लेइ सिन्ड्रोम एक अत्यन्त दुर्लभ तथा गम्भीर आनुवंशिक तथा माइटोकन्ड्रियल रोग हो। यसलाई चिकित्सकीय भाषामा ‘सब-एकुट नेक्रोटाइजिङ एन्सेफालोमाइलोप्याथी’ पनि भनिन्छ। माइटोकन्ड्रिया भनेको कोषिकाभित्रको ऊर्जा उत्पादन गर्ने अङ्ग वा संरचना हो भने माइटोकन्ड्रियल रोग भनेको माइटोकन्ड्रियाले आवश्यक मात्रामा ऊर्जा उत्पादन गर्न नसक्दा हुने रोगहरूको समूह हो। सामान्य भाषामा बुझ्दा, शरीरका कोषिकाहरूलाई आवश्यक ऊर्जा उत्पादन गर्ने माइटोकन्ड्रियामा समस्या उत्पन्न हुँदा विशेषगरी मस्तिष्कका केही महत्त्वपूर्ण भाग प्रभावित हुने अवस्था नै लेइ सिन्ड्रोम हो। यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पार्नुका साथै पहिले सिकिसकेका सीपहरू पनि क्रमशः गुम्न सक्ने अवस्था ल्याउन सक्छ।
लेइ सिन्ड्रोम भनेको के हो?
हाम्रो शरीरका प्रत्येक कोषिकाभित्र रहेको माइटोकन्ड्रियालाई प्रायः कोषिकाको ‘ऊर्जा केन्द्र’ भनिन्छ। यसले खाना तथा अक्सिजनबाट शरीरलाई आवश्यक ऊर्जा उत्पादन गर्छ। माइटोकन्ड्रियाको ऊर्जा उत्पादन गर्ने प्रक्रियामा समस्या आएपछि शरीरका धेरै अङ्ग प्रभावित हुन सक्छन्। तर मस्तिष्क, मुटु र मांसपेशीजस्ता धेरै ऊर्जा आवश्यक पर्ने अङ्गहरू विशेष रूपमा संवेदनशील हुन्छन्।
लेइ सिन्ड्रोममा माइटोकन्ड्रियाको ऊर्जा उत्पादन प्रणालीमा गडबडी हुँदा मस्तिष्कका बेसल ग्याङ्ग्लिया, ब्रेनस्टेम, थालामस लगायतका भागमा क्षति पुग्न सक्छ। एमआरआई गर्दा यी क्षेत्रमा प्रायः दुवैतर्फ मिल्दोजुल्दो (बाइलेटरली सिमेट्रिक) असामान्य परिवर्तन देखिन सक्छ। यो एउटै जीनको कारण हुने एउटै रोग मात्र होइन। हालसम्म लेइ सिन्ड्रोम स्पेक्ट्रमसँग सम्बन्धित १०० भन्दा बढी जीन पहिचान भइसकेका छन्। यीमध्ये केही जीन कोषिकाको न्युक्लियसमा हुन्छन् भने केही माइटोकन्ड्रियल डीएनएमा हुन्छन्। त्यसैले यसको आनुवंशिक स्वरूप पनि एउटै हुँदैन।
ब्रेनस्टेम लेइले एक शिशुमा देखिएको विशेष प्रकारको मस्तिष्कसम्बन्धी रोगको विवरण प्रकाशित गरेका थिए। उनले त्यसलाई ‘सब-एकुट नेक्रोटाइजिङ एन्सेफालोमाइलोप्याथी इन एन इन्फ्यान्ट’ (शिशुमा देखिने उपतीव्र रूपमा मस्तिष्क तथा मेरुदण्डका तन्तुहरू नष्ट हुँदै जाने अवस्था) नाम दिएका थिए। यही विवरणका आधारमा पछि यो रोगलाई लेइ सिन्ड्रोम भन्न थालियो। त्यतिबेला रोगको पहिचान मुख्यतः मृत्यु भएपछि गरिने मस्तिष्कको सूक्ष्म