विश्वभर जनसङ्ख्याको उमेर संरचनामा तीव्र परिवर्तन भइरहेको छ। औसत आयु बढ्दै जाँदा ज्येष्ठ नागरिकको सङ्ख्या पनि निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा मानिस कति वर्ष बाँच्छ भन्ने प्रश्न मात्र महत्त्वपूर्ण छैन, बरु जीवनको उत्तरार्द्धमा कति स्वस्थ, सक्रिय र आत्मनिर्भर रहन सक्छ भन्ने विषय अझ महत्त्वपूर्ण बनेको छ। त्यसैले स्वस्थ बुढ्यौलीको प्रवर्द्धन आज विश्वकै प्रमुख जनस्वास्थ्य प्राथमिकतामध्ये एक बनेको छ।
स्वस्थ बुढ्यौलीको चर्चा गर्दा शारीरिक सक्रियतालाई छुटाउन मिल्दैन। नियमित शारीरिक गतिविधिले ज्येष्ठ नागरिकको शारीरिक क्षमता कायम राख्न, विभिन्न दीर्घरोगको जोखिम घटाउन र दैनिक जीवनका काममा आत्मनिर्भर रहन महत्त्वपूर्ण भूमिका खेल्छ। यसै विषयलाई केन्द्रमा राखेर विश्वप्रसिद्ध चिकित्सा जर्नल ‘द ल्यान्सेट हेल्दी लङ्गेभिटी’मा प्रकाशित अन्तर्राष्ट्रिय लेख संग्रहले न्यून तथा मध्यम आय भएका देशहरूमा शारीरिक सक्रियतालाई स्वस्थ बुढ्यौलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएको छ।
यस लेख संग्रहमा नेपाल जेरियाट्रिक्स सेन्टर, काठमाडौंको प्रतिनिधित्व गर्दै मैले पनि ‘प्रमोटिङ फिजिकल एक्टिभिटी फरर हेल्थी एजिङ इन लो-इन्कम एन्ड मिडिल-इनकम कन्ट्रिज : अ पब्लिक हेल्थ प्रायोरिटी’ शीर्षकको लेखमार्फत नेपाललगायत विकासोन्मुख देशमा ज्येष्ठ नागरिकको शारीरिक सक्रियता प्रवर्द्धन गर्नुपर्ने आवश्यकताबारे चर्चा गरेको छु।
स्वस्थ बुढ्यौली भनेको के हो?
स्वस्थ बुढ्यौली भन्नाले रोग नै नलागेको अवस्था मात्र बुझिँदैन। ज्येष्ठ नागरिकमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, जोर्नीको समस्या वा अन्य दीर्घरोग हुन सक्छन्। तर त्यस्ता स्वास्थ्य समस्या हुँदाहुँदै पनि आफ्नो दैनिक जीवनका काम गर्न सक्ने, सामाजिक गतिविधिमा सहभागी हुन सक्ने र सम्भव भएसम्म अरूको सहाराबिना जीवनयापन गर्न सक्ने क्षमता कायम रहनु नै स्वस्थ बुढ्यौलीको वास्तविक अर्थ हो।
उमेर बढ्दै जाँदा शरीरमा स्वाभाविक रूपमा विभिन्न परिवर्तन आउँछन्। मांसपेशीको शक्ति र मात्रा घट्दै जान्छ, हिँडडुल गर्ने क्षमता कमजोर हुन सक्छ र शरीरको सन्तुलन कायम राख्न कठिनाइ हुन सक्छ। यसले लड्ने, चोटपटक लाग्ने, अपाङ्गता हुने र दैनिक कामका लागि अरूमाथि निर्भर हुनुपर्ने जोखिम बढाउँछ।
विश्वभर ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकमध्ये दुईतिहाइभन्दा बढी न्यून तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन्। आगामी दशकहरूमा यो सङ्ख्या अझ बढ्ने अनुमान छ। त्यसैले सीमित स्रोतसाधन भएका नेपालजस्ता देशका लागि ज्येष्ठ नागरिकको स्वास्थ्य, कार्यक्षमता र आत्मनिर्भरता कायम राख्नु थप चुनौतीपूर्ण विषय हो।
शारीरिक सक्रियता किन आवश्यक छ?
