यो कस्तो विडम्बनापूर्ण! एक सन्त, निर्लोभ र इमान्दार चिकित्सकले देश र समाजका लागि पटकपटक ज्यानको बाजी लगाउनुपर्छ। दुई-चार पटक होइन, यो २५औँ सत्याग्रह हो, र २५औँ सत्याग्रहको पनि ७ औँ दिन बितिसक्यो। वास्तवमा यस्ता मुद्दाहरूको पैरवी गर्ने र स्थापित गर्ने काम राज्यकै हो, अझ भन्नुपर्दा देश र जनताको कल्याण गर्छौँ भन्ने राजनीतिककर्मीको हो। तर यहाँ त उल्टो भइरहेको छ।
राजनीतिक नेतृत्व र सरकारले चिकित्सा शिक्षा र स्वास्थ्यको गुणस्तर खस्काउने निर्णय गर्ने र त्यसलाई रोक्न डाक्टर केसी ज्यानै जोखिममा राखेर लड्ने स्थिति छ। यो सिलसिला आजमात्र भएको होइन, करिब २०६८ सालतिर नै सुरु भएको हो। त्यो बेला संविधान बनेको थिएन, २०७२ मा संविधान बन्यो, त्यसपछि सरकारहरू आए। तर चिकित्सा शिक्षामा बेथिति र गलत प्रहार रोकिएन, उहाँको सत्याग्रह जारी रह्यो। र फेरि जेनजी आन्दोलनपछि बनेको युवाहरूको सरकार बनेपछि पनि बयोवृद्ध डा. केसी पटकपटक संघर्षमा उत्रिनुपर्ने बाध्यता विडम्बनापूर्ण छ।
चिकित्सा शिक्षा र चिकित्सक उत्पादनको कुरा गर्दा पैसा कमाउन चिकित्सक उत्पादन गर्ने होइन, जनताको स्वास्थ्य सुनिश्चित गर्न के उचित हुन्छ भन्ने कुरालाई केन्द्रमा राखिनुपर्छ। नेपालमा पैसा कम छ, टन्न मेडिकल सिट वृद्धि गर्ने अनि अर्बौँ कमाउने भन्ने भ्रम केही medical व्यवसायीले छरेका छन्। पहुँचमा मेडिकल व्यवसायी हुँदा सरकार, कर्मचारीतन्त्र र नियामक निकायलाई उनीहरूले सजिलै विश्वासमा लिएका छन्। सरकारलाई पनि लाग्न सक्छ- साँच्चिकै प्रशस्त मेडिकल कलेज खोल्ने हो र टन्न विद्यार्थी-चिकित्सक पढाउने हो भने देशको आर्थिक उन्नति राम्रै होला। तर यो सत्य होइन।
मानिसको स्वास्थ्य उपचार गर्ने जस्तो संवेदनशील जनशक्ति तयार पार्दा गुणस्तरको पनि ख्याल राख्नुपर्ने हुन्छ। पढाइ गरिने मेडिकल कलेज र अस्पतालमा पर्याप्त बिरामीको प्रवाह हुन जरुरी छ। अहिलेकै पूर्वाधार र बिरामीको प्रवाह अनुसार कुनै पनि मेडिकल कलेजले १०० जनाभन्दा बढी विद्यार्थी एमबीबीएस र २० जनाभन्दा बढी बीडीएस पढाउन योग्य छैनन्। अधिकांश मेडिकल कलेजमा अहिले डेन्टलका विद्यार्थीले सिक्ने बखत र परीक्षामा आफैँ बिरामी खोजेर ल्याउनुपर्छ। गाउँ-गाउँमा गएर आफैँ बिरामी खोजेर ल्याएर मात्र प्रयोगात्मक काम गर्न पाइन्छ। परीक्षाको बेला पढाइ कम र बिरामी खोज्ने काम बढी गर्नुपर्छ। कतिपय बिरामीलाई त आफैँ केही खर्च, खानेकुरा दिएर अस्पतालसम्म ल्याउनुपर्छ। वार्डमा एउटा बिरामी भर्ना छ भने एउटाबराबर सिक्नका लागि सबै फ्याकल्टी र तहका गरेर १५-२० जनाभन्दा बढी विद्यार्थी हुन्छन्। यसरी कसरी दक्ष सीप उत्पादन होला? बिरामीको अभावमा कतिपय विद्यार्थीले आवश्यक अपरेसन र विधि प्रक्टिकल नगरी डिग्री पाउने समेत अवस्था विद्यमान छ। यसरी निस्केको चिकित्सकले भोलि आत्मविश्वासका साथ काम गर्ने अवस्था हुँदैन। यसले नेपालको स्वास्थ्यको गुणस्तर निकै खस्काउँछ।
