काठमाडौं- पार्किन्सन्स रोगबारे जनचेतना अभिवृद्धि तथा बिरामी र हेरचाहकर्तालाई उपचार, पुनर्स्थापना र रोग व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सचेतना कार्यक्रम आयोजना गरिएको छ।
इन्टरनेशनल पार्किन्सन एन्ड मुभमेन्ट डिसअर्डर सोसाइटीको सहयोगमा सेन्टर फर रिसर्च पोलिसी एन्ड इम्प्लिमेन्टेसन (CRPM), विराटनगर र शिक्षण अस्पतालको स्नायु विभागले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा पार्किन्सन्स रोगका बिरामी, हेरचाहकर्ता तथा स्वास्थ्यकर्मी सहभागी थिए।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षण अस्पतालका उपनिर्देशक प्राध्यापक डा. गोपाल सेढाईंले नेपालमा पार्किन्सन्स रोगसम्बन्धी पर्याप्त काम हुन नसकेको बताए। रोगबारे जनचेतना विस्तार, उपचार तथा बिरामीको हेरचाहका क्षेत्रमा थप प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा न्युरोलोजिस्ट डा. राजीव ओझा, न्युरोसर्जन डा. अमित प्रधानाङ्ग, जेरियाट्रिसियन डा. ऊर्जा भट्टराई, फिजियोथेरापिस्ट डा. विवेक घिमिरे र डा. मन तामाङले पार्किन्सन्स रोगका नयाँ उपचार विधि, अनुसन्धान, फिजियोथेरापी तथा पुनर्स्थापनासम्बन्धी जानकारीमूलक प्रस्तुति दिएका थिए।
नेपाल सरकारका प्रतिनिधिले पार्किन्सन्स रोगका बिरामीलाई सरकारले उपलब्ध गराउँदै आएका सहयोग तथा सुविधाबारे जानकारी गराएका थिए।
लामो समयदेखि पार्किन्सन्स रोगसँग जुधिरहेकी अभियन्ता बनिता खनालले जनचेतना अभियानका क्रममा आफूले भोगेका अनुभव सुनाउँदै रोगसँग सम्बन्धित चुनौती तथा बिरामीको जीवनमा जनचेतनाको महत्त्वबारे प्रकाश पारेकी थिइन्।
कार्यक्रममा पार्किन्सन्स रोगको पहिचान, उपचार, पुनर्स्थापना तथा बिरामी र हेरचाहकर्तालाई आवश्यक सहयोगका विषयमा छलफल गरिएको थियो। रोगबारे समुदायमा सचेतना विस्तार र बिरामीको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकको अपेक्षा छ।

