“A person who wants to find a solution to a public health problem has a different task than someone who wants to create or test a theory.”- Eldredge, Markham, Ruiter, Kok, & Parcel (2016, p. 8)
भूमिका
नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा अनुसन्धान गर्ने क्रम बढ्दो छ। विश्वविद्यालय, अनुसन्धान संस्था, सरकारी निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूबाट विभिन्न विषयमा अध्ययन भइरहेका छन्। यस्ता अनुसन्धानका नतिजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइरहेका छन्। यो आफैँमा सकारात्मक उपलब्धि हो। तर एउटा महत्वपूर्ण प्रश्न अझै विचारणीय छ: हामीले गरेका अनुसन्धानमध्ये कति अनुसन्धानका निष्कर्ष नीति निर्माणमा प्रयोग भएका छन्? कति सिफारिस वार्षिक योजना तथा बजेटमा समावेश भएका छन्? र कति अनुसन्धानले वास्तवमै सेवा प्रवाह तथा नागरिकको जीवनमा परिवर्तन ल्याउन सकेका छन्?
अनुसन्धानको सफलता प्रतिवेदन तयार हुनु वा जर्नलमा प्रकाशित हुनुमा मात्र सीमित हुँदैन। अनुसन्धानबाट प्राप्त ज्ञानले समस्या बुझ्न, निर्णय लिन, नीति सुधार गर्न र व्यवहार परिवर्तन गर्न कति सहयोग पुर्यायो भन्ने कुराले त्यसको वास्तविक महत्व निर्धारण गर्छ। यहीँनेर नेपालमा अनुसन्धान उत्पादन र त्यसको उपयोगबीचको खाडल अर्थात् Research-to-Policy and Implementation Gap लाई गम्भीरतापूर्वक हेर्नुपर्ने आवश्यकता छ।
Westerlund, Nilsen र Sundberg (2019) का अनुसार, स्वास्थ्य अनुसन्धानबाट प्राप्त प्रमाणलाई व्यवहारमा लागू गर्न नसक्नु एउटा चुनौती हो। यसका अतिरिक्त, प्रमाणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तरिका र प्रक्रियाबारे कार्यान्वयन विज्ञान (Implementation Science) ले विकास गरेका ज्ञान, ढाँचा र अवधारणासमेत व्यवहारमा पर्याप्त रूपमा प्रयोग हुन सकेका छैनन्। यसले अनुसन्धानका निष्कर्ष मात्र होइन, तिनलाई व्यवहारमा रूपान्तरण गर्ने ज्ञानसमेत अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रमै सीमित रहने जोखिम देखाउँछ।
अनुसन्धान प्रकाशन र प्रमाणको उपयोग एउटै कुरा होइन
अनुसन्धानले कुनै समस्या कति व्यापक छ, त्यसका कारण के हुन्, कुन समूह बढी जोखिममा छ र समस्या समाधानका सम्भावित उपाय के हुन सक्छन् भन्ने विषयमा प्रमाण उपलब्ध गराउँछ। तर ती प्रमाण नीति, योजना र कार्यक्रममा समावेश नभएसम्म अनुसन्धानको सम्भावित प्रभाव सीमित रहन्छ।उदाहरणका लागि, कुनै जिल्लामा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी समस्या उच्च रहेको अनुसन्धानले देखायो भने त्यसको उपयोग निष्कर्ष प्रकाशित गर्नुमा मात्र सीमित हुनु हुँदैन। उक्त प्रमाणका आधारमा स्थानीय तहको वार्षिक कार्यक्रममा विद्यालयस्तरीय मानसिक स्वास्थ्य सचेतना, प्रारम्भिक पहिचान, परामर्श सेवा तथा आवश्यक रेफरल प्रणाली विकास गर्न सकिन्छ। त्यसैगरी, कुनै क्षेत्रमा नसर्ने रोगको जोखिम बढिरहेको प्रमाणले स्वास्थ्य प्रवर्द्धन, नियमित स्क्रिनिङ र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिन सहयोग गर्न सक्छ।
