नेपालमा वंश परम्परा र पैतृक सम्पत्तिलाई परिवारको निरन्तरतासँग जोडेर हेर्ने सामाजिक मान्यता अझै बलियो छ। यस्तो समाजमा सन्तान जन्माउन नसक्ने अवस्थालाई धेरैले चिकित्सकीय समस्याका रूपमा भन्दा व्यक्तिगत कमजोरीका रूपमा हेर्ने गर्छन्। बाँझोपन एउटा चिकित्सकीय अवस्था हो, तर यसको असर शरीरमा मात्र सीमित हुँदैन। यसले व्यक्तिको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक जीवनलाई समेत प्रभावित गर्छ। विशेषगरी महिलाहरूले यसको ठूलो सामाजिक मूल्य चुकाउनुपर्छ। सन्तान नहुनुको कारण जे भए पनि दोष प्रायः महिलामाथि नै लगाइन्छ। परिवार र आफन्तबाट आउने प्रश्न, सामाजिक दबाब, विभिन्न पारिवारिक तथा धार्मिक गतिविधिमा गरिने विभेद र सम्बन्धमा उत्पन्न हुने तनावले उनीहरूको पीडालाई थप गहिरो बनाउँछ। कतिपय अवस्थामा यसले वैवाहिक सम्बन्ध र दैनिक जीवनसमेत प्रभावित गर्छ।
यो समस्या समाजको गलत बुझाइमा मात्र सीमित छैन। बाँझोपनसम्बन्धी सेवाको सीमित पहुँच, पर्याप्त तथ्याङ्कको अभाव र यसबारे खुलेर छलफल नहुनुले प्रभावित परिवारको समस्या थप जटिल बनाएको छ। यति धेरै परिवारको जीवनमा प्रत्यक्ष असर पारिरहेको विषय अझै पनि नेपालको सार्वजनिक स्वास्थ्य बहसमा अपेक्षित प्राथमिकतामा पर्न सकेको छैन। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ: के नेपालले बाँझोपनलाई स्वास्थ्य समस्याका रूपमा स्वीकार गरेर त्यसअनुसार आवश्यक सेवा र संरक्षणको व्यवस्था गर्न सकेको छ?
नेपालले लैङ्गिक समानता र सबैका लागि स्वास्थ्य सेवाको पहुँच (Universal Health Coverage) सुनिश्चित गर्ने लक्ष्य राखिरहँदा बाँझोपनलाई नीतिगत प्राथमिकताबाट बाहिर राख्नु गम्भीर कमजोरी हो। प्रजनन स्वास्थ्यको अधिकार गर्भधारण रोक्ने वा सुरक्षित रूपमा सन्तान जन्माउने सेवामा मात्र सीमित हुनु हुँदैन। सन्तान प्राप्त गर्न कठिनाइ भोगिरहेका व्यक्तिहरूले पनि आवश्यक जानकारी, परामर्श, उपचार र सम्मान पाउनुपर्छ।
नेपालमा कति दम्पती बाँझोपनको समस्याबाट प्रभावित छन्? देशभर कति जनाले आइ.भी.एफ. (IVF) सेवा लिइरहेका छन्? र सबैभन्दा महत्त्वपूर्ण, नेपालमा आइ.भी.एफ. (IVF) उपचारको वास्तविक राष्ट्रिय सफलता दर कति छ? यी प्रश्नहरूको जवाफ दिन सक्ने भरपर्दो राष्ट्रिय तथ्याङ्क र एकीकृत अभिलेख प्रणाली नै उपलब्ध नभएको अवस्थामा निजी प्रजनन केन्द्रहरूका विज्ञापनमा देखिने सफलता र आश्वासनका दाबीहरू कुन प्रमाणमा आधारित छन्? राष्ट्रिय स्तरमा सफलता दरसमेत स्थापित नभएको देशमा 'सफलताको ग्यारेन्टी', 'उच्च सफलता दर' र 'निराश नहुनुहोस्, हामी छौँ' जस्ता सन्देशमार्फत प्रजनन उपचारको आशा बेच्ने अभ्यासमाथि प्रश्न उठाउनु पर्दैन?
यो समस्या समाजको गलत बुझाइमा मात्र सीमित छैन। बाँझोपनसम्बन्धी सेवाको सीमित पहुँच, पर्याप्त तथ्याङ्कको अभाव र यसबारे खुलेर छलफल नहुनुले प्रभावित परिवारको समस्या थप जटिल बनाएको छ। यति धेरै परिवारको जीवनमा प्रत्यक्ष असर पारिरहेको विषय अझै पनि नेपालको जन स्वास्थ्य बहसमा अपेक्षित प्राथमिकतामा पर्न सकेको छैन।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ जारी गर्दै बाँझोपन व्यवस्थापन सेवालाई व्यवस्थित र नियमन गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। यस मापदण्डले सेवा सञ्चालन, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, तथा प्रयोगशाला व्यवस्थाको विषयलाई समेटेको छ। तर मापदण्ड जारी हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु एउटै कुरा होइन। यसको कार्यान्वयन कसरी भइरहेको छ? सेवा प्रदायक संस्थाहरूले तोकिएका मापदण्ड पालना गरेका छन् कि छैनन्?
