काठमाडौं । प्रतिजैविक औषधिको अनावश्यक तथा जथाभावी प्रयोग नियन्त्रण गर्न मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रबीच सहकार्य आवश्यक रहेको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताएका छन्। प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौती बन्दै गएको भन्दै उनले भविष्यमा आवश्यक पर्ने आरक्षित प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन यसको विवेकपूर्ण प्रयोगमा जोड दिएका छन्।
प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगबाट निम्तिने प्रतिजैविक प्रतिरोध (एएमआर) को जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागको आयोजनामा मंसिर २ गते बिहान प्रभातफेरी गरिएको हो।
सिंहदरबारको दक्षिण गेटबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला हुँदै बबरमहलस्थित औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो। कार्यक्रममा औषधिसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता थियो।
कार्यक्रम समापन गर्दै महानिर्देशक भट्टराईले यस वर्ष ‘वान हेल्थ, वान एक्सन : प्रिभेन्ट एएमआर नाउ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
उनले प्रतिजैविक औषधिको बढी, कम तथा अनावश्यक प्रयोगले प्रतिरोधको जोखिम बढाउने भएकाले यसको प्रयोगलाई नियमन र व्यवस्थित गर्नुपर्ने बताए। विशेषगरी भविष्यमा गम्भीर संक्रमणको उपचारका लागि आवश्यक पर्ने आरक्षित प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन तिनको प्रयोग सीमित र विवेकपूर्ण बनाउनुपर्ने उनको भनाइ थियो।
प्रतिजैविक प्रतिरोध नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणबीचको अन्तरसम्बन्धलाई ध्यानमा राखेर ‘एक स्वास्थ्य’ अवधारणाअनुसार काम गर्नुपर्ने बताए।
उनले प्रतिजैविक प्रतिरोधविरुद्धको अभियानमा सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिँदै सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
-1794996896.jpg)

