क्यान्सरको उपचारका लागि बिरामीकै रगतबाट केही प्रतिरक्षा कोष निकालेर तिनलाई क्यान्सर पहिचान गर्न सक्षम बनाइन्छ र पुनः त्यही बिरामीको शरीरमा प्रविष्ट गराइन्छ। कार–टी उपचारको मूल अवधारणा यही हो। सन् २०२६ मा नेपालमै तयार गरेको सीडी१९ लक्षित कार–टी उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका एक बिरामीलाई दिइयो। यस उपलब्धिले नेपालमै यस्तो अत्याधुनिक उपचार प्रविधि विकास गरी बिरामीसम्म पुर्याउन सम्भव छ भन्ने महत्त्वपूर्ण आधार प्रस्तुत गरेको छ।
नेपालमा यो प्रविधि स्थापित गर्ने क्रममा प्रविधि हस्तान्तरण, स्थानीय टोलीको क्षमता विकास तथा तालिम, अन्तर्राष्ट्रिय अनुदान प्राप्ति, र गुणस्तर परीक्षणको आधार निर्माणसम्बन्धी यस परियोजनाको नेतृत्व गर्नु मेरा लागि विशेष सन्तोष र जिम्मेवारीको विषय रह्यो। गुणस्तर परीक्षणमा योगदान पुर्याउने सहकर्मीहरू तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको चिकित्सकीय टोलीबीचको साझा प्रयास, विशेषज्ञता र सहकार्य यस उपलब्धिका लागि महत्त्वपूर्ण रहे।
अब यही सहकार्यलाई अझ सुदृढ बनाउँदै र बिरामीको सुरक्षालाई केन्द्रमा राख्दै कार–टी उपचार आवश्यक पर्ने थप बिरामीसम्म सुरक्षित र प्रभावकारी रूपमा पुर्याउनु आगामी महत्त्वपूर्ण कदम हो। यस उपलब्धिलाई एउटा सुरुवातका रूपमा लिँदै, अबको प्रमुख प्रश्न हो: यस उपचारबाट लाभ लिन सक्ने थप बिरामीसम्म यसलाई सुरक्षित, दिगो र धान्न सकिने खर्चमा कसरी पुर्याउने?
कार–टीले क्यान्सर कसरी चिन्छ?
हाम्रो प्रतिरक्षा प्रणालीमा टी कोष भनिने एक प्रकारका सेता रक्तकोष हुन्छन्। यिनले संक्रमण भएका वा असामान्य कोष चिन्न र नष्ट गर्न सक्छन्। तर क्यान्सरका कोष कहिलेकाहीँ तिनको पहिचानबाट उम्कन्छन्। कार–टी उपचारमा टी कोषलाई क्यान्सरको सतहमा भएको एउटा खास चिन्ह चिन्न सक्ने बनाइन्छ। त्यसलाई कुनै व्यक्तिलाई अनुहारबाट चिनेझैँ, कोषलाई त्यसको सतहमा रहेको चिन्हबाट चिन्ने प्रक्रिया भनेर बुझ्न सकिन्छ।
सुरुमा बिरामीको रगतबाट विशेष मेसिनको सहायताले आवश्यक कोष छुट्याइन्छ। त्यसपछि प्रयोगशालामा टी कोषभित्र एउटा आनुवंशिक निर्देशन राखिन्छ। त्यो निर्देशनअनुसार कोषको सतहमा ‘कार’ भनिने चिन्ने संरचना बन्छ। परिमार्जित कोषलाई प्रयोगशालामा बढाइन्छ र आवश्यक गुणस्तर परीक्षण गरिन्छ। धेरैजसो अवस्थामा बिरामीलाई पहिले छोटो अवधिको किमोथेरापी दिइन्छ, जसले नयाँ कोषलाई शरीरमा सक्रिय हुन अनुकूल वातावरण बनाउँछ। त्यसपछि तयार कार–टी कोष नसाबाट दिइन्छ। शरीरभित्र यी कोषले लक्षित चिन्ह भेटेपछि सक्रिय भएर त्यस्तो चिन्ह बोकेका कोषमाथि आक्रमण गर्न सक्छन्।

रगतका क्यान्सरमा विश्व कहाँ पुगेको छ?
