जब अन्तर्राष्ट्रिय प्रतिवेदन र वृत्तचित्रहरूमा दुर्गम मुगुका बर्थिङ सेन्टर (प्रसूति गृह) को सफलताका कथा सुनिन्छन्, त्यहाँ प्रायः नयाँ भवन, विदेशी दातृ निकायको सहयोग र आधुनिक उपकरणहरूको चर्चा हुन्छ। तर, ती भवनका रित्ता कोठामा जीवन भर्ने, मध्यरातमा प्रसव पीडाले छटपटाइरहेका आमाहरूको हात समात्ने र कठिन परिस्थितिमा पनि सेवा नछाड्ने सरकारी स्वास्थ्यकर्मीहरूको योगदान भने कतै ओझेलमा पर्छ।
तीमध्ये एक हुनुहुन्छ मेरी आमा, सरोजा घिमिरे बुढाथापा।
आमाले नेपालको सार्वजनिक स्वास्थ्य सेवामा ३६ वर्ष ४ महिना बिताउनुभयो। उहाँको जीवनको ठूलो हिस्सा दुर्गम मुगुका आमा र नवजात शिशुको जीवन बचाउनमै समर्पित भयो। उहाँले कति रात निदाउन पाउनुभएन, कति दिन परिवारबाट टाढा रहनुभयो र कति कठिन बाटाहरू पार गर्नुभयो, त्यसको हिसाब सायद उहाँ आफैँसँग पनि छैन।
तर, ती वर्षहरूको संघर्षको एउटा प्रमाण आज पनि उहाँको शरीरमा देख्न सकिन्छ। मुगुका खत्याड र सोरुका उकाली–ओराली, ढुङ्गे बाटा र विकट बस्तीहरूमा अनगिन्ती पटक हिँड्दा उहाँका पैतालामा परेका ठेला र गाँठाहरू अझै उस्तै छन्। ती केवल शारीरिक चोट होइनन्, दुर्गमका आमाहरूको जीवन बचाउन हिँडेका हजारौँ पाइलाका निशानी हुन्।
विसं २०४३ सालमा अनमी पदबाट स्थायी सरकारी सेवा सुरु गर्नुभएकी आमाले बर्दिया र जुम्ला हुँदै आफ्नो सेवाको लामो समय मुगुमा बिताउनुभयो। त्यो समय अहिले जस्तो सहज थिएन। सडक, यातायात र स्वास्थ्य सुविधा सीमित थिए। त्यसमाथि देश सशस्त्र द्वन्द्वको चपेटामा थियो। दुर्गममा खटिएका स्वास्थ्यकर्मीहरूका लागि हरेक दिन जोखिमपूर्ण हुन्थ्यो।
एकपटक तत्कालीन माओवादी लडाकुहरूले आफ्ना बिरामी सदस्यहरूको उपचार गराउन आमालाई एक हप्तासम्म आफूसँगै लिएर गएका थिए। त्यो परिस्थितिमा उहाँले कति डर र तनाव भोग्नुभयो होला, हामी परिवारका सदस्यले अहिले पनि कल्पना गर्न सक्छौँ। तर, त्यस्तो कठिन अवस्थामा पनि उहाँले स्वास्थ्यकर्मीको जिम्मेवारीबाट आफूलाई अलग राख्नुभएन। बिरामीहरूको उपचार गर्नुभयो र अन्ततः सकुशल आफ्नो कार्यक्षेत्रमा फर्किनुभयो।
-1795423319.jpg)
विसं २०६४ सालमा जिल्ला अस्पताल मुगुमा कार्यरत रहँदा आमाले काठमाडौँस्थित परोपकार प्रसूति गृहबाट दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम लिनुभयो। तालिमपछि उहाँले सिकेको सीप मुगुका आमाहरूको जीवन बचाउन प्रयोग गर्नुभयो।
