पेटका मांसपेशी बलिया हुँदैमा ढाड दुख्ने समस्या हुँदैन भन्ने ग्यारेन्टी नरहेको नयाँ अध्ययनले देखाएको छ। पेटका मांसपेशीको आकार ठूलो भएका व्यक्तिमा पनि कम्मरको तल्लो भाग दुख्ने समस्या उत्तिकै देखिन सक्ने अध्ययनको निष्कर्ष छ।
चिकित्सा क्षेत्रमा प्रचलित मान्यताअनुसार पेट र ढाडका मांसपेशी कमजोर हुँदा मेरुदण्डलाई पर्याप्त सहारा मिल्दैन र कम्मरको तल्लो भागमा दबाब पर्छ। त्यसैले ढाड दुख्ने समस्या भएका व्यक्तिलाई पेट तथा शरीरको मध्यभागका मांसपेशी बलियो बनाउने व्यायाम गर्न सुझाव दिइन्छ। तर नयाँ अध्ययनले यो मान्यता पूर्ण रूपमा सही नहुन सक्ने संकेत गरेको छ।
पब्लोस डिजिटल हेल्थ जर्नलमा प्रकाशित अध्ययनले पेटका मांसपेशी कमजोर हुनु नै कम्मर दुखाइको अनिवार्य कारण नभएको र मांसपेशी बलियो बनाउने व्यायाम मात्रै यस समस्याको पर्याप्त समाधान नहुन सक्ने देखाएको छ।
स्ट्यानफोर्ड विश्वविद्यालयकी मेकानिकल इन्जिनियर क्याथरिन मारुसिच र उनको अनुसन्धान टोलीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित गहिरो सिकाइ प्रविधिको प्रयोग गरी २३ हजार ५०८ जना बिरामीका ३३ हजार ५०० भन्दा बढी पेटको सीटी स्क्यान विश्लेषण गरेका थिए।
विद्युतीय स्वास्थ्य अभिलेखका आधारमा तीमध्ये २ हजार ६२२ जनामा कम्मरको तल्लो भाग दुख्ने समस्या रहेको पाइएको थियो।
अनुसन्धानकर्ताले उनीहरूको तुलना उमेर, लिङ्ग र शरीरको उचाइअनुसारको तौल सूचकांक (बीएमआई) मिल्ने तर कम्मर नदुख्ने २ हजार ५७७ जनासँग गरेका थिए।
अध्ययनमा कम्मर दुख्ने र नदुख्ने समूहबीच पेटका मांसपेशीको समग्र मात्रा वा पेटमा बोसो वितरणको ढाँचामा उल्लेखनीय भिन्नता भेटिएन। यसअघि यस्ता विषयमा गरिएका अधिकांश अध्ययनको तुलनामा यो अनुसन्धान करिब २५ गुणा ठूलो रहेको अनुसन्धानकर्ताहरूको दाबी छ।
'कम्मर दुख्ने समूहमा अन्य व्यक्तिको तुलनामा समग्र मांसपेशीको मात्रा कम हुन्छ भन्ने हाम्रो अपेक्षा थियो। तर दुवै समूहमा मांसपेशीको मात्रा लगभग समान देखियो,' अनुसन्धानकर्ता मारुसिचले भनेकी छन्।
उनका अनुसार यसले कम्मर दुखाइमा मांसपेशीको भूमिका महत्त्वपूर्ण छैन भन्ने देखाउँदैन। बरु, यो समस्या अपेक्षाभन्दा जटिल रहेको र मांसपेशीको आकारभन्दा शरीरका निश्चित भागमा हुने परिवर्तन बढी महत्त्वपूर्ण हुन सक्ने देखाउँछ।
यद्यपि, अध्ययनले कम्मर दुख्ने व्यक्तिमा मांसपेशीको तुलनामा पेटको बोसोको अनुपात बढी रहेको देखाएको छ। अर्थात्, समान बीएमआई भएका व्यक्तिहरूमा पनि मांसपेशी र बोसोको अनुपात फरक हुन सक्छ। यसले शरीरको बनावट (बडी कम्पोजिसन) कम्मर दुखाइसँग सम्बन्धित हुन सक्ने सम्भावना देखाएको छ।
कम्मरको तल्लो भाग दुख्ने समस्या विश्वभर सामान्य स्वास्थ्य समस्याका रूपमा रहेको छ। केही अध्ययनका अनुसार करिब दुई तिहाइ वयस्कले जीवनको कुनै न कुनै समयमा यस्तो समस्या भोग्नुपर्ने हुन्छ। यसका ९० प्रतिशतसम्म घटनामा मांसपेशीमा चोट, संक्रमण वा हड्डी भाँचिनेजस्ता कुनै निश्चित कारण पहिचान गर्न सकिँदैन।
यस्तो अवस्थामा उपचार थप चुनौतीपूर्ण हुन्छ। शरीरको मध्यभागका गहिरा मांसपेशी कमजोर हुनुलाई कम्मर दुखाइको सम्भावित कारण मानिँदै आएको छ। त्यसैले चिकित्सक तथा फिजियोथेरापिस्टले मेरुदण्डलाई स्थिर राख्न सहयोग गर्ने मांसपेशी बलियो बनाउने व्यायाम (कोर स्टेबलाइजेसन एक्सरसाइज) सिफारिस गर्दै आएका छन्।
केही साना अध्ययनले यस्ता व्यायामबाट कम्मर दुखाइ कम गर्न फाइदा पुग्ने देखाएका पनि छन्। तर यसको दीर्घकालीन प्रभावबारे पर्याप्त जानकारी उपलब्ध छैन।
अनुसन्धानकर्ताका अनुसार मांसपेशीको आकार ठूलो हुँदैमा त्यसले राम्रोसँग काम गर्छ भन्ने हुँदैन। मांसपेशीको बलसँगै त्यसलाई सही तरिकाले नियन्त्रण र परिचालन गर्ने क्षमता (मोटर कन्ट्रोल) पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छ।
त्यसैले आगामी अनुसन्धानमा मांसपेशीको समग्र आकार वा मात्रामा मात्रै ध्यान दिनुभन्दा शरीरका निश्चित मांसपेशी र तिनमा हुने क्षेत्रगत परिवर्तनको अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ।
यस अध्ययनले पेटका मांसपेशी बलियो बनाउने व्यायाम बेकार छ भन्ने निष्कर्ष भने निकालेको छैन। बरु, कम्मर दुखाइको कारण खोज्दा मांसपेशीको आकार वा शक्तिलाई मात्रै आधार बनाउन नहुने र यस समस्यालाई बहुआयामिक रूपमा बुझ्नुपर्ने देखाएको छ।