पोखरा — गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने १४ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई सम्मान गर्न लागिएको हो।
सम्मानका लागि गठित समितिको सिफारिसका आधारमा कार्यसम्पादन, स्वःप्रेरित सेवाभाव तथा सरोकारवालाहरूको सिफारिससमेतलाई मूल्याङ्कन गरी कर्मचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मिति २०८३ मंसिर २ गतेको मन्त्रीस्तरीय निर्णयबाट सम्मानका लागि १४ जना कर्मचारी छनोट भएका हुन्। उनीहरूलाई मंसिर ४ गते मन्त्रालयको तर्फबाट सम्मान गरिनेछ।
सम्मानित हुनेमा प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा, प्रदेश अस्पताल मुस्ताङका कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. प्रदीपकुमार दास, धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा र गलकोट नगर अस्पतालका कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. राजेश पौडेल छन्।
त्यस्तै, बुर्तिवाङ अस्पतालका कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. दिनेश थापा, गण्डकी आयुर्वेद अस्पताल कास्कीकी आयुर्वेद शल्य चिकित्सक डा. दीक्षा पौडेल र लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. सागर थापा पनि सम्मानित हुने भएका छन्।
यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईं, मध्यविन्दु प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारी र प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराका सहायक तथ्याङ्क अधिकृत प्रविण भण्डारी सम्मानित हुने सूचीमा छन्।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ तातोपानी स्वास्थ्य चौकीकी सिनियर अहेव लालदेवी गर्बुजा, बागलुङको ढोरपाटन नगरपालिकास्थित सेरावाङ आधारभूत स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मानसिङ पुन, गोरखाको चुमनुब्री गाउँपालिकास्थित लार्केबजार स्वास्थ्य चौकीकी अनमी रज्जना राई र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका कार्यालय सहयोगी बैकुण्ठ भण्डारी पनि सम्मानित हुने भएका छन्।
मन्त्रालयले सम्मानका लागि छनोट भएका सबै कर्मचारीलाई बधाई दिँदै आगामी दिनमा समेत सेवाप्रति समर्पित भएर काम गर्न र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।