यसको अर्थ अनुसन्धानको हरेक सिफारिस जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ भन्ने होइन। अनुसन्धानको गुणस्तर, सान्दर्भिकता, लागत, सम्भाव्यता र स्थानीय परिवेशका आधारमा त्यसको उपयोगिता मूल्याङ्कन गर्नुपर्छ। तर उपलब्ध अनुसन्धान प्रमाणलाई निर्णय प्रक्रियाबाट अलग राख्नु पनि उचित हुँदैन।
नेपालमा अनुसन्धान उपयोगको अवस्था
नेपालमा अनुसन्धान प्रमाणको उपयोगसम्बन्धी चुनौती नयाँ विषय होइन। धिमाल र सहलेखकहरू (२०१६) ले गरेको अध्ययनमा समीक्षा गरिएका ८३ स्वास्थ्यसम्बन्धी अनुसन्धान प्रतिवेदनमध्ये ४८ वटामा नीतिगत तथा कार्यक्रमगत सिफारिसहरू समावेश थिए। तीमध्ये ३५ प्रतिवेदनका सिफारिस नीति निर्माण प्रक्रियामा उपयोग भएको पाइएको थियो। यद्यपि, अनुसन्धानकर्ता र नीतिनिर्माताबीच प्रभावकारी सञ्चारको अभाव तथा अनुसन्धानको गुणस्तरसम्बन्धी चिन्तालाई प्रमाणको उपयोगमा प्रमुख अवरोधका रूपमा औँल्याइएको थियो।
त्यसैगरी, तिवारी र सहलेखकहरू (२०२१) को अध्ययनले नेपालका स्वास्थ्य अनुसन्धानकर्ता तथा नीतिनिर्माताका अनुभवका आधारमा अनुसन्धान प्रमाणको उपयोगमा रहेका विभिन्न चुनौती पहिचान गरेको छ। अध्ययनका सहभागीहरूले नीति निर्माणमा अनुसन्धान प्रमाणको प्रयोग हुने गरे पनि अपेक्षित स्तरमा नभएको बताएका थिए। अनुसन्धानकर्ता र नीतिनिर्माताबीच कमजोर सम्बन्ध, अनुसन्धानका निष्कर्षको प्रभावकारी प्रसारको अभाव, नीतिगत प्राथमिकतासँग मेल नखाने अनुसन्धान तथा व्यक्तिगत अनुभवमा आधारित निर्णयलाई बढी महत्व दिने प्रवृत्तिलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको थियो।यी अध्ययनहरूले एउटा महत्वपूर्ण पक्ष देखाउँछन्: नेपालमा अनुसन्धान भइरहेको छ र त्यसबाट सिफारिस पनि तयार भइरहेका छन्। तर ती सिफारिसलाई नीति, कार्यक्रम र कार्यान्वयनसँग जोड्ने प्रणाली अझै सुदृढ बनाउनुपर्ने देखिन्छ।
अनुसन्धान प्रमाणको उपयोगमा अवरोध कहाँ छन्?
अनुसन्धान र त्यसको उपयोगबीचको खाडलका पछाडि अनुसन्धानकर्ता, नीतिनिर्माता तथा कार्यान्वयन गर्ने निकायसँग सम्बन्धित विभिन्न चुनौती छन्।
१. अनुसन्धानको प्राथमिकता र नीतिगत आवश्यकताबीचको असन्तुलन
कतिपय अनुसन्धान अनुसन्धानकर्ताको शैक्षिक आवश्यकता, व्यक्तिगत रुचि वा उपलब्ध स्रोतका आधारमा सञ्चालन हुन्छन्। तर नीति तथा कार्यक्रम निर्माण गर्ने निकायलाई तत्काल आवश्यक पर्ने प्रश्नहरूमा पर्याप्त अनुसन्धान नहुन सक्छ। अनुसन्धानको विषय छनोट गर्दा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहका प्राथमिकता र वास्तविक आवश्यकतालाई ध्यान दिनु आवश्यक छ।
२. अनुसन्धानका निष्कर्षको प्रभावकारी प्रसार नहुनु
अनुसन्धान प्रतिवेदन वा वैज्ञानिक जर्नलमा प्रकाशित लेख सबै नीति निर्माता, कार्यक्रम व्यवस्थापक तथा स्थानीय तहका निर्णयकर्ताको पहुँचमा नहुन सक्छन्। लामो प्रतिवेदन, प्राविधिक भाषा र जटिल तथ्याङ्कले अनुसन्धानका निष्कर्ष बुझ्न कठिन बनाउन सक्छ। त्यसैले मुख्य निष्कर्ष र सिफारिसलाई सरल भाषामा नीतिगत सारांश, तथ्यपत्र तथा प्रस्तुतीकरणमार्फत सम्बन्धित निकायसम्म पुर्याउन आवश्यक छ।
