काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले विगतमा भएका सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
डा. केसीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ मंसिर ११ गते (भोलि) भित्र सहमतिविपरीतका निर्णय नसच्याइए र सहमतिहरू कार्यान्वयन नगरिए पुनः सत्याग्रह थाल्न बाध्य हुने जानकारी दिएका हुन्।
विज्ञप्तिमा २४औँ सत्याग्रहका क्रममा भएका सहमति उल्लंघन भएपछि २५औँ सत्याग्रह गरिएको र पुनः सहमतिपछि स्थगित गरिएको स्मरण गराइएको छ। तर, सहमतिअनुसार काम गर्नुको साटो सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गर्नुका साथै त्यसको कार्यक्षेत्रसमेत तोकेको उनले उल्लेख गरेका छन्।
'यससम्बन्धी गल्ती सच्याउन र सहमतिहरू शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमति बारम्बार उल्लंघन हुनु दुःखद र दुर्भाग्यपूर्ण रहेको बताउँदै डा. केसीले सहमतिको पालना गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको स्पष्ट पारेका छन्।
हेरौं विज्ञप्ति
प्रेस विज्ञप्ति
विषय: २६औँ सत्याग्रहसहितको आन्दोलनको चेतावनी
आदरणीय दाजुभाइ, दिदीबहिनी तथा पत्रकार मित्रहरू,
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित गरिएको २४औँ सत्याग्रहका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्नुको साटो सरकारले उल्टै उल्लंघन गरेपछि २५औँ सत्याग्रह गर्नुपरेको र सरकारसँग पुनः सहमति भएपछि स्थगित गरिएको विदितै छ।
तर, सहमतिअनुसार काम गर्नुको साटो सरकारले जवाफदेहिता र सुशासन सम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गर्नुका साथै त्यसको कार्यक्षेत्रसमेत तोकेको छ। यसबारे गल्ती सच्याउन र सहमतिहरू शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको छ।
अतः २०८३ मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याइए र सहमतिहरू कार्यान्वयन नगरिए २६औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने जानकारी गराउँछौँ।
स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लंघन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ। सहमतिको पालना सरकारको नैतिक तथा राजनैतिक दायित्व हो।
भवदीय
प्रा. डा. गोविन्द केसी
काठमाडौं,
२०८३/०८/१० ।