नियमित शारीरिक सक्रियता ज्येष्ठ नागरिकको स्वास्थ्य र कार्यक्षमता कायम राख्ने सबैभन्दा व्यावहारिक तथा प्रभावकारी उपायमध्ये एक हो। उमेर र स्वास्थ्य अवस्थाअनुसार गरिने उपयुक्त व्यायामले मांसपेशीको शक्ति बढाउन, शरीरको सन्तुलन सुधार गर्न र हिँडडुल गर्ने क्षमता कायम राख्न मद्दत गर्छ।
यसले लड्ने जोखिम कम गर्नुका साथै उच्च रक्तचाप, मधुमेह, मुटुरोगलगायत नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनमा पनि सहयोग पुर्याउँछ। त्यस्तै, शारीरिक सक्रियताले मानसिक स्वास्थ्य सुधार गर्न, सामाजिक सम्पर्क बढाउन र एक्लोपनको अनुभूति कम गर्न पनि मद्दत गर्न सक्छ।
विशेषगरी ज्येष्ठ नागरिकमा देखिने मांसपेशी क्षय (सार्कोपेनिया) र शारीरिक दुर्बलता (फ्रेल्टी) रोकथाम तथा व्यवस्थापनमा नियमित व्यायामको महत्त्वपूर्ण भूमिका हुन्छ। मांसपेशीको शक्ति र शरीरको सन्तुलन कायम राख्न सकेमा ज्येष्ठ नागरिकलाई लामो समयसम्म आत्मनिर्भर जीवनयापन गर्न सहज हुन्छ।
तर शारीरिक सक्रियता भन्नाले जिम जाने वा कठिन व्यायाम गर्ने भन्ने मात्र होइन। नियमित हिँड्ने, हल्का व्यायाम गर्ने, योग गर्ने, नाच्ने, बगैँचाको काम गर्ने तथा उमेर र स्वास्थ्य अवस्थाले अनुमति दिएका दैनिक गतिविधिमा सहभागी हुने कार्य पनि शारीरिक सक्रियताभित्र पर्छन्।
शारीरिक सक्रियतामा अवरोध किन?
शारीरिक सक्रियताका फाइदाबारे पर्याप्त वैज्ञानिक प्रमाण उपलब्ध भए पनि ज्येष्ठ नागरिकलाई नियमित व्यायाममा सहभागी गराउनु चुनौतीपूर्ण छ। विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा व्यायामलाई दैनिक जीवनको आवश्यक अभ्यासका रूपमा स्थापित गर्न सकिएको छैन।
धेरै ज्येष्ठ नागरिकको शारीरिक गतिविधि घरायसी काम, पेसागत श्रम वा आवतजावतका लागि गरिने हिँडडुलमा सीमित हुन्छ। स्वास्थ्य प्रवर्द्धनका उद्देश्यले योजनाबद्ध रूपमा गरिने व्यायामको अभ्यास भने कम छ।
यसका पछाडि सामाजिक, सांस्कृतिक र वातावरणीय कारण छन्। कतिपय परिवारमा उमेर बढेपछि आराम गरेर बस्नुपर्छ भन्ने धारणा छ। कतिपय ज्येष्ठ नागरिक लड्ने डरले हिँडडुल गर्न वा व्यायाम गर्न हिचकिचाउँछन्। घरायसी जिम्मेवारी तथा नातिनातिनाको हेरचाह गर्नुपर्ने दायित्वले पनि उनीहरूको समय र अवसर सीमित बनाउँछ। विशेषगरी ज्येष्ठ महिलाहरू यस्ता अवरोधबाट बढी प्रभावित हुन सक्छन्।
भौतिक पूर्वाधारको अभाव अर्को प्रमुख समस्या हो। सहरी क्षेत्रमा सुरक्षित फुटपाथ, पर्याप्त सडक बत्ती, सहज पहुँच भएका सार्वजनिक उद्यान र ज्येष्ठ नागरिकमैत्री खुला स्थानको अभाव छ। ग्रामीण क्षेत्रमा पनि व्यवस्थित सामुदायिक व्यायाम कार्यक्रम र त्यसमा सहभागी हुने अवसर सीमित छन्।