३. अनुसन्धानकर्ता र निर्णयकर्ताबीच कमजोर समन्वय
अनुसन्धान सम्पन्न भएपछि मात्र सम्बन्धित निकायलाई जानकारी गराउने अभ्यासले अनुसन्धानको उपयोगिता सीमित बनाउन सक्छ। अनुसन्धानको विषय छनोटदेखि नतिजा विश्लेषण र सिफारिस तयार गर्ने चरणसम्म नीति निर्माता तथा कार्यक्रम कार्यान्वयनकर्ताको सहभागिता आवश्यक हुन्छ। यसले अनुसन्धानलाई वास्तविक आवश्यकता र कार्यान्वयनको सम्भावनासँग जोड्न सहयोग गर्छ।
४. अनुसन्धानको गुणस्तर र स्थानीय सान्दर्भिकता
कुनै एक स्थानमा गरिएको अनुसन्धानको निष्कर्ष अर्को स्थानमा जस्ताको तस्तै लागू नहुन सक्छ। नमुना छनोट, अनुसन्धान विधि, अध्ययनका सीमा, लागत तथा स्थानीय सामाजिक-सांस्कृतिक अवस्थालाई विचार नगरी अनुसन्धानका निष्कर्ष लागू गर्दा अपेक्षित परिणाम नआउन सक्छ। त्यसैले प्रमाणको उपयोग गर्दा त्यसको गुणस्तर र सान्दर्भिकता दुवै मूल्याङ्कन गर्नुपर्छ।
५. कार्यान्वयनका लागि स्रोत र जिम्मेवारीको अस्पष्टता
अनुसन्धानले समस्या र सम्भावित समाधान पहिचान गरे पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक बजेट, जनशक्ति, संस्थागत जिम्मेवारी र समयसीमा स्पष्ट नहुँदा सिफारिस प्रतिवेदनमै सीमित हुन सक्छ। अनुसन्धानको सिफारिसलाई कार्यान्वयनयोग्य कार्यक्रममा रूपान्तरण गर्न यी पक्ष स्पष्ट हुनु आवश्यक छ।
संघीय संरचनामा अनुसन्धान प्रमाणको महत्व
नेपालको संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहले आ-आफ्नो अधिकार क्षेत्रअनुसार नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्छन्। यस्तो अवस्थामा अनुसन्धान प्रमाणको उपयोग राष्ट्रिय तहमा मात्र सीमित हुनु हुँदैन। स्थानीय तहमा उपलब्ध तथ्याङ्क, स्थानीय समस्या र समुदायको आवश्यकतामा आधारित प्रमाणले योजना निर्माणलाई थप सान्दर्भिक र प्रभावकारी बनाउन सक्छ।
उदाहरणका लागि, कुनै स्थानीय तहमा बालविवाह, किशोरावस्थाको गर्भधारण, नसर्ने रोग, कुपोषण वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ भने ती विषयमा उपलब्ध स्थानीय अनुसन्धान तथा नियमित स्वास्थ्य सूचना प्रणालीका तथ्याङ्कलाई वार्षिक योजना र बजेट निर्माणमा प्रयोग गर्न सकिन्छ। यसले सबै स्थानीय तहमा एउटै प्रकारका कार्यक्रम सञ्चालन गर्नुभन्दा स्थानीय आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न सहयोग पुर्याउँछ।यसका लागि स्थानीय तहका स्वास्थ्य शाखा, योजना शाखा, प्रदेशका सम्बन्धित निकाय, अनुसन्धान संस्था तथा विश्वविद्यालयबीच सहकार्य आवश्यक छ। अनुसन्धानका निष्कर्षलाई स्थानीय तहको वार्षिक योजना, कार्यक्रम समीक्षा र बजेट विनियोजन प्रक्रियासँग जोड्न सकेमा प्रमाणको उपयोग व्यवहारमै देखिन सक्छ।
स्थानीय तहले स्वास्थ्य अनुसन्धान कसरी सुरु गर्ने र योजनामा कसरी जोड्ने?