त्यतिबेला दुर्गम गाउँमा घरमै सुत्केरी हुने चलन थियो। स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने विश्वास बसाउन पनि सजिलो थिएन। पछि गाम्थाजस्ता दुर्गम गाउँमा बर्थिङ सेन्टर विस्तार हुन थाले। तर, भवन बनाउनु र उपकरण राख्नु मात्रै पर्याप्त थिएन। रातको दुई बजे प्रसव व्यथाले छटपटिएकी आमालाई सुरक्षित प्रसूति गराउन सक्ने दक्ष स्वास्थ्यकर्मी पनि चाहिन्थ्यो।
त्यही आवश्यकता पूरा गर्न आमा दिनरात खटिनुभयो।
विसं २०७१ सालमा जिल्ला स्वास्थ्य कार्यालय मुगुमा छैटौँ तहको सि.अ.न.मी. अधिकृतका रूपमा कार्यरत रहँदा उहाँले स्वास्थ्य मन्त्रालयबाट कार्यालय समयबाहेक स्थानीय साझेदार संस्था हिरेन्डेक (HIRENDEC) सँग मिलेर काम गर्ने औपचारिक स्वीकृतिसमेत लिनुभएको थियो। त्यसपछि उहाँले बर्थिङ सेन्टरमा सेवा दिनुभयो। अँध्यारा रात, चिसो मौसम र चिकित्सकको अनुपस्थितिमा पनि प्रसव पीडामा छटपटाइरहेका आमाहरूलाई सम्हाल्नुभयो।
कहिलेकाहीँ मध्यरातमा बोलावट आउँथ्यो। परिवारलाई छाडेर उहाँ हतारहतार स्वास्थ्य संस्थातिर लाग्नुहुन्थ्यो। त्यहाँ पुगेपछि डराएकी गर्भवती महिलालाई ढाडस दिनुहुन्थ्यो, सुरक्षित प्रसूति गराउनुहुन्थ्यो। यसरी उहाँले धेरै आमाको जीवन बचाउनुभयो र गाउँका मानिसहरूमा बर्थिङ सेन्टरप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो।
आमाको माया र करुणा प्रसूति कक्षमा मात्रै सीमित थिएन।
एकपटक अस्पतालमा सुत्केरी भएपछि एक आमाको दुःखद निधन भयो। नवजात शिशुका बाबुले पनि बच्चालाई अस्पतालमै छाडेर हिँडे। संसारमा पाइला टेक्दै गरेको त्यो अबोध शिशु एकाएक अभिभावकविहीन भयो। अरू कसैले जिम्मेवारी लिन नसकेको अवस्थामा आमाले उसलाई बेवारिसे हुन दिनुभएन।
-1795423333.jpg)
उहाँले १२ दिनसम्म अस्पतालमै आफ्नै काखमा राखेर शिशुको स्याहार गर्नुभयो। न्यानो दिनुभयो, दूध खुवाउने र हेरचाह गर्ने व्यवस्था मिलाउनुभयो। उसको जीवन जोगाएर सुरक्षित भविष्यका लागि एसओएस बालग्राम (SOS Children's Villages) को जिम्मा लगाउनुभयो।
तर, जिम्मा लगाएर आमाको ममता सकिएन। उहाँ वर्षौंसम्म त्यो बालकलाई भेट्न जानुभयो। विद्यालय बिदा हुँदा आफ्नै घर ल्याउनुभयो र आफ्नै सन्तानसरह माया दिनुभयो। आज पनि जैविक बाबुले स्वीकार गर्न नमानेपछि आमाले उसलाई कानुनी पहिचान र भविष्य दिन आफ्नै नामबाट नेपाली नागरिकता दिलाउने तयारी गरिरहनुभएको छ।
