेरासिलिन–ट्याजोब्याक्टम (Piperacillin–tazobactam) १०.२%। दुईले मिलेर कुल प्रेस्क्रिप्सनको एक तिहाइभन्दा बढी (३३.७%) ओगटे।
वाच समूहका अन्य एन्टिबायोटिक: मेरोपेनेम (Meropenem) ६.५%, एजिथ्रोमाइसिन (Azithromycin) ६.२%, लेभोफ्लोक्सासिन (Levofloxacin) ४%।
एक्सेस समूह: मेट्रोनिडाजोल (Metronidazole) ७.५%, एमिकासिन (Amikacin) ६.७%, क्लोक्सासिलिन (Cloxacillin) ३.५%, डक्सिसाइक्लिन (Doxycycline) ३%, क्लिन्डामाइसिन (Clindamycin) २.७%। यी पाँचै औषधिका प्रेस्क्रिप्सन जोड्दा ८७ हुन्छ, जुन सेफ्ट्रियाक्सोन एक्लैको बराबर हो।
रिजर्भ समूह: लिनेजोलिड (Linezolid) १.३% र कोलिस्टिन (Colistin) १.१%, कमै प्रयोग।
वार्डअनुसार: मेडिकल वार्डमा वाच समूहको हिस्सा सबैभन्दा बढी (७४%) र एक्सेस जम्मा २१% थियो। गहन उपचार कक्षमा वाच ५१.६% र एक्सेस ४०.३%, सर्जिकल वार्डमा वाच ५७% थियो।
निमोनिया: ४१ प्रेस्क्रिप्सनमध्ये ३२ (७८%) वाच समूहका थिए। अस्पतालबाट सरेको निमोनियामा मेरोपेनेम (२१.५%), सेफ्ट्रियाक्सोन (१९.७%) र एजिथ्रोमाइसिन (१७%) बढी प्रयोग भए।
शल्यक्रियासँग जोडिएको मूत्रमार्ग संक्रमणको रोकथाम: इमिपेनेम/सिलास्ट्याटिन (Imipenem/cilastatin) ६९%। लेखकहरूका अनुसार कार्बापेनेमको यस्तो प्रयोगको औचित्य खोज्न गाह्रो छ र क्लिनिकल अडिट चाहिन्छ, तर प्रयोगको सङ्ख्या सानो छ।
विश्व स्वास्थ्य संगठनले राष्ट्रिय स्तरमा कुल प्रयोगको कम्तीमा ६०% एक्सेस समूहबाट हुनुपर्ने लक्ष्य राखेको छ। अध्ययनले उद्धृत गरेको तथ्याङ्कमा सन् २०२३ मा नेपालमा यो अनुपात २६.२४% मात्र थियो। तर लेखकहरूले स्पष्ट पारेका छन्: यो लक्ष्य अस्पताल र बाहिरको सबै प्रयोग जोडेर राष्ट्रिय स्तरका लागि हो। गहन उपचार र शल्यक्रियाका बिरामीमा वाच समूहका औषधि बढी प्रयोग हुनु अपेक्षित हो, त्यसैले यो कडा वार्ड–स्तरीय नियम होइन।
शल्यक्रियाको औषधि: सीमाभन्दा लामो
रोकथामका लागि दिइएका १५३ प्रेस्क्रिप्सनमध्ये ९४ शल्यक्रियासँग जोडिएका थिए। तीमध्ये ८६ (९१.५%) सिफारिस गरिएको २४ घण्टाको सीमाभन्दा लामो समय दिइएको थियो। अन्तर्राष्ट्रिय निर्देशिकाले प्रायः एक मात्रा वा २४ घण्टाको सिफारिस गर्छन्।
निर्देशिका: कहीँ छैन, कहीँ पालना भएन
नेपाल सरकारले तोकेको राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका २०२३ अथवा अस्पतालको आफ्नै निर्देशिकाको पालना गहन उपचार कक्षमा २८.०%, मेडिकल वार्डमा ६१.४% र सर्जिकल वार्डमा ७३.५% थियो। गहन उपचार कक्षको २८% भनेको जम्मा ७ प्रेस्क्रिप्सन हो। त्यहाँ ६५.३% मामिलामा निर्देशिका नै उपलब्ध थिएन, मेडिकल वार्डमा ३७%। एन्टिबायोटिक कहिलेसम्म दिने भन्ने मिति गहन उपचार कक्षमा ८४.७% प्रेस्क्रिप्सनमा लेखिएको थियो, तर मेडिकल वार्डमा ५२.९% र सर्जिकल वार्डमा ४६.१% मा मात्र उल्लेख गरिएको थियो।
लेखकहरूले के सुझाएका छन्?
लेखकहरू भन्छन्, यी तथ्यले अस्पतालमा एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग (एन्टिमाइक्रोबियल स्टुअर्डशिप) कार्यक्रम बलियो बनाउन आवश्यक देखाउँछन्। उनीहरूका सुझाव यस्ता छन्:
शल्यक्रियाको रोकथामका लागि एन्टिबायोटिक २४ घण्टा वा सोभन्दा कम राख्ने औपचारिक प्रोटोकल।
एन्टिबायोटिक दिनुअघि कल्चर लिने नीति, र ४८–७२ घण्टामा एन्टिबायोटिकको पुनरावलोकन। यसका लागि प्रयोगशाला क्षमता पनि बढाउनुपर्ने उनीहरूको भनाइ छ।
हरेक वार्डका लागि अस्पतालको आफ्नै एन्टिबायोटिक प्रयोगको निर्देशिका, विशेषगरी गहन उपचार कक्ष र शल्यक्रियाको रोकथामका लागि।
धेरै प्रयोग हुने एन्टिबायोटिक (थर्ड जेनेरेसन सेफालोस्पोरिन, कार्बापेनेम) र मूत्रमार्ग संक्रमण तथा निमोनियाका उपचार र रोकथामजस्ता अवस्थामा नियमित अडिट र चिकित्सकलाई प्रतिक्रिया।
ग्लोबल पीपीएस सर्वेक्षण समय–समयमा दोहोर्याउने, वार्ड–स्तरीय ड्यासबोर्डमा एन्टिबायोटिक र एक्वेयर सूचक हेर्ने, र चिकित्सकलाई तालिम दिने।
स्रोत:
Luitel A. et al., Antimicrobial Use and Prescribing Patterns in Three Nepalese Hospitals: Findings from the 2022 Global-PPS, Antibiotics 2026;15(9):936. (mdpi.com/2079-6382/15/9/936)