काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थको ऐतिहासिक, पौराणिक र पर्यावरणीय वैभवलाई संघीय र प्रादेशिक नीतिसँग जोडेर अन्तर्राष्ट्रिय ‘वेलनेस हब’ का रूपमा विकास गर्न सके नेपालको आरोग्य पर्यटनमा नयाँ युगको सुरुवात हुनेछ।
आधुनिक विश्वको तीव्र सहरीकरण, व्यस्त जीवनशैली, वातावरणीय प्रदूषण र मानसिक तनावका कारण नसर्ने रोगको प्रकोप विश्वव्यापी चुनौती बनेको छ। रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने निरोधात्मक (प्रिभेन्टिभ) र प्रवर्द्धनात्मक (प्रोमोटिभ) स्वास्थ्य पद्धतिप्रति विश्व समुदाय आकर्षित भइरहेको छ। यही विश्वव्यापी मागलाई सम्बोधन गर्दै नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य पर्यटन वर्ष’ र आगामी दश वर्ष (सन् २०२६–२०३५) लाई ‘आरोग्य पर्यटन दशक’ का रूपमा मनाउने दूरदर्शी राष्ट्रिय सङ्कल्प अघि सारेको छ। हिमालयको काखमा अवस्थित नेपालको प्राचीन आयुर्वेद, योग, ध्यान, प्राकृतिक चिकित्सा र आध्यात्मिक परम्परालाई विश्व पर्यटन बजारमा स्थापित गर्ने यस राष्ट्रिय अभियानको ठोस स्थानीय आधार काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ स्थित ऐतिहासिक ‘मातातीर्थ’ बन्न सक्ने प्रचुर सम्भावना देखिएको छ।
पौराणिक तपोभूमि र हिमशृङ्खलाको अनुपम संगम
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिम सिमानामा चम्पादेवी र चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा अवस्थित मातातीर्थ केवल एक भौगोलिक स्थान मात्र होइन, यो पूर्वीय दर्शन र मातृभक्तिको जीवन्त तपोभूमि हो। समुद्री सतहदेखि करिब १,५०० मिटरको उचाइमा रहेको यस क्षेत्रको स्वच्छ हावापानी, पानीका प्राकृतिक मुहान र घना हरियाली वनजङ्गलले यसलाई प्रकृतिको खुल्ला चिकित्सालयका रूपमा स्थापित गरेको छ। वैशाख कृष्ण औँसीका दिन लाखौँ श्रद्धालुले मातृस्मृतिमा स्नान गर्ने पवित्र मातातीर्थ कुण्ड, वैकुण्ठ धाम र श्री स्वस्थानी व्रतकथासँग जोडिएको चन्द्रागिरि पर्वतको भालेश्वर महादेव मन्दिरले यस क्षेत्रको आध्यात्मिक ऊर्जालाई युगौँदेखि जीवन्त राखेका छन्।
प्राकृतिक सौन्दर्यका दृष्टिले पनि यो क्षेत्र अद्वितीय छ। मातातीर्थको उचाइ र यहाँबाट केबलकार वा पदमार्गमार्फत पुगिने चन्द्रागिरि डाँडा (२,५५१ मिटर) तथा दहचोकबाट विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहित अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ र गौरीशङ्कर हिमशृङ्खलाको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। काठमाडौँको कोलाहल र वायु प्रदूषणबाट मात्र केही किलोमिटरको दूरीमा रहेर पनि हिमाल हेर्दै स्वच्छ हावामा योग, ध्यान र पञ्चकर्म गर्न पाउनु अन्तर्राष्ट्रिय पर्यटकका लागि दुर्लभ अवसर हो।
विस्मृत औद्योगिक विरासत : रोपवे र मोटर रेलवेको इतिहास
मातातीर्थको ऐतिहासिक महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन; यो नेपालको आधुनिक यातायात तथा इन्जिनियरिङ इतिहासको साक्षी पनि हो। वि.सं. १९७९ (सन् १९२२) मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले मकवानपुरको धोर्सिङदेखि चिसापानीगढी र चन्द्रागिरि डाँडा हुँदै काठमाडौँको मातातीर्थ (नम्बर १० स्टेसन) सम्म करिब २२ किलोमिटर लामो रोपवे निर्माण गराएका थिए। पछि सन् १९६४ मा अमेरिकी सहयोगमा हेटौँडासम्म ४२ किलोमिटर विस्तार गरिएको उक्त ऐतिहासिक रोपवेको काठमाडौँ प्रवेशद्वार मातातीर्थ नै थियो।