परीक्षण अर्थात् न्युरोप्याथोलोजिकल एक्जामिनेसनबाट हुन्थ्यो। आधुनिक चिकित्सा प्रविधिको विकाससँगै एमआरआई, मेटाबोलिक टेस्टिङ (शरीरमा ऊर्जा उत्पादन र रासायनिक प्रक्रियाहरू ठीकसँग भइरहेका छन् कि छैनन् भनेर रगत, पिसाब आदि परीक्षणबाट जाँच गर्ने प्रक्रिया) र जेनेटिक टेस्टिङ (डीएनए तथा जीनमा कुनै आनुवंशिक परिवर्तन वा समस्या छ कि छैन भनेर जाँच गर्ने परीक्षण) उपलब्ध भएपछि अहिले धेरै बिरामीमा जीवित अवस्थामै रोगको शंका तथा निदान गर्न सम्भव भएको छ।
मुख्य लक्षणहरू:
लेइ सिन्ड्रोम प्रायः शिशु वा सानो बाल्यावस्थामा सुरु हुन्छ। धेरैजसो अवस्थामा जीवनको पहिलो दुई वर्षभित्र लक्षण देखा पर्छन्। तर केही बिरामीमा बाल्यावस्थाको पछिल्लो चरण, किशोरावस्था वा वयस्क अवस्थामा समेत लक्षण देखिन सक्छ।
प्रारम्भिक लक्षणहरूमा: बच्चाको विकास उमेरअनुसार नहुनु, पहिले सिकेका सीपहरू हराउँदै जानु, टाउको तथा शरीर सम्हाल्न कठिन हुनु, मांसपेशी कमजोर वा अत्यन्त नरम हुनु (हाइपोटोनिया), दूध वा खाना खान कठिन हुनु, निल्न समस्या हुनु, बारम्बार बान्ता हुनु, तौल तथा शारीरिक वृद्धि अपेक्षाअनुसार नहुनु, अत्यधिक कमजोरी, हिँडडुल तथा सन्तुलनमा समस्या, हातखुट्टामा अनियन्त्रित चाल वा मांसपेशी खुम्चिने समस्या, डिस्टोनिया अर्थात् शरीरका मांसपेशीहरू अनैच्छिक रूपमा असामान्य अवस्थामा जाने, अट्याक्सिया अर्थात् सन्तुलन र समन्वयमा समस्या, छारे रोग (सिजर), आँखाको चालमा असामान्यता, दृष्टिसम्बन्धी समस्या, श्रवण क्षमतामा कमी, श्वासप्रश्वासमा समस्या, निल्न तथा बोल्न कठिनाइ, कहिलेकाहीँ कब्जियत तथा अन्य पाचनसम्बन्धी समस्या देखिन सक्छन्।
‘जिन रिभ्युज’ मा प्रकाशित विभिन्न समूहका बिरामीहरूको तथ्याङ्कअनुसार डिभेलपमेन्टल डिले ७० प्रतिशतभन्दा बढी, हाइपोटोनिया करिब ६० प्रतिशत, डिभेलपमेन्टल रिग्रेसन करिब ५० प्रतिशत, स्पास्टिसिटी करिब ४० प्रतिशत तथा डिस्टोनिया (मांसपेशीहरू अनैच्छिक रूपमा कसिने वा असामान्य तरिकाले चल्ने अवस्था), अट्याक्सिया (शरीरको सन्तुलन र चालढाल मिलाउन कठिन हुने अवस्था), मसल विकनेस (मांसपेशीको कमजोरी) र एपिलेप्सी (मिर्गी रोग, पटक–पटक दौरा वा छारे रोगका झट्का आउने अवस्था) उल्लेख्य संख्यामा देखिएका छन्। यद्यपि यी प्रतिशतहरू सबै बिरामीमा समान रूपमा लागू हुँदैनन्।