अझ अर्को महत्त्वपूर्ण भनेको पर्याप्त संख्यामा उत्प्रेरित र दक्ष फ्याकल्टीको अभाव हो। धेरै मेडिकल कलेजमा आज पनि पूर्ण संख्यामा फ्याकल्टी छैनन्, केही पार्टटाइमर छन्। भएकामा पनि सबैमा आवश्यक पढाउने कला, तालिम र प्रोत्साहन छैन। आफैँ समयमा तलब नपाएर जोस-जाँगर छैन भने विद्यार्थीलाई राम्रोसँग सिकाउने कुरा कल्पना गर्न सकिंदैन।
त्यसैगरी, एैवटा कोठामा नै १००-१५० जना राखेर लेक्चर क्लास हुन्छ। त्यहाँ अधिकांशले राम्रोसँग सुन्न र बुझ्न सक्दैनन्। अनि कसरी राम्रो चिकित्सक उत्पादन हुन्छ? यस्तो बिजोक अवस्थामा समेत मेडिकल शिक्षामा विद्यार्थी सिट बढाउनुपर्छ भन्नु ठूलो भूल हो।
अर्कोतिर, यसरी उत्पादित चिकित्सक अब देशलाई आवश्यक छैन। माथेमा आयोग र चिकित्सा शिक्षा आयोगले गरेको प्रक्षेपणबमोजिम नेपालको जनसंख्याको अनुपातमा चाहिने चिकित्सक संख्या अहिले नै धेरै बढी भइसकेको छ। ३ करोड जनसंख्या हुँदा पनि नेपाललाई चाहिने चिकित्सक ३०-३२ हजार हो, तर अहिले उत्पादित चिकित्सक संख्या ४५ हजार पुग्न लागिसकेको छ। अझ करिब १ करोड जनसंख्या विदेशमा छन्। यो हिसाबले त नेपालमा चाहिनेभन्दा १०-१३ हजार चिकित्सक बढी उत्पादन भइसके। अझै यही वा बढाएर चिकित्सक पढाउने हो भने अबको ५ वर्षमा नेपालमा २५-३० हजार चिकित्सक आवश्यकभन्दा बढी हुन्छन्। यसो गर्दा देशको स्वास्थ्य व्यवस्था गम्भीर संकटमा फस्न जान्छ।
यसरी चाहिनेभन्दा अधिक चिकित्सक उत्पादन हुँदा सबैभन्दा धेरै मारमा नेपाली जनता र उत्पादित चिकित्सक नै पर्छन्। धेरै चिकित्सक उत्पादन हुँदा पहिलो- गुणस्तर कम भएर र दोस्रो- अस्वस्थ प्रतिस्पर्धा भएर जनताले राम्रो उपचार पाउँदैनन्, कहिलेकाहीँ ज्यान नै जोखिममा पर्न सक्छ। अर्कोतर्फ, उत्पादित चिकित्सक बेरोजगार र निम्न तलबमा काम गर्न बाध्य हुन्छन्। आजको दिनसमेत धेरै चिकित्सकलाई जागिर पाउन गाह्रो छ। त्यसैगरी, प्लस टु पछि १०-१५ वर्ष लगाएर एमडी, डीएम गरेर समेत ६०-७० हजार मासिक तलबमा काम गर्न बाध्य छन्। १० वर्ष समय, ५०-६० लाख खर्च, अनि कमाइ दिनको करिब २ हजारभन्दा कम! अब भावी पुस्ताले चिकित्सा विधा किन पढ्ने भनेर सोच्ने बेला आइसकेको छ।