स्वास्थ्य अनुसन्धान गर्न विश्वविद्यालय वा ठूला अनुसन्धान संस्थामै निर्भर रहनुपर्छ भन्ने छैन। स्थानीय तहले आफ्नै क्षेत्रका स्वास्थ्य समस्या पहिचान गरी उपलब्ध तथ्याङ्क र समुदायको अनुभवका आधारमा साना, व्यावहारिक तथा स्थानीय आवश्यकतामा आधारित अनुसन्धान सुरु गर्न सक्छन्। यसका लागि केही व्यवस्थित कदम चाल्न सकिन्छ।
पहिलो, स्थानीय स्वास्थ्य समस्याको पहिचान र प्राथमिकता निर्धारण गर्ने।
स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाबाट प्राप्त नियमित तथ्याङ्क, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS), स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, रोग निगरानीका विवरण तथा समुदायबाट प्राप्त गुनासो र सुझावको विश्लेषण गरी स्थानीय स्वास्थ्य समस्याको सूची तयार गर्न सक्छ। उदाहरणका लागि, कुनै क्षेत्रमा किशोरावस्थाको गर्भधारण, कुपोषण, नसर्ने रोग, मातृ तथा नवजात स्वास्थ्य समस्या वा स्वास्थ्य सेवाको न्यून उपयोग देखिएको छ भने त्यसको कारण पहिचान गर्न अनुसन्धान आवश्यक हुन सक्छ।समस्याको प्राथमिकता निर्धारण गर्दा स्वास्थ्य शाखासँगै योजना शाखा, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, समुदायका प्रतिनिधि र लक्षित समूहलाई सहभागी गराउनु उपयुक्त हुन्छ।
दोस्रो, अनुसन्धानयोग्य प्रश्न तयार गर्ने।
समस्या पहिचान भएपछि त्यसलाई स्पष्ट अनुसन्धान प्रश्नमा रूपान्तरण गर्नुपर्छ। उदाहरणका लागि:
• हाम्रो पालिकामा किशोरकिशोरीले किशोरमैत्री स्वास्थ्य सेवा किन कम उपयोग गरिरहेका छन्?
• स्वास्थ्य संस्थामा नियमित नसर्ने रोगको स्क्रिनिङमा लक्षित जनसङ्ख्याको सहभागिता कम हुनुका कारण के हुन्?
• कुनै क्षेत्रमा खोप सेवाको पहुँच र उपयोग अपेक्षाकृत कम हुनुका कारण के हुन्?
यस्ता प्रश्नबाट सानो स्थानीय अध्ययन सुरु गर्न सकिन्छ। अनुसन्धानको उद्देश्य समस्या बुझ्नु र स्थानीय निर्णयका लागि उपयोगी प्रमाण जुटाउनु हुनुपर्छ।
तेस्रो, उपलब्ध स्रोत र साझेदारीको उपयोग गर्ने।
स्थानीय तहले आफ्नै स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा स्थानीय स्तरमा उपलब्ध जनशक्तिको क्षमता उपयोग गर्न सक्छन्। आवश्यक प्राविधिक सहयोगका लागि प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, विश्वविद्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा अन्य अनुसन्धान संस्थासँग सहकार्य गर्न सकिन्छ।
सबै अनुसन्धानका लागि ठूलो बजेट आवश्यक हुँदैन। तर अध्ययनको उद्देश्य, विधि, आवश्यक जनशक्ति, समय र लागत पहिले नै स्पष्ट हुनुपर्छ। मानव सहभागीसम्बन्धी अनुसन्धान गर्दा आवश्यक नैतिक स्वीकृति र सहभागीको सूचित सहमति सुनिश्चित गर्नुपर्छ।
चौथो, अनुसन्धानका निष्कर्ष निर्णयकर्तासम्म पुर्याउने।
अध्ययन सम्पन्न भएपछि लामो प्रतिवेदन तयार गरेर मात्र सीमित हुनु हुँदैन। मुख्य निष्कर्ष, पहिचान गरिएका समस्या, सिफारिस र कार्यान्वयनका सम्भावित उपाय समेटिएको छोटो नीतिगत सारांश तयार गर्न सकिन्छ। यसलाई गाउँ/नगर कार्यपालिका, स्वास्थ्य समिति, योजना शाखा तथा सम्बन्धित सरोकारवालासमक्ष प्रस्तुत गर्नुपर्छ। यसले अनुसन्धानका निष्कर्ष बुझ्न र निर्णय प्रक्रियामा प्रयोग गर्न सहज बनाउँछ।
पाँचौँ, अनुसन्धानका सिफारिसलाई वार्षिक योजना तथा बजेटमा समावेश गर्ने।