लेइ सिन्ड्रोमको एउटा महत्त्वपूर्ण विशेषता भनेको इन्फेक्सन (शरीरमा हानिकारक जीवाणु, भाइरस, फङ्गस आदि प्रवेश गरी संक्रमण हुने अवस्था) वा अन्य शारीरिक तनावपछि अवस्था अचानक बिग्रन सक्नु हो। ज्वरो आउने संक्रमण, शल्यक्रिया, लामो समयसम्म खाना नखानु वा शरीरमा मेटाबोलिक स्ट्रेस (शरीरको चयापचय प्रक्रियामा पर्ने अतिरिक्त दबाब) वा तनाव पर्दा माइटोकन्ड्रियाको ऊर्जा उत्पादनमा थप दबाब पर्न सक्छ। त्यसपछि बच्चाले पहिले हासिल गरिसकेको कुनै सीप, जस्तै बस्ने, हिँड्ने, बोल्ने वा खाना खाने क्षमता, अचानक गुमाउन सक्छ। यस्तो अवस्थालाई डिभेलपमेन्टल रिग्रेसन भनिन्छ। केही अवस्थामा केही सुधार देखिए पनि पहिलेको विकासस्तर पूर्ण रूपमा फर्किन नसक्ने हुन्छ।
पहिचान: लेइ सिन्ड्रोमको निदान/पहिचान एउटै परीक्षणबाट मात्र हुँदैन। चिकित्सकले बिरामीको इतिहास, शारीरिक लक्षण, मेटाबोलिक परीक्षण, एमआरआई तथा वंशाणुगत/आनुवंशिक परीक्षण लगायतका सूचनालाई एकसाथ हेर्छन्।
रगत या सेरेब्रोस्पाइनल फ्लुइड (सीएसएफ) (मस्तिष्क र मेरुदण्डलाई घेरेर रहने विशेष तरल पदार्थ) मा ल्याक्टेट (ल्याक्टिक एसिडबाट बन्ने पदार्थ, जुन शरीरमा ऊर्जा उत्पादनसँग सम्बन्धित हुन्छ) बढेको देखिन सक्छ। तर ल्याक्टेट सामान्य हुनु मात्रले लेइ सिन्ड्रोमलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। ब्रेन एमआरआई (मस्तिष्कको एमआरआई परीक्षण) मा बेसल ग्याङ्ग्लिया (मस्तिष्कको भित्री भागमा रहेको स्नायु संरचनाहरूको समूह) वा ब्रेनस्टेम (मस्तिष्कको तल्लो भाग, जसले मस्तिष्कलाई मेरुदण्डसँग जोड्छ) लगायतका क्षेत्रमा विशेष प्रकारका परिवर्तन देखिन सक्छन्।
आजकल वंशाणुगत/आनुवंशिक परीक्षणको भूमिका निकै महत्त्वपूर्ण बनेको छ। विभिन्न न्युक्लियर जीन्स (कोशिकाको केन्द्रकमा रहेका जीनहरू) तथा माइटोकन्ड्रियामा पाइने आनुवंशिक पदार्थमा प्याथोजेनिक भेरियन्ट्स (रोग निम्त्याउन सक्ने आनुवंशिक परिवर्तनहरू) खोज्न मल्टिजिन प्यानल (एकैपटक धेरै जीनहरूको परीक्षण), माइटोकन्ड्रियल डीएनामा भएका आनुवंशिक परिवर्तन जाँच्ने परीक्षण वा जीनोमको व्यापक रूपमा आनुवंशिक परीक्षण गर्ने प्रक्रिया प्रयोग गर्न सकिन्छ।
