काठमाडौँ- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयमा उपप्राध्यापक र प्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले कार्यसम्पादन करार सेवाअन्तर्गत योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार चिकित्सा तथा स्वास्थ्य सेवाका विभिन्न विधामा गरी २० वटा पदका लागि आवेदन खुलाइएको छ। तर प्रत्येक विधामा कति जना जनशक्ति आवश्यक पर्ने हो भन्ने संख्या भने सूचनामा खुलाइएको छैन।
प्रतिष्ठानले मूत्ररोग, पेट तथा पाचन प्रणालीको शल्यक्रिया, बाल सघन उपचार, स्त्रीरोग तथा प्रसूति, स्नायु रोग, आन्तरिक चिकित्सा, पेट तथा पाचन प्रणालीसम्बन्धी रोग, मुटुरोग, रक्तरोग, अन्तःस्रावी रोग, प्रशामक उपचार, सामान्य चिकित्सा तथा आकस्मिक चिकित्सा, हाडजोर्नी, नेत्ररोग, मनोचिकित्सा, ज्येष्ठ नागरिक स्वास्थ्य, क्यान्सर उपचार, नाक, कान तथा घाँटी र प्रौढ स्वास्थ्य नर्सिङ विषयमा जनशक्ति माग गरेको छ।
उपप्राध्यापक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा सोसरहको विशेषज्ञता हासिल गरेको र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। केही विषयका लागि सम्बन्धित क्षेत्रमा थप विशिष्टीकृत अध्ययन वा विशेष तालिमसमेत आवश्यक पर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, प्राध्यापक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। प्रौढ स्वास्थ्य नर्सिङतर्फ आवेदन दिन चाहने उम्मेदवारले प्रौढ स्वास्थ्य वा चिकित्सा शल्य नर्सिङ विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र नेपाल नर्सिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी मङ्सिर १५ गते (नोभेम्बर ३०) भित्र आवेदन बुझाइसक्नुपर्नेछ। आवेदन फाराम प्रतिष्ठानको कार्यालयबाट प्राप्त गर्न वा प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
आवेदनका साथ शैक्षिक योग्यताका प्रमाणपत्र, व्यक्तिगत विवरण, हालसालै खिचिएको पासपोर्ट आकारको तस्बिर र निवेदन पत्र संलग्न गर्नुपर्नेछ। अन्तर्वार्ताका समयमा भने शैक्षिक योग्यताका सक्कल प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ।
आवेदन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कुलसचिवको कार्यालय, लगनखेल–५, ललितपुरमा बुझाउनुपर्नेछ। थप जानकारीका लागि ०१–५४४५११२ वा ०१–५४४५१५३ मा सम्पर्क गर्न सकिने प्रतिष्ठानले जनाएको छ।
परीक्षाको मिति र समय पछि प्रकाशित गरिने सूचनामा उल्लेख छ।