यस मापदण्डले पूर्वाधार, जनशक्ति र प्रयोगशालाको मापदण्ड तोके पनि उपचार शुल्क, गरिब तथा विपन्न बिरामीका लागि छुट वा सहुलियत, सफलता दरको प्रमाणमा आधारित सार्वजनिकीकरण, बिरामीको अधिकार र गुनासो सुनुवाइको कुनै स्पष्ट व्यवस्था गरेको छैन। त्यसैगरी, आइ.यू.आई. र आइ.भी.एफ. सेवा सञ्चालनका लागि मन्त्रालयको अनुमति अनिवार्य गरी स्थलगत निरीक्षणको व्यवस्था गरिए पनि कति संस्थाले अनुमति लिए, कति निरीक्षण भए र कति अनुमति अस्वीकृत भए भन्ने विवरण सार्वजनिक छैन। मापदण्डको कडाइ र त्यसको अनुगमनबारे जवाफदेहिता स्पष्ट नभएसम्म सेवाको गुणस्तर र बिरामीको सुरक्षा सुनिश्चित हुन गाह्रो छ। आफ्नो सन्तानको चाहनामा आर्थिक, शारीरिक र भावनात्मक रूपमा संघर्ष गरिरहेका दम्पतीहरूले प्रमाणमा आधारित जानकारी र पर्याप्त परामर्श पाएर उपचारको निर्णय गर्न पाउनु उनीहरूको अधिकार हो।
नेपालमा बाँझोपनको उपचार अझै पनि धेरैजसो परिवारका लागि आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने महँगो उपचार हो। एउटा आइ.भी.एफ. (IVF) चक्र पूरा गर्न लाग्ने खर्च कतिपय परिवारको वार्षिक आम्दानीभन्दा पनि बढी हुन सक्छ। सन्तान प्राप्तिको आशामा कतिपयले जग्गा धरौटी राख्छन्, आफन्त र चिनजानका मानिससँग चर्को ब्याजमा ऋण लिन्छन् वा वर्षौँदेखि जम्मा गरेको बचत खर्च गर्छन्। तर यति ठूलो आर्थिक जोखिम उठाउँदा पनि उपचार सफल हुने सम्भावना कति छ भन्नेबारे उनीहरूसँग पर्याप्त र स्पष्ट जानकारी हुँदैन। सुरुमा एक वा दुई पटकको उपचारले पुग्ला भन्ने सोचेर क्लिनिक पुग्ने धेरै दम्पतीले पछि थप उपचार चरण आवश्यक पर्न सक्ने र त्यसका लागि फेरि ठूलो रकम जुटाउनुपर्ने अवस्था सामना गर्छन्। उपचारको शुल्कमा प्रभावकारी नियमन नहुनु र क्लिनिकहरूले आफ्नो सफलता दर पारदर्शी रूपमा सार्वजनिक नगर्नुले यो समस्या अझ जटिल बनाएको छ। यस्तो अवस्थामा बिरामीले उपचारको वास्तविक सम्भावना, खर्च र जोखिमबारे कति जानकारी पाएर निर्णय गरिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
यी सबै आर्थिक र भावनात्मक तनावका बीच प्रजनन केन्द्रका प्रतीक्षालयमा बसेका दम्पतीहरू भने आफ्नो भविष्यको सपना देखिरहेका हुन्छन्। उनीहरूका लागि आइ.भी.एफ. (IVF) केवल एउटा चिकित्सकीय प्रक्रिया होइन, लामो समयदेखि पर्खिरहेको अभिभावकत्वको सम्भावना हो। तर यस यात्राको शारीरिक र सामाजिक भार महिलाले बढी भोग्नुपर्छ। हर्मोनसम्बन्धी औषधि, बारम्बारका परीक्षण, आक्रामक उपचार प्रक्रिया र असफलतापछिको निराशासँगै उनीहरूले समाजको दोषारोपणसमेत सामना गर्नुपर्छ। अर्कोतर्फ, उपचारका लागि आवश्यक पैसा जुटाउन नसक्नु र परिवारको अभिभावकत्वको चाहना पूरा गर्न नसक्नुको दबाब पुरुषहरूले पनि प्रायः व्यक्त नगरी सहिरहेका हुन्छन्। यसरी एउटै समस्याले दुवैलाई फरक तरिकाले प्रभावित गरिरहेको हुन्छ। उनीहरूका लागि आशा नै फेरि उपचार सुरु गर्ने आधार बन्छ, तर त्यही आशाले कहिलेकाहीँ थप ऋण, थप खर्च र थप निराशातर्फ पनि डोर्याउँछ।