विश्वव्यापी अवस्था: लेइ सिन्ड्रोम अत्यन्त दुर्लभ रोग हो। विभिन्न देशमा गरिएका अध्ययनका आधारमा यसको व्यापकता फरक देखिएको छ। ‘जिन–रिभ्युज’ का अनुसार दक्षिण–पूर्वी अस्ट्रेलियामा लेइ सिन्ड्रोम करिब ७७,००० शिशुमा १ जना र लेइ सिन्ड्रोम विविधताको जन्मदर कम्तीमा ४०,००० मा १ अनुमान गरिएको थियो। पश्चिमी स्वीडेनमा विद्यालय जानुअघि उमेरका बालबालिकामा लगभग ३४,००० मा १ देखिएको अध्ययन छ। त्यसैले समग्र लेइ सिन्ड्रोमको दायराको व्यापकता करिब ३०,०००–४०,००० मानिसमा १ को आसपास हुन सक्छ।
विश्वभर अहिले कति जना लेइ सिन्ड्रोम भएका छन् भन्ने ठ्याक्कै संख्या उपलब्ध छैन। दुर्लभ रोग भएकाले धेरै देशमा राष्ट्रिय अभिलेख छैन, निदान गर्ने सुविधा सबै ठाउँमा समान छैन र आनुवंशिक परीक्षण महँगो तथा सीमित हुन सक्छ। त्यसैले उपलब्ध संख्या वास्तविकभन्दा कम हुन सक्ने सम्भावना हुन्छ।
नेपालमा लेइ सिन्ड्रोमको अवस्था
नेपालमा पनि लेइ सिन्ड्रोम पूर्ण रूपमा अपरिचित रोग भने होइन। यसको एउटा महत्त्वपूर्ण उदाहरण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंका चिकित्सकहरूले प्रकाशित गरेको केस रिपोर्ट (रोगीको चिकित्सकीय विवरण) हो।
सन् २०२० मा ‘जर्नल अफ इन्स्टिच्युट अफ मेडिसिन नेपाल’ मा “किशोरीमा लेइ सिन्ड्रोम : एक चिकित्सकीय केस रिपोर्ट” शीर्षकमा एक किशोरीको केस प्रकाशित गरिएको थियो। ती किशोरीमा सामान्यीकृत डिस्टोनिया (शरीरका धेरै भागका मांसपेशीमा अनैच्छिक संकुचन भई शरीर असामान्य रूपमा बाङ्गिने वा कडिने अवस्था) र संज्ञानात्मक क्षमतामा ह्रास (सोच्ने, सम्झने, बुझ्ने, सिक्ने वा निर्णय गर्ने क्षमतामा कमी आउनु) देखिएको थियो। एमआरआईमा बेसल ग्याङ्ग्लिया लगायतका क्षेत्रमा क्रमशः सममित / दुवैतर्फ समान परिवर्तन देखिएको र मस्तिष्क–मेरुदण्डीय द्रवमा ल्याक्टेटको मात्रा बढेको थियो। त्यस अवस्थामा आनुवंशिक परीक्षण गर्न सकिएको थिएन, तर बिरामीको रोगसम्बन्धी चिकित्सकीय इतिहास, एमआरआई र सीटी स्क्यानको रिपोर्ट र मस्तिष्क–मेरुदण्डीय द्रवको परीक्षण नतिजाका आधारमा नेपालमा लेइ सिन्ड्रोमको निदान (पहिचान) गरिएको थियो।
यसले नेपालमा चिकित्सकहरूले यस्तो दुर्लभ माइटोकन्ड्रियासम्बन्धी विकार पहिचान गर्न सक्ने क्षमता रहेको देखाउँछ। तर एउटै प्रकाशित केस रिपोर्टबाट नेपालमा यसको वास्तविक व्यापकता कति छ भनेर निष्कर्ष निकाल्न सकिँदैन। नेपालमा लेइ सिन्ड्रोमका कति बिरामी छन् भन्ने भरपर्दो राष्ट्रिय तथ्याङ्क हाल उपलब्ध देखिँदैन। यसको एउटा कारण दुर्लभ रोगका लागि व्यवस्थित राष्ट्रिय अभिलेखको अभाव र अर्को कारण आनुवंशिक तथा माइटोकन्ड्रियासम्बन्धी परीक्षणको सीमित पहुँच हुन सक्छ। त्यसैले नेपालमा यस रोगका धेरै केसहरू पहिचान नै नभएका वा अन्य स्नायु तथा मेटाबोलिकसम्बन्धी विकार (समस्या) हरूको नाममा वर्गीकृत भएका हुन सक्छन्।