अनुसन्धानले पहिचान गरेका समस्या र समाधानका उपायलाई स्थानीय तहको स्वास्थ्य क्षेत्रको वार्षिक योजना तथा बजेट निर्माण प्रक्रियासँग जोड्नुपर्छ। यसका लागि प्रत्येक सिफारिससँग सम्बन्धित गतिविधि, जिम्मेवार शाखा वा संस्था, आवश्यक बजेट, कार्यान्वयन अवधि र अपेक्षित उपलब्धि स्पष्ट गर्न सकिन्छ।
उदाहरणका लागि, किशोरकिशोरीले गोपनीयता र भेदभावको डरका कारण स्वास्थ्य सेवा उपयोग नगरेको अनुसन्धानले देखाएमा किशोरमैत्री सेवा सुधार, स्वास्थ्यकर्मीको परामर्श सीप विकास र विद्यालयसँगको समन्वयलाई वार्षिक कार्यक्रममा समावेश गर्न सकिन्छ।
छैटौँ, कार्यान्वयन र उपलब्धिको नियमित अनुगमन गर्ने।
योजनामा समावेश भएका गतिविधि सञ्चालन भए वा भएनन् भन्ने मात्र होइन, त्यसबाट सेवाको पहुँच, उपयोग र गुणस्तरमा के परिवर्तन आयो भन्ने पनि मूल्याङ्कन गर्नुपर्छ। उदाहरणका लागि, अनुसन्धानको सिफारिसअनुसार किशोरमैत्री सेवा सुधार कार्यक्रम सञ्चालन गरेपछि सेवा उपयोग गर्ने किशोरकिशोरीको सङ्ख्या, उनीहरूको अनुभव र सेवाको गुणस्तरमा आएको परिवर्तन नियमित रूपमा समीक्षा गर्न सकिन्छ। प्राप्त सिकाइका आधारमा आगामी वर्षको योजना र कार्यक्रमलाई थप सुधार गर्न सकिन्छ।
यसरी स्थानीय तहले आफ्नै स्वास्थ्य समस्याबाट अनुसन्धानको सुरुवात गर्न, उपलब्ध प्रमाणको उपयोग गर्न र अनुसन्धानका सिफारिसलाई योजना तथा बजेटसँग जोड्न सक्छन्। अनुसन्धानलाई छुट्टै शैक्षिक गतिविधिका रूपमा नभई स्थानीय स्वास्थ्य समस्या समाधान गर्ने र सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने माध्यमका रूपमा लिनु आवश्यक छ।
अबको बाटो: अनुसन्धानलाई निर्णय र कार्यान्वयनसँग जोडौँ
नेपालमा अनुसन्धान प्रमाणको उपयोग बढाउन अनुसन्धानकर्ता, नीति निर्माता र कार्यक्रम कार्यान्वयन गर्ने निकायबीचको सहकार्यलाई संस्थागत गर्नु आवश्यक छ। यसका लागि केही व्यावहारिक कदम चाल्न सकिन्छ।
१.अनुसन्धानका प्राथमिकता सहभागितामूलक रूपमा निर्धारण गर्नुपर्छ। राष्ट्रिय तथा स्थानीय अनुसन्धानका विषय छनोट गर्दा नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, अनुसन्धानकर्ता र समुदायलाई सहभागी गराउनुपर्छ। यसले वास्तविक समस्या समाधानमा केन्द्रित अनुसन्धानलाई प्रोत्साहन गर्छ।
२. प्रत्येक अनुसन्धानको अन्तिम प्रतिवेदनसँगै नीतिगत सारांश तयार गर्ने अभ्यास विकास गर्नुपर्छ। त्यसमा मुख्य निष्कर्ष, सान्दर्भिक सिफारिस, अनुमानित लागत, कार्यान्वयनका सम्भावित निकाय तथा अपेक्षित परिणाम स्पष्ट उल्लेख हुनुपर्छ।
३. अनुसन्धानकर्ता र नीति निर्माताबीच नियमित संवादको व्यवस्था गर्नुपर्छ। अनुसन्धान सम्पन्न भएपछि मात्र नतिजा प्रस्तुत गर्नुभन्दा अनुसन्धानको सुरुदेखि नै सम्बन्धित निकायलाई सहभागी गराउँदा अनुसन्धानका निष्कर्ष थप उपयोगी र कार्यान्वयनयोग्य बन्न सक्छन्।
४. नीति तथा कार्यक्रम निर्माणमा उपलब्ध अनुसन्धान प्रमाणको समीक्षा गर्ने संस्थागत अभ्यास विकास गर्नुपर्छ। कुनै अनुसन्धानको सिफारिस किन समावेश गरियो वा किन गरिएन भन्ने विषयमा स्पष्ट आधार र जवाफदेहिता हुनुपर्छ।