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सन् २०१७ मा पहिलो कार–टी उपचारलाई स्वीकृति दिएको थियो। नोभेम्बर २०२६ सम्म एफडीएले सातवटा कार–टी उत्पादन स्वीकृत गरेको छ। यी उत्पादन केही प्रकारका बी–कोष ल्युकेमिया, लिम्फोमा र मल्टिपल मायलोमाको उपचारमा प्रयोग हुन्छन्। भारतले पनि सन् २०२३ मा आफ्नै नेक्सकार१९ उपचारलाई स्वीकृति दियो।
रगतका क्यान्सरमा पनि सबै बिरामीलाई एउटै उपचार मिल्दैन। उदाहरणका लागि, उस्तै नामका दुई ल्युकेमिया फरक प्रकारका कोषबाट सुरु भएका हुन सक्छन्। कार–टीले खोज्ने चिन्ह बिरामीको क्यान्सरमा छ कि छैन भनेर परीक्षण गर्नु त्यसैले महत्त्वपूर्ण हुन्छ।
केही बी–कोष ल्युकेमिया र लिम्फोमामा सीडी१९ भनिने चिन्हलाई निशाना बनाइन्छ। मल्टिपल मायलोमाका लागि भने बीसीएमए भनिने अर्को चिन्ह लक्षित उपचार उपलब्ध छन्। कुन उपचार मिल्छ भन्ने कुरा क्यान्सरको उपप्रकार, पहिले दिइएका उपचार र बिरामीको स्वास्थ्य अवस्थामा निर्भर हुन्छ। अरू उपचारपछि रोग फर्किएका वा नियन्त्रणमा नआएका केही बिरामीमा कार–टीपछि रोग लामो समयसम्म पत्ता नलाग्ने अवस्थामा पुग्न सक्छ। कतिपयमा सुरुदेखि नै अपेक्षित प्रतिक्रिया आउँदैन, र केहीमा राम्रो प्रतिक्रिया आएपछि पनि रोग फर्कन सक्छ।
विश्वले नयाँ पुस्ताका उपचार कसरी अपनाउँदै छ?
कार–टीजस्ता कोष तथा जीनमा आधारित उपचारलाई स्वास्थ्य सेवामा जोड्न धेरै देशले विशेष उपचार केन्द्रमार्फत सेवा विस्तार गरिरहेका छन्। यस्ता केन्द्रमा बिरामी छनोट, कोष सङ्कलन, उत्पादन केन्द्रसँग समन्वय र उपचारपछि देखिन सक्ने गम्भीर असरको व्यवस्थापन एउटै योजनाअन्तर्गत गरिन्छ। युरोपका धेरै उपचार केन्द्रले साझा अभिलेखमा बिरामीको नतिजा राख्छन्, जसबाट उपचारको असर कति समय टिक्छ र पछि कस्ता समस्या देखिन्छन् भन्ने अध्ययन गर्न सकिन्छ। भारतले आफ्नै कार–टी उत्पादन विकास गरेको छ भने चीनले निश्चित ठोस क्यान्सरसम्म यसको प्रयोग विस्तार गरेको छ। नेपालका लागि यी अनुभवले स्वदेशी उत्पादनसँगै अस्पतालको तयारी र उपचारपछिको अनुगमन पनि सुरुदेखि नै निर्माण गर्नुपर्ने देखाउँछन्।
ठोस गाँठो बनाउने क्यान्सरमा किन कठिन छ?