उपचार: हाल लेइ सिन्ड्रोमका सबै आनुवंशिक कारणलाई पूर्ण रूपमा निको पार्ने एउटै उपचार उपलब्ध छैन। उपचार मुख्यतः सहायक/सहयोगात्मक तथा कारणअनुसार लक्षित व्यवस्थापनमा आधारित हुन्छ।
लक्षणअनुसार सिजर (दौरा/झट्का आउने अवस्था) नियन्त्रण गर्ने औषधि, पोषण तथा खाना खुवाउन सहयोग, फिजियोथेरापी, दैनिक क्रियाकलापमा सक्षम बनाउने उपचार, वाक् उपचार/बोलीसम्बन्धी उपचार, श्वासप्रश्वाससम्बन्धी हेरचाह, मुटुसम्बन्धी हेरचाह तथा मेटाबोलिक समस्या व्यवस्थापन गरिन्छ। केही विशिष्ट आनुवंशिक/मेटाबोलिक कारणमा लक्षित उपचार उपयोगी हुन सक्छ। त्यसैले रोगको छिटो पहिचान, आनुवंशिक निदान, बहुविषयगत हेरचाह र परिवारलाई आनुवंशिक परामर्श उपलब्ध गराउनु महत्त्वपूर्ण हुन्छ।
अन्त्यमा: लेइ सिन्ड्रोम दुर्लभ भए पनि यसको प्रभाव अत्यन्त गम्भीर हुन सक्छ। यो केवल एउटा स्नायु प्रणालीसम्बन्धी समस्या होइन, शरीरका कोषिकाले ऊर्जा उत्पादन गर्ने प्रक्रियासँग सम्बन्धित आनुवंशिक तथा माइटोकन्ड्रियासम्बन्धी विकार हो। यसका लक्षण प्रायः बाल्यावस्थामै देखिन्छन् र विकासमा ढिलाइ, विकास भइसकेका सीप हराउनु, मांसपेशी कमजोरी, मुभमेन्ट डिसअर्डर र सिजर, निल्न तथा श्वासप्रश्वासमा समस्या आदि विभिन्न रूपमा प्रस्तुत हुन सक्छन्।
सन् १९५१ मा डेनिस लेइले पहिलोपटक यसको चिकित्सकीय विवरण प्रकाशित गरेदेखि आजसम्म यस रोगबारे विज्ञानले निकै ठूलो प्रगति गरेको छ। विशेषगरी एमआरआई र आधुनिक आनुवंशिक अनुक्रमणले रोग पहिचान गर्ने बाटो धेरै फराकिलो बनाएको छ। अहिले लेइ सिन्ड्रोमको स्पेक्ट्रम दायरासँग सम्बन्धित १०० भन्दा बढी जीनबारे वैज्ञानिक जानकारी उपलब्ध भइसकेको छ।
नेपालमा पनि यसको पहिचान सम्भव छ भन्ने प्रमाण प्रकाशित चिकित्सकीय केस रिपोर्टले देखाइसकेको छ। अब आवश्यकता भनेको दुर्लभ रोगबारे चिकित्सक तथा स्वास्थ्यकर्मीको जागरूकता, आनुवंशिक तथा चयापचयसम्बन्धी परीक्षणको पहुँच, अनुसन्धान, राष्ट्रिय तथ्याङ्क संकलन र बिरामी तथा परिवारका लागि बहुविषयगत सहयोग बढाउनु हो। दुर्लभ रोग भएका परिवारका लागि सबैभन्दा ठूलो चुनौती रोगभन्दा पनि कहिलेकाहीँ रोगको सही पहिचान हुन लामो समय लाग्नु हुन सक्छ।