यसरी आर्थिक भार, मानसिक तनाव र सामाजिक दबाबले दम्पतीहरूलाई यस्तो परिस्थितिमा पुर्याउँछ, जहाँ उपचार जारी राख्नु र उपचार छोड्नु दुवै कठिन निर्णय बन्न पुग्छन्। विडम्बना के छ भने, बाँझोपनसँग जोडिएका यी समस्या र यसले परिवारको जीवनमा पार्ने प्रभावबारे नीतिगत छलफलमा खासै ध्यान दिइएको पाइँदैन।
ग्रामीण क्षेत्रका दम्पतीहरूका लागि यो अवस्था अझ कठिन छ। उनीहरूलाई सामान्य स्वास्थ्य सेवा लिनसमेत समस्या हुने अवस्थामा बाँझोपनको उपचारका लागि सहर पुग्नु थप चुनौतीपूर्ण हुन्छ। लामो दूरीको यात्रा, यातायात र बसाइको खर्च तथा बारम्बार अस्पताल धाउनुपर्ने बाध्यताले उपचार झन् महँगो र कठिन बनाउँछ। आर्थिक अवस्था र भौगोलिक दूरीका कारण धेरै दम्पतीले उपचार सुरु नै गर्न पाउँदैनन् वा बीचमै छोड्न बाध्य हुन्छन्। उनीहरूले सन्तान नचाहेका होइनन्, उपचारसम्म पुग्ने सहज र किफायती विकल्प नपाएका हुन्। यो अवस्थाले नेपालको स्वास्थ्य प्रणालीमा रहेको एउटा महत्त्वपूर्ण असमानता देखाउँछ। प्रजनन स्वास्थ्य सेवाको कुरा गर्दा गर्भनिरोधक, गर्भावस्था र सुरक्षित प्रसूतिलाई मात्र समेटेर पुग्दैन। सन्तान प्राप्त गर्न कठिनाइ भोगिरहेका व्यक्तिहरूको उपचार र हेरचाह पनि त्यसको अभिन्न हिस्सा हुनुपर्छ।
नेपालमा बाँझोपनलाई सम्बोधन गर्नु केवल उपचार सेवा उपलब्ध गराउने विषय होइन। यो स्वास्थ्य सेवामा सबैको समान पहुँच, व्यक्तिगत सम्मान र प्रजनन अधिकारसँग जोडिएको विषय हो। बाँझोपनलाई जन स्वास्थ्यको प्राथमिकतामा राख्नुको अर्थ उपचार केन्द्र थप्नु मात्र होइन; यसबाट प्रभावित व्यक्तिहरूको समस्या पहिचान गर्नु, उनीहरूलाई आवश्यक परामर्श र उपचार उपलब्ध गराउनु तथा आर्थिक र सामाजिक रूपमा संरक्षण गर्नु पनि हो। लामो समयदेखि बेवास्ता गरिएका यी समस्यालाई सम्बोधन नगरी समावेशी स्वास्थ्य प्रणाली निर्माण गर्ने लक्ष्य पूरा हुन सक्दैन।
यसका लागि सरकारी स्तरबाट स्पष्ट नीतिगत प्रतिबद्धता र कार्यान्वयन आवश्यक छ। सबैभन्दा पहिले बाँझोपनलाई राष्ट्रिय जन स्वास्थ्य प्राथमिकताका रूपमा स्वीकार गरी यसको वास्तविक अवस्था बुझ्न आवश्यक तथ्याङ्क संकलन र अनुसन्धान गर्नुपर्छ। स्वास्थ्य संस्थाबाट आधारभूत परीक्षण, परामर्श र आवश्यक उपचारको व्यवस्था विस्तार गर्नुपर्छ। निजी प्रजनन केन्द्रहरूको प्रभावकारी नियमन, उपचार शुल्कमा पारदर्शिता, सफलता दरको प्रमाणमा आधारित सार्वजनिक विवरण र बिरामीको अधिकार तथा सुरक्षाको सुनिश्चितता पनि उत्तिकै आवश्यक छन्। उपचारका क्रममा बिरामीलाई आफ्नो स्वास्थ्य अवस्था, उपलब्ध विकल्प, सम्भावित सफलता र जोखिमबारे स्पष्ट जानकारी दिने व्यवस्था हुनुपर्छ।
अन्ततः प्रश्न केवल बाँझोपनको उपचार उपलब्ध छ कि छैन भन्ने होइन, त्यो उपचार कसका लागि उपलब्ध छ र त्यसमा पहुँच पाउन परिवारले कति मूल्य चुकाउनुपर्छ भन्ने पनि हो। जब उपचार प्रणालीमा पर्याप्त नियमन र जवाफदेहिता हुँदैन, तब बिरामीको विवशता र आशा नै व्यावसायिक लाभको माध्यम बन्न सक्छ। त्यसैले अब नेपालले बाँझोपनलाई व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्र हेर्न छोडेर सार्वजनिक स्वास्थ्यको गम्भीर विषयका रूपमा सम्बोधन गर्न आवश्यक छ। सन्तान प्राप्त गर्न नसक्नु कसैको व्यक्तिगत असफलता होइन, र त्यसका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनु पनि हुँदैन।