काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ भवन र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ। मंसिर १० गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जगपूजा तथा शिलान्यास गरेकी हुन्। त्यस अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. विवेक आचार्य, अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपाल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले पनि जगपूजा गरेका थिए।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले आकस्मिक स्वास्थ्योपचार गर्नुपर्ने बिरामी बचाउन मिलिसेकेन्डको अवधिलाई पनि अधिकतम उपयोग गर्न सकियोस् भनेर आकस्मिक सेवा भएको भवनलाई सर्जिकल तथा आईसीयूजस्ता सघन उपचार कक्ष भएको भवनसँग जोड्न अत्याधुनिक आकाशे पुल निर्माणमा लगानी गरेको बताइन्। 'हेर्दा यो भौतिक संरचनाका रूपमा मात्र देखिन सक्छ। तर, यो भौतिक संरचनाभन्दा पनि चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील स्थान हो,' उनले भनिन्।

वीर अस्पतालका दुईवटा भवनका बीचमा महाबौद्धतर्फ जाने सडक छ। पुरानो भवनमा आकस्मिक कक्ष छ। आकस्मिक कक्षमा आएको बिरामीलाई शल्यक्रिया गराउन तथा सघन उपचार कक्षमा पुर्याउन सडक पार गराएर अर्को भवनमा लैजानुपर्ने अवस्था छ। यो छिटोछिटो गर्नुपर्ने काम हो। सडकमा दौडिने सवारीसाधन सधैँ हतारमा हुन्छन्। यसबाट जीवन बचाउन गरिने प्रयास नै दुर्घटनामा पर्ने सम्भावना छ।
'यो जोखिम घटाउनुलाई दायित्व ठानेर हामीले काम गरेका हौँ,' अवस्थाको समीक्षा गर्दै डंगोलले भनिन्, 'गर्नुपर्छ भनेर सबैले महसुस गरेको तर अहिलेसम्म नथालिएको योजना हामीले कार्यान्वयनमा ल्याएका हौँ।'
त्यस क्रममा धारणा राख्दै उपकुलपति प्रा. डा. आचार्यले आकाशे पुललाई आफूले भौतिक संरचनाका रूपमा भन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रूपमा हेरेको बताए। त्यस्तै अस्पतालका निर्देशक डा. नेपालले अस्पतालको अवस्थाका विषयमा जानकारी गराउँदै निर्माण हुने आकाशे पुलले भवनलाई मात्र होइन, सेवालाई पनि जोड्ने बताए। उनले भने, '९५० शय्याको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा अपरेसन थिएटर र ८० वटा आईसीयू छन्।' अस्पतालका पूर्वनिर्देशक वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. दिलीप शर्माले आफ्नो १४ महिने नेतृत्वकालमा भएको यो नै सबैभन्दा महत्त्वपूर्ण काम भएको उल्लेख गरे।
'काठमाडौंका भित्री सहरी क्षेत्रका स्थानीयवासीको पहिलो सम्पर्क अस्पताल नै यही हो। अस्पताललाई व्यवस्थित बनाउन सहकार्यका लागि हामी सदैव तत्पर छौँ,' वडा नं. २७ का अध्यक्ष योगेश खड्गीले भने, 'अस्पतालको दुई भवनलाई जोड्ने महानगरपालिकाको योजनालाई वडाले गौरवको योजनाका रूपमा लिएको छ।'
४ करोड ८२ लाख ६६ हजार ८१२ रुपियाँ लागत अनुमान रहेको निर्माण कार्य सार्वजनिक खरिBirद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपियाँमा सम्झौता भएको छ। निर्माणका लागि सुपर सौगात पीसी द्रव्य जेभीलाई २०८३ मंसिर ९ गते कार्यादेश दिइएको छ। निर्माण कार्य अवधि २०८४ कात्तिक ३० गतेसम्म तोकिएको छ।

पुलको दुवैतर्फ राखिने लिफ्ट अस्पताल बेड लिफ्ट गुणस्तरका हुनेछन्। पुलको दुवैतर्फ चढ्ने–ओर्लने लिफ्ट तथा भर्याङ अस्पताल परिसरबाटै हुने भएकाले निर्माणपछि दुर्घटनाको जोखिम हुँदैन।
आकाशे पुल पूर्ण रूपमा फलामको हुनेछ। पहिलो चरणमा फलामको पुलमा लिफ्ट जडान गरिसकेपछि दोस्रो चरणमा सहरको मौलिक स्वरूपमा बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए। विभागका इन्जिनियर एवं आकाशे पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठले भित्री सामग्री अत्याधुनिक र बाहिरी मोहडा मौलिक स्वरूपको हुने बताए।