सायद यही हो आमाको मन। अरूका सन्तानलाई पनि आफ्नै सन्तानजस्तै माया गर्न सक्ने मन।
अरूका आमाहरूको जीवन बचाउन हिँड्नुभएकी मेरी आमाले आफ्नै परिवारका लागि भने धेरै समय दिन पाउनुभएन।
हामी हुर्कँदै गर्दा चाडपर्वमा आमाबुबा घरमा सँगै भएको सम्झना निकै कम छ। दसैँ आउँदा सबैका घरमा खुसी र रमाइलो हुन्थ्यो। तर, मुगुको स्वास्थ्य चौकी खाली नहोस्, बिरामीले दुःख नपाऊन् भनेर आमा र बुबा प्रायः त्यहीँ बस्नुहुन्थ्यो।
हामीलाई पनि आमाबुबा चाहिन्थ्यो। दसैँमा सँगै बसेर टीका लगाउन, रमाइलो गर्न र परिवारसँग समय बिताउन मन लाग्थ्यो। तर, उहाँहरूको जिम्मेवारी हामीले चाहेजस्तो सजिलो थिएन।
दुःखको कुरा, त्यही दसैँको समयमा कर्तव्य पालनाकै सिलसिलामा मुगुको अस्पताल क्वार्टरभित्रै मेरा बुबाको दुःखद निधन भयो।
त्यो क्षति हाम्रो परिवारका लागि असह्य थियो। आमाले जीवनसाथी गुमाउनुभयो। हामीले बुबा गुमायौँ। तर, यति ठूलो पीडा भोगेपछि पनि आमाले आफ्नो सेवा र जिम्मेवारी छाड्नुभएन। उहाँले आफूलाई सम्हाल्नुभयो र फेरि बिरामीहरूको सेवामा लाग्नुभयो।
आमाको एउटा सपना थियो—मुगुमा निर्माणाधीन नयाँ अस्पताल भवन सञ्चालनमा आएको हेर्ने र ३६ वर्षभन्दा लामो सेवा पूरा गरेर सम्मानजनक रूपमा अवकाश लिने।
तर, जीवनभर राज्यको सेवामा समर्पित भएकी मेरी आमाले सेवाको उत्तरार्धमा आफ्नै राज्यबाट अपमान र उपेक्षा भोग्नुपर्यो।
देश संघीय संरचनामा गएपछि सुरु भएको कर्मचारी समायोजन प्रक्रियाले धेरै सरकारी कर्मचारीलाई अन्योल र अन्यायमा पार्यो। नयाँ फारम र प्राविधिक प्रक्रियाबारे पर्याप्त जानकारी नपाएकी आमालाई ५६ वर्षको उमेरमा, मुगुमा झन्डै तीन दशक सेवा गरिसकेपछि अचानक जुम्लाको हिमा गाउँपालिकामा सरुवा गरियो।
त्यो उमेरमा उहाँले आफ्नो अनुभव, वरिष्ठता र लामो सेवाको सम्मान पाउनुपर्ने थियो। तर, त्यस्तो भएन। स्थानीय कार्यालय नेतृत्वको नजिकका एक कनिष्ठ कर्मचारीलाई प्राथमिकता दिँदै आमालाई छैटौँ तहको सि.अ.न.मी. निरीक्षकका रूपमा पाउनुपर्ने जिम्मेवारीबाट वञ्चित गरियो।
३६ वर्षभन्दा बढी समय दुर्गममा बिताएकी, आफ्नो जवानी र पारिवारिक जीवनसमेत सेवामा समर्पित गरेकी एक वरिष्ठ नर्सका लागि त्यो कति पीडादायी थियो होला!
