करिब ४५० जना नेपाली नाक, कान तथा घाँटी रोग विशेषज्ञ आबद्ध संस्था नेपाल ओटोराइनोल्यारिङ्गोलोजी, हेड एन्ड नेक सर्जरी समाजको दशौँ अधिवेशन ‘इएनटी (नाक, कान तथा घाँटी) सेवाको उन्नयन : नवप्रवर्तन, सर्वसुलभता र उत्कृष्टता’ भन्ने नाराका साथ इटहरीमा सम्पन्न भयो।
यस्ता अधिवेशन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूका अनुभव सुन्ने, सिक्ने र आफ्नो ज्ञानलाई अझ समृद्ध बनाउने सुन्दर अवसर हुन्। चिकित्सामा सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया हो। गल्ती गर्नु, त्यसलाई पहिचान गर्नु, आत्मसमीक्षा गर्नु र त्यसबाट सिक्नु चिकित्सकीय व्यावसायिक यात्राका अभिन्न अङ्ग हुन्। चिकित्सा शिक्षा कहिल्यै पूर्ण हुँदैन; यो निरन्तर चलिरहने प्रक्रिया हो। त्यसैले हामी आफ्नो सम्पूर्ण व्यावसायिक जीवनभर विद्यार्थी र सिक्ने व्यक्तिका रूपमा रहिरहनुपर्छ।
नाक, कान तथा घाँटी रोग विज्ञानको क्षेत्रमा विगतका वर्षहरूमा केही सङ्क्रामक रोगहरूको प्रकोप क्रमशः घट्दै गएको हामीले देखेका छौँ। उदाहरणका लागि, दीर्घकालीन तथा आक्रामक प्रकारको मध्यकर्ण सङ्क्रमण (कोलेस्टिएटोमा) र यसका जटिलताहरू कतिपय स्थानमा पहिलेको तुलनामा कम हुँदै गएको देखिन्छ।
तर, केही परम्परागत रोगहरूको भार घट्दै गएको भए पनि नयाँ तथा उदीयमान स्वास्थ्य चुनौतीहरू भने दिनप्रतिदिन थपिँदै गएका छन्।
श्रवणशक्ति कमजोर हुने सङ्क्रामक कारणहरू केही हदसम्म घटेका भए पनि श्रवणशक्तिमा कमी आउनु अझै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। यसको सम्बन्ध वंशाणुगत विकार, गर्भावस्थाअघिका, जन्मपूर्व तथा जन्मपश्चात्का जटिलता, वातावरणीय विषाक्त पदार्थ, हानिकारक रसायन तथा पदार्थको सम्पर्क, ध्वनि प्रदूषण र विशेषगरी बालबालिका तथा युवा पुस्तामा विद्युतीय उपकरणहरूको अत्यधिक वा अनुचित प्रयोगजस्ता विभिन्न कारकसँग जोडिँदै गएको छ।
कम उमेरमै उमेरजन्य श्रवणशक्ति ह्रास देखिने क्रम बढ्नु पनि जनस्वास्थ्यको उदीयमान चिन्ताको विषय बनेको छ। यसको रोकथाम र प्रारम्भिक पहिचानमा मात्र होइन, प्रभावित व्यक्तिहरूलाई समयमै किफायती तथा सहुलियतपूर्ण श्रवणयन्त्र उपलब्ध गराई पुनर्स्थापना सेवासमेत प्रदान गर्न हामीले विशेष ध्यान दिनुपर्छ। यसबाट उनीहरूको सञ्चार क्षमता, सामाजिक सहभागिता र समग्र जीवनको गुणस्तरमा सुधार ल्याउन सकिन्छ।
विभिन्न विकासोन्मुख देशहरूमा समेत लागू भइसकेको नवजात शिशुको अनिवार्य श्रवण परीक्षण (विशेषगरी जोखिममा रहेका शिशुका लागि अपरिहार्य) श्रवणशक्ति कमजोर भएका बालबालिकाको प्रारम्भिक पहिचान तथा समयमै पुनर्स्थापना सेवा प्रवर्द्धन गर्न आवश्यक छ।
यस्ता बालबालिकाको प्रारम्भिक पहिचान र समयमै आवश्यक हस्तक्षेप गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यसबाट उनीहरूलाई सञ्चार सीप विकास गर्ने र आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर सुनिश्चित गर्न सकिन्छ।
नेपालमा हजारौँको सङ्ख्यामा श्रवणशक्ति कमजोर भएका बालबालिका हुन सक्ने अनुमान छ। उनीहरूको समयमै श्रवणशक्तिको पुनर्स्थापना हुन नसके आजीवन बोल्न नसक्ने अवस्था रहन सक्छ। समयमै पहिचान गरी आवश्यक परेका बालबालिकामा भित्री कानमा कृत्रिम श्रवण यन्त्र प्रत्यारोपण (कक्लियर इम्प्लान्ट) गर्नुपर्ने हुन सक्छ। हाल नेपालमा सीमित स्थानमा मात्र उपलब्ध यो सेवाका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्छ।
विभिन्न विकासोन्मुख देशहरूमा यो सेवा राज्यको दायित्वभित्र पर्छ। शिशु जन्मिएको दुई महिनाभित्रै श्रवण क्षमताको परीक्षण गर्ने राष्ट्रिय कार्यक्रम सञ्चालन गर्नु सबै तहका सरकारको दायित्व हो। यसका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयबाट पहल हुनुपर्छ।
