काठमाडौं- प्यान्क्रियाजको क्यान्सर उपचारमा दशकौँयताकै ठूलो उपलब्धि मानिएको नयाँ औषधिले आशा जगाएको छ। नियमित सेवन गर्नुपर्ने ‘डाराक्सोन्रासिब’ नामक औषधिले केही बिरामीमा ट्युमर खुम्च्याउनुका साथै कतिपयमा परीक्षणका क्रममा क्यान्सर नै पत्ता नलाग्ने अवस्थामा पुर्याएको छ।
उपचारका प्रारम्भिक परीक्षणमा केमोथेरापीसँगै यो औषधि दिइएका १२ जनामध्ये एक जनाको शरीरमा स्क्यान गर्दा क्यान्सर नभेटिएको बीबीसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ।
शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाजको क्यान्सर भएका ६१ जना बिरामीमा गरिएको परीक्षणमा करिब सबैको ट्युमर बढ्न रोकिएको थियो।
तर चिकित्सकहरूले यो औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ भन्ने स्पष्ट भइनसकेको बताएका छन्। यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा भने लिन नहुने उनीहरूको भनाइ छ।
दशकौँयताकै ठूलो उपलब्धि
क्यान्सर रिसर्च यूकेले यसलाई प्यान्क्रियाजको क्यान्सर उपचारमा ‘दशकौँयताकै ठूलो उपलब्धि’ भनेको छ।
संस्थाका डा. साम गडफ्रेले परीक्षणका नतिजा निकै उत्साहजनक रहेको बताएका छन्। उनका अनुसार नयाँ औषधिले यसअघि औषधिबाट नियन्त्रण गर्न कठिन मानिएको क्यान्सरको एउटा प्रमुख जैविक प्रक्रियालाई लक्षित गरेर काम गर्ने बाटो खोलेको छ।
उनले भने, ‘प्यान्क्रियाजको क्यान्सर उपचारमा लामो समयदेखि अपेक्षित प्रगति हुन सकेको थिएन। अहिले हामीले यसमा प्रगति देख्न थालेका छौँ।’
प्यान्क्रियाजको क्यान्सर उपचार गर्न निकै कठिन मानिन्छ। बेलायतमा देखिने प्रमुख क्यान्सरमध्ये यसमा बिरामी बाँच्ने दर सबैभन्दा कम छ।
केमोथेरापीले ट्युमर केही खुम्च्याउन सके पनि धेरैजसो अवस्थामा क्यान्सर फेरि बढ्न थाल्छ। रोग शरीरका अन्य भागमा फैलिसकेका बिरामीमध्ये धेरैजसो केही महिनामात्र बाँच्ने गरेका छन्।
नयाँ उपचारले क्यान्सर पूर्ण रूपमा रोक्न नसके पनि बिरामीको जीवन लम्ब्याउन र रोग नियन्त्रणमा राख्न मद्दत गर्न सक्ने चिकित्सकहरूको आशा छ।
परीक्षणमा सहभागी बिरामीलाई औसतमा डेढ वर्षसम्म निगरानी गरिएको थियो। यस अवधिमा केही बिरामीमा क्यान्सर पुनः देखिएन। तर क्यान्सर पूर्ण रूपमा नियन्त्रणमा आएको हो वा कति समयसम्म नियन्त्रणमा रहन सक्छ भन्ने बुझ्न थप लामो समयसम्म अध्ययन गर्नुपर्नेछ।
प्रारम्भिक चरणको पहिलो र दोस्रो चरणको परीक्षणमा देखिएका नतिजा यस्ता छन् :
- ९० प्रतिशत बिरामीमा ट्युमर बढ्न रोकियो।
- ६० प्रतिशतभन्दा बढी बिरामीमा ट्युमर खुम्चियो वा हरायो।
- करिब ८ प्रतिशत अर्थात् १२ जनामध्ये एक जनाको सीटी स्क्यानमा ट्युमर पत्ता लागेन।
बिरामीको बाँच्ने अवधि बढ्न सक्ने आशा
अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका डा. वुङ्की पार्क पनि यो परीक्षणमा संलग्न छन्। उनले अहिलेसम्म प्राप्त नतिजा निकै उत्साहजनक रहेको बताएका छन्।
उनका अनुसार उपचारपछि ट्युमरमा प्रतिक्रिया देखाउने बिरामीको सङ्ख्यामात्र बढेको छैन, ट्युमरमा देखिएको सुधार पनि गहिरो र रोग नियन्त्रणमा रहने अवधि पनि झन्डै दोब्बर भएको छ।
उनले भने, ‘यसले अन्ततः बिरामीको बाँच्ने अवधि बढाउन सक्ने सम्भावना छ।’
डाराक्सोन्रासिब लक्षित उपचार पद्धतिमा आधारित औषधि हो। यसले क्यान्सरको वृद्धि गराउने ‘आरएएस’ नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरी त्यसको गतिविधि रोक्ने काम गर्छ।
प्यान्क्रियाजको क्यान्सर भएका धेरैजसो बिरामीमा यस्ता परिवर्तन देखिने गर्छन्। फोक्सो र डिम्बाशयको क्यान्सरसहित अन्य धेरै प्रकारका क्यान्सरमा पनि यस्तै परिवर्तन हुन सक्ने भएकाले यो औषधि भविष्यमा अन्य क्यान्सरका बिरामीका लागि समेत उपयोगी हुन सक्ने सम्भावना छ।
डा. गडफ्रेले प्यान्क्रियाजको क्यान्सरमा देखिएको प्रारम्भिक सफलतालाई अन्य क्यान्सरको उपचारमा पनि विस्तार गर्न सकिने आशा व्यक्त गरेका छन्।
तर उनले थप परीक्षण र त्यसका नतिजा महत्त्वपूर्ण हुने बताए। उनका अनुसार स्क्यानमा क्यान्सर नदेखिँदैमा बिरामी पूर्ण रूपमा क्यान्सरमुक्त भएको निष्कर्ष निकाल्न मिल्दैन। समय बित्दै जाँदा क्यान्सर पुनः देखिन पनि सक्छ।
युरोपेली क्यान्सर सम्मेलन ‘ईओआरटीसी–एनसीआई–एएसीआर सिम्पोजियम २०२६’ की अध्यक्ष प्राध्यापक एलेना गाराल्डाले पनि यी नतिजा उत्साहजनक रहेको बताएकी छन्।
उनका अनुसार नयाँ औषधि र केमोथेरापीको संयुक्त उपचारले बिरामीको समग्र बाँच्ने अवधि बढाउनुका साथै ट्युमर पुनः बढ्न थाल्ने समयलाई पनि पछाडि धकेल्न सक्ने सम्भावना देखाएको छ।
प्यान्क्रियाजको क्यान्सरबाट बर्सेनि हजारौँको मृत्यु
अमेरिकामा हुने कुल क्यान्सरमध्ये करिब तीन प्रतिशत प्यान्क्रियाजको क्यान्सरका कारण हुन्छ। तर क्यान्सरबाट हुने कुल मृत्युमध्ये करिब आठ प्रतिशत यही क्यान्सरका कारण हुने गरेको छ। अमेरिकामा यस रोगबाट बर्सेनि करिब ५३ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ।
बेलायतमा हरेक वर्ष करिब ११ हजार ५०० जनामा प्यान्क्रियाजको क्यान्सर पहिचान हुने गरेको छ भने करिब १० हजार २०० जनाको यसैका कारण मृत्यु हुने गरेको क्यान्सर रिसर्च यूकेको तथ्याङ्क छ।
अभिनेता एलन रिकम्यानको पनि सन् २०१६ मा प्यान्क्रियाजको क्यान्सरका कारण मृत्यु भएको थियो। रोग पहिचान भएको पाँच महिनापछि उनको निधन भएको थियो।
प्यान्क्रियाजको क्यान्सरका लक्षणमा छाला र आँखाको सेतो भाग पहेँलो हुनु (जन्डिस), छाला चिलाउनु, पिसाबको रङ गाढा हुनु, दिसाको रङ हल्का हुनु, कारणबिना तौल घट्नु, थकान महसुस हुनु र शरीरको तापक्रम बढ्नु पर्छन्।