आफ्नो काम र अनुभवको सम्मान नपाउँदा उहाँ निकै निराश हुनुभयो। अन्ततः नयाँ अस्पताल भवन उद्घाटन भएको हेर्ने सपना अधुरै रह्यो। अनिवार्य अवकाश पाउन अझै दुई वर्ष बाँकी छँदै विसं २०७९ चैतमा उहाँले भारी मनले राजीनामा दिनुभयो।
आमाले जागिर छाड्नुभएको मात्रै थिएन, उहाँले जीवनका साढे तीन दशकभन्दा बढी समय समर्पित गरेको कार्यक्षेत्रबाट अपमानित महसुस गर्दै बिदा लिनुपरेको थियो।
आज मुगुको मातृ स्वास्थ्य सेवाको सफलताका कथा अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिवेदन र वृत्तचित्रमा पढ्न र हेर्न पाइन्छ। नयाँ भवन र कार्यक्रमका उपलब्धि पनि देखिन्छन्। तर, ती उपलब्धिको जग खडा गर्न दिनरात खटिने मेरी आमाको नाम कतै भेटिँदैन।
न नयाँ अस्पतालको भित्तामा उहाँको नाम छ, न त ३६ वर्ष ४ महिनाको सेवाको कुनै विशेष सम्मान। उहाँले बिताएका अनगिन्ती अनिँदा रात, जोखिमपूर्ण यात्रा र बचाएका जीवनहरूको कुनै औपचारिक अभिलेख पनि देखिँदैन।
एउटी छोरीका रूपमा मलाई सबैभन्दा बढी दुःख यसैमा लाग्छ। जसले आफ्नो जीवनको ठूलो हिस्सा अरूका आमाहरूलाई बचाउन बिताउनुभयो, उहाँलाई आफ्नै राज्यले सम्मानजनक बिदाइसमेत दिन सकेन।
मलाई थाहा छ, आमाले आफ्नो कामको प्रतिफल वा प्रशंसाका लागि सेवा गर्नुभएको थिएन। उहाँले बिरामीको पीडा देख्नुभयो, सहयोगको अपेक्षामा बसेका आमाहरू देख्नुभयो र आफ्नो जिम्मेवारी सम्झेर खटिनुभयो। तर, राज्यले आफ्ना कर्मचारीको योगदान सम्झिनु र सम्मान गर्नु त पर्छ नि!
आज आमाका पैतालामा रहेका ठेला र गाँठाहरू हेर्दा मलाई मुगुका ती विकट बाटाहरू सम्झना आउँछन्। ती बाटामा उहाँले गरेका यात्राहरू सम्झिन्छु। मध्यरातमा बोलावट आउँदा उहाँ घरबाट निस्कनुभएको सम्झिन्छु। अरूका सन्तानलाई बचाउन उहाँले गर्नुभएको संघर्ष सम्झिन्छु। अनि आफ्नै परिवारले चाडपर्वमा उहाँको बाटो हेरेर बिताएका दिनहरू पनि सम्झिन्छु।
मुगुको मातृ स्वास्थ्य सेवाको इतिहास लेखिँदा त्यहाँ मेरी आमाको नाम पनि हुनुपर्छ। किनकि त्यो इतिहास केवल भवन, उपकरण र दातृ निकायको सहयोगले बनेको होइन। त्यो इतिहास आमाजस्ता स्वास्थ्यकर्मीहरूको पसिना, आँसु, त्याग र समर्पणले बनेको हो।
खत्याड र सोरुका बाटाहरूमा परेका उहाँका पैतालाका ठेला, रातभर जाग्राम बसेर सुरक्षित प्रसूति गराएका आमाहरूको मुस्कान र आज उहाँलाई 'आमा' भनेर बोलाउने त्यो बालकको भविष्यमा उहाँको योगदान जीवित छ।
आमा, तपाईंले मुगुका कति आमाहरूको जीवन बचाउनुभयो, कति नवजात शिशुलाई यो संसार देखाउनुभयो। तर, तपाईंको आफ्नै त्याग र योगदानको मूल्य राज्यले बुझ्न सकेन।
मलाई तपाईंप्रति गर्व छ। तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्नुभयो। तपाईंले कसैको जीवन बचाउन कुनै कसर बाँकी राख्नुभएन। राज्यले तपाईंको योगदानको कदर नगरे पनि तपाईंले बचाउनुभएका ती जीवन र हामी सन्तानका मनमा तपाईंको सम्मान कहिल्यै कम हुने छैन।
तपाईंको ३६ वर्ष ४ महिनाको सेवाको वास्तविक सम्मान कुनै पद, प्रमाणपत्र वा पुरस्कारभन्दा ठूलो छ। त्यो सम्मान तपाईंले बचाउनुभएका जीवनहरूमा छ।
मेरी आमा, तपाईंको संघर्ष र समर्पणप्रति मेरो शिर सधैँ उच्च रहनेछ।
— सिर्जना बुढाथापा