पेट, फोक्सो वा ठूलो आन्द्राजस्ता अंगमा गाँठो बनाउने क्यान्सरमा कार–टी कोष पहिले गाँठोसम्म पुग्नुपर्छ। गाँठोभित्र पुगेपछि पनि सबै क्यान्सर कोषमा एउटै चिन्ह नहुन सक्छ। त्यसमाथि गाँठो वरिपरिको वातावरणले टी कोषको काम दबाउन सक्छ। क्यान्सरमा देखिएको चिन्ह स्वस्थ अंगमा पनि छ भने त्यस अंगलाई क्षति पुग्ने जोखिम हुन्छ। त्यसैले कुन चिन्ह छान्ने र कार–टी कोषलाई गाँठोभित्र कसरी सक्रिय राख्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
जुन २०२६ मा चीनले ठोस क्यान्सरका लागि विश्वको पहिलो कार–टी उपचार ‘साट्री–सेल’ स्वीकृत गर्यो। यो निश्चित जैविक चिन्ह भएका, शल्यक्रियाबाट हटाउन नसकिने र कम्तीमा दुई चरणका उपचारपछि पनि बढेका पेट वा खाना नली र पेट जोडिने भागका केही क्यान्सरका लागि हो। अरू ठोस क्यान्सरमा यसको सम्भावना अध्ययनकै क्रममा छ। हरेक क्यान्सरका लागि उपयुक्त लक्ष्य, बिरामी छनोट र उपचारको प्रभाव छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ।

उपचारको सुरक्षाका लागि के चाहिन्छ?
कार–टी कोष सक्रिय हुँदा शरीरमा प्रतिरक्षा सन्देश दिने पदार्थ एकैपटक धेरै निस्कन सक्छन्। यसलाई साइटोकाइन रिलिज सिन्ड्रोम भनिन्छ। यसमा ज्वरो आउन सक्छ र गम्भीर अवस्थामा रक्तचाप घट्न वा सास फेर्न गाह्रो हुन सक्छ। केही बिरामीमा बोल्न गाह्रो हुने, अलमल हुने वा छारे आउनेजस्ता स्नायु प्रणालीका समस्या पनि देखिन सक्छन्। रक्तकोषको संख्या लामो समय कम रहनु र संक्रमण हुनु अरू सम्भावित जोखिम हुन्। उपचारपछि अर्को क्यान्सर देखिएका घटनासमेत रिपोर्ट भएकाले दीर्घकालीन अनुगमन आवश्यक हुन्छ।
त्यसैले कोष चढाउने अस्पतालसँग तालिमप्राप्त चिकित्सक र नर्स, आवश्यक औषधि, प्रयोगशाला र सघन उपचारको व्यवस्था हुनुपर्छ। घर फर्किएपछि कुन लक्षण देखिए कहाँ सम्पर्क गर्ने भन्ने कुरा बिरामी र परिवारलाई बुझाउनुपर्छ। उपचार केन्द्रबाट टाढा बस्ने परिवारका लागि बसोबास र आकस्मिक यातायातको योजना पनि सुरक्षाकै हिस्सा हो।
-1794287864.png)
नेपालमा यो प्रविधि कसरी बलियो बनाउने?
सीआरएम नेपालको सीडी१९ लक्षित उत्पादनले सन् २०२६ मा नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति पाएको थियो। अब उत्पादनदेखि उपचारपछिको अनुगमनसम्म एउटै स्तरको गुणस्तर कायम गर्नुपर्छ। एउटा बिरामीबाट निकालिएको कोष त्यही बिरामीसम्म फर्किने सुनिश्चित गर्न हरेक चरणको अभिलेख चाहिन्छ। उत्पादनमा दूषण छ कि छैन, पर्याप्त जीवित कोष छन् कि छैनन् र तिनले लक्षित कोषविरुद्ध अपेक्षित काम गर्छन् कि गर्दैनन् भन्ने परीक्षण गर्नुपर्छ। उत्पादन विधिमा फेरबदल हुँदा त्यसले गुणस्तरमा पार्ने असर पनि जाँचिनुपर्छ।