त्यस्तै, स्वास्थ्य प्रणालीले पनि यस विषयलाई पर्याप्त प्राथमिकता दिन सकेको छैन। नियमित स्वास्थ्य परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले शारीरिक सक्रियताबारे परामर्श दिने अभ्यास कमजोर छ। पुनःस्थापना सेवा, समुदायमा आधारित व्यायाम कार्यक्रम तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त छैन।
नेपालमा अवसर र चुनौती
नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ। औसत आयुमा वृद्धि, युवा पुस्ताको वैदेशिक तथा आन्तरिक बसाइँसराइ र परम्परागत पारिवारिक संरचनामा आएको परिवर्तनले ज्येष्ठ नागरिकको हेरचाह तथा स्वास्थ्य सुरक्षाको आवश्यकता बढाएको छ।
पहिले संयुक्त परिवारमा ज्येष्ठ नागरिकको हेरचाह र दैनिक गतिविधिमा परिवारका सदस्यको प्रत्यक्ष सहभागिता हुन्थ्यो। अहिले परिवारका सदस्य रोजगारी तथा अन्य अवसरका लागि टाढा जाने क्रम बढेको छ। यसले ज्येष्ठ नागरिकको दैनिक जीवन, सामाजिक सम्पर्क र स्वास्थ्य सेवामा पहुँचलाई समेत प्रभावित गर्न सक्छ।
यस्तो अवस्थामा शारीरिक रूपमा सक्रिय र आत्मनिर्भर ज्येष्ठ नागरिक निर्माण गर्नु परिवारको मात्र नभई राज्य र समाजको पनि जिम्मेवारी हो।
नेपालसँग यसका लागि केही महत्त्वपूर्ण अवसर पनि छन्। हाम्रो समाजमा अझै पनि बलिया सामुदायिक सम्बन्ध, स्थानीय सामाजिक सञ्जाल र समुदायमा आधारित स्वास्थ्य सेवाको संरचना विद्यमान छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहका कार्यक्रमलाई परिचालन गर्न सकेमा शारीरिक सक्रियता प्रवर्द्धनलाई समुदायसम्म विस्तार गर्न सकिन्छ।
सामुदायिक स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकमा शारीरिक दुर्बलताको जोखिम पहिचान गर्न, आधारभूत शारीरिक सक्रियताबारे परामर्श दिन र आवश्यकताअनुसार स्वास्थ्य संस्थामा प्रेषण गर्न तालिम दिन सकिन्छ। यसले सामान्य स्वास्थ्य सेवामार्फत नै शारीरिक निष्क्रियताको समस्या सम्बोधन गर्न सहयोग पुर्याउँछ।
त्यस्तै, सामुदायिक खुला व्यायामस्थल, समूहमा हिँड्ने कार्यक्रम, योग, नृत्य तथा स्थानीय संस्कृति र आवश्यकताअनुसार तयार गरिएका व्यायाम कार्यक्रम कम खर्चिला र दिगो उपाय हुन सक्छन्।
डिजिटल प्रविधिको उपयोग
पछिल्लो समय डिजिटल प्रविधि स्वास्थ्य सेवाको महत्त्वपूर्ण माध्यम बन्दै गएको छ। मोबाइल फोनको बढ्दो प्रयोगलाई ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनमा पनि उपयोग गर्न सकिन्छ।
मोबाइल एप्लिकेसन, डिजिटल माध्यमबाट दिइने व्यायाम निर्देशन तथा टेलि-एक्सरसाइज कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई घरमै बसेर शारीरिक गतिविधिमा सहभागी गराउन सकिन्छ। उनीहरूको गतिविधिको अनुगमन र नियमित व्यायामका लागि प्रोत्साहन गर्न पनि डिजिटल माध्यम उपयोगी हुन सक्छ।
विशेषगरी पुनःस्थापना सेवा तथा दक्ष स्वास्थ्यकर्मीको पहुँच कम भएका ग्रामीण र दुर्गम क्षेत्रमा यस्ता प्रविधिको प्रयोग प्रभावकारी हुन सक्छ। तर डिजिटल सेवाको विकास गर्दा ज्येष्ठ नागरिकको प्रविधि प्रयोग गर्ने क्षमता, इन्टरनेट पहुँच र भाषागत सहजतालाई पनि ध्यान दिनुपर्छ।