त्यसैगरी, रोपवेबाट मातातीर्थ झारिएका भारी सामान र निर्माण सामग्री काठमाडौँको मुख्य बजारसम्म ओसार्न वि.सं. १९८८ (सन् १९३१) मा ‘मातातीर्थ–बल्खु–टेकु मोटर रेलवे’ सञ्चालनमा ल्याइएको थियो। काठमाडौँ उपत्यकाभित्र चलेको त्यो पहिलो रेल सेवाको ऐतिहासिक अवशेष, पुराना स्टेसनका संरचना र यातायात करिडोरलाई संरक्षण गरी ‘आरोग्य सम्पदा सङ्ग्रहालय’ (Wellness & Heritage Museum) का रूपमा विकास गर्न सकेमा यसले अन्तर्राष्ट्रिय शोधकर्ता र पर्यटकलाई थप आकर्षित गर्नेछ।
सार्वजनिक–निजी–सामुदायिक साझेदारीको सुदृढ आधार
चन्द्रागिरि नगरपालिकाले मातातीर्थलाई अन्तर्राष्ट्रिय ‘आरोग्य ग्राम’ बनाउने रणनीति शून्यबाट सुरु गरेको होइन। यहाँ सार्वजनिक, अन्तर्राष्ट्रिय र निजी क्षेत्रको लगानीमा बलियो पूर्वाधार तयार भइसकेको छ। पन्ध्र शय्यामा स्तरोन्नति भई ‘तेह्रौँ हेल्थ अवार्ड’ मा देशकै सर्वोत्कृष्ट आयुर्वेद संस्था घोषित ‘मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल’ ले पञ्चकर्म, शिरोधारा, अग्निकर्म शल्यचिकित्सा र जीवनशैलीजन्य रोगको विशेषज्ञ उपचार दिइरहेको छ। यसैसँग जोडिने गरी सामुदायिक वनमा पाइने सुगन्धवाल, चिराइतो, गुर्जो, लौठसल्ला, पाखानवेद र टिमुरजस्ता बहुमूल्य जडीबुटीको संरक्षण र प्रशोधनका लागि ‘मातातीर्थ आयुर्वेद जडीबुटी उद्यान तथा प्रशोधन केन्द्र’ स्थापना गर्ने कार्य अघि बढेको छ।
अन्तर्राष्ट्रिय साझेदारी र नमुना पूर्वाधार
संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) को ‘सिटिज फर वुमन’ परियोजना र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा कञ्चनबस्तीमा निर्मित ‘मातातीर्थ आरोग्य पार्क’ तथा दिगो विकास लक्ष्य (SDGs) स्थानीयकरणसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनहरूले मातातीर्थलाई दक्षिण एसियाकै नमुना वेलनेस गन्तव्यका रूपमा प्रमाणित गरेका छन्।
यस अभियानमा निजी क्षेत्रको योगदान उत्तिकै प्रशंसनीय छ। मातातीर्थको हरित वनको काखमा सञ्चालित ‘जङ्गल महल वेलनेस रिसोर्ट’ ले अन्तर्राष्ट्रियस्तरको आयुर्वेदिक डिटक्स, ध्वनि चिकित्सा (साउन्ड हिलिङ) र वन स्नान (फरेस्ट बाथिङ) मार्फत विदेशी पर्यटक भित्र्याइरहेको छ। त्यस्तै, चन्द्रागिरि डाँडामा अवस्थित ‘चन्द्रागिरि हिल्स रिसोर्ट’, भस्मासुर डाँडाको काखमा पूर्ण योग र अर्गानिक जीवनशैली अभ्यास गरिरहेको ‘श्री अरविन्दो योग मन्दिर’, ‘मण्डला योग रिट्रिट’ र ‘नाद निर्वाण योग’ जस्ता संस्थाहरूले चन्द्रागिरिलाई काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो योग तथा ध्यान क्लस्टर बनाएका छन्।
‘हब एन्ड स्पोक’ मोडेल र विशेष आरोग्य प्याकेज