५. अनुसन्धानका सिफारिसको कार्यान्वयन र त्यसबाट आएको परिवर्तनको मूल्याङ्कन गर्नुपर्छ। कति अनुसन्धानका सिफारिस नीति तथा कार्यक्रममा समावेश भए, कति बजेट विनियोजन भयो, कति गतिविधि सञ्चालन भए र सेवाग्राहीको अवस्थामा के परिवर्तन आयो भन्ने विषयलाई नियमित रूपमा अभिलेख र समीक्षा गर्न सकिन्छ।
निष्कर्ष
नेपाललाई थप अनुसन्धान प्रतिवेदन मात्र होइन, अनुसन्धानबाट प्राप्त प्रमाणको प्रभावकारी उपयोग गर्ने प्रणाली आवश्यक छ। अनुसन्धानकर्ता, नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता र समुदायबीचको दूरी कम नगरी अनुसन्धानको वास्तविक प्रभाव हासिल गर्न कठिन हुन्छ। अनुसन्धानको उद्देश्य शैक्षिक उपलब्धि, उपाधि वा प्रकाशनमा मात्र सीमित हुनु हुँदैन; यसले समाजका वास्तविक समस्या समाधान गर्न योगदान पुर्याउनुपर्छ।
अब हामीले अनुसन्धान कति प्रकाशित भए भनेर मात्र सोध्ने होइन, ती अनुसन्धानले नीति, योजना, बजेट, सेवा प्रवाह र नागरिकको जीवनमा के परिवर्तन ल्याए भनेर पनि सोध्नुपर्छ। अनुसन्धानको अन्तिम उपलब्धि पुस्तकालय वा जर्नलमा सुरक्षित प्रतिवेदन मात्र होइन, प्रमाणका आधारमा गरिएको राम्रो निर्णय र त्यसबाट आएको सकारात्मक परिवर्तन हुनुपर्छ।अनुसन्धानको वास्तविक मूल्य त्यसले कति पटक उद्धृत भयो भन्नेमा मात्र होइन, त्यसले कति अर्थपूर्ण निर्णय र व्यवहार परिवर्तन गर्न सहयोग पुर्यायो भन्नेमा पनि मापन हुनुपर्छ।
(लेखक अनुशा शर्मा र समिता घिमिरे हाल प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङमा जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत छन्।)
सन्दर्भ सामग्री
यी सन्दर्भहरू लेखको अन्त्यमा नेपाली शैक्षिक सन्दर्भ शैलीमा राख्न सक्नुहुन्छ। जर्नलको नाम, खण्ड, अंक र DOI यथासम्भव मूल प्रकाशनअनुसार राखिएको छ।
1. धिमाल, मेघनाथ, पाण्डे, अच्युतराज, आर्याल, कृष्णकुमार, बुद्धाथोकी, चित्रबहादुर, वैद्य, दयालक्ष्मी, कार्की, खेमबहादुर र ओन्टा, शरद। (२०१६)। Utilization of Health Research Recommendation in Policy and Planning। Journal of Nepal Health Research Council, १४(३), १६०-१६६।https://www.jnhrc.com.np/index.php/jnhrc/article/view/3948/3950
2. तिवारी, एस. आर. तथा सहलेखकहरू। (२०२१)। Translating evidence into policy: opinions and insights of Health Researchers and Policymakers in Nepal। BMC Health Services Research, २१। DOI: https://doi.org/10.1186/s12913-021-07102-y ।
3. पाण्डे, चन्द्रलाल, खड्का, दीपककुमार, बजाडे, मणिराम र अधिकारी, मीना। (२०२२)। A Study of Nepal’s Public Policy Processes: Policymakers’ Perception and Use of Information in Decision-Making during the COVID-19 Pandemic। Policy Research Institute, प्रकाशन नं. ०५१। काठमाडौं: Policy Research Institute।
Giwmscdntwo
4. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्। (२०१६)। Translation of Health Research Evidence into Policy and Planning in Nepal: An Appraisal। काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषद्।
5. Westerlund, A., Nilsen, P., & Sundberg, L. (2019). Implementation of implementation science knowledge: The research-practice gap paradox. Worldviews on Evidence-Based Nursing, 16(5), 332–334. https://doi.org/10.1111/wvn.12403