स्वास्थ्य नीतिमा शारीरिक सक्रियता समावेश गर्नुपर्छ
ज्येष्ठ नागरिकको शारीरिक सक्रियतालाई व्यक्तिगत जीवनशैलीको छनोटका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसलाई स्वस्थ बुढ्यौलीका लागि गरिने दीर्घकालीन सामाजिक तथा स्वास्थ्य लगानीका रूपमा बुझ्न आवश्यक छ।
यसका लागि सरकारले उमेरमैत्री भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ। सुरक्षित फुटपाथ, सार्वजनिक उद्यान, खुला व्यायामस्थल र सहज आवागमनको व्यवस्था ज्येष्ठ नागरिकको शारीरिक सक्रियताका आधार हुन्।
स्थानीय तहले ज्येष्ठ नागरिक लक्षित सामुदायिक व्यायाम कार्यक्रम सञ्चालन गर्न सक्छन्। यस्ता कार्यक्रम नियमित, पहुँचयोग्य र स्थानीय आवश्यकता तथा संस्कृतिअनुसार हुनुपर्छ। ज्येष्ठ नागरिकलाई एक्लै व्यायाम गर्न प्रोत्साहित गर्नुका साथै समूहमा सहभागी हुने अवसर दिनुपर्छ।
स्वास्थ्य संस्थामा पनि यसलाई नियमित सेवाको हिस्सा बनाउन आवश्यक छ। प्राथमिक स्वास्थ्य सेवामा ज्येष्ठ नागरिकको मांसपेशीको शक्ति, शरीरको सन्तुलन, हिँडडुल गर्ने क्षमता र शारीरिक दुर्बलताको जोखिम नियमित मूल्याङ्कन गर्नुपर्छ। स्वास्थ्यकर्मीले उमेर, दीर्घरोग र शारीरिक अवस्थाअनुसार सुरक्षित व्यायामको सिफारिस गर्न सक्नुपर्छ।
यसका साथै नेपालकै सामाजिक, सांस्कृतिक र भौगोलिक परिवेशअनुकूल शारीरिक सक्रियतासम्बन्धी अनुसन्धान तथा कार्यक्रमको विकास गर्नुपर्छ। अन्य देशमा विकसित निर्देशिका उपयोगी भए पनि तिनलाई जस्ताको तस्तै लागू गर्नुभन्दा स्थानीय आवश्यकता र क्षमताअनुसार परिमार्जन गर्नु उचित हुन्छ।
जीवनमा वर्ष थप्ने मात्र होइन, स्वस्थ वर्ष थप्ने
ज्येष्ठ नागरिकको स्वास्थ्य र आत्मनिर्भरता कायम राख्नु स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन। यसका लागि परिवार, समुदाय, स्थानीय सरकार, स्वास्थ्य संस्था र राष्ट्रिय नीतिनिर्माताबीच समन्वय आवश्यक छ।
हामीले बुढ्यौलीलाई निष्क्रियता र अरूमा निर्भर हुनुपर्ने अवस्थाका रूपमा बुझ्नु हुँदैन। उचित पोषण, नियमित शारीरिक सक्रियता, सामाजिक सहभागिता र समयमै स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न सकेमा ज्येष्ठ नागरिकले दीर्घकालसम्म सक्रिय र सम्मानजनक जीवन बिताउन सक्छन्।
जीवनमा वर्ष थप्नु मात्र पर्याप्त छैन, थपिएका वर्षहरूमा स्वास्थ्य, शारीरिक शक्ति र आत्मनिर्भरता पनि सुनिश्चित गर्नु उत्तिकै आवश्यक छ। त्यसैले शारीरिक सक्रियतालाई व्यक्तिगत अभ्यासमा सीमित नराखी राष्ट्रिय जनस्वास्थ्य नीति, प्राथमिक स्वास्थ्य सेवा र सामुदायिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्छ। स्वस्थ बुढ्यौलीको आधार यही हो।