मातातीर्थलाई मुख्य केन्द्र (हब) मानेर चन्द्रागिरि नगरपालिकाका अन्य १४ वटै वडाका सम्पदाहरूलाई उपकेन्द्र (स्पोक) का रूपमा जोड्न सकिन्छ। मातातीर्थ कुण्डमा स्नान गर्ने पर्यटकलाई मच्छेगाउँको ऐतिहासिक मत्स्यनारायण मन्दिर, सतुङ्गलको विष्णुदेवी, बलम्बुको महालक्ष्मी, ऐतिहासिक दहचोकको इन्द्रदह र बाडभञ्ज्याङको सामुदायिक वनसम्मको पदमार्गमा जोड्दा सम्पूर्ण नगरपालिका एक खुला आरोग्य करिडोर बन्नेछ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हामीले उच्च खर्च गर्ने वेलनेस पर्यटक, दीर्घरोग तथा तनाव व्यवस्थापन खोज्ने कर्पोरेट पेसाकर्मी, योग साधक र आध्यात्मिक शोधकर्तालाई लक्षित गरी विशेष प्याकेज तयार पारिरहेका छौँ। जसमा तीनदिने ‘हिमालयन डिटक्स तथा तनाव निवारण प्याकेज’, सातदिने ‘सम्पदा, जडीबुटी र वन स्नान प्याकेज’ तथा चौधदिने ‘शास्त्रीय आयुर्वेद पञ्चकर्म र पूर्ण योग साधना प्याकेज’ समावेश छन्। यसले स्थानीय युवाका लागि आयुर्वेद चिकित्सक, थेरापिस्ट, योग प्रशिक्षक र नेचर गाइडका रूपमा प्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै बाडभञ्ज्याङ, मातातीर्थ र नैकाप क्षेत्रका कृषकको अर्गानिक तरकारी, कोदो, फापर, मह र जडीबुटी खेतीलाई घरदैलोमै उच्च मूल्यको बजार सुनिश्चित गर्नेछ।
संघीय र प्रादेशिक सरकारको अपरिहार्य भूमिका
चन्द्रागिरि नगरपालिकाको एकल प्रयास र सीमित स्रोतले मात्र मातातीर्थलाई अन्तर्राष्ट्रियस्तरको आरोग्य ग्राममा रूपान्तरण गर्न सम्भव छैन। नेपाल सरकारको ‘आरोग्य पर्यटन वर्ष २०२७’ र ‘आरोग्य पर्यटन दशक’ लाई मूर्त रूप दिन संघीय तथा बागमती प्रदेश सरकारको नीतिगत, कानुनी र बजेटरी साझेदारी अपरिहार्य छ।
पहिलो, संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातातीर्थ क्षेत्रलाई ‘राष्ट्रिय आरोग्य पर्यटन विशेष क्षेत्र’ (स्पेसल वेलनेस जोन) घोषणा गरी गुरुयोजना कार्यान्वयनका लागि बहुवर्षीय बजेट विनियोजन गर्नुपर्छ। दोस्रो, बागमती प्रदेश सरकारको पर्यटन तथा स्वास्थ्य मन्त्रालयले मातातीर्थ आयुर्वेद अस्पतालको भौतिक विस्तार, जडीबुटी प्रशोधन केन्द्रको आधुनिक प्रयोगशाला स्थापना र अन्तर वडा आरोग्य पदमार्ग निर्माणमा साझेदारी गर्नुपर्छ। तेस्रो, मातातीर्थ र आसपासको वन क्षेत्रको पर्यावरण जोगाउन अव्यवस्थित जग्गा खण्डीकरण (प्लटिङ) रोक्ने, ऐतिहासिक रोपवे र रेल्वे अवशेषको संरक्षण गर्ने तथा अन्तर्राष्ट्रिय वेलनेस सम्मेलन आयोजना गरी विश्व पर्यटन बजारमा ‘मातातीर्थ ब्रान्ड’ प्रवर्द्धन गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक छ।
निष्कर्ष
मातातीर्थलाई अन्तर्राष्ट्रिय आरोग्य ग्राम बनाउने परिकल्पना केवल एक वडाको भौतिक विकास मात्र होइन, यो समग्र नेपालको आरोग्य पर्यटन अर्थतन्त्रलाई गति दिने राष्ट्रिय अवसर हो। मातातीर्थको पौराणिक तपोभूमि, विस्मृत रेल र रोपवेको ऐतिहासिक विरासत, हिमशृङ्खलाको काख र यहाँ निर्मित सार्वजनिक तथा निजी क्षेत्रका वेलनेस पूर्वाधारलाई संघीय र प्रादेशिक सरकारको नीतिगत आडभरोसा मिल्ने हो भने चन्द्रागिरि–८ विश्व मानचित्रमै ‘हिमालयन वेलनेस राजधानी’ का रूपमा स्थापित हुनेछ। तसर्थ, आसन्न ‘आरोग्य पर्यटन वर्ष २०२७’ को पूर्वसन्ध्यामा तीनै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदाय एकजुट भई यो ऐतिहासिक अभियानलाई साकार पार्नु आजको राष्ट्रिय आवश्यकता हो।
-(लेखक नारायण प्रसाद आचार्य मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालका प्रमुख हुन्।)