त्यसैगरी, वातावरणीय प्रदूषण, बदलिँदो जीवनशैली तथा अन्य वातावरणीय र व्यवहारजन्य कारणले नाक, कान तथा घाँटीसम्बन्धी नसर्ने रोगहरूको भार पनि बढ्दै गएको हामीले देखिरहेका छौँ।
विशेषगरी नेपालमा दिनप्रतिदिन महत्त्वपूर्ण स्वास्थ्य चुनौती बन्दै गइरहेको टाउको तथा घाँटीको क्यान्सरको निदान र उपचार व्यवस्थापनमा भएका नवीनतम प्रगतिलाई हामीले आत्मसात् गर्न आवश्यक छ।
हाम्रो निदानात्मक क्षमता र शल्यचिकित्सकीय दक्षता अभिवृद्धि गर्नु आवश्यक छ। तर, यसका साथै क्यान्सरको रोकथामलाई पनि उत्तिकै, अझ सम्भवतः बढी प्राथमिकता दिनुपर्छ। प्रभावकारी जनस्वास्थ्य कार्यक्रम, प्रारम्भिक पहिचान, जनचेतना अभिवृद्धि, सुर्तीजन्य पदार्थको नियन्त्रण तथा अन्य ज्ञात जोखिम कारक न्यूनीकरण गर्न सके यस्ता धेरै क्यान्सर रोकथाम गर्न सम्भव छ।
प्रविधि, निदानका नवीन विधि, शल्यचिकित्साका आधुनिक प्रविधि तथा प्रमाणमा आधारित चिकित्सकीय अभ्यासका कारण नाक, कान तथा घाँटी रोग विज्ञानको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ। यसका साथै, हाम्रो विशेषज्ञताको क्षेत्रमा तीव्र गतिमा भइरहेका परिवर्तन र विकाससँग पनि आफूलाई अनुकूल बनाउन सक्षम हुनुपर्छ।
नेपालका नाक, कान तथा घाँटी रोग विशेषज्ञहरूले आफ्नो ज्ञानलाई निरन्तर अद्यावधिक गर्दै, चिकित्सकीय तथा शल्यचिकित्सकीय दक्षता अभिवृद्धि गर्दै र यस तीव्र गतिमा विकसित भइरहेको विशेषज्ञताको क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका नवीनतम प्रगतिसँग आफूलाई निरन्तर अद्यावधिक राख्दै अगाडि बढ्नेछन् भन्ने मेरो हार्दिक अपेक्षा छ।
नेपाल मेडिकल काउन्सिल चिकित्सा पेसाकर्मीहरूलाई उत्कृष्टता हासिल गर्न, निरन्तर व्यावसायिक विकास गर्न तथा जीवनपर्यन्त सिकाइको प्रक्रियामा अघि बढ्न सहयोग र समर्थन गर्न सदैव प्रतिबद्ध छ।
चिकित्सा सेवाको नियमनकारी निकायको हैसियतले नेपाल मेडिकल काउन्सिलले विश्वव्यापी रूपमा अङ्गीकार गरिएका चिकित्सकका आधारभूत सिद्धान्तहरू—बिरामीको स्वायत्तता, छनोटको अधिकार, हित, गोपनीयता, उपचारको गुणस्तर, सुसूचित सहमति र न्याय—लाई नेपालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ चिकित्सकहरूले पनि आत्मसात् गर्नुहुनेछ भन्ने विश्वास राख्दछ।
हाम्रो अन्तिम उद्देश्य नेपालका जनतालाई उच्च गुणस्तरीय, सुरक्षित, नैतिक तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्नु हो।
अधिवेशनमा नेपालका अग्रज इएनटी सर्जन प्राध्यापक डा. राकेशप्रसाद श्रीवास्तवद्वारा प्रस्तुत इएनटी विशेषज्ञ चिकित्सकले परीक्षण, निदान र शल्यचिकित्सासहितको उपचार गर्दा पालना गर्नुपर्ने व्यवहारसम्बन्धी प्रस्तुति अत्यन्तै सान्दर्भिक र मननीय थियो। बिरामीलाई सीटी स्क्यान, एमआरआईजस्ता महँगा परीक्षण तथा शल्यक्रियासमेत आवश्यक नपरीकन सिफारिस नगर्नेजस्ता चिकित्सकीय नैतिकता र आचारसंहितासम्बन्धी सुझावहरू मननयोग्य थिए। त्यसैगरी, नाक, कान तथा घाँटीसम्बन्धी आधुनिक उपचार प्रणाली कसरी अपनाउने भन्ने विषयमा पनि सुझावहरू प्रस्तुत भए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञहरूका करिब सयवटा प्रस्तुति तथा रोगको निदान र शल्यचिकित्सासम्बन्धी श्रव्यदृश्य सामग्री निकै लाभदायी हुने अपेक्षा गर्न सकिन्छ।
मलाई पूर्ण विश्वास छ कि हाम्रा आदरणीय अग्रजहरू, अनुभवी चिकित्सकहरू तथा युवा पुस्ताका नाक, कान तथा घाँटी रोग विशेषज्ञहरूबीच हुने ज्ञान, अनुभव र विचारको आदानप्रदानले यस सम्मेलनलाई अझ अर्थपूर्ण, उपलब्धिमूलक र फलदायी बनाउनेछ।