काठमाडौं । नेपालमा एमबीबीएस अध्ययनका लागि उपलब्ध सिट संख्या २ हजार ७४५ पुगेको छ । तर, यस वर्ष चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षामा १० हजार ३२१ विद्यार्थी उत्तीर्ण भएका छन् । यससँगै चिकित्सा शिक्षा अध्ययन गर्न चाहने हजारौँ विद्यार्थीबीच सीमित सिटका लागि प्रतिस्पर्धा हुने भएको छ ।
शैक्षिक सत्र २०८३/८४ का लागि ११० सिट थपिएसँगै देशभर एमबीबीएस अध्ययनका लागि कुल सिट संख्या २ हजार ७४५ पुगेको हो । तर, प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या उपलब्ध सिटभन्दा झण्डै चार गुणा बढी छ ।
चिकित्सा शिक्षा आयोगले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी २० हजार ५७९ विद्यार्थीमध्ये १० हजार ३२१ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी कुल विद्यार्थीको करिब ५० प्रतिशत हो ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. देवेन्द्र खत्रीले एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिनुभयो ।
आयोगका अनुसार यस वर्षको परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीले १८७.५ अङ्क ल्याएका छन् । परीक्षामा उत्तीर्ण हुन ५०औँ पर्सेन्टाइल अर्थात् न्यूनतम ५६.२५ अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
प्रवेश परीक्षामा उत्तीर्ण हुँदैमा एमबीबीएस अध्ययनका लागि भर्ना सुनिश्चित भने हुँदैन । उपलब्ध सिट संख्या सीमित भएकाले योग्यताक्रम, सिट संख्या तथा आरक्षणसम्बन्धी व्यवस्थाका आधारमा विद्यार्थीले भर्नाको अवसर पाउनेछन् ।
प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएसँगै चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना प्रक्रिया अघि बढ्नेछ । सीमित सिट र उत्तीर्ण विद्यार्थीको ठूलो संख्याका कारण यस वर्ष पनि एमबीबीएस अध्ययनका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।