काठमाडौँ — लामो समयदेखि आन्दोलनरत वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ। मंसिर १० गते शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल, कलेज प्रशासन र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलपछि आन्दोलन टुंगिएको हो।
सहमतिसँगै आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै नियमित ड्युटीमा फर्किने घोषणा गरेका छन्।
सहमतिअनुसार आन्दोलनमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव वा धम्की दिइने छैन। उनीहरूलाई कलेज वा छात्रावासबाट निष्कासनसमेत गर्न पाइने छैन।
त्यसैगरी, आन्दोलनका कारण छुटेका हाजिरी विभागीय प्रमुख (एचओडी) ले पठाएको विवरणका आधारमा कायम गरिनेछ। २०८३ वैशाख १३ देखि कलेजमा उपस्थित भएर ड्युटी गर्दागर्दै छुटेका हाजिरीसमेत आईओएम डिन कार्यालयसँग समन्वय गरी पुनः कायम गरिने सहमतिमा उल्लेख छ। आन्दोलन अवधिमा कुनै पनि आवासीय चिकित्सकलाई अनुपस्थित जनाइने छैन।
आवासीय चिकित्सकको कटौती गरिएको सम्पूर्ण स्टाइपेन्डसमेत फिर्ता गरिने भएको छ। स्त्री तथा प्रसूति रोग विभागका ६ जना आवासीय चिकित्सकको अनुपस्थिति र रोकिएको स्टाइपेन्ड फिर्ताका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा पहल गर्ने सहमति भएको छ।
ड्युटी व्यवस्थापनतर्फ सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटी लगाउन नपाइने व्यवस्था गरिएको छ। ड्युटीपछिको आराम आईओएमको निर्णय नम्बर ५७४७ अनुसार हुनेछ। सबस्पेसियाल्टी रोटेसन आवश्यक परेमा परिधीय अस्पतालमा खटाउने व्यवस्था पनि आईओएमको निर्णयअनुसार गरिनेछ।
सहमतिमा आन्दोलनमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई नियमित परीक्षामा सहभागी हुनबाट रोक्न नपाइने उल्लेख छ। त्यस्तै, शोधपत्र (थेसिस) स्वीकृति तथा हस्ताक्षरमा प्रतिशोध साँध्ने वा अनावश्यक ढिलाइ गर्न नपाइने व्यवस्था गरिएको छ।
यसैगरी, कलेजबाट राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकलाई समेत बिनासर्त पुनः कलेजमा भर्ना गरिने सहमति भएको छ।
सहमतिका बुँदा पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिअनुसार कलेज प्रशासनले प्रतिबद्धता कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने अपेक्षा गरिएको छ।