यस्तै समस्या रोक्नका लागि डा. गोविन्द केसीले पहिलेदेखि नै सत्याग्रह गर्दै आउनुभएको हो। आजभन्दा १२-१५ वर्ष पहिले एमडी पढ्न १ करोडमा बार्गेनिङ हुन्थ्यो भने एमबीबीएस ५० लाखमा, त्यो पनि जसले बढी रकम दियो उसको भर्ना हुन्थ्यो। उहाँले मेरिटका आधारमा भर्ना र शुल्क निर्धारण गर्न बाध्य पार्नुभयो। अहिलेको चिकित्सा शिक्षा आयोगसमेत उहाँकै अनशनको बलमा स्थापना भएको हो। केही हदसम्म अनियन्त्रित रूपमा बढेको सिट पनि उहाँकै बलमा नियन्त्रण भएको थियो। उहाँको संघर्ष नहुँदो हो त आज नेपालमा अरू १० वटा मेडिकल कलेज खुलिसक्थे भने ६० हजारभन्दा बढी चिकित्सक उत्पादन भइसकेका हुन्थे, अवस्था भयावह हुन्थ्यो। चिकित्सकले ट्याक्सी चलाउनेबाहेक विकल्प रहन्नथ्यो। उहाँले गर्दा यो क्रम केही हदसम्म रोकिएको थियो, तर फेरि उही बाटो समात्ने संकेत देखेर उहाँको सत्याग्रह फेरि सुरु भएको हो।
यस्तो चिकित्सक चाहिँदै नचाहिने अवस्थामा सरकारी तथा निजी कुनै संस्थामा पनि विद्यार्थी संख्या वृद्धि गर्नुहुँदैन। अहिले सरकारी संस्था त हो भनेर बिनामापदण्ड भएभरको सिट केही सरकारी संस्थालाई दिइँदै आएको छ। गेटातिरका कुरा पनि त्यस्तै हुन्। डाक्टर केसीले पश्चिमको विकासमा रोक लगाए भनेर सुदूरपश्चिमका केही मानिसहरू असन्तुष्ट देखिन्छन्। उनीहरूले के बुझ्न जरुरी छ भने डडेल्धुरा अस्पतालमा मेडिकल पढाइ सुरु गराउन र गेटा अस्पताललाई सुरु गराउनमा डा. केसीको पटकपटकको सत्याग्रहको ठूलो योगदान छ। गेटासम्बन्धी विषयमा असन्तुष्टहरूले यथार्थ कुरा बुझ्न जरुरी छ। भावनात्मक भएर मेडिकल पढाइ सुरु गर्नासाथ पश्चिमको कायापलट हुन्छ भनेर बुझ्नु गलत हो। पूर्वाधार र तयारी नगरी सुरु गरिने मेडिकल शिक्षा पिलरबिनाको घरजस्तै हो, जुन हावाहुरी आउँदा समेत गर्ल्यामगुर्लुम ढल्न सक्छ। के पिलरबिना घर बनाउने अथवा गतिलो पिलरबिना कर्णाली चिसापानीको जस्तो पुल बनाउने कुरामा तपाईँहरू सहमत हुनुहुन्छ? पिलरबिना बनाइएको पुलमा गाडी लिएर जानुहुन्छ? त्यस्तै हो मेडिकल शिक्षा पनि। ३ वर्ष, ३०० बेडको अस्पताल नचली र पर्याप्त फ्याकल्टी व्यवस्था नभई एमबीबीएस पढाउँदा गुणस्तर एकदम खस्किन्छ, उत्पादित जनशक्तिबाट अपरेसन गराउन तपाईँलाई डर लाग्नेछ। तसर्थ, केही समय कुर्नुस्, डाक्टर केसीले भनेझैँ सबै आवश्यकता पूरा गरेर मात्र पढाइ सुचारु गर्नुहोस।
डाक्टर केसी समाजले नचिनेका हीरा हुन्। आज उहाँको स्वास्थ्य निकै नाजुक बनिसकेको छ। अहिलेको सरकार र सत्तारूढ दलमा धेरै जना डा. केसीका अनुयायी र शुभचिन्तक हुनुहुन्छ। तत्काल उहाँका जायज माग पूरा गरी डा. केसीको जीवनरक्षा र स्वास्थ्य शिक्षाको बर्बादी रोक्न सबैमा आग्रह गर्दछु।