अनुसन्धानमा सहभागी हुनुअघि बिरामीले सम्भावित लाभ, जोखिम, उपलब्ध अरू उपचार, खर्च र अनुगमनबारे आफूले बुझ्ने भाषामा जानकारी पाउनुपर्छ। निर्णय स्वेच्छिक हुनुपर्छ र बिरामीको व्यक्तिगत विवरण सुरक्षित राखिनुपर्छ। औषधि व्यवस्था विभागको नियामकीय समीक्षा अनुसार गरिने स्वतन्त्र नैतिक समीक्षा महत्त्वपूर्ण छन्। गम्भीर प्रतिकूल घटनाको समयमै सूचना दिने र सकारात्मकसँगै कमजोर नतिजा पनि सार्वजनिक गर्ने अभ्यासले बिरामी र चिकित्सकलाई भरपर्दो आधार दिन्छ।
स्थानीय अध्ययनमा उपचारपछि कति जनामा रोग घट्यो भन्ने विवरणसँगै त्यो सुधार कति समय टिक्यो, कति जनामा गम्भीर असर देखियो र कति जनाको उपचारका लागि समयमै कोष तयार हुन सक्यो भन्ने तथ्य पनि टिप्नुपर्छ। पहिलो बिरामीसम्म उपचार पुर्याउनु सम्भाव्यता देखाउने महत्त्वपूर्ण कदम हो। थप बिरामीको व्यवस्थित अनुगमनबाट मात्र कुन अवस्थामा यो उपचारले बढी फाइदा दिन्छ र कहाँ सुधार चाहिन्छ भन्ने बुझ्न सकिन्छ।
उपचार विस्तार गर्दा खर्चको हिसाबमा कोष उत्पादनसँगै अस्पताल बसाइ, परीक्षण, यात्रा र अनुगमन पनि जोड्नुपर्छ। कुन बिरामीलाई प्राथमिकता दिने भन्ने स्पष्ट चिकित्सकीय आधार, उपत्यकाबाहिरबाट बिरामी पठाउने अस्पतालसँग समन्वय र आर्थिक सहायता जुटाउने व्यवस्था आवश्यक छन्। उपचार पाएका बिरामीको गोपनीयता जोगाउँदै राष्ट्रिय अभिलेख राख्न सके नेपालमै उपचारको लाभ र जोखिमबारे प्रमाण बटुल्न सकिन्छ।
स्वदेश फर्किएको ज्ञानप्रति नेपालस्थित टोलीको जिम्मेवारी
नेपालमा यो प्रविधि स्थापित गर्ने क्रममा बहुमूल्य प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रिय अनुदान प्राप्ति, स्थानीय टिमको तालिम तथा क्षमता विकास, र गुणस्तर परीक्षणका लागि आवश्यक आधार निर्माणमा नेतृत्व र मार्गदर्शकको गर्न पाउनु मेरा लागि व्यक्तिगत रूपमा अत्यन्त सन्तोषजनक अनुभव रह्यो। बिरामीको सुरक्षालाई केन्द्रमा राख्दै अगाडि बढ्दा, नेपालमै स्थापित र प्रशिक्षित टोलीले यो उपचार आवश्यक पर्ने अझ धेरै बिरामीसम्म सुरक्षित, प्रभावकारी र दिगो रूपमा पुर्याउन सक्नेछ भन्ने आशा छ।
यो परियोजना विदेशमा आर्जित ज्ञान, सीप र विशेषज्ञतालाई स्वदेशमा हस्तान्तरण गरी देशको विकास र जनस्वास्थ्यको हितमा उपयोग गर्न सकिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हो। यस उपलब्धिको निरन्तरता र सफल विस्तारले स्वदेशका लागि केही गरौँ भन्ने भावना बोकेर तन, मन र धनले योगदान गर्न तत्पर नेपालीहरूको उत्साह, विश्वास र प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ।
वर्षौँको निरन्तर मेहनत र समर्पणबाट हासिल भएको यो महत्त्वपूर्ण उपलब्धिलाई अब अझ धेरै बिरामीको हितमा सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्नु नै यसको वास्तविक सार्थकता हुनेछ। नेपालस्थित उत्पादन तथा क्लिनिकल टोलीहरू र उपचारमा संलग्न अस्पतालका चिकित्सकहरूले आवश्यक गुणस्तर र बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस प्रयासलाई निरन्तर अगाडि बढाउन सकेमा, वर्षौँको मेहनतले साँचो अर्थमा सम्मान र सार्थकता पाउनेछ।